काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन गर्ने भएका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताका खेल आज अपराह्न ५ बजेदेखि सुरु हुने जनाइएको छ।
प्रधानमन्त्री शाहले आजै नेपाली क्रिकेटको सफलताका लागि शुभकामना पनि दिएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको प्रतियोगिता करिब एक महिनासम्म सञ्चालन हुनेछ। यस संस्करणमा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
यसपटकको एनपीएलमा केही नयाँ प्रविधि र सुविधासमेत थपिएका छन्। प्रतियोगितामा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) लागू गरिएको छ। यसले अम्पायरका केही निर्णय पुनरावलोकन गर्न सहयोग गर्नेछ।
त्यस्तै, विभिन्न देशका चर्चित विदेशी खेलाडीको सहभागिताले प्रतियोगिताप्रति थप आकर्षण बढाएको छ। विदेशी खेलाडी र नेपाली प्रतिभाबीचको प्रतिस्पर्धाले घरेलु क्रिकेटको स्तर उकास्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आयोजकले प्रतियोगितालाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन आवश्यक तयारी गरेको जनाएको छ। एनपीएलले नेपाली क्रिकेटको व्यावसायिक विकास, खेलाडीको क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्रिकेट पहिचान विस्तार गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया