• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    रवि लामिछानेले हिरासतबाटै श्रीमतीलाई यस्तो स्टाटस लेख्न लगाएपछि सामाजिक सञ्जालमा खैलाबैला

    89.3K
    SHARES



    काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमामा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने अहिले चितवन प्रहरीको हिरासतमा छन् । बुधबार हिरासतभित्रबाटै उनले तेस्रो श्रीमतीका रुपमा भित्र्याएकी निकिता पौडेललाई सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्न लगाए । निकिताले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा बुधबार साँझ स्टाटस लेखिन- ‘यो घटनालाई लिएर प्रहरीले मलाई ५ बर्षनै थुन्ने नियत देखाएको हुँदा देश तथा विदेशमा रहनु भएका मेरा सम्पूर्ण शुभचिन्तकहरुलाई म के भन्न चाहन्छु भने मलाई हिरासतबाट निकालेको ५ मिनेटभित्रै यो घटनामा मेरो कहि कतै संग्लनता छैन भनेर म प्रमाणित गर्न सक्छु ।’

    रविले श्रीमती निकितालाई यस्तो स्टाटस लेख्न लगाएर फ्यानहरुलाई ‘इमोशनल ब्ल्याकमेल’ गरेको आरोप लाग्न थालेको छ । निकिताको स्टाटसलाई लिएर अहिले सामाजिक सञ्जालमा खैलाबैला सुरु भएको छ । पत्रकार किशोर श्रेष्ठ, संकेत कोइराला र चितवनका एसपी दानबहादुर मल्लविरुद्ध किटानी जाहेरी दिन काठमाडौं प्रहरी परिसर पुगेकी रवि लामिछाने पत्नी निकिता पौडेल खाली हात फर्काइदिएपछि रविले सामाजिक सञ्जालको सहारालिएको विश्लेषण हुन थालेको छ । पौडेल बुधबार दिउसो महानगरीय प्रहरी परिसर काठमाडौंमा पत्रकार किशोर श्रेष्ठसहित तीन जनाविरुद्ध जाहेरी लिएर पुगेकी थिइन् ।

    पत्रकार शालिकराम पुडासैनीले आफ्ना श्रीमान् रवि लामिछानेविरुद्ध बोलेको ‘डाइङ डिक्लेरेसन’ भिडियो किर्ते गरेको भन्दै उनले जाहेरीमा जनआस्थाका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइराला र चितवनका एसपी दानबहादुर मल्लविरुद्ध जाहेरी लिन प्रहरीलाई आग्रह गरेकी थिइन् । तर, प्रहरीले प्रमाण नपुग्ने भन्दै उनले दिएको जाहेरी फिर्ता गरेको थियो ।

    पौडेलले दिएको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता नगरी चितवन जान सुझाव दिएको छ। घटना, भिडिओ, आरोपीहरूमाथि चितवन प्रहरीले नै छानबिन गरिरहेकाले निकिताको जाहेरी काठमाडौंबाट हेर्न नमिल्ने भएकाले उतै जान सुझाव दिएको प्रहरी उपरीक्षक अशोक सिंहले बताए। प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि निकिता सोही जाहेरी लिएर सरकारी वकिल कार्यालय काठमाडौं पुगेकी छिन् । यस्तो छ निकिताले आफ्नो फेसबुकमा लेखेको स्टाटस:

    ”शालिक राम पुडासैनीको घटनाको बिषयमा मैले प्रहरीलाई अनुसन्धानमा सघाउ पुर्याउछु भनेको थिए र पाँचौ दिन सम्म हिरासतमा रहदा मैले मेरा तर्फबाट पूर्ण रुपमा प्रहरीलाई सहयोग गरे पनि । म, र मेरा सहकर्मी युवराज कडेल र यो घटनामा नाम जोडिएकी अस्मिता कार्की रुकुको बयान लिए पश्चात यो घटनामा हाम्रो कहि कतै संग्लनता नदेखिएको पोईन्ट वाईज स्पष्ट भईरहेको बेला फेरी पाँच दिनको म्याद थप्दै प्रहरीले चलाएको कदम हामीलाई फसाउँने गरी सुनियोजित र नियतपूर्ण रहेको स्पष्ट पार्न चाहन्छु । पाँचौ दिन सम्म मैले प्रहरीसँग आफू सुरक्षित रहेको महसुश गरेको थिए तर आजबाट भने म प्रहरीसँगै नै असुरक्षित भएको महसुश गरेको छु ।

