• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विचार-ब्लग

    एमआरआर (MRR) भजन: आध्यात्मिक अभियान कि राजनीतिक रणनीति ?

    605
    SHARES



    इतिहास हेर्दा सत्तामा रहेका शासकहरूले युवाहरूको ऊर्जा, असन्तुष्टि र विद्रोही चेतनालाई वास्तविक राजनीतिक, आर्थिक वा सामाजिक समस्याबाट अन्यत्र मोड्न विभिन्न उपाय अपनाएका उदाहरणहरू प्रशस्तै भेटिन्छन्। कहिले धर्मको सहारा लिईएको छ। कहिले उग्र राष्ट्रवादको भावना उचालिएको छ। कहिले मनोरञ्जन र खेलकुदलाई अत्यधिक प्राथमिकता दिइएको छ। कहिले जातीय, भाषिक वा क्षेत्रीय पहिचानका मुद्दालाई राजनीतिक रूपमा उपयोग गरिएको छ।

    उदाहरणका रूपमा प्राचीन रोमन साम्राज्यमा जनताको असन्तुष्टि कम गर्न “रोटी र मनोरञ्जन” (Bread and Circuses) को नीति अपनाइएको इतिहासमा उल्लेख पाइन्छ। नागरिकलाई निःशुल्क अन्न वितरण र भव्य खेल–तमाशामा व्यस्त राखेर उनीहरूको ध्यान शासनका राजनीतिक र आर्थिक समस्याबाट मोड्ने प्रयास गरिएको थियो।

    यसको अर्थ धर्म, राष्ट्रवाद, मनोरञ्जन वा पहिचानका विषयहरू आफैंमा गलत हुन् भन्ने होइन। यी सबै समाजका महत्त्वपूर्ण सांस्कृतिक र सामाजिक पक्ष हुन्। तर इतिहासले देखाएको कुरा के हो भने जब यिनलाई जनताको वास्तविक समस्या समाधान गर्ने माध्यमभन्दा पनि राजनीतिक ध्यान विचलित गर्ने उपकरणका रूपमा प्रयोग गरिन्छ तब युवाहरूको ऊर्जा संरचनात्मक परिवर्तनतर्फ भन्दा भावनात्मक बहसतर्फ मोडिन सक्छ।

    १६–१८ औँ शताब्दीको फ्रान्समा राजालाई “ईश्वरद्वारा नियुक्त” शासकका रूपमा प्रस्तुत गरिन्थ्यो। नेपालमा पनि राजालाई विष्णुको अवतारका रूपमा पूजनीय बनाउने प्रयास भएको थियो। यसले देखाउँछ कि कुनै विचार क्रमशः विश्वासमा र विश्वास कालान्तरमा आस्थामा रूपान्तरण हुन सक्छ। धेरै धार्मिक तथा सांस्कृतिक परम्परामा स्थापित विश्वासमाथि प्रश्न उठाउनु आस्थामाथिको आक्रमण वा पापका रूपमा पनि लिइन्छ। तर ज्ञान, विज्ञान र दर्शनको विकास भने प्रश्न गर्ने, तर्क गर्ने र प्रमाण खोज्ने प्रक्रियाबाट सम्भव भएको हो। त्यसैले स्वस्थ समाजले आस्थाको सम्मानसँगै जिज्ञासा, प्रश्न र खुला संवादका लागि पनि समान रूपमा स्थान दिनुपर्छ।

    नेपाल र भारतका समाजमा कर्म, पुनर्जन्म, पूर्वजन्मको फल, ईश्वरीय लीला तथा वर्ण व्यवस्था सम्बन्धी धार्मिक व्याख्याहरूलाई सामाजिक संरचनाको औचित्य पुष्टि गर्न प्रयोग गरिएको इतिहास भेटिन्छ। कतिपय अवस्थामा यी अवधारणाहरूलाई यस्तो ढङ्गले व्याख्या गरियो कि गरिबी, जातीय विभेद, सामाजिक असमानता र अवसरको अभावलाई व्यक्तिको पूर्वजन्मको कर्म वा ईश्वरको इच्छाको परिणामका रूपमा स्वीकार गर्न प्रेरित गरियो। धेरै समाजशास्त्री र इतिहासकारहरूको तर्क छ कि यस्ता व्याख्याले विद्यमान असमानतालाई स्वाभाविक वा अपरिहार्य अवस्था जस्तो देखाउन मद्दत पुर्याएको थियो।

