
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले कुनै व्यक्तिको हत्या गर्ने योजना नबनाएको बताएको छ । आफ्नो पार्टीले व्यक्ति हत्या गर्ने मान्छे खटाएको भन्दै गरिएको प्रचार झुटो भएको उसले बताएको छ ।
केही दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओली, (नेकपा)का अध्यक्ष प्रचण्डको हत्या गर्ने योजना बनाइएको भनेर गरिएको प्रचारप्रति खेद व्यक्त गर्दै नेकपाले त्यस्तो कुनै योजना नभएको स्पष्ट पारेको छ । केही दिन पहिले प्रचण्डले एक सार्वजनिक कार्यक्रममा आफ्नो हत्या गर्न विप्लवले मान्छे खटाएको बताएका थिए ।
नेकपाको पार्टी कार्यालयले संचारकेन्द्रसँग कुरा गर्दै आफ्नो पार्टीमाथि दमन गर्न षड्यन्त्रसरुप उक्त प्रचार गरिएको बताएको छ । ‘नेकपाले अहिलेसम्म कुनै व्यक्तिको पनि हत्या गर्ने योजना बनाएको छैन ।’ कार्यालय स्रोतले भन्यो- ‘सरकार र आसेपासेहरुले बदनाम गर्ने उद्देश्यले त्यस्तो अफवाह फैलाएको हुनसक्छ ।’
यस्तो भ्रम नछर्न सम्बन्धित सबै पक्षमा नेकपाले आग्रह गरेको छ । साथै सत्यतथ्य बुझेर समाचार सम्प्रेषण गर्न पनि मिडिया जगतलाई अनुरोध गरेको छ ।
“पछिल्लो क्रममा नेकपालाई दमन गर्ने षड्यन्त्रबमोजिम यस्ता तथ्यहीन, भ्रामक कुराहरू आइरहेका छन् । यो कुरामा कुरामा कत्ति पनि सत्यता रहेको छैन । जनता र राष्ट्रका पक्षमा सङ्घर्ष गर्दै आएको एउटा क्रान्तिकारी पार्टीलाई बदनाम गर्न अनावश्यक लाञ्छना लगाएर धमिलो पानीमा माछा मार्ने योजना यो सरकार र उसका आसेपासेले अफवाह फैलाएका हुन्” स्रोतले भन्यो ।
नेकपाको लोकप्रियतालाई देखेर देशीविदेशी प्रतिक्रियावादीहरु पार्टी नै बदनाम गराउने षड्यन्त्रमा लागेको भन्दै उक्त पार्टीले यस्तो घिनलाग्दो खेल बन्द गर्न चेतावनी दिएको छ । यस्ता षड्यन्त्रहरुलाई सबै देशभक्त, सच्चा लोकतन्त्रवादीहरूले मौकामा भण्डाफोर गर्नुपर्ने नेकपाको धारणा छ ।
योजनाबद्ध रुपमा झुटो समाचार बनाइएको बताउँदै नेकपाले भनेको छ, “बरु प्रचण्ड नै यसरी व्यक्तिहत्याका कुरा गर्दथे । अहिले देश र जनताप्रति गरेको गद्दारी र यो सरकारप्रति जनताको दिनानुदिनको आक्रोशलाई कम गरी लुटको स्वर्ग बचाइराख्न योजनाबद्ध यस्ता समाचारहरू बनाइएका छन् ।”
केही संचारमाध्यमहरुले प्रकाण्डको डाइरीको हवाला दिँदै प्रधानमन्त्री ओली, प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको हत्या गर्ने योजना बनाएको भन्दै समाचार प्रकाशित गरेका थिए । प्रधानमन्त्री ओलीले पनि आफूसहितका नेताहरुको हत्या गर्ने योजना बनाएकोले प्रतिबन्ध लगाएको बताउँदै आएका छन् ।
उक्त अफवाहपछि सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले आफ्नो व्यक्तिगत सुरक्षाका लागि ५ दर्जन सुरक्षाकर्मी राखेका छन् । यता प्रतिबन्धित नेकपाका नेता कार्यकर्तामाथि दमन, गिरफ्तारी र धरपकड भने व्यापक बनाएको छ ।
प्रतिक्रिया