सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा दलित समुदायमाथि गरिएको विभेदका विरुद्ध कानुनी प्रक्रिया अघि बढेको छ। पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरङ्गी बाबामाथि कानुनी कारबाही अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितका अनुसार जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा जाहेरी दर्ता भइसकेको छ। “पीडितको तर्फबाट जाहेरी परेपछि कानुनी प्रक्रिया अघि बढाउन थप सहज भएको छ,” उनले भने।
पीडित परिवारका दिपक मरिकले दलित अगुवासहित उपस्थित भई गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरङ्गी बाबाले जातीय विभेद गर्दै आफ्नो घर भत्काइदिएको भन्दै जाहेरी दिएका थिए। घटनामा संलग्न भएको आरोपमा अध्यक्ष यादव र पूर्ववडाध्यक्षलाई प्रहरीले पक्राउ गरिसकेको छ भने बजरङ्गी बाबा फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ।
घटना सार्वजनिक भएपछि राष्ट्रिय दलित आयोग र राष्ट्रिय मानव अधिकार आयोगले समेत स्थलगत अध्ययन गरी दोषीमाथि कारबाही गर्न सरकारलाई सिफारिस गरेका छन्। जातीय भेदभावविरुद्ध कानुनी कठोरता अपनाउनुपर्ने भन्दै विभिन्न दलित अधिकारकर्मी तथा मानव अधिकारकर्मीहरूले आवाज उठाइरहेका छन्।
गत फागुन १० गते महायज्ञस्थल बनाउन भन्दै स्थानीय प्रशासनकै सहयोगमा पीडितको घर भत्काइएको थियो। घर भत्काएपछि सो स्थानको माटोसमेत हटाइएको भन्दै स्थानीय दलित समुदाय आक्रोशित बनेका छन्। घटनापछि गृहमन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारीलाई काठमाडौँ तानेको छ भने दोषीमाथि थप अनुसन्धान अघि बढाइएको छ।
प्रतिक्रिया