    बयानका लागि मेरा भनाई समावेश गरिरहदा म हिरासतबाटै केही प्रश्नहरु पनि गर्न चाहन्छु । जव, कि प्रहरीको बर्दी लगाएका बेला एसपी दानबहादुर मल्ल जीले शालिकजीको भिडियो म्यासेज प्रहरीसँग मात्र सुरक्षित रहेको दाबी गरिरहेका बेला उक्त भिडियो को, बाट कसरी लिक गरियो भन्ने बिषयमा अनुसन्धान अगाडी बढाउँनु पर्ने थियो कि थिएन ? र अर्को कुरा यदि त्यो भिडियो परिवारबाट बाहिरिएको हो भने परिवारलाई पनि उक्त भिडियो सार्वजनिक भएको बिषयमा सोधपुछ गर्नु पर्छ कि पर्दैन ?

    तसर्थ अन्य तर्फको अनुसन्धान अगाडी बढाउँनु पर्नेमा अनुसन्धानका लागि भन्दै प्रहरीले मेरो फोनको कल डिटेल निकाल्न समय लगाएको बिषयमा पनि म प्रश्न गर्न चाहन्छु । प्रहरीले दुई दिन भित्रै कल डिटेल सजिलै निकाल्न सक्छ तर मलाई फसाउँने नियत सहित समय लम्बाएको बिषयमा मैले आफूलाई यहाँ भित्र असुरक्षित रहेको महसुश गरेको हुँ । यो घटनालाई लिएर प्रहरीले मलाई ५ बर्षनै थुन्ने नियत देखाएको हुँदा देश तथा विदेशमा रहनु भएका मेरा सम्पूर्ण शुभचिन्तकहरुलाई म के भन्न चाहन्छु भने मलाई हिरासतबाट निकालेको ५ मिनेटभित्रै यो घटनामा मेरो कहि कतै संग्लनता छैन भनेर म प्रमाणित गर्न सक्छु । रवि लामिछाने”

    पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि तयार पारेको भिडियो क्लिप्स सार्वजनिक भएको विषयमा जनआस्था साप्ताहिकका सम्पादक तथा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले उक्त भिडियो कसरी सार्वजनिक भयो भन्ने तथ्य सार्वजनिक गरेका थिए । आत्महत्या अघि खिचिएको एक भिडियो सार्वजनिक भएको थियो । जसमा पुडासैनीले आफ्नो मृत्युको कारण पत्रकार लामिछानेसहित तीन जना रहेको बताएका थिए ।

    भिडियो कसरी बाहिरियो भन्ने सवालमा सम्पादक किशोर श्रेष्ठले लामो फेसबुक स्टाटस लेख्दै यसो भनेका छन् :
    ‘पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरी अनुसन्धान सुस्त देखिएजस्तो लागेपछि परिवारका सदस्यहरु घटनाको सातौं दिन आइतबार साँझ मेरो कार्यालयमा आएर शालिकरामको मरणअघिका दुई Video Clip Share it मार्फत मेरो मोबाइलमा ट्रान्स्फर गर्दै भन्नुभयो, ‘दाइ, तपाईं संकटकालमा पनि नडग्मगाएको मान्छे,। यसको आधारमा समाचार बनाएर खबरदारी गरिदिनु पर्यो । हामीले त्यसरी प्राप्त 8:27 र 4:57 मिनेटका छुट्टाछुट्टै ती क्लिप्सका केही अंश उल्लेख गर्दै बुधबारको दिन ‘पत्रकारले मर्दामर्दै खोलेको पोल’ शीर्षकअन्तर्गत जनआस्थामा समाचार प्रकाशन गर्यौं ।

    मेरा स्तम्भकार मित्र संकेत कोइराला ‘नेपाल आज’मा पनि संलग्न भएको र उहाँहरुसमेतले पत्रिकाबाट उक्त खबर धेरैवटा अनलाइनले साभार गरिसकेको हुँदा हामीले पनि पोस्ट गर्न पाउँ न भनी आग्रह गर्नुभएबमोजिम ती Video सार्वजनिक रूपमा उपलब्ध गराइएको हो । सँसारभरका पत्रकारको पहिलो कर्तव्य प्राप्त प्रमाणित सामग्री अरु कसैले भन्दा पहिले आफ्ना दर्शक र श्रोतासामु प्रस्तुत गर्नु हुने गर्दछ ।

