तेलअभिव/बेइरुत । इजरायल र लेबनानबीच पछिल्लो समयको सबैभन्दा भीषण आक्रमण भएको छ। लेबनानबाट इजरायलतर्फ रकेट प्रहार भएपछि इजरायली सेनाले दक्षिणी लेबनानमा जवाफी हमला गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इजरायली हवाई हमलामा हिजबुल्लाहको सैन्य संरचना लक्षित गरिएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा एक बालकसहित सात जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।
इजरायली सेनाले पहिलो चरणको आक्रमण सकिएपछि पुनः दोस्रो चरणको कारबाही गरेको बताइएको छ। यो आक्रमण मुख्यत: हिजबुल्लाहको कमान्ड सेन्टर, भौतिक संरचना र हतियार भण्डारण केन्द्रहरूमा केन्द्रित थियो।
हालसम्म लेबनानबाट इजरायलमाथि भएको रकेट प्रहारको जिम्मेवारी कुनै समूहले लिएको छैन। हिजबुल्लाहले आफू युद्धविराममा रहेको र आक्रमणमा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ।
यस घटनापछि इजरायल र लेबनानबीच तनाव थप चर्किने अनुमान गरिएको छ। क्षेत्रीय सुरक्षा विश्लेषकहरूले अवस्था नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिएका छन्।
प्रतिक्रिया