    बाहिरी रुपको अवलोकन गर्दा अहिले MRR भजन मण्डलीहरूमा पनि अलौकिक शक्ति, ईश्वरीय अनुग्रह, कृपा, आशीर्वाद, वरदान र अनुकम्पा प्राप्त हुने विश्वासका साथ भजन–कीर्तन गर्ने प्रवृत्ति बढ्दो रूपमा देखिन्छ। धेरै सहभागीका लागि यो आध्यात्मिक अभ्यास, आत्मिक शान्ति र नैतिक जीवनको माध्यम हुन सक्छ। तर यदि जीवनका कठिनाइहरू पूर्ण रूपमा ईश्वरद्वारा पूर्वनिर्धारित हुन् भन्ने विश्वास अत्यधिक बलियो बन्दै गयो भने कतिपय मानिसहरू समस्याको समाधान मुख्यतः अलौकिक शक्तिमै खोज्न प्रेरित हुन सक्छन्। यस्तो प्रवृत्तिले तर्क, प्रमाण र यथार्थमा आधारित बहसलाई कमजोर बनाउने जोखिम पनि रहन्छ। परिणामस्वरूप, समाजमा रहेका विभेद, अन्याय, भ्रष्टाचार, शोषण वा सत्ताधारी वर्गका कमजोरीमाथि प्रश्न उठाउने प्रवृत्ति कमजोर पर्न सक्छ।

    म MRR को उद्देश्यबारे कुनै अन्तिम निष्कर्ष निकालिरहेको छैन। तर इतिहासका अनुभवलाई हेर्दा जब धार्मिक भावना वा आस्थालाई जनताको ध्यान संरचनात्मक समस्याबाट मोड्ने माध्यमका रूपमा प्रयोग गरिन्छ त्यस्ता गतिविधिलाई आलोचनात्मक दृष्टिले हेर्नु स्वाभाविक हुन्छ। त्यसैले MRR लगायत कुनै पनि धार्मिक वा सामाजिक अभियानलाई पनि त्यसले समाजमा कस्तो चेतना निर्माण गरिरहेको छ? प्रश्न गर्ने संस्कृतिलाई बलियो बनाइरहेको छ कि कमजोर बनाइरहेको छ? सार्वजनिक हितमा कस्तो प्रभाव पारिरहेको छ भन्ने आधारमा मूल्याङ्कन गरिनुपर्छ।

    मानिस धार्मिक हुनु, करुणाभावको विकास हुनु, पापको डरले गलत काम नगर्नु र “सारा विश्व एउटै परिवार हो” भन्ने भावना जागृत हुनु समाजका लागि सकारात्मक पक्ष हुन्। पूजा, आराधना, भजन–कीर्तन वा ध्यानमार्फत आत्मिक सन्तुष्टि प्राप्त गर्नु, लोभ–लालच त्याग्नु तथा नैतिक चेतना र आत्मअनुशासनको विकास गर्नुमा मेरो कुनै आपत्ति छैन। यदि धर्मले मानिसलाई असल, जिम्मेवार, सहिष्णु र सेवाभावी नागरिक बन्न प्रेरित गर्छ भने त्यसले समाजलाई लाभ नै पुर्याउँछ। त्यसैले मेरो प्रश्न धर्म वा आस्थाप्रति होइन; धर्म र आस्थाको सम्भावित राजनीतिक तथा सामाजिक प्रयोगप्रति हो।

    मेरो विचारमा, धर्मको नाममा सामूहिक उन्माद (Mass Hysteria) सिर्जना गर्नु, धार्मिक भावनालाई व्यक्तिगत, आर्थिक वा राजनीतिक स्वार्थ पूरा गर्ने साधन बनाउनु वा आस्थालाई आलोचनाभन्दा माथि राख्ने प्रयास गर्नु उचित होइन। अझ गम्भीर कुरा, यदि मानिसको आलोचनात्मक चेतनालाई निष्क्रिय पार्दै प्रश्न गर्ने संस्कृतिमाथि मनोवैज्ञानिक दबाब सिर्जना गरिन्छ भने त्यसले स्वस्थ समाज निर्माणमा बाधा पुर्याउन सक्छ। आस्था र विवेकबीच सन्तुलन हुनु आवश्यक छ। विश्वासले प्रश्न गर्ने अधिकारलाई समाप्त गर्नु हुँदैन; बरु सही विश्वासले सत्यको खोजी गर्ने साहस पनि दिनुपर्छ।

