• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    विप्लवका नेता कार्यकर्ता समात्न प्रहरीलाई हम्मेहम्मे, फेरी ३ नेता गिरफ्तार

    8.1K
    SHARES



    काठमाडौं । विप्लव नेतृत्वका नेकपा नेता कार्यकर्तालाई जहाँ भेट्यो त्यहि समात्न आदेश पाएपछि प्रहरीलाई अहिले हम्मेहम्मे परेको छ । नेकपाका पूर्णकालिन कार्यकर्ता भेट्न नसके पनि प्रहरीले समर्थक, शुभचिन्तक जनता र जबस मोर्चाका नेता कार्यकर्ताहरुलाई भने भकाभक गिरफ्तार गरिरहेको छ ।

    सुराकीको आधारमा नेकपा स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड इन्चार्ज सुदर्शनलाई समातेर ठुलै सफलता हात पारेको दावी गर्दै आएको प्रहरीले महासचिव विप्लव गाउँमा पटकपटक सर्च अप्रेशन चलाईरहेको छ ।

    यसैबीच नेपाल कम्युनिस्ट पार्टीका दुई नेता गिरफ्तार परेका छन् । मोटरसाइकलमा हिडिरहेको अवस्थामा स्याङ्जा जिल्ला सेक्रेटरी गोकुल पराजुली र मजदुर महासंघका अध्यक्ष गोविन्द ओलीलाई गिरफ्तार गरेको छ ।

    उनीहरुलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले पुतलीबजार नगरपालिका १३ स्थित छहरीखोलामा गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

    दुवै जनालाई राज्य विरूद्धको अपराध र विष्फोटक पदार्थ सम्बन्धी कसूरमा अनुसन्धानका लागि शुक्रबार अदालतबाट तीन दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

    यता नेकपाका कास्कीको जिल्लास्तरीय एक नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । सो पार्टीका कास्की जिल्ला प्रमुख रामकाजी गुरुङलाई शुक्रबार साँझ पोखरा–२५ याम्दीबाट पक्राउ गरेको हो । प्रहरीले गत हप्ता सोही पार्टीका तमुवान जनपरिषद्का संयोजक लेखनाथ निवासी किसानसिंह गुरुङलाई पक्राउ गरेको थियो ।

    सरकारले नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट सो समूहका २२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    यसैबीच संकटकालको झझल्को दिने गरी केपी बादल गृह प्रसाशनले आफ्ना नेता कार्यकर्ता गिरफ्तार गरेको भन्दै नेकपा चितवनले आपत्ति जनाएको छ । नेकपा चितवनले दिएको जानकारीअनुसार प्रहरीले शनिबार राजकुमार तिमिल्सीना, जयबहादुरकुवँर, बीरबहादुरतामाङ, गुणराज श्रेष्ठ, यातायात व्यावसायी मित्र केसी, विद्यार्थी नेता बिक्रम न्यौपाने र रणदिपलाई गिरफ्तार गरेको हो ।

    चितवन जिल्ला इन्चार्ज शार्दुल र सेक्रेटरी धुर्बले एक विज्ञप्ति जारी गर्दै भनेका छन्- ‘दलालहरुको अवैध गर्भाधान र केपी प्रचण्डको अनिच्छित घृणित प्रेमबाट पैदा भएको केपी सरकार जनताबाट तिरष्कृत भई असफलता र संकटमा परिरहेको बेला आफ्नो असफलता, असक्षमता र खुस्केको धोती ढाकछोप गर्न नेकपामाथि दमन गरिरहेको छ ।’

    २०७५ साल फागुन २८ गते भरतपुर महानगरपालिका कैलासनगर स्थित ५ नं वडा कार्यालयमा भएको घटना नेकपाले गरेको भन्दै आरोप लागेको बिषयबारे प्रष्ट पार्दै उक्त पार्टीले घटनामा आफ्नो कुनैपनि संलग्नता नरहेको स्पष्ट पारेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