इतिहासको पहिलो आबृत्ति त्रासदी परिबर्तन हो भने त्यसको पुनराबृत्ति प्रहसन हो । नेपालको कम्युनिस्ट आन्दोलनमा जनयुद्ध र प्रचण्ड पहिलो आबृत्ति त्रासदी हो । जनयुद्धले गणतन्त्रसम्म ल्याउन सफल भयो र बिगत अठार बर्षदेखि प्रचण्डलाई दलाल राज्यसत्ताको केन्द्रमा पुराउने काम गर्यो । पञ्चायतको अन्त भएर बहुदलीय ब्यबस्था सुरू भए पछि संसदीय बहुदलीय ब्यबस्थालाई अस्वीकार गर्दै जनगणतन्त्रको लक्ष्य राखि जनयुद्ध सुरू गरिएको थियो । संसदबादीहरू सबैलाई साम्राज्यवादीद्वारा पालित पोषित दलाल घोषित गर्दै नेपाली जनताहरूका प्रधान दुश्मन घोषणा गरिएको थियो । साम्राज्यवादद्वारा पालित पोषित घरेलु प्रतिक्रियावाद र नेपाली जनता बीचको अन्तर्बिरोधलाइ मुख्य अन्तर्बिरोध किटान गरिएको थियो । जनयुद्धमा दशौ हजार सपुतहरूले बलिदानी दिएर नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) नेपालमा साथै विश्व राजनीतिमा स्थापित भैसके पछि अमेरिकी साम्राज्यवाद अबको प्रमुख दुश्मन हो भन्दै देशभित्रका सामाज्यवादीहरूका दलालहरूसँग बार्ता सम्झौता गर्दै प्रचण्ड सत्ताको केन्द्रबिन्दुमा पुगे । क. बिप्लवले पनि त्यही फर्मुला प्रयोग गर्न गए ।
संविधान निर्माण पछि एमाले र माओवादी केन्द्रका बीच पार्टी एकता भई कम्युनिस्ट नामको दुईतिहाइको सरकार बनेको थियो । जनतामा एक किसिमको आसा र बिश्वस पैदा भएको थियो । यश समयमा सबै संसदवादीहरूलाई साम्राज्यवादका दलाल करार गरि महापतन जस्तो दस्ताबेज लेखि एकीकृत जनक्रान्ति गर्ने भन्दै सुरूमै बम बन्दुक पट्काउँदै क्रान्ति सुरू गरे । आन्तरिक प्राबिधिक कमजोरीका कारण र सरकारको फासीवादी आक्रमणमा परेर एक दर्जन क्रान्तिकारीहरू सहिद भए । हजारौले फौजदारी मुद्दा ब्यहोरे, हजारौ गिरफ्तार भए, सयौको संख्यामा जेलको कालकोठरीमा बन्द भए । यस्तो त्रासदी ब्यहोर्न सक्ने न त बिप्लवसँग पार्टी संगठन थियो न त सही नीतिकार्यक्रम थियो । न उनमा दृढ आत्मशक्ति र बिश्वस थियो । उनलाई बार्ता सम्झौता आवस्यक थियो । परिस्थितिमा कुनै परिबर्तन भएको थिएन जुन सरकारलाई साम्राज्यवादीहरूको दलाल सरकार भनेर युद्धमा गएका थिए उनीहरूलाई दलाल भन्दा बार्ता सम्झौताको कुनै सम्भावना हुदैनथ्यो । पहिला प्रचण्डले जस्तै बिप्लवले पनि अमेरिकि साम्राज्यवाद प्रमुख दुश्मन भएर आयो हामी सबै मिल्नुपर्छ भन्नेमा आए । सरकार नेपाल कम्युनिस्ट पार्टी बीच बार्ता त भनियो बिप्लवलाई आत्म समर्पण गराउने काम मात्र भयो । तीन बुदे सम्झौता भनीए ता पनि सरकारले पालना गरेन खालि बिप्लवलाई अब शान्तिपूर्ण रूपमा सबै गतिबिधिहरू गर्छु भन्ने कबोलियत गरायो मात्र । बिप्लव सोही अनुसार चलेका छन् भने सरकारले कुनै बुँदाको पनि पालना गरेको छैन । बार्तामा सहिदबारे कुनै निर्णय नै भएन । सरकारले कैदीबन्दीहरू छाड्ने भन्ने निर्णय पालना गरेन , जे जति बन्दीहरू छुटेका छन्, सबै फौजदारी कसुर अनुसारको प्रक्रिया पूरा गरेर छुटेका छन् । अझै तीन दर्जन जति नेता कार्यकर्ताहरू फौजदारी अभियोगमा जेलमा नै छन् ।त्यसैले प्रचण्डको नक्कल गर्दा उनी प्रहसनका पात्र बनेका छन् । यही प्रहसनका पछि पछि टाउको झुकाउँदै हिड्ने कि उनीसँग सम्बन्ध बिच्क्षेद गर्ने आ-आफ्नो इच्क्षा बिचार हो । म प्रहसनका पछि लाग्न सकिन, प्रहसनबाट निकालेर यथार्थमा ल्याउन कोसिस पनि गरेको हु, यसमा म सफल हुन सकिन र पार्टीको क्रियाकलापबाट बाहिर परेको छु ।
कम्युनिस्ट आन्दोलनका प्रबर्द्धक क. बिप्लव होइनन् । कम्युनिस्ट घोषणा पत्र प्रकाशन भई कम्युनिस्ट आन्दोलन चलेको १७४ बर्ष भयो । यस आन्दोलनका प्रबर्द्धन गर्ने मार्क्स एङ्गेल्सहुन् । कम्युनिस्ट आन्दोलन विश्व समाजवादी आन्दोलन हो । नेपालमा पनि यस आन्दोलनले ७४ बर्ष पूरा गरेको छ । नेपालमा कम्युनिस्ट आन्दोलन सुरू गर्ने क. पुष्पलाल श्रेष्ठ हुन् । क्रान्तिमा धेरै मानिसलाई आन्दोलनले तानेर ल्याउने हुन्छ । क. पुष्पलालले चलाएको आन्दोलनले हामीहरूलाई आन्दोलनमा तानेर ल्याएको हो । आजभन्दा५५ बर्ष पहिला मैले जन्मकैद वा मृत्युडण्ड हुने राजकाज अपराधको पुर्जी बुझ्दै जेल जीवन बिताउँदा साहेद बिप्लव जन्मेकै थिएनन् होला, ओली प्रचण्डरू राजनीतिमै आएका थिएनन् होला । सबै आ- आफ्नो समयमा कम्युनिस्ट आन्दोलनमा जोडिएको हो । माओवादी आन्दोलनको बिकास गर्न पञ्चायत कालभर र बहुदल आए पछि पनि हामीले कति सङ्धर्ष गर्यौ, कति पटक जेलको हावा खायौ, त्यही हामीले गरेको सङ्घर्ष आन्दोलनले बिप्लवहरूलाई पनि आन्दोलनमा तानेर ल्याएको हो । बिप्लवले अहिले आफुमा जुन ब्यक्तित्व र प्रभूत्व निर्माण भएको आत्मरति गरेका छन्, त्यही आन्दोलनको जगमा निर्माण भएको हो । देशका लागि केही गरौ भन्ने भावना बिप्लवमा अवस्यै होला । मार्क्सवादी चिन्तक बिचारक नभए पछि दीर्घकालीन योद्धा रहिरहन्छन् भन्ने कुनै ग्यारेन्टी हुदैन । मार्क्सवादी चिन्तक बिचारक नभए पछि राजनैतिक यात्राको क्रममा आइपर्ने जटिलता र अब्ठ्यारामा के गर्ने भन्ने निर्णय गर्न गाह्रो हुन्छ । नतिजा यस्तै रिङ्टालाग्ने अस्थिरता र असंगति हात लाग्छ । भएको यही हो ।
