काठमाडौँ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको महामन्त्री पदमा विजयी भएपछि नेता उदय शमशेर राणाले प्रतिनिधिहरूप्रति कृतज्ञता प्रकट गर्दै पार्टी रूपान्तरण र संगठन सुदृढीकरणका लागि इमानदार भएर लाग्ने प्रतिबद्धता जनाएका छन्।
निर्वाचन परिणाम आएपश्चात् सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नवनिर्वाचित महामन्त्री राणाले आफूलाई अमूल्य मत दिएर विजयी गराउने सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका हुन्।
राणाले महाधिवेशन प्रतिनिधिहरूले देखाएको विश्वास र सुम्पिएको जिम्मेवारीलाई उच्च सम्मान गर्दै देशको समृद्धि र कांग्रेसलाई अझ बलियो बनाउन पूर्ण निष्ठाका साथ खट्ने बताए। उनले भनेका छन्, “यो विजय मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, नेपाली कांग्रेसलाई समयानुकूल, जनउत्तरदायी र सशक्त बनाउने हामी सबैको साझा सङ्कल्पको परिणाम हो।”
लोकतान्त्रिक प्रक्रियामा प्रतिस्पर्धा गरेका आफ्ना सहकर्मी तथा साथीहरूप्रति उच्च सम्मान व्यक्त गर्दै उनले उहाँहरूको विचार, योगदान र अनुभवलाई पार्टीको आगामी यात्राको महत्त्वपूर्ण पुँजीका रूपमा ग्रहण गर्ने बताएका छन्।
प्रतिस्पर्धाका क्रममा फरक-फरक विचार र दृष्टिकोण अघि सारिए तापनि पार्टी र राष्ट्रको उज्ज्वल भविष्यका लागि साझा प्रतिबद्धता नै कांग्रेसको असली सुन्दरता भएको राणाको भनाइ छ। उनले सबै साथीहरूलाई साथमा लिएर कांग्रेसलाई अझ सुदृढ बनाउँदै समुन्नत नेपाल निर्माणको दिशामा अघि बढ्ने दृढ विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया