• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    राजीनामा दिने तयारीमा मधेसका मुख्यमन्त्री यादव

    232
    SHARES



    वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णा यादवले पदबाट राजीनामा दिने तयारी गरेको बुझिएको छ । आफ्नो नेतृत्वको सरकारलाई निरन्तरता दिन आवश्यक समर्थन जुटाउन नसकेपछि उनी राजीनामा दिएर सरकारबाट बाहिरिने मनस्थितिमा पुगेको स्रोतको दाबी छ ।

    मुख्यमन्त्री यादव नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने समयसीमा अब एक सातामात्र बाँकी छ । तर, अहिलेसम्म विश्वासको मत लिने मिति भने निर्धारण हुन सकेको छैन ।

    सरकारलाई समर्थन गर्ने विषयमा अन्य राजनीतिक दलबाट ठोस प्रतिबद्धता नआएपछि विश्वासको मत लिने प्रक्रिया अनिश्चित बनेको बताइएको छ । कृषि मन्त्री श्याम पटेलका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने विषयमा विभिन्न दलसँग छलफल गरिरहेका छन् ।

    ‘मुख्यमन्त्रीले वर्तमान सरकारलाई सहयोग गर्न अन्य दलसँग छलफल गरिरहनुभएको छ,’ मन्त्री पटेलले भने, ‘कुनै दलसँग सहमति बने विश्वासको मत लिने प्रक्रिया अघि बढ्छ । सहमति हुन नसके त्यसपछि कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय गरिनेछ ।’

    सरकारका अर्का एक मन्त्रीका अनुसार समर्थन जुट्ने सम्भावना कमजोर देखिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुभन्दा पहिले नै राजीनामा दिने विकल्पमा छलफल गरिरहेका छन् । ती मन्त्रीका अनुसार अन्तिम समयसम्म पनि राजनीतिक सहमति नबने मुख्यमन्त्रीले विश्वासको मतको प्रक्रिया अघि नबढाई राजीनामा दिन सक्नेछन् ।

    सरकारलाई कांग्रेसकै नेतृत्वमा निरन्तरता दिने उद्देश्यले अन्य दलसँग संवाद जारी राखिएको छ । यद्यपि, हालसम्म कुनै पनि दलसँग सहमति हुन सकेको छैन ।

    नेकपा एमाले र नेकपा सरकारबाट बाहिरिएपछि कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकार अल्पमतमा परेको हो । दुवै दलको समर्थन गुमेपछि प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न आवश्यक संख्या जुटाउनु मुख्यमन्त्रीका लागि चुनौतीपूर्ण बनेको छ ।

    संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले तोकिएको समयसीमाभित्र विश्वासको मत लिनुपर्नेछ । अन्यथा पदबाट राजीनामा दिनुपर्ने अवस्था आउन सक्छ । मुख्यमन्त्री कार्यालयनिकट स्रोतका अनुसार अन्य दलसँग सहमति बन्ने सम्भावना न्यून देखिएकाले यादव राजीनामाको विकल्पतर्फ अघि बढेका हुन् ।

    सरकारका एक मन्त्रीले मुख्यमन्त्रीले यही २८ गतेसम्म राजीनामा दिन सक्ने तयारी गरेको जानकारी दिएका छन् । उनका अनुसार राजीनामापछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

    मुख्यमन्त्रीले राजीनामा दिएमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठन गर्ने प्रक्रिया अघि बढ्न सक्छ ।

    तर, मुख्यमन्त्रीले विश्वासको मत लिएर असफल भएमा संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलका नेता मुख्यमन्त्री नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

    राजीनामा र विश्वासको मतको प्रक्रियाबाट उत्पन्न हुन सक्ने फरक संवैधानिक परिणामलाई ध्यानमा राखेर मुख्यमन्त्री यादवले विश्वासको मत लिनुभन्दा राजीनामा दिन उपयुक्त ठानेको स्रोतको दाबी छ ।

    यसअघि गत ३० गते नेकपा एमालेले सरकार गठनका क्रममा भएको सहमति कार्यान्वयन नभएको आरोप लगाउँदै सरकारबाट बाहिरिएको थियो । एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मधेस प्रदेशको सत्ता समीकरण थप जटिल बनेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