पछिल्लो समय म पनि क.बिप्लवले सञ्चालन गरेको आन्दोलनबाट तानीएर नेपाल कम्युनिस्ट पार्टीमा जोडिएको हो । मैले मोहनबिक्रम सिंह, निर्मल लामा, भक्तबहादुर, चित्रबहादुर, मोहन बैध्य, प्रचण्ड पुन: मोहन बैध्य यी सबै महासचिबहरूसंग निटक रहेर काम गरे । पछिल्लो चरणमा बिप्लवसँ बिप्लवले सञ्चालन गरेको आन्दोलनलाई समर्थन गर्दा बिप्लवसँग पनि काम गर्ने मौका मिल्यो । ब्यक्तिगत रूपमा कुनैलाई केही भन्नू छैन । क्रान्तिको पक्ष्यमा लाग्दा यस्तो हुन्छ । एकपटक क्रान्तिकारी देखिनेहरू प्रतिक्रान्तिकारी पनि हुदा रहेछन् । कम्युनिस्ट आन्दोलन नै गोलचक्करमा चलिरहेको समयमा मैले क्रान्ति खोज्दै गर्दा यस्तै भयो । ब्यक्तिगत रूपमा माथिका कुनै महासचिवहरूसँग शत्रुता छैन र बिप्लवसँग पनि कुनै गुनासो छैन । क.बिप्लवसँग जुहारी खेल्न पनि चाहन्न र आवस्यकता पनि छैन । क. बिप्लवसँग एमाओवादीबाट बिद्रोह गरि ड्यास माओवादी पार्टी पुनर्गठन गर्ने समयदेखि सहकार्य सुरू भएको हो ।२०७९आषाढ देखि २०७२मार्गसम्म बिप्लव केन्द्रीय समितिको सचिवको हैसियतमा र म केन्द्रीय सल्लाहाकार सदस्यको हैसियतमा एउटै समितिमा थियौ । २०७२ मार्ग ८ गते केन्द्रीय समितिको बैठकबाट यही प्रतिक्रियावादी सरकारसँग सत्ता साझेदारीको नीतिकार्यक्रम साथ ४१ सदस्यहरू लिएर बिप्लव गएका थिए । उनी आसालाग्दा युवा नेता अवस्यै थिए तर सिद्धान्तमा चित्त नबुझेकाले उनीसँग गइन । पछि बादलले म रहेको पार्टी क्रान्तिकारीमा बहुमत बनाएर प्रचण्डसँग एकता गरेर गए । यश समयमा पनि क्रान्तिकारी पार्टी रआन्दोलन जोगाउन लागिपरिरहे ।
तत्कालिन समयमा म रहेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी ) सिद्धान्तत ठिक भए पनि सशस्त्र गतिबिधिमा थिएन । नेपाल कम्युनिस्ट पार्टी माथि कम्युनिस्ट नामकै पार्टीको सरकारले प्रतिबन्ध लगाउनुको साथै नेता कार्यकर्ताहरूको हत्या नै गरिरहेको थियो । बिप्लवले ब्यबारबाट सिद्धान्त निर्माण गर्लान् भन्ने लाग्यो । क्रान्तिकारीहरू एक नभएसम्म क्रान्तिले सफलता पाउने कुरा हुदैन । आफुले पार्टी छाडे पछि उसको खोइरो खन्ने प्रचलनलाई मैले अवलम्वन गरिन । म क्रान्तिको रक्षाकै लागि आफू रहेको पार्टीका बिरूद्ध कुनै बक्तब्य वा टिकाटिप्पणी केही नगरिकन मौखिक जानकारी दिएर नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको आन्दोलनलाई समर्थन गर्न आएको हो । म आन्दोलनमा लागे पछि पार्टीले केन्द्रीय सल्लाहाकारमा राखेछ, यसरी म पार्टीमा जोडिएको हो । बिप्लव वा अन्य कुनै सदस्यहरूसँग पदको बार्गेनिङ गरेर आएको होइन ।
मैले क्रान्तिकारी माओवादी छाडे पछि तत्कालिन मध्यकमाण्डको नेतृत्वमा रहेका क. सुदर्शनसँग सम्पर्क भएको थियो । उनको सल्लाहा अनुसार बामबुद्धिजीबीहरूको एउटा मोर्चा गठन गरि क्रान्तिलाई सहयोग गर्ने सहमति भएको थियो । उनी पनि गिरफ्तार भए पछि पार्टीसँग सम्बन्ध टुट्यो ।जनयुद्ध कालमा म बुद्धिजीबी संगठनमा रहेर सहरी आन्दोलनमा लाग्दा धेरै बुद्धिजीबी साथीहरूसँग चिनजान सम्पर्क भएको थियो । साँच्चै भन्नू पर्दा जनयुद्ध कालमा सहरी आन्दोलन हामी बुद्धिजीबीहरूले चलाएका थियौ भन्दा पनि हुन्थ्यौ । यो समूह बिप्लवले चलाएको आन्दोलनलाई पनि सहयोग गर्न चाहन्थ्यो । खाँचो थियो समायोजनको । पूर्व सहयोद्धा एकराज भण्डारी, रमेश शर्मा, देबबहादुर पौडेल, दिपेन्द्रबहादुर क्षत्री भगवानचन्द्र ज्ञवाली, सम्भु कट्टेल, नरबहादुर कार्की आदि सबैको पहलमा एक बाम बुद्धिजीबी मोर्चा गठन गरि बिप्लवले सञ्चालन गरेको आन्दोलनलाई सहयोग गर्न संयोजकको भूमिका मैले निर्वाह गरेको थिए । गङ्गब्यूमा हामी करिब १०० जनाको उपस्थितिमा प्रथम भेला भएको थियो । बिधिवत रूपमा यश मोर्चाको घोषणा नहुदै पार्टीकै ब्यक्तिको नेतृत्वमा जनजागरण मञ्च नामको मञ्च गठन गरि पार्टीले पठाएकाले यो बौद्धिक समूह त्यसमा लाग्न मानेन । बिप्लव बुद्धिजीबीहरूसँग कति टाडा रहन चाहन्छन् भन्ने कुरा यसबाट पनि थाहा हुन्छ । तै पनि मेरो पहलमा अन्य पार्टीका सदस्यहरू बामपन्थी बुद्धिजीबीहरूको सहयोगमा पार्टी प्रतिबन्धमा रहदासम्म पार्टीको समर्थनमा बर्गबोध पत्रिका निकाली रहे सथै सभाहरू कोणसभाहरू गर्दै सरकारी दमनका बिरूद्ध बोलिरहे । जब २०७७साल फाल्गुन २१ गते नेपाल कम्युनिस्ट पार्टी र सरकार बीच तीन बुँदे सहमति भयो स्वयम् महासचिव बिप्लवले नै खुला कार्यक्रम गर्नलागे पछि हाम्रा गतिबिधिहरू निष्क्रिय भए ।
