• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    विप्लवबिरुद्ध ओली सरकारको खतरनाक निर्णय, कार्यकर्तामाथि गोली चलाउन प्रहरीलाई आन्तरिक सर्कुलर

    7.1K
    SHARES

    काठमाडौं । ओली सरकारले विद्रोही नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु हतियारसहित भेटिए सिधै गोली हान्न निर्देशन दिएको खुलासा भएको छ । नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै प्रदेशभर सुरक्षा सतर्कता बढाइएको सरकारको जिकिर छ ।

    सरकारले हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन दिएको स्रोतले बतायो । स्रोतका अनुसार आन्तरिक विज्ञप्तिमार्फत आएको सूचनामा ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’ भनिएको छ । ‘विप्लवका कार्यकर्ता हतियारसहित हिँडेको फेला परे घुँडामुनि गोली हान्नेसम्मको निर्देशन छ,’ एक प्रजिअले भनाइ उदृत गर्दै कान्तिपुर दैनिकले समाचार छापेको छ।

    बिनाहतियार हिँडेको तर नेतृत्वमा रहेको कार्यकर्तालाई जहाँ भेटे पनि पक्राउ गर्न र सामान्य कार्यकर्तामाथि पनि उच्च निगरानी राख्न निर्देश ओली सरकारले दिएको छ । सरक्षाकर्मीलाई आफ्नो ज्यान, हतियार, कार्यालय, युनिटको सुरक्षा रणनीतिसहित सतर्क रहन भनिएको छ । एक डीएसपीका अनुसार हरेक जिल्लाका दुर्गम क्षेक्रमा सुरक्षा जनशत्ति बढाउने, गस्ती जारी राख्ने र विकास एवं सञ्चार संरचनाको सुरक्षामा विशेष सतर्कता राख्न निर्देशन छ । सामान्य कार्यकर्तालाई पनि पिछा गर्ने, बासस्थान निगरानी गर्ने र एक जिल्लादेखि अर्को छिर्ने सवारीमा समेत जाँच कडा पार्ने निर्देशन छ ।

    स्रोतका अनुसार  नेकपा नेता–कार्यकर्तालाई पछ्याउने, तर्साउने र मनोवैज्ञानिक दबाबमार्फत वार्तामा ल्याउने सरकारको रणनीति पनि रहेकाले त्यसैअनुसारका गतिविधि गर्ने सुरक्षा निकायको आन्तरिक सर्कुलर छ । आन्तरिक सर्कुलरमा प्रहरीलाई एक जना मात्र बाहिर नहिँड्न, लामो गस्ती समूहमा हिँड्न, आफू जोगिएर फायर खोल्न भनिएको एक प्रहरी अधिकृतले बताए । प्रहरीका दुर्गमका सुरक्षा युनिटमा जनशक्ति बढाउनेदेखि आवश्यक परे सशस्त्र प्रहरीसँग पनि सहकार्य गर्न गृह मन्त्रालयको निर्देशन छ ।

    रूपन्देहीका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले ग्रामीण क्षेत्रका सुरक्षा युनिटलाई पनि आफैंमाथि हुन सक्ने आक्रमणका लागि तयारी अवस्थामा बस्न निर्देशन गरिएको बताए । ‘सबै निर्देशन र रणनीति तय गरिएको छ,’ उनले भने, ‘हामीले रातो बत्ती बालिसकेका छौं ।’ नेकपाका जिल्लास्थित सबै पार्टी कार्यालय, निवास एवं बासस्थान खाली भइसकेको प्रहरीले जनाएको छ । नेकपाविरुद्ध प्रहरीले प्रदेशभरी विभिन्न खालका अपरेसन सञ्चालन गर्न थालेको प्रदेश ५ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पीताम्बर अधिकारीले बताए ।

    कालीकोटमा प्रहरीले नेकपाविरुद्ध ‘सर्च एन्ड एरेस्ट अपरेसन’ सुरु गरेको छ । कालीकोट प्रहरीले मंगलबार राति जिल्लाको माल्कोट, कोटवाडा, मुम्रा, फुकोट, रेगिंललगायत ठाउँमा सर्च गरेको थियो । प्रहरी टोली बुधबार बेलुकी पनि सर्चका लागि गाउँ खटिएको छ ।

