काठमाडौं । सुक्खा मौसमको प्रभाव देखिन थालेसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषणको समस्या बढ्दै गएको छ। पछिल्ला दिनमा उपत्यकाका विभिन्न क्षेत्रमा वायुको गुणस्तर खस्किएको छ भने आगामी आइतबारसम्म प्रदूषणको स्तर अस्वस्थकर अवस्थामा रहने अनुमान गरिएको छ।
स्विट्जरल्यान्डमा मुख्यालय रहेको वायु गुणस्तर अनुगमन संस्था आईक्यूएयरले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार बिहान काठमाडौं उपत्यकाको समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) १११ पुगेको छ। बिहीबार मध्यबानेश्वर क्षेत्रमा प्रदूषणको मात्रा १५३ सम्म पुगेको थियो। शुक्रबार बिहान सवा ९ बजेसम्म सोही क्षेत्रमा एक्यूआई १२७ मापन गरिएको थियो।
काठमाडौं महानगरपालिकाको वायु गुणस्तर अनुगमन प्रणालीले पनि उपत्यकाका विभिन्न स्थानमा प्रदूषणको अवस्था चिन्ताजनक रहेको देखाएको छ। स्वयम्भू, बालाजु, टेकु, डल्लु, थापाथली, क्षेत्रपाटी, जडिबुटी, असन, कमलादी, शान्तिनगर, चाबहिल, लैनचौर र हाँडीगाउँलगायत क्षेत्रमा हावाको गुणस्तर अस्वस्थकर तहमा पुगेको छ।
बढ्दो प्रदूषणलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले वायु प्रदूषण बढाउने गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आग्रह गरेको छ।
विज्ञहरूका अनुसार वर्षा कम हुने सुक्खा समयमा सडक तथा खुला स्थानको धुलो हावामा बढी फैलिन्छ। त्यसैगरी सवारीसाधनबाट निस्कने धुवाँ, निर्माण कार्य र अन्य प्रदूषणका स्रोतले उपत्यकाको वायु थप दूषित बनाउने गर्छन्।
विशेषगरी पीएम २.५ नामक सूक्ष्म कण स्वास्थ्यका लागि बढी हानिकारक मानिन्छ। २.५ माइक्रोमिटरभन्दा सानो व्यास भएका यी कण श्वासप्रश्वासका क्रममा फोक्सोसम्म पुग्न सक्छन्। कतिपय अवस्थामा रक्तप्रवाहमा समेत प्रवेश गर्न सक्ने भएकाले दीर्घकालीन स्वास्थ्य जोखिम बढ्न सक्छ।
वायु गुणस्तर सूचकांक १०१ देखि १५० सम्म पुगेको अवस्थामा बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति तथा दीर्घरोगीहरू बढी प्रभावित हुन सक्छन्। एक्यूआई १५१ देखि २०० पुगेपछि भने सामान्य स्वस्थ व्यक्तिमा समेत प्रदूषणको असर देखिन सक्ने जोखिम रहन्छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पीएम २.५ को वार्षिक औसत मात्रा प्रतिघनमिटर हावामा ५ माइक्रोग्राम र २४ घण्टाको औसत मात्रा १५ माइक्रोग्रामभन्दा बढी हुन नहुने सिफारिस गरेको छ।
दिल्लीमा वायु प्रदूषण गम्भीर तहमा
नेपालमा प्रदूषण बढिरहेका बेला छिमेकी भारतको राजधानी नयाँदिल्लीमा भने वायुको अवस्था झन् खराब देखिएको छ। भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार शुक्रबार बिहान ८ बजे दिल्लीको एक्यूआई ४२२ पुगेको थियो।
दिल्लीका विभिन्न स्थानमा पनि प्रदूषणको मात्रा निकै उच्च पाइएको छ। जवाहरलाल नेहरू स्टेडियम आसपास एक्यूआई ४२१ र नजफगढमा ४१४ मापन गरिएको थियो। चाँदनी चोक क्षेत्रमा भने यो सूचकांक ३९१ रहेको थियो।
भारतीय मापदण्डअनुसार एक्यूआई ४०१ देखि ५०० सम्म पुग्दा वायुको अवस्था गम्भीर अर्थात् ‘सिभियर’ मानिन्छ। यस्तो अवस्थामा प्रदूषित हावाले स्वस्थ व्यक्तिको स्वास्थ्यमा समेत प्रतिकूल असर पार्न सक्छ भने पहिलेदेखि नै स्वास्थ्य समस्या भएका व्यक्तिमा गम्भीर जोखिम निम्त्याउन सक्छ।
सीपीसीबीले एक्यूआई ३०१ देखि ४०० सम्मको अवस्थालाई पनि अत्यन्त खराब श्रेणीमा राखेको छ। यस्तो हावामा लामो समयसम्म रहँदा श्वासप्रश्वाससम्बन्धी समस्या बढ्न सक्ने बताइएको छ।
भारतको वर्गीकरणअनुसार एक्यूआई शून्यदेखि ५० सम्म हुँदा हावाको गुणस्तर राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको अवस्थालाई सन्तोषजनक मानिन्छ। प्रदूषणको मात्रा बढ्दै जाँदा त्यसले जनस्वास्थ्यमा पार्ने असर पनि गम्भीर बन्दै जाने भएकाले सतर्कता अपनाउन आवश्यक देखिन्छ।
प्रतिक्रिया