सबै बस्तुहरूलाई रूप र सारमा जाँचेर हेर्नुपर्छ भनेर इसा पूर्ब २३२ मै अरस्तुले भनेका थिए । यदि रूप र सारलाई अलग अलग गरेर हेरेर निर्णय लिइयो भने यो गलत हुन्छ भनेका थिए । मैले क. बिप्लवको गतिबिधि आन्दोलनको रूप पक्षलाई हेरेर सार पक्षको वास्ता नगर्नु नै मेरो कमजोरी भयो । बिप्लव रूपमा क्रान्तिको भ्रान्ति दिएर सारमा अर्कै धन्दामा रहेछन् । मैले पार्टीको पहिलो बैठकमा भाग लिएको २०७८ चैत्रमा भएको आठौ केन्द्रीय समितिको बाह्रौ बैठकमा हो । जुन बैठक पार्टीको केन्द्रीय कार्यालय शिबगढीमा भएको थियो । पार्टी कार्यालय पुग्ने बित्तिकै म आश्चर्यचकित भएको थिए । चार पाँच बर्ष भित्रमा बिप्लव र उनको पार्टीले जे जति भौतिक बस्तुहरू घर गाडी जग्गा जमिन कृषि पसुपालन माछा पालन,,ठाउँ ठाउँमा पार्टी कार्यालयहरू, महासचिव, सल्लाहारकारका निजी महलहरू, पहिला दन्ते कथामा भूतले रातभरमा सबै काम गरि सिद्धाउँछ भनेको सुनेको थिए बिप्लवले त दुईबर्षे प्रतिबन्ध कालमा त्यस्तै गरेछन् । प्रतिबन्ध कालमा यति सम्पत्ति जुटाए छन् कि न अरू राजनैतिक पार्टीहरूले जुटाउन सकेका थिए न कुनै पुजीपतिले पनि यति छोटो समयमा जुटाउन सक्थे । जताबाट हेरे पनि सम्पन्नता नै सम्पन्नता देखिन्थ्यो ।महासचिवको सधापन, उनमा देखिने शालीनता, नम्रता अरूलाई गर्ने आदर सत्कार देख्दा लाग्थ्यो शंसारकै भद्रपुरूषमा हाम्रै महासचिव होलान् जस्तो ।
संगठनिक स्थिति अर्कै रहेछ । पार्टीबाट बिद्रोह गरेर जाँदाका ४१ जना केन्द्रीय सदस्यमा आठौ महाधिबेसनले बिस्तार गरि ८१ जनाको केन्द्रीय समिति बनाएका रहेछन्, यिनीहरू मध्ये ३१ जना मात्र बाँकी रहेछन् । अन्य युवाहरू मनोनित गर्दै निर्माण गरेको ७२ जनाको केन्द्रीय समिति रहेछ । तिनिहरूका बीच पनि मेलमिलाप रहेनछ । एकले अर्कोलाई यसले आत्मपसर्पण गरेरको हो भनेर चोर औलाले देखाउँथे । पार्टीको पैसा हजार लाखमा होइन करोड करोडमा खायो भनेर एकले अर्कोलाई देखाउँथे । प्रत्येक केन्द्रीय सदस्यहरूले मासिक पन्द्र हजारका दरले तलब पाउँदा रहेछन्, कतिपयले चार पाँच महिनादेखि नपाएको गुनासो गर्थे । सल्लाहारहरूले पनि मासिक पाँच हजार पाउँदा रहेछन् नपाएको गुनासो सुनिन्थ्यो । मार्क्सले छोराको मृत शरीरको सतगत गर्ने पैसा नहुदा पनि क्रान्तिप्रति अढिक रहेको, लेनीनले सत्ता प्राप्त गरेपछि पनि जनताको स्थितिमा सुधार नभएसम्म मलाई यही चिसो कोठा ठिक छ भनि बसिरहेको, मजदुर नेताले कोठा तातो पार्न ओदान र कोइला पठाउँदा आलोचना पाएको, सत्ता प्राप्तिपछि आपुर्ति बिभागले चाउ एन लाइको कोट फाटेकाले एक कोट प्रदान गर्दा यो कोट टालेर अझ एक दुई बर्ष चल्छ जनताहरूलाई हेर कति नाङ्गै छन्, मलाई नसोधि कोट ल्याइदिएकोमा म तपाँईहरूको आलोचना गर्छु र कोट फिर्ता गर्छु भनेको, हो ची मिन्ह आफू राष्ट्रपति भवनमा नबसेर जनता बस्ने जस्तै छाप्रोमा बसेको, फिडल क्यस्त्रोले जनताहरूका घर नबनेसम्म कार्यालय भवन नबनाउने भन्दै पन्द्र बर्षसम्म कार्यालय झोला बनाएको, यस्तो कम्युनिस्ट आदर्श पढेका हामीहरूका लागि नेपाल कम्युनिस्टको स्थिति देख्दा साँच्चैआश्चर्य लाग्दो थियो । काहाँ हामी पुराना कपडाहरू जम्मा गरेर पार्टी केन्द्रीय कार्यालयमा पठाउने पुस्ताले यस्तो देख्नु सुन्नु कम आश्चर्यको कुरा थिएन । बर्तमानमा पनि मेरो पूर्व महासचिवको ग्यास सकिएको दुई दिन भयो भनेर पाँच दस हजार जोहो गर्थ्यौ। मेरा लागि नेपाल कम्युनिस्ट पार्टीको स्थिति साँच्चै नसोचेको रूपमा थियो ।
धेरै युवा कमरेडहरू भर्खर जेलबाट छुटेर आएका थिए । उनीहरूमा केही गरौ भन्ने जोस जाँगर उत्साह थियो । जब बैठक सुरू भयो सबै बिखलबन्धमा परे । पाँच जनाको स्थायी समितिका तर्फबाट तीन प्रस्ताहरू पेस भए । महासचिवको राजनैतिक प्रतिबेदनमा राजनैतिक निकासका लागि बर्तमान सरकारले गराउन गैरहेको चुनावमा भाग लिनु पर्छ र सोही कार्यनीतिअनुसार अबको क्रान्ति अघि बढाउनु पर्छ भन्ने थियो । यश प्रस्तापको पक्षमा स्थायी समितिमा दुई जनाको समर्थन रह्यो । बाँकी दुई मध्ये क.सुदर्शनको चुनाव बहिस्कार गरेर जानू पर्छ भन्ने र क. कन्चनको कार्यकारी प्रत्यक्ष निर्वाचित राष्ट्रतिको नारा तय गरेर यसैका लागि आन्दोलनमा जानू पर्छ भन्ने मौखिक प्रस्तापहरू आए । ७२ जना केन्द्रीय सदस्यहरू र चार जना सल्लाहाकारहरूको उपस्थिति रहेको बैठकमा क.