    प्रहरीले नेकपामा आबद्ध हुनेजतिलाई पक्राउ गर्ने र पार्टीका गतिविधिमा संलग्न भेटिए फौजदारी अपराधको मुद्दा चलाउने र सामान्य गतिविधि वा भेला मात्रै गरेको भए सार्वजनिक सुरक्षा ऐनअनुसार कारबाही गर्ने नीति अख्तियार गर्ने देखिन्छ ।

    प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले शान्तिपूर्ण भेला हुन पाउने नागरिकको संवैधानिक हक भए पनि सरकारको नीतिअनुसार नेकपालाई त्यस्तो गतिविधि गर्ने छुट नभएको बताए ।

    प्रवक्ता सुवेदीले राज्यले नेकपामाथि प्रतिबन्ध लागेकाले त्यसको सदस्यता लिनेहरू पनि कारबाहीको दायरामा आउने बताए । नेकपाले देशमा समानान्तर सत्ता चलाएपछि ओली सरकारले प्रतिबन्ध गर्ने निर्णय लिएको कतिपयको बुझाई छ ।

    ‘प्रतिबन्ध समाधान होइन’
    प्रहरी अधिकारीहरूले औपचारिक रूपमा चन्द समूहमाथि कडा रूपमा प्रस्तुत हुने बताइरहे पनि प्रहरीका उच्च अधिकारी यसबाट मात्रै समस्या समाधान नहुने बताउँछन् ।

    प्रहरीका  केही उच्च अधिकारीले सरकारी निर्णय कार्यान्वयनबाट नेकपालाई पुरै निस्तेज पार्न नसकिने बताएको पनि कान्तिपुरले उल्लेख गरेको छ । नेकपाका शक्ति र संगठनात्मक संरचनाबारे प्रहरी र सेनाका आआफ्नै अनुमान छन् । उच्च प्रहरी अधिकारीहरूका अनुसार  एमाले–माओवादी एकतापछि असन्तुष्टहरू विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेको र केहीले बाहिरबाट सहानुभूति राखेको अनुमान लागाउन थालेका छन् ।

    के भन्छन् विप्लव ?

    ओली सरकारले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गर्दै प्रतिबन्धको सशक्त प्रतिरोध गर्ने बताएका छन् । विप्लवले पार्टीमाथि दमन गरिए त्यसको मुखतोड जवाफ दिने चेतावनी पनि दिएका छन् ।

    “केपी–बादल कम्पनीले आफ्नो पार्टीमाथि दमन ग¥यो भने त्यको मुखतोड जबाफ दिइनेछ” विप्लवले विज्ञप्तिमा भनेका छन् । विप्लवले आफ्नो पाटीमाथिको प्रतिबन्ध अपराधिक, षड्यन्त्रकारी तर हास्यास्पद निर्णय भनेका छन् । उनले सरकारको कुकर्मप्रति जनताको चाँसो हुनु स्वाभाविक भएको बताए ।

    “यही फागुन २८ गते साँझ केपीको मन्त्रिपरिषद्को बैठकबाट हाम्रो गौरवशाली पार्टीमाथि प्रतिबन्ध लगाउने, राजनीतिक मान्यता नदिएर अपराधी समूह मान्नेजस्तो आपराधिक, षड्यन्त्रकारी तर हास्यास्पद निर्णय गरेको प्रचार सञ्चारमाध्यममा आएको छ । केपी—बादल कम्पनीको यस कुकर्मप्रति जनताको चासो हुनु स्वाभाविक छ” विज्ञप्तिमा उल्लेख छ ।

    राष्ट्र बेचेर खाने, दलाल, तस्करहरुसँग मिलेर जनताविरुद्ध अपराध गर्ने, झापा विद्रोह, जनयुद्धका सहिद, घाइतेलाई धोका दिने आदर्श मूल्यमान्यतालाई बेचेर खानेमाथि प्रतिबन्ध लगाउने पर्ने विप्लवले विज्ञप्तिमा भनेका छन् ।

