मनाङ । लगातार भइरहेको वर्षासँगै मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको नासों गाउँपालिका–१ स्थित तालगाउँ पुनः डुबानमा परेको छ। केही समयअघि मात्रै पुनर्निर्माण सम्पन्न भएको गाउँ फेरि बाढीको चपेटामा परेको स्थानीय अगुवा राजन गुरुङले जानकारी दिए।
नदीको बहाव बढेर गाउँ आसपासको क्षेत्रमा पानी जम्न थालेपछि तालगाउँ चारैतिरबाट प्रभावित भएको छ। बाढी र पहिरोका कारण गाउँबाट बाहिरिने उत्तर तथा दक्षिणतर्फका सडक अवरुद्ध भएपछि स्थानीयको बाहिरी क्षेत्रसँगको आवतजावत रोकिएको छ।
गाउँमा रहेका स्थानीयहरू सामूहिक रूपमा स्थानीय स्वास्थ्य चौकीको भवनमा बसेका छन्। विद्युत् तथा इन्टरनेट सेवा बन्द भएपछि तालगाउँसँग सञ्चार सम्पर्कसमेत कठिन बनेको छ।
गाउँभन्दा माथिल्लो क्षेत्रमा के भइरहेको छ भन्नेबारे समेत यकिन जानकारी लिन नसकिएको स्थानीयले बताएका छन्। सम्पर्क विच्छेदका कारण बाढी तथा पहिरोबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ।
यसैबीच, मर्स्याङ्दी नदीको बहाव अझै बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। नदीको बहावमा देखिएको अवरोधका कारण तल्लो क्षेत्रमा समेत जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको हो।
प्रतिक्रिया