बिप्लवको पक्षमा १४ जना र क. सुदर्शनको प्रस्तापको पक्षमा ९ जना गरि जम्मा २३ जना मात्र पक्ष बिवक्षमा देखा परे । अन्य सबै कमरेडहरूको एउटै भनाई रह्यो, यी तीनै ठीक छैनन् । कम्युनिस्ट पार्टीको बैठकको कुनै स्वरूप नै थिएन । दुई तीन गाउँको साझा बन समितिको बैठक जस्तो लाग्थ्यो । बैठकमा एजेण्डा पेस गर्नेहरू आ-आफ्नो मतबाट टसमस नै नगर्ने पूरा हल नेतृत्वको बिरोधमा, स्थिति यस्तो बनेको थियो । पक्ष बिपक्षका यी २३ जनालाई छाडेर छुट्छै बैठक सञ्चालन गर्ने कि भन्ने छलफल पनि भए । यसो गर्दा पार्टी बिसर्जन हुन्छ, सहिद, घाइते र जेलमा रहेका साथीहरू प्रति बेइमान हुन्छ । छुट्टै बैठक सञ्चालन गरे पनि अवसरका भरमा निर्माण भएको नेतृत्वले केही गर्न सक्तैन ।यो झन हाँस्यस्पद हुन्छ भन्ने निचोड निकालियो । क. बिप्लवको बिकल्पमा अहिले जान हुन्न, बरू सबै पक्षले आ-आफ्नो प्रस्ताप पास भयो भन्न सक्ने कुनै सारसंग्रहवादी प्रस्ताप तय गरेर अहिलेको समस्याको समाधान गरौ भन्नेमा हामी पुग्यौ । चुनावमा भाग लिए पनि हुने बहिस्कार गरे पनि हुने प्रस्तापमा सहमति भयो । बादबिबाद सम्वादद्वारा निचोड निकाल्ले, आलोचना आत्मआलोचनाद्वारा नयाँ परिस्थितिमा नयाँ एकता कायम गर्ने, जनवादी केन्द्रीयताका रूपमा अनुशासनमा रहने आदि मार्क्सवादी लेनीनवादी प्रक्रियाहरू पहिला नै पार्टीबाट खारेज गरिएको रहेछ । यसले गर्दा पार्टी एकमनावाद भन्दा बाहिर जाने सम्भावना रहेनछ । मलाई यी कुरा थाहा थिएन । साहेद यो बैठकमा सबभन्दा लामो समय मैले नै बोलेको थिए । मैले क. बिप्लव लगायत सबैको कडा आलोचना गरेको थिए, विशेष परिस्थितिका कारण उनीहरू सुन्न बाध्य हुनु परेको थियो, तर बिप्लवको बिकल्प अहिले अन्य अरू हुनै सक्तैन भन्ने मेरो मतले बिप्लवलाई राहत नै भएको हुनु पर्छ । सर्वसम्मत रूपमा प्रस्तावहरू पास भएर बैठक समापन भएको भोलिपल्ट चितवनमा फेरि तीन नेता आ-आफ्नै अडानमा देखिँदा न चुनावमा भाग लिएर एक पालिकासम्म जितियो न ्कतै बहिस्कार नै भयो । पार्टी नफोड्न र अन्तर्संघर्षद्वारा पार्टीलाई ठीक लाइनमा ल्याउन कोसिस गरौ भन्ने मेरो सुझावलाई क.कञ्चन क.सुदर्शनहरूले नमानि पार्टी पुनर्गठन गरेर गए । उनीहरूसंग तल्ला समितिका सदस्यहरू धेरै गए ता पनि केन्द्रीय समितिबाट सिमित सदस्यहरू मात्र जाँदा बाँकी मूल पार्टीमै रहे । यसरी बिप्लव प्राबिधिक रूपमा महासचिव रहेका हुन् । यश समयमा बिप्लव ठूलो सङ्कटबाट बचेका थिए ।
अब सबै नीतिकार्यक्रमहरू नवौ महाधिबेशनबाट बन्लान् भन्ने लागेको थियो नवौ महाधिबेशन ठूलो तामधामका साथ भयो पनि । दर्जनौ डोनहरू उडाइए, दर्जनौ पटकाहरू विस्फोट गराइए, कलाकारहरूले जोसिलो कला प्रस्तुत गरे, देउडा नाचियो,गाउलेलेहरूको बाजागनजाका साथ उपस्थिति भयो । खसीहरू काटिए, बङ्गुरहरू घोचिए,राँगा ढालिय, कुखुराहरू भुत्लाइए ९/१० दिनसम्म आमोदप्रमोदका साथ महाधिबेशन चलेर सफल भयो ।अरू राजनैतिक बहस छलफल के कति भए, नेतृत्व कसरी चयन भयो यो मैले लेखिन,। महाधिबेशनमा उपस्थित सबैलाई थाहा छ, अरूलाई थाहा दिन चाहिन । महाधिबेशनको सबभन्दा ठूलो उपलब्ंधि भनेको एकमनावादी केन्द्रीय समिति र केन्द्रीय परिषद सदस्य गरि करिब ४५० जनाको नेतृत्वको केन्द्र निर्माणमा भयो । केन्द्रीय समितिले महासचिव ,स्थायी समिति, पोलिटब्युरो निर्माण गर्यो । मलाई पनि केन्द्रीय सल्लाहारको अध्यक्ष बनाइ दियो । महाधिबेशनले तत्कालका लागि दुई प्रस्तावहरू मङ्सिर ८गते पार्टी पुनर्स्थापना दिवस र पौष ११ तगे माओ दिवस केन्द्रीय तयारीका साथ भब्य रूपमा मनाउने । त्यस समय भित्रमा महासचिवले रणनैतिक खालका योजनाहरू तय गर्ने र त्यस पछि सोही अनुसार अघि बढ्ने निर्णय भएको थियो ।
बिप्लवले अमेरिकि साम्राज्यवाद प्रमुख दुश्मन भएर आयो अब हामी सबै मिलेर यसका बिरूद्ध लड्नु पर्छ भनेका थिए । अमेरिकाले एम्.सी. सी. जस्तो सैन्य योजना पास गराउन खोजिरहेको थियो ।यश योजनालाई संसदमा पेस नगरेकाले कृष्णबहादुर महरा सभापतिबाट हट्न परेको थियो । माओवादी केन्द्रको बिध्यार्थी संगठन र युवा संगठन पनि एमसीसी बिरोधि मोर्चामा आएका थिए । नारायणकाजी श्रेष्ठ, लिलामणि पोख्रेल, देबप्रसाद गुरूङ्ग छलनाथ खनालहरूले पनि बिरोध गरिरहेका थिए । साँच्चै बिप्लवको यो कार्यनीतिले सार्थकता पाएको थियो । संसद बाहिरका क्रान्तिकारी माओवादी लगायतका समुहहरू र ब्यक्तिहरूका बीच क्रान्तिकारी मोर्चा बनेको थियो । स्थिति आसालाग्दो बनेको थियो ।सडकमा प्रकाण्डहरू खटेका थिए । जब साम्राज्यवादीका दलालहरूले ब्यख्यात्मक प्रस्तावको पारदर्शि टालोले लाज छोपेर एम.सी.सी.पास गरे सबै खेल सकियो ।