    त्यही कर्तव्य पालना हामीबाट पनि भएको हो तर यसवीच केही मित्रले वास्तविकतै नबुझी, आफूखुसी काल्पनिक कथा छापी स्वार्थसिद्ध गर्न र परिस्थितिलाई अर्कै दिशातर्फ मोड्न चाहेको देखियो ! उक्त Video को कन्टेन्टबारे हाम्रो भन्नु केही छैन । सरोकारवाला निकायले नै अनुसन्धानबाट खुट्याउलान् । हाम्रो भनाइ त यति मात्रै हो कि यस प्रकरणमा बिश्वभरका एक से एक IT बिज्ञहरुलाई झिकाएर त्यति समयभन्दा बढीको video clip छ भने रिकभर या प्रमाणित गरेर देखाए हुन्छ । जब कूल १३ मिनेट २४ सेकेण्डभन्दा लामो video नै खिचिएको छैन भने Edit गरेको या कसैलाई हुने, कसैलाई नहुने गरी प्रकाशन या प्रशारण गरिएको प्रश्नै उठ्दैन !

    घामजस्तै छर्लङ्ग वास्तविकता यही हो र यही मात्रै हो । यस प्रकरणमा कोही कसैलाई अनावश्यक मुछ्ने या विषयान्तर गर्ने जरुरतै छैन । हामी जसरी यस मामिलामा टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेलको निर्दोषिता प्रमाणित होस भन्ने चाहन्छौं, त्यसरी नै श्रमजीवी पत्रकार शालिकराम पुडासैनीले समेत अकाल मरेर पनि अन्याय भोग्न नपरोस भन्ने ठान्दछौँ ।

    हामीले अफिसियल रुपमै रविजीलाई पोहोर पनि बिदेशी नागरिकता र राहदानी त्यागेर नेपाली बनी, आफ्नै देशको एक असल Tax Payer का हैसियतले कानूनी रुपमै पत्रकारिता थाल्न बिनम्र आग्रह गरेका video clip हरु थyoutube मा सर्च गर्दा पाउन सक्नुहुन्छ । न हाम्रो पुरानो चिनाजानी, न बिट एउटै, न एकार्काको प्रतिस्पर्धी, न त कुनै दुश्मनी नै । सम्बन्ध शत्रुतापूर्ण हुनेले कहिल्यै पनि आउनोस, मिलिजुली देश र जनताको हित अनुकूल पत्रकारिता गरौं भन्दै यसखाले सुझाव दिँदैन ।

    ३३ बर्षको पत्रकारिता जीवनमा हामीले थुप्रै आरोह–अवरोह झेलेका छौँ र सबै सबै देशबासीप्रति पुनः यो पनि विनम्र आग्रह गर्दछौं कि अनाहकमा कोही, कसैमाथि, कहिल्यै पुस्ट्याई बिनाका आरोप नलगाऊँ । हाम्रो पेशागत कर्म र धर्मबारे केही भ्रम भए या लेख्न मन लागे सीधै सम्पर्क गर्दा हुन्छ । सक्दो जानकारी दिन हर्दम तयार छौँ । हाम्रा कुनै पनि गतिविधि अपारदर्शी छैनन् । अनि हामीले झेलेको बिगत र लगाइएका झूठ आरोपहरु तथ्यको कसीमा लल्याकलुलुक गलेका उदाहरण निकट विगतमै छन् । गल्ती नगर्दासम्म कसैले आत्तिनु पर्दैन भन्ने कुराका हामी आफै भुक्तभोगी हौं ।

    र, हामीले कानूनी प्रक्रियाबाटै आफूमाथिका समुच्च आरोपको न्यायिक निरुपण गरेका छौँ । पुनश्च : video प्रकरणको वास्तविकतालाई आफ्नो निहित स्वार्थबस् तोडमरोड नगर्न र हाम्रो पेशागत आचरण तथा तपाईं हामी आफ्नै लेखनप्रति जनविश्वासको असामयिक अवसान हुन नदिन हार्दिक अनुरोध गर्दछौँ । वस्तुनिष्ठ आलोचना र सिर्जनात्मक सुझावको सधैं सम्मान गर्ने नै छौं ।’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