काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको खेलमा काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ। विराटनगरले दिएको ८४ रनको लक्ष्य काठमान्डुले ९.४ ओभरमा १ विकेट गुमाएर ८६ रन बनाउँदै पूरा गरेको हो।
पहिलो खेलमा पराजित भएको काठमान्डुले त्यसपछि लगातार दुई खेलमा जित हात पारेको छ। तीन खेलबाट ४ अंक जोडेको काठमान्डु अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पाँच खेल खेलेको विराटनगरको यो तेस्रो हार हो। समान ४ अंक भए पनि कमजोर रनरेटका कारण विराटनगर पाँचौं स्थानमा झरेको छ।
काठमान्डुको जितमा अष्ट्रेलियन ब्याटर डेभिड वार्नरले सर्वाधिक ४४ रन बनाए। उनले २४ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै अविजित रहे। अर्का अष्ट्रेलियन खेलाडी विलियम बोसिस्टोले २४ बलमा ३ चौकासहित अविजित २३ रन बनाए।
दोस्रो विकेटका लागि वार्नर र बोसिस्टोले ७९ रनको अविजित साझेदारी गरे। ओपनर साहिल पटेल ११ बलमा १० रन बनाएर आउट भए। विराटनगरका अपराजित पौडेलले १ विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्स १९.३ ओभरमा ८३ रनमा अलआउट भएको थियो।
विराटनगरका लागि नवौं नम्बरमा ब्याटिङ गर्न आएका रुपेश सिंहले सर्वाधिक २६ रन बनाए। उनले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे। एन्जेलो म्याथ्युजले ३१ बलमा २२ रन तथा बसिर अहमदले १० रन बनाए।
विराटनगरका अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। शेहान जायसूर्या ५, लोकेश बम ६, आन्द्रे रसेल ३ र अपराजित पौडेल २ रनमा आउट भए। इमरान शेख, नारायण जोशी र शुभम रन्जानेले खाता खोल्न सकेनन्। कप्तान सन्दीप लामिछाने ३ रनमा अविजित रहे।
विराटनगरले पहिलो विकेटका लागि शेहान जायसूर्या र लोकेश बमबाट ११ रनको साझेदारी गरेको थियो। त्यसपछि लगातार विकेट गुमाएको विराटनगर ३५ रनमा ७ विकेट गुमाउने अवस्थामा पुगेको थियो।
एन्जेलो म्याथ्युज र रुपेश सिंहले आठौं विकेटका लागि ४० बलमा ३९ रनको साझेदारी गर्दै टोलीको इनिङ्स सम्हाल्ने प्रयास गरे। विराटनगरका लागि यही साझेदारी सर्वाधिक ठूलो बन्यो।
काठमान्डुका बलरमध्ये सन्तोष यादवले उत्कृष्ट प्रदर्शन गर्दै ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए। सहान अराचिगेले २ ओभरमा ७ रन दिँदै २ विकेट तथा जहानदान खानले ३.३ ओभरमा १९ रन खर्चेर २ विकेट हात पारे।
काठमान्डुका कप्तान करण केसी, शाह आलम र देव शाहले समान १ विकेट लिए।
प्रतिक्रिया