• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी

    नेपाल बन्दमा ठाउँ-ठाउँमा बम भेटिए, पोखरामा नेपाली सेनाका १ जना घाइते

    11.7K
    SHARES

    काठमाडौँ । नेपाल बन्दको क्रममा उता गण्डक प्रदेशका विभिन्न जिल्लामा बम फेला परेका छन् । प्रदेश राजधानी पोखरा ३ नदिपुरमा प्रदेशसभा भवन नजिक भेटिएको बम डिस्पोज गरिएको छ ।

    उक्त बम डिस्पोज गर्दा एक जना नेपाली सैनिक घाईते भएका छन् । घाइते हुनेमा नायक धर्मबहादुर थापा रहेका छन् । कास्कीकै लेखनाथस्थित सैनिक बस्तीमा पनि त्यस्तै शंकास्पद बस्तु भेटिएको छ । त्यसलाई डिस्पोज गर्नका लागि नेपाली सेनाको टोली त्यसतर्फ गइरहेको प्रहरीले जनाएको छ ।

    उता एकाबिहानै तनहुँको शुक्लागण्डकी–४ दुलेगौंडामा पनि बम भेटिएको छ । शुक्लागण्डकी एफएमले दिएको जानकारी अनुसार बम डिस्पोजको लागि नेपाली सेनाको टोली त्यस तर्फ पठाइएको छ । बम रहेको स्थानलाई अहिले नेपाल प्रहरीले घेरेर सुरक्षा दिईरहेको छ ।

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आजका लागि नेपाल बन्द घोषणा गरेको छ । शंकास्पद बस्तुहरु र बम पनि सोही पार्टीले राखेको हुन सक्ने प्रहरीको आशंका छ । बन्दका क्रममा बिहानैदेखि देशका अन्य जिल्लामा पनि बमहरु भेटिएका छन् । बन्दका क्रममा काभ्रेको पनौती-७, खोपासी जाने बाटोमा बिहानै शंकास्पद वस्तु भेटिएको थियो भने उता पाल्पामा बम विस्फोट भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका कार्यालय भवनमा भएको विस्फोटबाट भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

    यस्तै रुपन्देहीको कोटिहवा-बाउन्नकोटी सडकमा बम भेटियो भने उता बाग्लुङ नगरपालिका ३ मा पनि पाइप बम भेटिएको छ । यस्तै कवानपुरको हेटौंडा उपमहानगरपालिका ८ नं. वडा कार्यालय अगाडि कुकर बम भेटिएको छ । उता कैलालीका गोदादावरी नगरपालिकाको अत्तरिया बजार, वौनिया, लम्की र राजीपुरमा पनि बम भेटिएका छन् ।

    यता बाँके, मोरङ्ग, अर्घाखाँची, नवलपरासीलगायतका जिल्लका विभिन्न ठाउँमा बम भेटिएका छन् । बन्दका कारण सवारी साधन छुटफुट सञ्चालनमा रहे पनि धेरै जसो जिल्लामा बम फेला परेपछि प्रहरीले नै सडकका विभिन्न ठाउँमा सवारी साधनलाई रोकेर राखेको छ ।

    बन्दका कारण राजधानी काठमाडौँसहित देशभरको बजार भने सुनसान देखिएको छ । सरकारी दमन र आफ्ना नेता कार्यकर्तालाई गैरन्यायिक तरिकाले गिरफ्तार गरी हिरासतमा राखिएको भन्दै नेकपाले आज नेपाल बन्दको आब्हान गरेको छ ।

    प्रतिक्रिया