चितवन । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा नहुने दाबी गरेका छन् ।
शनिबार चितवनमा ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ अन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, “हजारौंको बलिदानबाट प्राप्त उपलब्धि गुम्न दिने छैनौं। हामी जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुने छैन। बरु तिनलाई पूर्ण रूपमा परास्त गर्छौं।”
उनले संविधानमा धेरै राम्रा व्यवस्था भए पनि ती पूर्ण नभएको भन्दै संविधान संशोधन आवश्यक रहेको बताए। “हाम्रो जीवनकालमै यो संविधानलाई परिमार्जन गर्नुपर्छ। उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंग र समुदायका लागि संविधानमा धेरै राम्रा कुरा छन्, तर ती पर्याप्त छैनन्। हामी अझै थप उपलब्धिको लागि अघि बढ्नुपर्छ,” उनले भने।
उनले नेपालमा राजनीतिक स्थिरता र द्रुत विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणाली अनिवार्य रहेको दाबी गरे।
“यो संविधानलाई उपयुक्त शासकीय स्वरूप दिन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक छ। जबसम्म नेपाल त्यस प्रणालीमा पुग्दैन, तबसम्म स्थिरता र विकासले गति लिन सक्दैन,” प्रचण्डले जोड दिए।
उनको यो धारणा नेपालको वर्तमान संसदीय व्यवस्थाबाट कार्यकारी राष्ट्रपति प्रणालीतर्फको सम्भावित बहसलाई पुनः जीवित पार्ने संकेत मानिएको छ।
प्रतिक्रिया