    “जहाँसम्म हाम्रो पार्टीलाई प्रतिबन्ध लगाउने प्रचार छ, प्रतिबन्ध हामीलाई होइन, राष्ट्र बेचेर खाने, विदेशीको दलाली गर्ने, भ्रष्ट, कमिसनखोर, तस्करहरूसँग मिलेर जनताका विरुद्ध जघन्य अपराध गर्ने अपराधी, भ्रष्ट, राज्यका मन्त्री र उनीहरूका मतियारहरूलाई लगाइनेछ । झापा विद्रोह र दस वर्षको महान् जनयुद्धका हजारौँ सहिद, बेपत्ता, घाइते र क्रान्तिकारीहरूलाई धोका दिने, कम्युनिस्ट आदर्श, सिद्धान्त, मूल्य, मान्यता, लक्ष्य बेचेर खाँदै जनताका वैरीहरूसँग गठजोड गरेर क्रान्तिकारीहरूमाथि दमन गर्ने ‘अधर्मी’, अनैतिक, अन्तर्घाती अपराधीहरूलाई प्रतिबन्ध लगाइनुपर्छ” विज्ञप्तिमा उल्लेख छ ।

    प्रचण्डले दुई दिनको चोलालाई बचाउन क्रान्ति, जनता र कम्युनिस्टप्रति नै गद्दारी गरेपछि आफूहरुले विद्रोहको झण्डा उठाउँदै दलाल पुँजिवादी सत्तालाई अस्वीकार गर्दै जनयुद्धको आदर्शमा हिडेको बताएका छन् ।

    विप्लवले विज्ञप्तिमा भनेका छन्, “एमाले, काङ्ग्रेस, भारतसँग प्रचण्डहरूले टाउको लतारेपछि, उनीहरूले क्रान्ति बेचेर दुई दिनको चोलालाई बचाउन क्रान्ति, जनता, कम्युनिस्टहरूप्रति गद्दारी गरेपछि हामीले उनीहरूविरुद्ध विद्रोहको झन्डा उठाएका थियौँ । हामीले दलाल पुँजीवादी सत्तलाई अस्वीकार गर्दै महान् जनयुद्धको आदर्शमा हिँड्दै क्रान्तिलाई नयाँ उचाइमा उठाउने प्रतिज्ञा गरेका थियौँ । सोही विचारअनुरूप हामीले २०७२ सालमा प्रतिगामी संविधान अस्वीकार गरेदेखि नै हाम्रो पार्टीमाथि अघोषित प्रतिबन्ध लगाउँदै आएको थियो । कथित संसदीय चुनावहरूको बहिष्कार गरेपछि त गोली हान्ने र हत्या गर्नेसम्ममा राज्य उत्रियो ।”

    हालसम्म आफूहरुका तीनजना कार्यकर्ताको सहादत प्राप्त गरिसकेको र दर्जनभन्दा बढी कार्यकर्ताहरू घाइते भएको भन्दै महासचिव विप्लवले कपिलवस्तुको शिवगढी अञ्चलपुरका युवा दुर्गा रोकालाई गिरफ्तारपछि ट्वाइलेटमा लगरे प्रहरीले गोली हानेको दावी गरेका छन् ।

    “हालसम्म हाम्रा तीनजना कार्यकर्ताको सहादत भइसकेको छ भने दर्जनभन्दा बढी कमरेडहरू घाइते हुनुहुन्छ ।हालै कथित अप्रेसनका नाममा कपिलवस्तुको शिवगढी अञ्चलपुरका युवा दुर्गा रोकालाई गिरफ्तारपछि ट्वाइलेट (पहिले जङ्गलमा भन्ने आएको थियो) मा लगेर गोली हानिएको छ । सयौँजना नेता–कार्यकर्तालाई गिरफ्तार गरेर बन्दी बनाइएको छ । झूट्टा मुद्दा व्यापक लगाइएको छ । रोल्पा, कपिलवस्तुलगायत जिल्लाहरूमा प्रहरी अप्रेसन चलाइएको छ । यस्तो परिस्थितिमा बाहिर प्रतिबन्धको घोषणा गर्नु भनेको हाम्रा लागि कुनै नयाँ र ठूलो कुरा होइन ।

