• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विचार-ब्लग

    लोकप्रियतावाद, डिजिटल समाज र विचार निर्माणकाे प्रश्न

    1.4K
    SHARES



    सुनिता बम । सामान्यतः “लोकप्रिय” शब्द आफैंमा ‘प्रिय’ र ‘अपनत्व’ बोकेको भावनात्मक अर्थ लाग्ने एक सार्वभौम शब्द हो।

    लोकप्रियता भन्नाले कुनै व्यक्ति, विचार, नीति, कार्यशैली, संस्था वा अन्य कुनै विषयले प्राप्त गरेको समर्थन र रुचीलाई बुझिन्छ। दार्शनिक दृष्टिले लोकप्रियता सार्वजनिक स्वीकृति र मनोविज्ञानसँग सम्बन्धित छ। लोकप्रिय हुनु भनेको राम्रो काम वा प्रभावमार्फत जन–मनमा आफूलाई उपस्थित गराउनु हो।

    लोकप्रियता विभिन्न व्यक्तिहरूले विभिन्न तरिकाबाट प्राप्त गर्न सक्छन्। उदाहरणका लागि, डाक्टरले विशेषज्ञता (प्रभावकारी उपचार, शैली वा नम्र व्यवहार) बाट, कलाकारले राम्रो स्वर वा अभिनय क्षमताबाट, पत्रकारले निष्पक्ष सूचना प्रवाह वा प्रभावपूर्ण प्रस्तुतिबाट, राजनीतिज्ञले जनतामाझ प्रस्तुत हुने शैली वा वैचारिक–दार्शनिक क्षमताबाट, प्राध्यापकले उत्कृष्ट दक्षता वा अध्यापन शैलीबाट, प्रशासकले सरल र सहज शासन कार्यशैलीबाट लोकप्रियता प्राप्त गर्न सक्छन्। यस्ता विषय–प्रसंग ठाउँ, भूगोल, रहनसहन र संस्कृति अनुसार फरक–फरक हुन सक्छन्।

    सामान्यतः लोकप्रियता सार्वजनिक र सामाजिक सरोकारका विषयवस्तु र सन्दर्भसँग जोडिएको हुन्छ। मानिसहरूले कुनै पात्रको व्यक्तित्व, विचार, शैली र तौर–तरिका मन पराउँछन् र विश्वास गर्छन्। तर लोकप्रियता आफैंमा कुनै राजनीतिक विचारधारा वा दर्शन होइन, र यसको ठोस वर्गीय चरित्र पनि हुँदैन। बरु, समाजका सीमित शक्तिशाली वर्गले लोकप्रियतालाई जनसमर्थन जुटाउने हतियारका रूपमा प्रयोग गर्ने गरेको पाइन्छ। लोकप्रियता वर्गीय राजनीतिमा देखिने एक उपज (by-product) हो।

    लोकप्रियतावाद

    “लोकप्रियतावाद” (Populism) को मूल अवधारणा १९औँ शताब्दीको उत्तरार्धमा उदय भएको हो। यसको उत्पत्ति ल्याटिन शब्द “populus” (जनता) बाट भएको हो। यो शब्द सर्वप्रथम संयुक्त राज्य अमेरिका र रूसमा समानान्तर रूपमा विकसित भएको पाइन्छ।

    २१औँ शताब्दीको विश्व राजनीतिमा लोकप्रियतालाई भर्याङ बनाएर लोकप्रियतावाद जबर्जस्त रूपमा प्रवेश गरिरहेको छ र विश्वव्यापी रूपमा फैलँदै गएको छ। लोकप्रियता र लोकप्रियतावाद झट्ट सुन्दा उस्तै देखिए पनि यी दुईबीच स्पष्ट फरक छ। लोकप्रियता सामान्यतः जनसमर्थन हो, जसले “किन मन पराइएको भन्दा पनि कतिले मन पराएका छन् भन्ने” अर्थात् विचारभन्दा सङ्ख्यालाई प्राथमिकता दिन्छ।

    लोकप्रियतावाद भनेको राजनीतिक क्षेत्रमा पूँजीवादको सैद्धान्तिक धरातलमा उभिएको व्यक्तिवादी विचार हो, जसले विचारधारा, संगठन, सामूहिकता, नीति, विधि, प्रणाली र पद्धतिभन्दा व्यक्ति वा कुनै अमुक शासकलाई केन्द्रमा राखेर बहस गर्छ। हरेक समस्याको जड र समाधानको विकल्पका रूपमा व्यक्तिलाई उभ्याइन्छ। लोकप्रियतावादी नेता जनताका कानमा क्षणिक प्रिय लाग्ने भाषण र नारा दिएर आफ्नो स्वार्थको शिखरमा पुग्ने बाटो खोज्ने गर्छ।

