काठमाडौं । सभामुख देवराज घिमिरे ले संसदमा विचाराधीन रहेका विधेयकहरूलाई छिट्टै टुंगो लगाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
ललितपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै सभामुख घिमिरेले निजामती कर्मचारी, प्रहरी, र विद्यालय शिक्षासँग सम्बन्धित विधेयकहरू संसदबाट छिट्टै पारित गराउने प्रयास भइरहेको बताए।
उनले संविधानले दिएको अधिकार पूर्ण रूपमा कार्यान्वयन गर्न नसकिएको जनगुनासो आइरहेको उल्लेख गरे। सङ्घीय निजामती सेवा ऐनको अभाव का कारण प्रशासनिक सङ्घीयता कमजोर भएको र योजनाहरू संघीय सरकारमै सीमित रहनु सङ्घीयताको मर्मविपरीत रहेको उनको भनाइ छ।
सभामुख घिमिरेले अन्तरप्रदेश परिषद्, अन्तर सरकारी वित्त परिषद्, र राष्ट्रिय समन्वय परिषद् जस्ता संरचनाहरूलाई क्रियाशील बनाएर सङ्घीयतालाई बलियो बनाउनुपर्नेमा जोड दिए।
साथै, सङ्घीयताको विकल्प खोज्नुको सट्टा यसको सबलीकरणमा ध्यान दिनुपर्ने धारणा राख्दै वित्तीय सङ्घीयताको पक्ष सन्तोषजनक रहेको उल्लेख गरे।
प्रतिक्रिया