    मन्दिर, चर्च, मस्जिद, गुम्बा वा अन्य कुनै धार्मिक स्थलमा भजन गाउनु, ईश्वरको आराधना गर्नु वा आध्यात्मिक साधनामा सहभागी हुनु व्यक्तिको निजी स्वतन्त्रता र आस्थाको विषय हो। कसैले संगीत र भक्तिमार्फत आध्यात्मिक आनन्द प्राप्त गर्छ भने त्यसमा कुनै आपत्ति हुन सक्दैन। बरु भाङ, गाँजा, मदिरा वा अन्य कुलतमा फस्नुभन्दा भजन–कीर्तनमा सहभागी हुनु धेरै सकारात्मक विकल्प हुन सक्छ। त्यसैले मेरो आलोचना भजन वा धार्मिक अभ्यासको होइन त्यसको उद्देश्य, प्रभाव र प्रयोगको हो।

    तर जब धार्मिक गतिविधि विशाल मनोरञ्जनात्मक कार्यक्रम, “कन्सर्ट” वा केवल भीड सङ्कलन गर्ने माध्यममा रूपान्तरण हुन थाल्छ तब त्यसको उद्देश्यबारे प्रश्न उठ्नु स्वाभाविक हुन्छ। अझ यदि त्यस्ता कार्यक्रमहरू धार्मिक आस्थाभन्दा बढी प्रभाव विस्तार वा राजनीतिक उद्देश्यसँग जोडिएका देखिन्छन् भने त्यसबारे खुला सार्वजनिक बहस हुनुपर्छ। कुनै पनि धार्मिक वा सामाजिक अभियान आलोचनाभन्दा माथि हुन सक्दैन।
    मेरो अवलोकनमा MRR को सुरुआती चरणमा प्रस्तुत गरिएका कतिपय भजनहरूमा तत्कालीन राजनीतिक दलहरू, शासनसत्ताका विकृति, विसंगति, भ्रष्टाचार र कुशासनप्रति व्यंग्य तथा आलोचना सुनिन्थ्यो। त्यसले धेरै युवामा प्रश्न गर्ने चेतना जगाउने प्रयास गरेको अनुभूति हुन्थ्यो र यही कारणले ती भजनहरू प्रभावशाली लाग्थे। तर अहिले त्यही अभियानसँग जोडिएका केही व्यक्ति देशका शासन सत्तामा पुगे पछि एउटा स्वाभाविक प्रश्न उठ्छ। वर्तमान सरकारका कमजोरी वा जनअपेक्षाविपरीतका निर्णयबारे उनीहरूबाट पहिलेजस्तो स्पष्ट आलोचनात्मक स्वर किन सुनिँदैन? यो केवल MRR सँग सम्बन्धित प्रश्न मात्र होइन; कुनै पनि सामाजिक वा धार्मिक अभियान सत्ताको समीकरण बदलिँदा आफ्नो आलोचनात्मक भूमिकामा निरन्तर रहन्छ कि रहँदैन भन्ने प्रश्न पनि हो।

    यदि “देशको धर्म र संस्कृतिको संरक्षण” भन्ने नाराभित्र केवल सांस्कृतिक संरक्षणको उद्देश्य छ भने त्यो स्वागतयोग्य विषय हो। तर यदि त्यसैको आडमा जनताको ध्यान वर्तमानका वास्तविक सामाजिक, आर्थिक र राजनीतिक समस्याबाट मोड्ने प्रयास भइरहेको छ भने त्यसबारे प्रश्न उठ्नु लोकतान्त्रिक समाजको स्वाभाविक प्रक्रिया हो। “परलोक” को आशा देखाएर वर्तमानका आँखा चिम्लनु र जे जस्तो छ विना सर्त स्वीकार गर्न प्रेरित गरिनु कुनै पनि समाजका लागि दीर्घकालीन रूपमा लाभदायक हुन सक्दैन।