    लोकप्रियतावाद राजनीतिक विचार, प्रवृत्ति वा शैली हो। यसले जटिल राजनीतिक, वैचारिक, वर्गीय, सामाजिक, आर्थिक र संरचनागत समस्याहरूलाई सरल नैतिक मूल्यमा रूपान्तरण गर्दै जनभावनालाई राजनीतिक रूपमा संगठित गर्छ। आजको संकटग्रस्त पूँजीवादले राजनीतिक रणनीति र विचारधारात्मक अभ्यासका रूपमा लोकप्रियतावाद प्रयोग गरिरहेको छ।

    वर्गीय शोषण, उत्पादन सम्बन्ध, उत्पादनका साधनमाथिको स्वामित्व, वितरण प्रणाली र पूँजीवादी संरचनाभित्रका वास्तविक समस्याहरूलाई यसले खोतल्दैन। बरु, प्राविधिक तवरले समस्याको जड निश्चित व्यक्ति, समूह वा अमूर्त शासकहरूमा थोपर्छ। अन्ततः यसले वर्गसंघर्षलाई विस्थापित गरेर भावनात्मक ध्रुवीकरण सिर्जना गर्छ र समाजलाई दुई ध्रुवमा विभाजित गरिदिन्छ।

    पूँजीवादले कसरी लोकप्रियतावादलाई हतियार बनाउँछ भन्ने उदाहरणका लागि विश्वका केही राजनीतिक घटनाक्रमलाई लिन सकिन्छ। उदाहरणका लागि युक्रेनलाई हेरौँ। सन् २०१९ सम्म टेलिभिजन पर्दामा कमेडियन नायकका रूपमा चिनिने भोलोदिमिर जेलेन्स्की सन् २०१९ मा सम्पन्न चुनावबाट राष्ट्रपति निर्वाचित भए। उनले “Let’s unite the country, fight corruption, and make Ukraine part of Europe” अर्थात् “एकताबद्ध युक्रेन”, “भ्रष्टाचारविरुद्धको युक्रेन” र “सुरक्षित युक्रेन” (युक्रेनलाई युरोपियन युनियनको सदस्य बनाउने) जस्ता नारा दिए। राष्ट्रपति निर्वाचित भएको केही समयमै उनले पश्चिमी शक्तिको समर्थनमा देशलाई युद्धतर्फ धकेलिएको आरोपसमेत लाग्यो। आज युक्रेनले ठूलो मानवीय र आर्थिक क्षति बेहोर्नुपरेको छ।

    जापानमा २०२६ फेब्रुअरी ८–९ मा सम्पन्न संसदीय चुनावबाट सनाए ताकाइची नेतृत्वमा लिबरल डेमोक्रेटिक पार्टी र जापान इनोभेसन पार्टीसहितको गठबन्धनले दुई तिहाइभन्दा बढी सिट जितेको बताइन्छ। सन् २०२६ फेब्रुअरी ५ मा जापानको निचलो सदन (House of Representatives) विघटन गरेकी प्रधानमन्त्री ताकाइचीले “Make the Japanese archipelago strong and prosperous” अर्थात् “जापानी टापुलाई बलियो र समृद्ध बनाउने” नारा दिएर चुनावमा गइन्। चीनविरुद्ध कठोर नीति, पश्चिमसँग संयुक्त सैन्य अभ्यास, प्रविधि साझेदारी र क्षेत्रीय सुरक्षा सहयोग बढाउने—विशेषगरी अमेरिकासँग मिलेर इन्डो–प्यासिफिक क्षेत्रमा स्थिरता कायम गर्ने—जस्ता नाराबाट उनको दलले ठूलो बहुमत हासिल गरेको देखिन्छ। यहाँ एउटै वैचारिक धरातलमा दुई फरक पात्र र प्रवृत्ति देख्न सकिन्छ—एक युक्रेनमा लोकप्रियताबाट उदाएको प्रवृत्ति र अर्को जापानमा पूँजीवादी संकट व्यवस्थापनका रूपमा देखिएको लोकप्रियतावाद।

    पृष्ठभूमि

    सामान्यतः १९औँ शताब्दीको अन्त्यतिर संयुक्त राज्य अमेरिकाको The People’s Party नामक आधुनिक युगको पपुलिस्ट राजनीतिक आन्दोलनबाट लोकप्रियतावादको विकास भएको मानिन्छ। अमेरिकामा किसानहरूका समस्यालाई मुद्दा बनाएर उठाइएको पपुलर नारामा आधारित आन्दोलनबाट यसको उदय भएको हो।

