काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई त्रास र डर देखाएर नभई विश्वास र भरोसा जितेर शासन चलाउन बालेन नेतृत्वको रास्वपा सरकारलाई चेतावनी दिएका छन्। चारैतिर अस्तव्यस्तता र गन्जागोल सिर्जना गरेर सुधार सम्भव नहुने उनको भनाइ छ।
आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति थापाले प्रतिपक्ष सुशासनका लागि सहयोग गर्न तयार रहँदा पनि सरकार भने प्रतिशोध र धरपकडमै केन्द्रित भएको आरोप लगाए।
“हामीले सुशासनका लागि आवश्यक सहयोग गर्न तयार छौँ भनेर बारम्बार भनिरहेका छौँ,” थापाले भने, “तर सरकार सुधारका काम छाडेर मान्छे समात्न मात्र लागिपरेको छ। यो समयमा देशलाई डर होइन, भरोसा र विश्वास चाहिएको छ। यसरी गन्जागोल बनाएर सुधार हुन सक्दैन।”
पत्रकारको कार्यालयमा भएको अनधिकृत प्रवेश र धरपकडको विषयलाई सरकारले विषयान्तर गर्न खोजेको भन्दै उनले कडा आपत्ति जनाए। “कानुन विपरीत स्वेच्छाचारिता देखाउन पाइँदैन। सञ्चारगृहमा भएको घटनाको दोषी को हो? हामीलाई स्पष्ट परिणाम चाहिन्छ,” थापाले भने, “कर्मचारीले गल्ती गरे प्रधानमन्त्री कार्यालयमा बोलाएर थुन्ने होइन, विधिपूर्वक कारबाही गर्ने हो। हामीले जे बोल्यौँ त्यही हुकुम हो भन्ने सोच लोकतन्त्रमा चिन्ताजनक हुन्छ।”
राज्यका संवैधानिक निकाय र अनुसन्धान संयन्त्रहरू निष्पक्ष हुनुपर्नेमा जोड दिँदै उनले भने, “अनुसन्धान छानी-छानी (सेलेक्टिभ) र पूर्वाग्रही हुनु हुँदैन। शासनमा हुनेले अनुसन्धानलाई आफू अनुकूल प्रयोग गर्ने कुरा लोकतन्त्रमा सह्य हुँदैन। जहाँ अनियमितता भएको छ, त्यहाँ निष्पक्ष छानबिन हुनुपर्छ।”
सरकार आफ्नो मूल दायित्वबाट पन्छिएको टिप्पणी गर्दै उनले विपद् प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा ध्यान केन्द्रित गर्न आग्रह गरे। जनताले कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको म्यान्डेट दिएको विषय सरकारले बिर्सन नहुने उनको भनाइ थियो।
थापाले कांग्रेस सरकारसँग सहकार्य र गलत कामको प्रतिवाद दुवैका लागि तयार रहेको स्पष्ट पारे। “हामी सरकार र सत्तारुढ दलसँग नीतिगत बहसका लागि खुला छौँ। साथै, नागरिक समाज, नयाँ पुस्ता र भदौ २३ तथा २४ गतेको आन्दोलनमा सकारात्मक सोचका साथ सहभागी साथीहरूसँग बृहत् संवाद अगाडि बढाउँछौँ,” उनले भने।
प्रतिक्रिया