काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नुवाकोटका बाढीपहिरो प्रभावित परिवारहरूलाई २१ वटा अस्थायी आवासको साँचो हस्तान्तरण गरेका छन्।
मंगलबार बिहान नुवाकोटको बेलकोटगढी नगरपालिका–७, महादेवथानमा आयोजित एक कार्यक्रमका बीच संयोजक प्रचण्डले प्रभावित परिवारहरूलाई घर हस्तान्तरण गरेका हुन्। वाइसिएल (YCL) नेपालको विशेष पहलमा बेलकोटगढी र विदुर नगरपालिकाका प्रभावितहरूका लागि दुई कोठा र शौचालय सुविधासहितका यी अस्थायी भवनहरू निर्माण गरिएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले रसुवाको भोटेकोशीमा आएको भीषण बाढी र त्यसले पुर्याएको क्षति केवल प्राकृतिक प्रकोप मात्र नभएको बताए। उनले विकसित मुलुकहरूले अपनाएको गलत विकास मोडलका कारण नेपालजस्ता देशहरूले जलवायु परिवर्तनको असर भोग्नुपरेको उल्लेख गरे।
“कार्बन उत्सर्जनमा नेपालको भूमिका नगण्य छ, तर यसको गम्भीर असर भने हामीले खेप्नुपरिरहेको छ,” प्रचण्डले भने। आफू प्रधानमन्त्री हुँदा संयुक्त राष्ट्रसंघको महासभा र महासचिवसँगको भेटमा नेपालको तर्फबाट ‘जलवायु न्याय’ को मुद्दा सशक्त रूपमा उठाएको स्मरणसमेत उनले गरे। साथै, आफ्नो प्रतिबद्धताअनुसार प्रभावित क्षेत्रमा खटिएर द्रुत गतिमा आवास निर्माण पूरा गरेको भन्दै उनले वाईसीएल टोलीलाई धन्यवाद व्यक्त गरे।
प्रतिक्रिया