    प्रथम र द्वितीय विश्वयुद्धको समयमा जर्मनीका शासक हिटलर र इटालीका शासक बेनिटो मुसोलिनीले लोकप्रियताको आडमा फासिवादको उदय गराएका थिए। सैद्धान्तिक रूपमा केही दक्षिणपन्थी तथा केही वाम (नव–मार्क्सवादी) विचारकहरूले विभिन्न राजनीतिक–सामाजिक आन्दोलनका आधारमा यसको व्याख्या गरेका छन्।

    जस्तै, सन् १८९० को दशकमा अमेरिकी किसान आन्दोलनका नेता इग्नाटियस डोनेल्ली (१८३६–१९०१) ले पूर्वी तटका बैंकरहरू र रेलरोड कम्पनीहरूको शक्तिविरुद्ध “साधारण मानिसको हकका लागि” भन्ने पपुलर नारा दिएर तत्कालीन अमेरिकी किसान आन्दोलनलाई संगठित गरेका थिए, जुन स्पष्ट वैचारिक दिशाविनाको आन्दोलन थियो।

    सन् १८७० को दशकमा रूसमा अलेक्जेन्डर हर्जेन र निकोलाई चेर्निशेव्स्की सक्रिय थिए। १९औँ शताब्दीको रूस अर्ध–सामन्ती, निरंकुश जारशाही शासन, कमजोर पूँजीवाद र विशाल किसान समाज भएको देश थियो। यहाँ पश्चिमी युरोपजस्तो परिपक्व मजदुर वर्ग विकसित भइसकेको थिएन। उनीहरूले “रुसी समाजवाद” को नाम दिएर लोकप्रियतावादी अभ्यास गरे। उनीहरूको तर्क थियो कि रूसको भविष्य पश्चिमी युरोपको पूँजीवादी मोडेलमा होइन, देशको स्वदेशी सामूहिक संस्थामा रहेको छ।

    उनीहरूले “To the People” को नारा दिएर बुद्धिजीवीहरूलाई गाउँका किसान जनतासँग एकीकृत हुन अपिल गरे। त्यस्तै, निकोलाई चेर्निशेव्स्कीले १८६०–७० को दशकमा “New People” को नारा दिएर विशेषगरी युवाहरूमा लोकप्रियतावादी विचारको अभ्यास गरे। उनका अनुसार विज्ञानमा आधारित, नैतिक र समर्पित युवाहरूले रूसलाई परिवर्तन गर्नुपर्छ।

    अर्जेन्टिनी विचारक एर्नेस्टो लाक्लाउका अनुसार लोकप्रियतावादी राजनीतिमा “Empty Signifier” प्रयोग गरिन्छ, जसले विभिन्न माग, असन्तुष्टि र पहिचानहरूलाई एउटै झण्डामुनि समेट्छ। यो कुनै निश्चित विचार होइन। उनको विचारले वर्गसंघर्षलाई राजनीतिक आधार मान्दैन र वर्ग निर्माण तथा उत्पादन सम्बन्धजस्ता गहिरा विषयलाई गौण ठान्छ।

    राजनीतिक क्षेत्रमा उपस्थिति

    मार्क्स र एंगेल्सले कम्युनिस्ट घोषणापत्रमा भनेझैं, सामन्ती समाजको गर्भबाट जन्मिएको आधुनिक पूँजीवादी समाजले वर्गीय अन्तरविरोध समाप्त गर्न सकेको छैन। बरु यसले नयाँ वर्ग, उत्पीडनका नयाँ तरिका र संघर्षका नयाँ रूप सिर्जना गरेको छ। आजको लोकप्रियतावाद पूँजीवादी संकटको राजनीतिक अभिव्यक्ति हो। जब प्रतिनिधिमूलक लोकतन्त्र असफल हुन्छ, जब राज्यले जनताको वास्तविक समस्या समाधान गर्न सक्दैन, तब लोकप्रियतावाद उदाउँछ। तर यसले संकटको मूल कारण—पूँजीवादी उत्पादन प्रणाली—माथि प्रश्न उठाउँदैन, बरु त्यसलाई ढाकछोप गर्छ।

    मार्क्सवादी विचारक रोजा लक्जेम्बर्गले भनेझैं, “वितरण प्रणाली उत्पादन प्रणालीको प्रत्यक्ष परिणाम हो। उत्पादन प्रणाली पूँजीवादी रहँदासम्म वितरण न्यायोचित हुन सक्दैन।” लोकप्रियतावाद यी मान्यताबाट विचलित हुँदै भ्रामक विचार, भ्रमित एजेन्डा र सतही कार्यक्रममार्फत राजनीतिक क्षेत्रमा फैलिरहेको देखिन्छ।