    अन्ततः, कुनै पनि आन्दोलन, धार्मिक अभियान वा सामाजिक अभियानको मूल्याङ्कन त्यसले कति ठूलो भीड जम्मा गर्यो भन्ने आधारमा होइन त्यसले समाजमा कस्तो चेतना निर्माण गर्यो भन्ने आधारमा हुनुपर्छ। त्यसले मानिसलाई स्वतन्त्र रूपमा सोच्न, प्रश्न गर्न, तर्क गर्न र सत्य खोज्न प्रेरित गर्यो कि अन्धअनुसरण गर्न सिकायो? यही प्रश्न नै कुनै पनि अभियानको वास्तविक परीक्षा हो।

    यस सन्दर्भमा एउटा रमाइलो तर अर्थपूर्ण प्रसङ्ग सम्झनलायक छ। एक जना अत्यधिक मदिरा सेवन गर्ने व्यक्ति मध्यरातसम्म घर नफर्किएपछि उनकी श्रीमतीले फोन गरिन्, “यति रात भइसक्यो, कहाँ हुनुहुन्छ?” श्रीमानले जवाफ दिए, “म आफ्नै कारभित्र छु- तर कारको स्टेयरिङ, क्लच, ब्रेक र एक्सिलेटर सबै चोरी भएछन्।” श्रीमतीले तुरुन्तै बुझिन् कि उनले फेरि धेरै मदिरा सेवन गरेका छन्। उनले शान्त स्वरमा भनिन्, “तपाईं चालकको सिटमा होइन, सहचालकको सिटमा बस्नुभएको छ। एकपटक चालकको सिटमा सर्नुहोस्, सबै कुरा भेट्नुहुनेछ।”

    यो प्रसङ्गले एउटा महत्त्वपूर्ण सन्देश दिन्छ—कहिलेकाहीँ समस्या बाहिर होइन, हाम्रो दृष्टिकोण, बुझाइ वा अवस्थामै हुन्छ। गलत स्थानमा बसेर संसारलाई हेर्दा सही वस्तु पनि हराएको जस्तो देखिन सक्छ। त्यसैले कुनै पनि निष्कर्षमा पुग्नुअघि तथ्य जाँच्ने, प्रश्न गर्ने, आफ्नै धारणा पुनः परीक्षण गर्ने र फरक दृष्टिकोणबाट विषयलाई हेर्ने बानी नै स्वस्थ चेतना र विवेकको आधार हो। आलोचनात्मक सोचको अर्थ सबै कुराको विरोध गर्नु होइन; बरु कुनै पनि दाबीलाई तर्क, प्रमाण र यथार्थको कसौटीमा परीक्षण गर्नु हो।

    र अन्त्यमा यस लेखको उद्देश्य कुनै धर्म, धार्मिक आस्था वा MRR अभियानको विरोध गर्नु होइन। धर्मले नैतिकता, करुणा, अनुशासन, आत्मिक शान्ति र सामाजिक सद्भाव प्रवर्द्धन गर्न सक्छ भन्नेमा मेरो कुनै असहमति छैन। तर इतिहासले देखाएको एउटा यथार्थ के हो भने धर्म, राष्ट्रवाद, संस्कृति वा अन्य भावनात्मक विषयहरूलाई कहिलेकाहीँ राजनीतिक शक्ति संरक्षण, जनमत निर्माण वा जनताको ध्यान वास्तविक सामाजिक–आर्थिक समस्याबाट मोड्ने माध्यमका रूपमा पनि प्रयोग गरिएको छ। त्यसैले कुनै पनि धार्मिक, सांस्कृतिक वा सामाजिक अभियानलाई अन्धसमर्थन वा अन्धविरोध दुवै नगरी तथ्य, तर्क, प्रमाण र त्यसको सामाजिक प्रभावका आधारमा मूल्याङ्कन गर्नुपर्छ। यदि कुनै अभियानले मानिसलाई स्वतन्त्र रूपमा सोच्न, प्रश्न गर्न, अन्यायका विरुद्ध बोल्न र सत्यको खोजी गर्न प्रेरित गर्छ भने त्यसले समाजलाई बलियो बनाउँछ। तर यदि त्यसले प्रश्न गर्ने संस्कृतिलाई कमजोर बनाउँदै अन्धअनुसरणलाई प्रोत्साहित गर्छ भने, त्यसबारे नागरिक समाजले सजग हुनु आवश्यक हुन्छ। अन्ततः कुनै पनि समाजको प्रगति आस्था र विवेकबीचको द्वन्द्वबाट होइन, दुवैबीचको सन्तुलनबाट सम्भव हुन्छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