हु्न त बिप्लवले तीन बुँदे सम्झौता सरकारसँग गरे पछि बालुवाटार सिंहदरबार उनको तिर्थस्थल जस्तै भएको थियो । प्रतिक्रियावादी संसदवादीहरूमा निकै उताबचडाब भैरहेको थियो । साम्राज्यवादी खेल अनुसार आफ्नो दुईतिहाइको सरकार ढालेर प्रचण्ड माधवहरूले काङ्ग्रेसको नेतृत्वमा सरकार बनाएका थिए । जाहाँ राम त्यही अयोध्य भने जसरी बिप्लव पहिला ओलीसँग, ओली पछि देउवासँग खुसामत गरिरहेका थिए । उनीहरूले बिरालाले मुसा खेलाए जसरी खेलाई रहेका थिए । सी. के.राउतसँग भएको सम्झौता अक्षरत पालन गर्नु र बिप्लवसँग भएको सम्झौताको कुनै वास्ता नगर्नुले बिप्लवलाई कुनै भाउ दिएको देखिदैन थियो । संसदीय राजनैतिक खेलहरू अनौठो तरिकाले चलिरहे्को थिए । स्थानीय निकाए र संघीय संसदको चुनावमा चुनावी मोर्चा बनाएर लडेका माओवादी केन्द्र काङ्ग्रेस बीच प्रधान मन्त्रीको सवाललाई लिएर खटपट सुरू भए पछि प्रचण्ड जसका बिरूद्ध मोर्चा बनाएर चुनाव लडेका थिए त्यही एमालेको सरणमा गएर प्रधान मन्त्री बने । अब बिप्लवको आसा भरौसाको केन्द्र प्रचण्ड बन्न पुगे । प्रचण्डसँग लगनगाँठो बाँधिदिने काम बिल्लवका गुरु कृष्णबहादुर महराले गरे । जब बिप्लव पूर्णरूपमा बालुवाटारको वरिपरि परिक्रम गर्न थाले क्रान्तिकारी माओवादी लगायतकासँग भएको क्रान्तिकारी संयुक्त मोर्चाबाट क्रान्तिकारी माओवादीवादीले नेपाल कम्युनिस्ट पार्टीलाई हटाई दियो ।उता प्रतिक्रियावादी सरकारले बिप्लव लगायतका नेता कार्यकर्ताहरूका नाममा प्रक्राउ पुर्जी जारी गरेर दबाब सिर्जना गर्दै गयो । महाधिबेशनले निर्यण गरेका केन्द्रीय कार्क्रममा पनि बिप्लव प्रकाण्डहरूको उपस्थिति रहेन । व्रमुख अतिथिमा सल्लाहाकारको अध्यक्षको हैसियतले मैले चलाउँदै गए । बिप्लव गुननाम जस्तै भएर बसेका थिए । महाधिबेशन पछि कुनै सार्वजनिक समारोहहरूमा उपस्थित भएका थिएनन् । जब प्रधान मन्त्री प्रचण्डलाई अदालतले पक्राउ पुर्जी जारी गर्यो यसको बिरोधमा भएको सभामा उनी देखा परे । आफुलाई पक्राउ पुर्जी जारी हुदा कुनै बिरोधसम्म गर्न नसकेका बिप्लवले यश सभामा यदि प्रचण्डलाई गिरफ्तार गरियो भने आकास पातल हल्लाई दिन्छु भन्दै आफ्नो कला प्रस्तुत गरे । यही सभाबाट अब भौतिकवाद, द्वन्द्ववाद बर्गसंघर्ष पछि परिसके यसका माध्यमले अबको क्रान्ति अघि बढ्न सक्तैन सम्म भन्न भ्यए । गर्दै गर्दै नेपाली नागरिकलाई भुटानी सरणार्थी बनाएर अमेरिका पठाउने मानव तस्कर टोपबहादुर रायमाझीलाई कारबाही गरिए, कुनै कालखण्डमा माओवादी भएको नाताले यो कारबाही समग्र माओवादी माथिको कारवाही हो यसको डटेर प्रतिरोध गरिन्छ सम्म भने ।
एकता संघर्ष रूपान्तरण, बादबिबाद प्रतिवाद सम्वाद, आलोचना आत्मआलोचना, जनवादी केन्द्रीयताको आधारको संगठन, उत्पीडित बर्गको अधिनायकत्व, जस्ता मार्क्सवादी मान्यताहरूलाई पार्टीबाट पहिला नै निषेध गरेका थिए , द्वन्द्वात्मक इतिहासिक भौतिकवाद पनि पछि परिसक्यो यसका भरमा मात्र अबको क्रान्ति अघि बढ्न सक्तैन भनेर प्रचण्ड ओलीलाई पनि उछिनेर उनी अघि देखा परे । अब बिप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टी रहेन यो निष्कर्षमा म पुगे ।
महाधिबेशन पछि बैसाख ९ गते लेनीन दिवसको अवसर पारेर काठमाण्डुको खुला मञ्चमा नेपाल कम्युनिस्ट पार्टीको आमसभा आयोजना गरिएको थियो । एक महिनादेखि देशभर नेता कार्यकर्ताहरू खिटिरहेका थिए । कम्तिमा पनि पचास हजारको उपस्थिति गराउने भन्ने थियो । आमसभाको पूर्वसन्ध्यामा बैसाख ७ गते उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक पार्टी कार्यलय बुद्धनगरमा भएको थियो । तयारीको क्रममा दस पन्द्र हजार कुर्चीको ब्यबस्था गर्ने भन्ने भयो । मानिसहरूलाई आन्दोलनले तानेर ल्याउने हो, अहिले हामी आन्दोलनमा छैनौ । बरू महासचिव प्रबक्ताहरू प्रचण्डसँग अँगालो हाल्न गएको देखिन्छ ।यसरी प्रचिक्रियावादीहरूसँग अँगालो हाल्दा मानिसहरू हाम्रो अँगालोबाट छुट्दै छन् , अझ बाबुराम, माधव नेपाल, उपेन्द्र यादव, कृष्णबहादुर महरा सम्भव भएसम्म प्रधान मन्त्री प्रचण्डलााई पनि अतिथिमा बोलाउने भन्नेछ । मानिसहरूले संसदवादीहरूलाई घृणा गर्दैछन् तिनै प्रतिक्रियावादी साम्राज्यवादीका दलालहरू अतिथि हुने सभामा जनताहरू आउने सम्भावना हुदैन । काठमाण्डुमा हाम्रो जनआधार छैन । बाहिरबाट ल्याउदा बडीमा ४/५ हजार भन्दा बढीको उपस्थिति हुदैन भनेको थिए । अहिले हामीहरूले जे जति कामहरू गरेका छौ यी सह उत्पादनका काम मात्र हुन् क्रान्तिका उत्पादनका काम नगरिकन मानिसहरू आउँदैनन् भनेको थिए । यो भनाई बिप्लवको इच्छाको बिरूद्ध भएछ, उनी रिसले आगो भएका थिए, बुढा पाका युवा के के हो नबुझिने शब्दमा बोलेका थिए मैले वास्ता गरिन । सभा भयो संसदवादीहरूको गुणगान पनि भयो कति मानिसहरूको उपस्थिति रह्रयो सबैले देखे जानेकै कुरा भयो । यश समयदेखि हाम्रो सम्बन्धमा दरार आएको हो ।