    उनले अगाडि भनेका छन्- “क्रान्तिप्रति गद्दारी गर्दै जनतामा प्रतिक्रियावादी दलाल पुँजीवादी सत्ता लादिसकेपछि श्रमिक जनता र क्रान्तिकारीहरूमाथि फासिवादी दमन, हत्याहिंसा लादिन्छ र त्यसका विरुद्ध प्रतिरोध सङ्घर्ष बाध्यकारी बन्छ भन्ने सवाल हामीले बुझेकै विषय हो । केपी—बादल कम्पनीले दमन गरेमा त्यसको मुखतोड प्रतिरोध गर्न हामी पूर्ण रूपले तयार रहेको सबैलाई अवगत गराउन चाहन्छौँ ।”

    प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले आफ्नो पार्टीमाथि षड्यन्त्र गरको भन्दै त्यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको उनको भनाइ छ । विप्लवले विज्ञप्तिमा अगाडि भनेका छन्, “दलालहरूले जहिले पनि आफ्नो तुच्छ स्वार्थका लागि राज्यका अङ्गहरूलाई जथाभाबी जनताका विरुद्ध प्रयोग गर्दै आएका छन् तर उनीहरू कहिल्यै पनि सफल भएका छ्रैनन् । केपी—बादल कम्पनीले पनि यही आपराधिक षड्यन्त्र गरिरहेको छ । यसप्रति सबै देशभक्त, लोकतान्त्रिक, वामपन्थी, कम्युनिस्ट राजनीतिक शक्तिहरू, मानवअधिकारवादी, बुद्धिजीवी, पत्रकारसहित प्रहरी र सेनाको पनि उचित ध्यान जाओस् भन्नेमा हामी विशेष आग्रह गर्दछौँ ।”

    एनसेल, अरुण ३, मानव तस्करमाथि गरेको कारबाही गर्दा आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाउनेहरु अपराधी हुन भन्ने पुष्टि भएको उनले उल्लेख गरेका छन् ।

    “जहाँसम्म अरुण ३, एनसेल, मेनपावर सप्लाई कम्पनीमाथिको कारबाही हुन्, ती हामीले गरेको हो र त्यसलाई राज्यले अपराधी भन्छ भने जनताले यो बुझ्नुपर्दछ– अरुण ३ जस्तो राष्ट्रघाती सम्झौता गरेर अर्बौं कमिसन खाने अपराधी केपी—बादल कम्पनी रहेछ, हाम्रा हजारौँ दिदीबहिनीहरूलाई विदेशी बजारमा आलु बेचेजसरी बेचेर हुर्मत लिने अपराधी यिनीहरू नै रहेछन्, खुलेआम अर्बौं रुपैयाँ ठगी गर्ने गिरोहमा यिनीहरू नै रहेछन् ।”

    उनले अगाडि भनेका छन्- “यसो हो भने अबको कारबाही एनसेल, मेनपावर र अरुण ३ माथि होइन, यी अपराधीमाथि हुनुपर्छ । यी कारबाहीलाई केपीले लगातार चन्दामा लगेर जोड्नु भनेको आफ्नो भ्रष्ट अनुहारलाई छोप्ने तुच्छ तर उदाङ्गो खेल मात्र हो । हामीले कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौँ, कसैको दलाली गरेर कमिसन खाएका छैनौँ ।”

    महासचिव विप्लवले जनता र राष्ट्रको भविष्यका लागि लडिरहेका अवस्थामा चन्दा उठाउनु नेकपाकाे नैसर्गिक अधिकार भएकाे दावी गरेका छन्। यसप्रति कोही पनि भ्रममा नपर्न र दलाल पुँजीवादी सत्तालाई समाप्त पार्ने क्रान्तिलाई सम्पूर्ण खालको सहयोग गर्न सबैमा अनुरोध गरेका छन्।

    “हामी आफ्नै बलबुतामा क्रान्ति हाँक्दैछौँ । अरू कसैका लागि नभएर जनता र राष्ट्रको भविष्यका लागि लड्दैछौँ भने चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार नै हो । यसप्रति कोही पनि भ्रममा नपर्न साथै दलाल पुँजीवादी सत्तालाई समाप्त पार्ने क्रान्तिलाई सम्पूर्ण खालको सहयोग गर्न विनम्र अनुरोध गर्दछौँ । हामी आफ्नो आदर्शका लागि जस्तोसुकै कठिन यात्रा गर्न तयार छौँ तर दलालहरू र दलाल पुँजीवादी सत्ताका सामु एकरत्ति झुक्न तयार छैनौँ” विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया