• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    बिद्रोही नेकपाको स्थायी बैठक सम्पन्न, ओली सरकारलाई काउन्टर दिन भए यस्ता निर्णय

    17.4K
    SHARES



    काठमाडौँ । प्रतिबन्ध र व्यापक धरपकडका बीच विद्रोही नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक बसेको छ । प्रतिबन्धपछि पहिलो पटक बसेको बैठकले नेपाल बन्दसहितका शान्तिपूर्ण संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । उसले पार्टीमाथिको प्रतिबन्ध र स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित दर्जनौं नेता–कार्यकर्ताको गिरफ्तारीको विरोध गरेको छ ।

    स्थायी समिति बैठकले आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध चैत्रभित्र फिर्ता नलिए सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउनुको साथै आमहडतालमा जाने निर्णय पनि गरेको छ । उक्त कुरा पार्टी महासचिव विप्लवले विज्ञप्तिमा उल्लेख समेत गरेका छन् ।

    सरकारले प्रतिबन्ध लगाएपनि पार्टी महासचिव विप्लवले भने नेपाल बन्दसहित कोणसभा, जनसभालगायतका शान्तिपूर्ण कार्यक्रमको घोषणा समेत गरेका छन् ।

    उनले स्थायी समितिको निर्णय भन्दै चैत्र १६ गते नेपाल बन्द र २४ गतेसम्म देशभर संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । पार्टीमाथिको प्रतिबन्ध र नेताहरु गिरफ्तारीविरुद्ध चैत्र १३ गतेदेखि २४ गतेसम्म विप्लवले संघर्षका कार्यक्रम शान्तिपूर्ण कार्यक्रम घोषणा गरेका छन् ।

    सोमबार साँझ जारी गरिएको विज्ञप्तिमा विप्लवले सरकार अलोकप्रिय बन्दै गएको र आफ्नो पार्टी जनतामा स्थापित बन्दै गएको कारण प्रतिबन्ध लगाइएको दाबी गरेका छन् । उनले पार्टीमाथि सरकार प्रतिबन्धको घोषणा गर्दै चरम फासिवाद लादेको बताएका छन् ।

    “केपी—प्रचण्डको सामाजिक दलाल सरकार दिनप्रतिदिन नेपाली श्रमिक जनतामाझ अलोकप्रिय, असफल र सङ्कटग्रस्त बन्दै गएको छ । यता हाम्रो पार्टी राष्ट्रघाती, जनघाती, भ्रष्ट, ठग, मानवतस्कर, मजदुरमाराहरूलाई जनताको माग र चाहनाबमोजिम जनकारबाही गर्दै जाँदा आमजनताका बीचमा लोकप्रिय हुँदै गएपछि आफ्नो असफलता, बदनामी र सङ्कटलाई छोप्न कथित अशान्ति मच्चाएको, चन्दा उठाएको हवाला दिँदै नेपाली श्रमिक जनताको प्रतिनिधि हाम्रो गौरवशाली पार्टीमाथि प्रतिबन्ध घोषणा गर्दै चरम फासिवाद लाद्न पुगेको छ” विज्ञप्तिमा उल्लेख छ ।

    चौतर्फी विरोध भइरहँदा पनि प्रतिबन्ध हटाउनुको साटो पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहितका नेताहरुलाई सरकरले गिरफ्तार गरेर हिरासतमा राखेको भन्दै त्यसकाविरुद्ध नेपाल बन्दसहितका कार्यक्रम गर्नु परेको विप्लवले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    “हाम्रा पार्टीका स्थायी समिति सदस्य एवम् मध्यकमान्ड इन्चार्ज कमरेड सुदर्शन, पीबीएम कमरेड जीवन्त, केन्द्रीय सदस्यहरू कमरेड प्रज्वलन, कमरेड बन्धुलगायत दर्जनौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ भने देशव्यापी अप्रेसन सञ्चालन गरिरहेको छ । केपी वली सरकारको यो फासिवादी, निरङ्कुश, दमनकारी, आपराधिक दमनका विरुद्ध र कमरेड सुदर्शनलगायत नेताहरूको रिहाइका निम्ति स्थायी समितिको निर्णयअनुसार यही चैत १६ गते शनिबार देशव्यापी आमहड्तालसहित नेपाल बन्दको आह्वान गर्दछौँ ।” विज्ञप्तिमा उल्लेख छ ।

    पार्टीमाथिको प्रतिबन्धको राजनीतिक पार्टी, मानवअधिकारवादी सङ्घसंस्था, नागरिक समाज, बुद्धिजीवी, पत्रकार, प्रतिष्ठित कलाकारलगायत व्यक्तित्वहरूले विरोध गरिरहेको बताउँदै विप्लवले हटाउनुको साटो दमन गरिरहेको बताएका छन् ।

    “ यस फासिवादको सारा राजनीतिक पार्टी, मानवअधिकारवादी सङ्घसंस्था, नागरिक समाज, बुद्धिजीवी, पत्रकार, प्रतिष्ठित कलाकारलगायत व्यक्तित्वहरूले विरोध गरिरहेका छन् । तर केपी सरकारले प्रतिबन्ध र दमनलाई हटाउनुको सट्टा चर्काएर वस्तुतः देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको छ” विज्ञप्तिमा विप्लवले भनेका छन् ।

    विप्लवले नेपाल बन्द आफूहरुको चाहना नभएर बाध्यता भएको जानकारी समेत गराएका छन् । एसइई परीक्षामा बाधा नपुगोस् भनेर चैत्र १६ गते शनिबार नेपाल बन्दका कार्यक्रम राखेको बताएका छन् ।

    “नेपाल बन्द हाम्रो चाहना नभई फासिवादी दमनका विरुद्ध बाध्यता भएको जानकारी आमजनतामा गराउन चाहन्छौँ । यो बन्दले कक्षा १० का विद्यार्थीहरूको एसईई परीक्षालाई बाधा नपारोस् भन्नका लागि शनिबारको दिन आयोजना गरिएको अवगत गराउँछौँ” विज्ञप्तिमा भनिएको छ ।

    विप्लवले विज्ञप्तिमा सरकारले देशभित्र द्वन्द्व लादेर विदेशी लगाउनी भित्र्याउने भन्दै लागनी सम्मेलनको हावादारी प्रचार गरिरहेको बताउँदै विदेशी लगानीकर्ताहरुको पैसामा दलाली गर्ने र लुट गर्ने नाटक मात्रै भएको आरोप लगाएका छन् । उनले नेपाल बन्द आन्तरिक विषय भएको बताउँदै भ्रमित र तरंगित नहुन समेत अपील गरेका छन् ।

    सरकारले देशभित्र द्वन्द्व लादेर लगानी सम्मेलनको हावादारी प्रचार गररहेको भन्दै विप्लवले विज्ञप्तिमा भनेका छन्, “केपी वलीको फासिवादी सरकारले देशभित्र द्वन्द्व लादेर विदेशी लगानी भित्र्याउने हावादारी प्रचार गरिरहेको छ । यो कुनै सत्य नभएर विदेशी लगानीकर्ताहरूको पैसामा दलाली गर्ने र जनतामाथि लूट थोपर्ने नाटक मात्र हो भन्ने स्पष्ट गर्दछौँ । तथापि हाम्रो बन्द हाम्रै आन्तरिक विषय र दमनकारी सरकारको प्रतिरोध मात्र भएकाले १६ गतेको बन्दप्रति कुनै पनि अन्तर्राट्रिय समुदायलाई भ्रमित र तरङ्गित नहुन आग्रह गर्दछौँ” विज्ञप्तिमा विप्लवले भनेका छन् ।

    विप्लवले देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, कम्युनिस्ट, विभिन्न क्षेत्रका उद्योगी–व्यवसायी र आमजनतालाई बन्द सफल पारी केपीको फासिवादलाई प्रतिरोध गर्न विशेष अनुरोध गरेका छन् ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपालाई हतियार बुझाएर वार्तामा आउने चैत्रसम्मको अल्टिमेटम दिएका थिए । त्योबीचमा वार्तामा नआए कडा कदम चाल्ने चेतावनी दिएका थिए । विप्लवले पनि चैत्रसम्मको अल्टिमेटमले देश गृहयुद्धमा निश्चित भएको विश्लेषण हुन सुरु भएको छ ।

    संघर्षका कार्यक्रम अन्तर्गत चैत २४ गतेसम्मको घोषित संघर्षका कार्यक्रम अनुसार चैत १३ गते देशभर चोक जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मशाल जुलुस, चैत १६ गते शनिबार नेपाल बन्द, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय सङ्गठनका विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन, चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने बताइएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