२०८० जेष्ठमा पार्टीको केन्द्रीय समितिको बैठक बस्दै थियो, बैठक भन्दा पहिला मेरो अध्यक्षता र बिप्लवको उपस्थितिमा केन्द्रीय सल्लाहाकार समितिको बैठक बुद्धनगर पार्टी कार्यालयमा बसेको थियो । यश बैठकमा बिप्लवले जो कोहीसँग पनि निरपेक्ष एकता गर्ने प्रतिबेदन पेस गरेका थिए । मैले बारंबार एक दुई जनाको समूह आउँदा पनि एकता भन्नू राम्रो हुदैन । एकता भनेको दुबैको केन्द्रीय समिति बिगठन गरेर नयाँ समिति बनाउने हो । भर्खरै महाधिबेशनबाट बनेको केन्द्रीय समिति बारंबार बिगठन गर्दै नयाँ बनाउनु राम्रो होइन बरू आउनेहरूलाई हाम्रो पार्टीमा ध्रुबिकृत भयौ भन्दा के हुन्छ भनेको थिए । यश बाहेक मेरो तर्फबाट दुई प्राबिधिक प्रस्तावहरू पेस गरेको थिए । महासचिव आफैले देशभरमा पहाडमा ३०० रोपनी भन्दा धेरै र तराईमा ६० बिगाहाभन्दा धेरै जग्गा पार्टीको छ ।देशभरका पार्टी मध्ये हामी धनी छौ भन्दै भाषण गरेको सुनिन्छ ।भएकोमा राम्रै भयो । यो जे जति सम्पत्ति पार्टीले जोडेको छ कसैले दानदातब्य दिएर वा पार्टीका सदस्यहरूको सम्पत्ति सामाजिक करण गरेर भएको होइन । बरू सबै नेता कार्यकर्ताहरूका लागि ब्यक्तिगत रूपमा घर निर्माण गर्दै जाने भन्ने छ । उत्पादनमा सबै जोडिने र सबै आत्मनिर्भर हुँदै जाने भन्नेछ । यो सम्पत्ति बिगतको प्रतिबन्ध कालमा रेडआतङ्कद्वारा आर्जन गरिएको हो । यसमा सहिदको रगत नेताकार्यकर्ताहरूको पसिना परेको छ । यत्रो सम्पत्ति कस कसको नाममा छ सबै केन्द्रीय सदस्यहरूलाई पनि थाहा छैन ।केही टुक्रा जग्गा कन्चनको श्रीमतीको नाममा रहेछ उनले पार्टी छाडे पछि मात्र थाहा भयो । यसरी हुदैन, सहकारी वा कम्पनी बनाएर सामुहिक बनाउनु पर्छ ।अन्य राजनैतिक आन्दोलनमा मरेका सबैजसो मानिसहरूलाई सरकारले दहिदको मान्यता दिएको छ । हाम्रोमा बार्ता सम्झौता हुदा पनि सहिदका बारेमा केही बोलिएको छैन । अहिले महासचिवको उठबस प्रधान मन्त्री प्रचण्डसँग बाक्लै देखिन्छ उनलाई भनेर हुन्छ भने पनि भनेर सहिद घोषणा गराउनु पर्यो, नभए आन्दोलन गरेर भए पनि यसलाई अघि बढाउनु पर्यो । यदि एकीकृत जनक्रान्तिका नाममा भएका घटनाहरू दुर्घटना थिए भने मृतकका परिबारसँग पार्टीले माफी मागेर सक्दो राहत प्रदान गरेर क्षमा माग्दै हालको अबस्थाबाट अघि बढ्नु पर्छ ।सहिदहरूलाई बेबारिसे अवस्था छाडेर क्रान्ति अघि बढ्दैन भन्ने प्रस्ताव गरेको थिए । यस बारेमा छलफल गर्नु त के बिप्लवले कुनै उत्तरसम्म दिएनन् । यस्ता एकमनावाद बिरोधि कुरा गर्ने मलाई उनले साहेद शत्रु र महान अपराधि ठाने होलान् र पार्टीको बिधानमा उल्लेख भएअनुसार सल्लाहाकार समितिको निर्णय लिएर अध्यक्ष केन्द्रीय समितिको बैठकमा उपस्थित हुनेछन् भन्ने छ । बिप्लवले त्यस पछि मलाई केन्द्रीय समितिको बैठकमा उपस्थित गराएनन् । केन्द्रीय समितिमा मेरो बारेमा के निर्णय गराए सोको लिखित वा मौखिक जानकारी सम्म गराएका छैनन् । महाधिबेशनको जुन प्रक्रियाबाट बिप्लव महासचिव छानीयका हुन् सोही प्रक्रियाबाट म सल्लाहाकारको अध्यक्ष छानिएको हुँ । मसँग कुनै छलफल नै नगरि बिगत बैसाखदेखि पार्टीले मसँग सम्बन्ध राखेको छैन । यस्तो त प्रतिक्रियावादी पार्टी संगठनमा पनि हुदैन जुन बिप्लवको नेतृत्वको पार्टीमा भयो ।
मलाई लागेको थियो बदलिदो समाजले नवीन मानवको सिर्जना गर्छ । नवीन मानवका इच्छा आकांक्षा पनि नवीन हुन्छन् । नेपालको बदलिदो कम्युनिस्ट आन्दोलनमा क. बिप्लव बदलिदो समाज अनुसारका एक हस्ती हुन् । साँच्चै बाहिरबाट हेर्दा बिप्लव ब्यबाहारमा अहिलेसम्मका सबै महासचिव भन्दा नवीन नै लाग्दछन् । हेर्दा यिनको कुनै ब्यक्तिगत जीवन छैन जस्तो देखिन्छ । सधै सार्वजनिक मेसमा खान्छन् , कार्यकर्ताहरूसँगै बस्छन् । आफुसँग रहेका नेता कार्यकर्तालाई आदर सत्कार नै गर्छन् , खेत खनाल जताततै कार्यकर्तासँगै काम गरेको देखिन्छ ।देश बनाउने युवाहरूले हो भन्ने थेगो मुखमै झुण्डिएको छ ।
युवाहरूमा जोस जाँगर र केही गरौ भन्ने भावना हुन्छ । कठीन भन्दा कठीन काममा हामफाल्न तत्पर रहन्छन् । साँच्चै देश बनाउने भनेको युवाहरूले नै हो । अहिले युवाहरूमा कम्युनिस्ट प्रति घृणा पैदा भएको छ । युवाहरू आफ्ना बाबू बाजेको बिराशतमा छैनन् । संसदवादी काङ्ग्रेस, एमाले, माओवादी पार्टीहरूमा पनि २०४६/ ०६२/६३को आन्दोनमा सहभागी पुस्ताबाट चलिरहेका छन् । मध्येम बर्गसम्मका युवाहरूलाई अहिले देशका बारेमा मतलव नै छैन । राम्रो पढ्ने र बिदेश जाने ध्याउन्नमा छन् । अन्य युवाहरू पनि दिशा बिहिन रूपमा कोही राजाका पछि लागेका छन्, कोही रबिका पछि लागेका छन् हुदा हुँदै दुर्गा प्रसाईका पछि पनि लागेको देखिन्छ । अन्य पार्टीमा हजार जनाको उपस्थितिमा पचास युवा पाउन पनि कठिन छ । तर बिप्लवमा युवाहरूलाई बशीभूत गर्ने कला छ । दुई चार हजार जे जति नेता कार्यकर्ताहरू छन् प्राय सबै युवाहरू नै छन् । अठौ महाधिबेशनका ८१ जना केन्द्रीय सदस्यहरू मध्ये आठौ महाधिबेशनको बाह्रौ बैठकमा बिप्लवको चुनाव परस्त लाईनको समर्थन गर्ने १४ जना बाहेक अरू सबै नयाँ छन् । बिप्लवले चाहे भने एक दुई महिनामा नै प्रमोशन हुन सक्छन् ।सबै युवाहरू बिप्लवलाई कसरी खुसी राख्ने भन्ने ध्याउन्नमा रहन्छन् ।
