काठमाडौं । नारायणी नदीमा पानीको सतह खतराको तह पार गरेपछि चितवन र नवलपरासीका नदी तटीय तथा डुबानको जोखिममा रहेका क्षेत्रमा बाढीको खतरा बढेको छ। सम्बन्धित निकायले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको जलसतह खतराको तहभन्दा माथि पुगेको छ। नदीको खतराको तह ९ मिटर रहेकामा पछिल्लो मापनअनुसार जलसतह करिब ११ मिटर पुगेको र अझै बढ्ने क्रममा रहेको जनाइएको छ।
देवघाटस्थित बाढी मापन केन्द्रमा नदीको जलसतह आज दिउँसोसम्म करिब १३ मिटर पुग्न सक्ने पूर्वानुमान गरिएको छ। साँझसम्म पनि नदीको सतह खतराको तहभन्दा माथि रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
नारायणीका सहायक नदीहरूमा समेत बहाव बढेको छ। कालीगण्डकीमा पानीको बहाव खतराको तहभन्दा माथि पुगेको छ भने सेती, मादी, मर्स्याङ्दी, दरौँदी र चेपे नदीमा बहाव सतर्कता तह पार गरेर बढिरहेको जनाइएको छ। बुढीगण्डकी र त्रिशूली नदीमा पनि पानीको सतह सतर्कता तह नजिक पुगेको छ।
नदीमा पानीको बहाव बढेसँगै चितवन र नवलपरासीका नारायणी आसपासका होचा तथा डुबान सम्भावित बस्तीमा जोखिम बढेको छ। त्यस्ता क्षेत्रका बासिन्दालाई सम्भव भएसम्म सुरक्षित तथा अग्लो स्थानमा जान आग्रह गरिएको छ।
यस्तै, नदी किनार, पुल, तटबन्ध तथा अन्य जोखिमयुक्त स्थानमा अनावश्यक रूपमा नजान र बाढी हेर्न वा फोटो–भिडियो खिच्न भीड नगर्न सम्बन्धित निकायले अनुरोध गरेको छ।
कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, चेपे, बुढीगण्डकी र त्रिशूली नदी तथा आसपासका खोलानालामा पनि पानीको बहाव बढिरहेकाले आज साँझसम्म विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
प्रतिक्रिया