उमाकान्त युके, काठमाडौ । पत्रकार जितेन्द्र महर्जन रिहा भएका छन् । न्हूगु ज्वजलपा वा: पौ साप्ताहिक पत्रिकाका सम्पादक जितेन्द्र महर्जन २२ दिनको हिरासत बसाईपछि रिहा भएका छन् । मंगलबार सर्बोच्च अदालतको आदेशपछि उनी रिहा भएका हुन् ।
नेपाल पत्रकार महासंघको तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले दोस्रोपटक दायर गरेको रिटमाथी सुनुवाइ गर्दै मंगलबार दिपककुमार कार्की र हरिप्रसाद फुयालको संयुक्त इजलासले महर्जनलाई रिहा गर्न आदेश दिएको हो।
प्रहरीले महर्जनलाई चैत्र २६ गते समाचार संकलनका क्रममा काठमाडौंको रामशाहपथस्थित नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यालय परिसरबाटै गिरफ्तार गरेको थियो । नेपाल पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन, नेपाललगायत प्रेस तथा मानवअधिकारसँग सम्बन्धित संघ-संगठनहरुले महर्जनको गिरफ्तारीको बिरोध जनाएका थिए ।
नेपाल पत्रकार महासंघको तर्फबाट महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षकरणको रिट दायर गरेका थिए। रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले बैशाख ८ महर्जनलाई रिहा गर्न आदेश दियो । अदालतको आदेशलपछि रिहा भएका महर्जनलाई सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पुनः गिरफ्तार गरेको थियो ।
क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका जैसी पत्रकार महर्जनको रिहाइको माग गर्दै महासंघको तर्फबाट पुनः अदालत पुगेका थिए । दोस्रो रिटमाथि मंगलबार सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश दिपककुमार कार्की र हरिप्रसाद फुयालको सयुक्त इजलासको आदेशमा महर्जन रिहा भएका हुन् ।
रिहा पछि क्रान्तिकारी पत्रकार संगठन नेपालले मंगलबार साँझ संवाद डबलीमा अभिनन्दन गरेको छ । संगठनका उपाध्यक्ष जन्मदेव जैसी, महासचिव बाबुराम भुसाल, नेवा राष्ट्रिय पत्रकार दवूका केन्द्रीय उपाध्यक्ष नृपेन्द्र श्रेष्ठ, महासचिव सुनिल महर्जन, रेडियो मिर्मिरेका प्रबन्धक खम्बु चन्द, इमानदार मिडियाका अध्यक्ष कमल बुढा, संवाद डबलीका सचीव धनन्जय बुढालगायत पत्रकारहरुको उपस्थितिमा भएको अभिनन्दन कार्यक्रममा महर्जनका आफन्तहरुको समेत सहभागिता रहेको थियो ।
अभिनन्दन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले महर्जनको रिहाइका लागि पहल र सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
लोकतान्त्रिक शासन व्यवस्थामा पनि आस्था, अभिव्यक्ति र विचारकै कारण पत्रकारलाई पक्राउ गरिनु दु:खद भएको भन्दै जैसीले प्रेसमाथि हुने सबै प्रकारका हस्तक्षेप बन्द गर्न सरकारसँग माग गरे । उनले जुनसुकै प्रकारको अबरोधको सामना गर्नुपरे पनि प्रेस स्वतन्त्रताको अनवरत लडाइमा साथ दिन मानवअधिकार वादी र प्रेस जगतलाई अपिल गरे ।
पत्रकार महर्जनको रिहाइको लागि पत्रकार महासंघले देशव्यापी दवावमूलक कार्यक्रमको घोषणा गरेको थियो । सोही क्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा महासंघले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाउँदै प्रेसमाथिको हस्तक्षेप बन्द माग गरेको थियो ।
प्रतिक्रिया