उनी आफै आर्थिक कारोबार गर्दैनन् । आर्थिक कारोबारका लागि अर्थबिभाग बनाएका छन् । जसरी अरूले ब्यक्तिगत खर्च अर्थबिभागबाट लिन्छन् बिप्लवले पनि त्यसरी नै लिन्छन् ।तर आन्तरिक रूपमा सम्पूर्ण सम्पत्तिको मालिक बिप्लव प्रकाण्ड दुई जना मात्र हुन्, यो कुरालाई राम्रोसँग छोपेका छन् । कार्यकर्ताहरूलाई मार्क्सवादी जटिल दर्शन अर्थराजनीति बैज्ञानिक समाजवाद जस्ता बिषयमा अध्यायन गर्न आवस्यक छैन । बादबिबाद प्रतिबाद सम्वादलाई प्रतिबन्ध लगाइएको छ । महासचिवले जे आज्ञा दिन्छन् गर्ने हो प्रश्न गर्नु अपराध मानिन्छ । मेरा काममा चित्त नबुझे पार्टीबाट गएहुन्छ भनेर बैठकमै भन्छन् । यसरी एकमनावादी पार्टी चलाएका छन् । अन्य पार्टीमा जस्तो जीवन धान्न कार्यकर्तालाई कठिन भने छैन । सामर्थ्यवान नेताकार्यकर्ताहरूले जिम्मा लिएको कोटाभन्दा बढी उठाएर खाए पनि देखेको नदेखे जस्तो गरिदिन्छन् । गिटी बालुवामा काम गर्नेहरू करोडञपति भएका छन् भन्ने सुनिन्थ्यो । जे होस् जो जो पार्टीमा छन् मनभित्र जे भए पनि प्रकट गर्न सक्तैनन् । मूख्य काम भनेको खेतिपाति गर्नु नै भएको छ, सबै हाँसि खुसि उत्सव कै रूपमा गरेका छन् खाएका छन् नाचेका छन् । एउटा आदर्शवादी कम्पनीका रूपमा पार्टी चलेको छ ।
राजनीतिको मूख्य हतियार भनेको दर्शन हो । पार्टीले जस्तो दर्शन अपनाउँछ कार्यक्रमहरू त्यसै अनुुार हुने हुन् । मार्क्सवादी द्वन्द्वात्मक इतिहासिक भौतिकवादी दर्शन, बलप्रयोगको सिद्धान्त, जनवादी केन्द्रीयामा आधारित पार्टी संगठन, बादबिबाद सम्वाद, एकता संघर्ष रूपान्तरण, आलोचना आत्मआलोचना, बर्गसंघर्ष , दुई लाइन संघर्ष आदि मार्क्सवादी मूल्यमान्यतामा चल्ने कम्युनिस्ट पार्टीका निम्नतम कार्यनीति नयाँ जनवादको बाटो हुँदै बैज्ञानिक समाजवाद हो । पार्टीमा यी माथिका मार्क्सवादी मूल्यमान्यताहरू पछि परिसके अहिलेको समाजमा यिनी मूल्यमान्यताले समाज परिबर्तनका कामहरू हुन सक्तैनन् भने पछि मार्क्सवाद लेनिनवाद माओवादलाई पथप्रदर्शक सिद्धान्त मानेको अर्थ पनि भएन । अहिले नेपाल कम्युनिस्ट पार्टीको दर्शन भनेको अनिश्चयवाद र सम्भावना हो ।राजनैतिक कार्यदिशा भनेको नेपालको बिशेषताको समाजवाद हो । नेपालको बिशेषताको समाजजाद ल्याउन समाजवाद भन्ने काङ्ग्रेस लगायतकाहरू बीच सहकार्य वा एकता हो । यो बिप्लवले ल्याएको कुनै नौलो कुरा होइन । मार्क्सवादको जन्म हुनु भन्दा पहिला नै सामन्तवादी समाजवाद, ,पुजीवादी समाजवाद, कल्पनावादी समाजवाद, सच्चाकम्युनिस्टवादी समाजवाद आदि समाजवाद आएका थिए भनेर कम्युनिस्ट घोषणा पत्रमै उल्देख भएका छन् । यिनै समाजवादको निरन्तरतामा बिप्लवको नेपालको बिशेषताको समाजवाद हो । यी सबै समाजवादलाई बैज्ञानिक समाजवादले खारेज गरिदिएको हो ।
मार्क्सवादको जन्महुनु भन्दा पहिलाका एक समाजवादी कार्लग्रुन थिए । उनको मूल्याकन गर्दै एङ्गेल्सले भनेका थिए “” कार्ल ग्रुन समाजवादको नाममा जालझेल गर्नेहरूमा एक प्रमुख र प्रतिष्ठित प्रतिनिधि “ हुन् । अर्का समाजवादी थिए जर्मनी घुमन्ते कालिगड, क्रिश्चियन, समय बित्दै जाँदा उनले आफुलाई लरतरो मानिस मान्न छाडेका थिए । उनी आफ्नो प्रतिभा देखेर आफै आश्चार्य चकित हुन थाले । उनले आफुलाई यस्तो ठान्थे, मानौ उनको खल्तिमा धर्तीलाई स्वर्ग बनाउने नुस्खा छ । हुदा हुँदै के सम्म भन्न पुगे भने उनको समाजवादलाई डाहा गर्नेहरूले उनलाई सिद्धाउन खाडल खन्दैछन् । बिप्लवमा पनि कतै यिनीहरूको भूत त चडेको होइन ? । बिचारधाराले सधै बिपरित बिचारधाराको अपेक्षा राख्दछ । बिप्लवले भन्ने गरेका नयाँ बिचारहरूमा त्यस्तो देखिदैन । बरू मार्क्स लेनिन माओकै समयमा क्रान्तिका बिरोधि गद्दाहरूका बिचारहरूको गन्ध पाईन्छ ।
बिप्लवले अब भौतिकवादी दर्शन पछिपर्यो भन्दैछन्, यो कुरा प्रुधोले गरिबको दर्शन लेखेर उहिल्यै बताएका थिए । पार्टीमा जनवादी केन्द्रीयताको आवस्यकता छैन भन्ने मार्तोभ हुन् । राज्यलाई बर्गभन्दा माथिको संगठन हो, यससँग सम्झौता गरेर जान पर्छ भन्ने लासाल हुन् । दर्शन शास्त्र, राजनीतिक अर्थशास्त्र बैज्ञानिक समाजवादका छेत्रमा मार्क्सवादको आधारभूत प्रस्तावनाको आलोचना गर्ने एवर्ड बर्नस्टिन हुन्, सर्बहाराको अधिनायकत्वबिरोध गर्दै संसदबर्ग स्वार्थदेखि मुक्त भएमा समाजवाद आउँछ भन्ने कार्ल काउत्स्की हुन्, प्रतिक्रियावादी सरकारमा सामेल भएर क्रान्ति गर्ने भन्ने मिलेराँ हुन्, बर्गसंघर्षको माध्यमले होइन बर्गसमन्वय र शान्तिपूर्ण सक्रमणको माध्यमले समाजवादमा पुग्न सकिन्छ भन्ने ख्रुश्चोभ हुन्, उत्पादन सबथोक हो क्रान्ति दोस्त्रो कुरा हो भन्ने ल्यू शाओ ची हुन्, मिश्रीत अर्थतन्त्र र खुला बजारी अर्थतन्त्रको सिद्धान्त लागू गर्ने देङ शपयाओ पिङ् हुन्, यी भन्दा बाहेक क. बिप्लवले ल्याएका कुनै नयाँ बिचार छन् भने बहस गर्न सकिन्छ ।