    आज विश्वमा लोकप्रियतावाद दक्षिणपन्थी र वाम दुवै आवरणमा देखिन्छ। दक्षिणपन्थी लोकप्रियतावाद राष्ट्रवाद, पहिचान र डरको राजनीतिमा आधारित हुन्छ भने वाम आवरणको लोकप्रियतावाद सामाजिक न्यायको शब्दावली प्रयोग गरेर प्रकट हुन्छ। तर यसमा वर्गीय स्पष्टता र क्रान्तिकारी दृष्टिकोणको अभाव देखिन्छ।

    मुख्य विशेषता

    लोकप्रियतावाद मूलतः भावनात्मक र आकर्षक नाराको जगमा उभिएको हुन्छ। चर्का कुरा, राजनीतिक वा अराजनीतिक गाली–गलौज, तथा विवादास्पद अभिव्यक्तिहरूबाट जनताको ध्यान खिच्ने शैली यसमा देखिन्छ। नेताहरूले आफ्नो लोकप्रियता बढाउन पपुलर नारा लगाउने, भावनात्मक मुद्दा उठाउने र विवादित टिप्पणी गर्ने जस्ता कार्यमा समय खर्चिन्छन्।

    यसरी कट्टर राष्ट्रवादी, जातिवादी, नस्लवादी वा धार्मिक नारा दिन सक्ने व्यक्तिहरू राजनीतिमा प्रभावशाली बन्ने प्रवृत्ति बढिरहेको छ। मानिसहरूले यसलाई जनताको समर्थन वा स्वीकृति ठान्छन्, तर किन र केका लागि भन्ने विषयमा उनीहरू प्रायः स्पष्ट हुँदैनन्।

    के हो डिजिटल समाज ?

    सामान्यतः २१औँ शताब्दीलाई “डिजिटल युग”, “सूचनाको युग”, “डिजिटल समाज”, “उत्तर–औद्योगिक समाज” वा “कम्प्युटरको युग” भनेर सम्बोधन गर्ने प्रचलन छ। डिजिटल समाज भनेको हाम्रो दैनिक जीवन, काम–कारबाही र संस्कृतिमा इन्टरनेट, एआई र मोबाइलजस्ता उपकरणहरूको प्रयोगबाट बनेको सामाजिक संरचना हो। यो कागजरहित, सञ्जालयुक्त र डेटा–आधारित प्रणालीमा आधारित हुन्छ।

    डिजिटल समाजको अवधारणा “उत्तर–औद्योगिक समाज” र “सञ्जाल समाज” को विकाससँग जोडिएको छ। सन् १९७० को दशकतिर अमेरिकी समाजशास्त्री ड्यानियल बेलले सूचना र सेवालाई केन्द्रमा राखेर “उत्तर–औद्योगिक समाज” को अवधारणा अघि सारे। त्यसपछि स्पेनी समाजशास्त्री तथा अर्थशास्त्री म्यानुएल कास्टेल्सले सामाजिक संरचना डिजिटल सञ्जालहरू वरिपरि निर्माण हुन्छ भन्ने अवधारणा विकास गरे।

    आज सूचना प्रविधिको तीव्र विकासले समाजको स्वरूप, संरचना र प्रवृत्तिमा ठूलो परिवर्तन ल्याएको छ।

    डिजिटल प्रतिवेदन २०२६ अनुसार सन् २०२५ सम्म विश्वका करिब ७३.२ प्रतिशत अर्थात् ६.०४ अर्ब मानिसहरूले इन्टरनेट प्रयोग गरेका छन्। नेपालमा कुल जनसंख्याको करिब ५६ प्रतिशत अर्थात् करिब १ करोड ६६ लाख मानिस इन्टरनेटको पहुँचमा छन्। तीमध्ये सबैभन्दा धेरै करिब ४० प्रतिशत (१ करोड २० लाख) १५ देखि ३४ वर्ष उमेर समूहका युवाहरू छन्।

    विचार निर्माणको प्रश्न

    केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. स्वर्णिम वाग्लेले चुनाव प्रचारका क्रममा “वाद र विचार होइन, विकास चाहिन्छ” भन्ने अभिव्यक्ति दिएका थिए। विद्यमान नेपाली राजनीतिक समाजमा एउटा चिन्ताजनक प्रवृत्ति देखिन्छ—विचार, सिद्धान्त र दर्शन गौण बन्दै गएका छन्, जबकि व्यक्ति र सत्ता मुख्य बन्दै गएका छन्।