ब्यक्तिगत रूपमा क. बिप्लवसँग मेरो कुनै बैरभाव बिरोध छैन । पार्टीमा साहेद बिप्लवले मेरो जति भरौसा अरूसँग गरेका थिएनन् होला ? । मलाई मान सन्मान इज्जत सेवासुबिधा सबै दिएका थिए , सल्लाहाकार समितिको अध्यक्ष बनाई दिएका थिए । बैधानिक संघर्ष चलाउनका लागि गठन भएको मोर्चा, राष्ट्रिय बामपन्थी मञ्चको अध्यक्ष बनाई दिएका थिए ।आफू उपस्थित हुन नसक्ने केन्द्रीय सभा गोष्टिहरूमा प्रमुख अतिथि बनाएकै थिए । चाहेको भए आर्थिक रूपमा सहयोग गर्न पनि बारंबार सोधिरहन्थे, मैले मेरो ब्यक्तिगत खर्च म आफैले गर्न समर्थ छु भनेर नलिएको मात्र हो । बिप्लवले मेरालागि गर्न पर्ने कुन काम बाँकी थियो र म उनीसँग लड्न पर्ने । एक त जतिसुकै ठूलो र महान् बिचारक कोही किन नहोस् उससँग आफुमा आएका बिचारहरू आफ्नै मनभित्र कैद गरेर उसको पछि पछि लाग्नु पनि दासता हो । बिचारको छेत्रमा क.बिप्लवले पार्टीमा देखाएको बिडण्डतालाई टुलु टुल हेरेर बस्न मेरो नैतिकताले दिएन । तै पनि बिध्वम्सातमक रूपमा मैले उनको बिरोध गरेको थिइन, रचनात्मक तरिकाले सुधार्ने मेरो प्रयत्न हुदा हुदै उनले सम्बन्ध बित्छेद गरे, भएको यही हो । हुदा हुँदै अहिले संविधान संशोधन गरेर भए पनि , जनमत संग्रह गरेर भए पनि वा चुनावबाटै भए पनि ,मलाई प्रधान मन्त्री बन्ने रहर छ पाँचबर्षका लागि प्रधान मन्त्री बनाई दिनुहोस् मैले देशमा कायलपलट गरिदिन्छु भनेको सुनिन्छ । यो उनको दर्शनले निर्देशन गरेको नीति हो । अब पार्टीमा फर्कने कुनै सम्भावना मैले देखेको छैन । धेरै पार्टीका साथीहरूलाई दीर्घले के बदमासि गर्यो र पार्टीले कार्यबाही गर्यो भन्ने कौतुहलता हुन सक्छ । भएको यही हो यदि अरू केही छ भने बिप्लव लगायत जो कोहीलाई सोधेर जानकारी लिनसक्नु हुनेछ ।
पार्टीका अन्य साथीहरूलाई मेरो सुझाव छ हामी आध्यात्मवादी नभएर भौतिकवादी भएकाले कुनै कुरामा पनि आस्था र सन्देह दुबै अपनाउनु पर्छ । आध्यात्मवाद धर्मको सार बिश्वार र आस्था हो । बिज्ञानको प्रस्थानबिन्दु नै अनास्था वा सन्देह (Dout) ) हो । मार्क्सवाद बिज्ञान भएकाले प्रयोग अवलोकनद्वारा निस्कर्ष निकाल्नु पर्छ । नेपाली कम्युनिस्ट आन्दोलनमा रूपमा* क्रान्तिकारी देखिने तर सिद्धान्तलाई महत्व नदिने नेताहरूको राजनैतिक यात्रा राम्रो छैन । पुष्पलालले क्रान्ति गरेनन् क्रान्ति नगरिकन केही हुदैन भन्दै हर्रे बर्रे काण्ड गर्ने केशरमणी काङ्ग्रेस भएर मरे, जुगेडी, पुर्तीघाट काण्ड गराउने रूपलाल बिस्यकर्मा पनि काङ्ग्रेस भएरै मरे, २०३६ सालको जनआन्दोलनमा चीतवनमा बाममोर्चाको तर्तबाट सफल नेतृत्व गर्ने श्रेष्ठ पनि काङ्ग्रेस भएका थिए, २०२८ सालको झापा बिद्रोहका हस्ती सी.पी.मैनाली अहिले राजा चाहिन्छ भन्दैछन्, देवासुरसंग्राम किताब लेखेर सास्कृतिक क्रान्तिलाई अघि बढाएका मोदनाथ प्रज्ञितले राजाको यज्ञमा चरू होम्न गए, झापा बिद्रोहका अर्का हस्ती मोहनचन्द्र अधिकारी १९ बर्षको जेल जीवन पछि अहिले पूरा आध्यात्मवादी बनेका छन्, ४० बुँदे माग पत्र सरकारलाई दिएर जनयुद्धमा गएका डा. बाबुराम भट्टराईले अहिले मार्क्सवाद नै ठिक छैन भनेर हिडे, विश्व कम्युनिस्ट आन्दोलनकै नेतृत्व गर्न प्रचण्डपथ निर्माण गरेका प्रचण्डको हालत अहिले कस्तो छ ?
केही करोड वा अरव रकम जम्मा गरेर हजारौ नेता कार्यकर्ता भए पनि यदि सिद्धान्त ठीक भएन भने कहि पुगिदैन । गन्तब्यमा पुग्ने सिद्धान्त बिचारले हो चाहे सयौ बर्ष किन नलागोस् । सिद्धान्त ठीक छैन पार्टी छाड्नुहोस् भन्ने मेरो सल्लाह होइन । म पनि सँगसँगै जान तयार थिए ।पार्टी कम्पनी जस्तो भयो न मैले पार्टी छाडेको हो न तपाँईहरूसँग बादबिबाद भएर बैठकबाट मलाई निकाल्नु भएको हो । बिप्लवले मसँग सम्बन्ध बिच्छेद गरे तवाईहरू बोल्नसक्नु भएन कुरा यही भन्दा अरू छ भने म जहिले पनि छलफल गर्न तयार छु । पार्टी सदस्यहरू सबै तपाईहरू नेता हो कम्पनीमा जस्तो मालिकको आज्ञापालन मात्र नगर्नुस् । यसले तपाईहरूको जीवन मात्र बर्बाद हुन्छ । कम्युनिस्ट सिद्धान्तका दर्शन अर्थराजनीति बैज्ञानिक समाजवादका बारेमा अध्यायन बढाउँदै जानुस् । कुनै नेताको हुकुममा होइन मार्क्सवादी सिद्धान्तको पछि हिड्नुहोस् । बाटो लामो छ अवस्य एक दिन गन्तब्यमा पुगिने छ । म पार्टी छाडेर अनेत्र जाने होइन जीवनभर कम्युनिस्ट आन्दोलनमै रहने छु । कतै आन्दोलनको घुम्तिमा फेरि पनि भेट हुन सक्नेछ ।
(नोट- यो लेख एक बर्षभन्दा पहिलाको हो । यो एक बर्षभित्रमा बिप्लवको अर्थवादी उकालो यात्रा र मार्क्सवादी ओरालो यात्रा कहाँ पुगेको छ, सबैलाई थाहा नै छ ।)
प्रतिक्रिया