    हरेक देशको राज्य कुनै न कुनै सिद्धान्त र विचारको जगमा निर्माण भएको हुन्छ। त्यस्तै, हरेक राजनीतिक दलका आफ्नै विचार र घोषणापत्र हुन्छन्।

    पछिल्लो दशकमा विज्ञान र प्रविधिको तीव्र विकास, विशेषगरी सन् २००८ को आर्थिक मन्दीपछि, पूँजीवादको नयाँ सामाजिक, आर्थिक र राजनीतिक स्वरूपले बौद्धिकताको प्रश्नलाई अझ जटिल बनाइदिएको छ।

    नेपाली राजनीतिमा लोकप्रियतावादको प्रभाव हेर्दा चुनावका समयमा सस्ता नारा, आकर्षक घोषणापत्र र चर्चित अनुहारलाई राजनीतिमा ल्याउने प्रवृत्ति बढेको देखिन्छ। यसको एउटा उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टी पनि हो।

    आज पूँजीवाद र प्रविधिमा भएको एकाधिकारले विश्वलाई प्रभावित गरिरहेको छ। ठूला टेक कम्पनीहरूले डिजिटल माध्यमबाट मानिसहरूको सोच र व्यवहारलाई समेत नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। डिजिटल माध्यमहरूले विचारलाई वस्तुका रूपमा प्रस्तुत गरिरहेका छन्, जसले गहिरा वैचारिक बहसलाई सतही बनाइरहेको छ।

    मार्क्सवादको केन्द्रीय पक्ष भनेको उत्पादनका साधनमाथिको नियन्त्रणको प्रश्न हो। सामन्तवादमा जमिन मुख्य साधन थियो, पूँजीवादमा उद्योग–धन्दा, र अहिलेको सूचना युगमा डेटा, एल्गोरिदम र डिजिटल प्लेटफर्महरू मुख्य साधन बनेका छन्। अहिले भौतिक उत्पादन धेरै हदसम्म सूचना उत्पादनमा रूपान्तरण भएको छ।

    डिजिटल प्लेटफर्महरू विचार उत्पादनका साधनजस्तै भएका छन्। यसले निर्भरता, भावनात्मक ध्रुवीकरण र झुटो चेतनालाई बढावा दिएको छ। मानिसहरू वास्तविक शोषण र अन्यायका कारण बुझ्न कठिनाइ महसुस गरिरहेका छन्।

    नेपालजस्तो भूराजनीतिक रूपमा संवेदनशील देशमा लोकप्रियतावाद र डिजिटल पूँजीवादले राजनीतिक यात्रालाई प्रभावित गरिरहेका छन्। आजको लोकप्रियतावाद पूँजीवादी संकट ढाक्ने एक प्रकारको राजनीतिक उपकरणजस्तै बनेको छ।

    हालसालै जर्जटाउन विश्वविद्यालयका राजनीतिकशास्त्रका प्राध्यापक गेबोर सेरिङले लेखेका छन् कि धेरै पत्रकार र राजनीतिशास्त्रीहरूले लोकप्रियतावादलाई सांस्कृतिक प्रतिक्रियाका रूपमा हेर्ने गरेका छन्। आर्थिक असुरक्षा, विश्वव्यापी व्यापार, औद्योगिक रोबोट र कृत्रिम बुद्धिमत्ताको प्रभावसँगै आप्रवासन, जाति र धर्म प्रमुख मुद्दा बनेका छन्।

    उनको अनुसन्धानले देखाउँछ कि आर्थिक असुरक्षाले युरोप, उत्तर अमेरिका र ल्याटिन अमेरिकामा लोकप्रियतावादलाई बल दिएको छ। उदाहरणका लागि, सन् २०१० को दशकमा रोजगारी गुमाएका धेरै अमेरिकीहरूले सन् २०१६ मा डोनाल्ड ट्रम्पलाई समर्थन गरेका थिए।

    यी तथ्यहरूले पूँजीवादको संकटलाई स्पष्ट रूपमा देखाउँछन्। लोकप्रियतावाद र डिजिटल माध्यमको प्रयोगले विचार निर्माणमा देखाएका समस्याहरू पनि यही प्रणालीका अन्तरविरोधको परिणाम हुन्। अबको बहस र संघर्ष भनेको प्रविधि र विचार निर्माणका साधनहरूमाथिको नियन्त्रण र तिनको वर्गीय उद्देश्यबारे हुनुपर्दछ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