• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार राजनीति

    सकियो नेकपाको स्थायी समिति बैठक, ओली सरकारलाई काउन्टर दिन के-के भए निर्णयहरु ?

    18.9K
    SHARES

    अन्जन रेग्मी, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक सकिएको छ । केहिदिनअघि सम्पन्न बैठकले ओली सरकारलाई काउन्टर दिने खालका महत्वपूर्ण निर्णयहरु गरेको नेकपाका एक नेताले बताए ।

    बैठकले २ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ भने बर्तमान ओली सरकार असफल भएको पनि निष्कर्ष निकालेको छ । जनता समस्यामा रहेका बेला देश सङ्कटमा फसेको भन्दै यस्तो अवस्थामा आफ्नो पार्टी क्रान्तिलाई नेतृत्व दिँदै अगाडि बढिरहेको नेकपाले जनाएको छ ।

    स्थायी कमिटी बैठकले सरकारसँग वाता नगर्ने निर्णय पनि गरेको छ । औपचारिक रूपमा सरकारले वार्ताका लागि एजेन्डासहित प्रस्ताव नगरेको र वार्ता गरेजस्तो नाटक गरेर झुक्याउने खेल भएको भन्दै नेकपाले सरकारसँग वार्ताको कुनै औचित्य नरहेको निष्कर्ष निकालेको हो ।

    २ महिने अभियान सञ्चालन गर्ने
    बैठकले माघ र फागुन महिनामा जनजागरण अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । बैठकले यो अभियान सञ्चालन गर्नुपूर्व पार्टीका नेताहरूको जिम्मेवारी क्षेत्र हेरफेर गर्ने निर्णय पनि गरेको छ ।

    बैठकपछि एक अपिल सार्वजनिक गर्दै नेकपाले भनेको छ-, ‘सामाजिक दलाल सरकार असफल भएको छ । जनता समस्यामा छन् । देश सङ्कटमा छ । क्रान्ति अगाडि आउँदैछ । हाम्रो पार्टी क्रान्तिलाई नेतृत्व दिँदै अगाडि बढिरहेको छ ।’

    अपिलमा अघि भनेको छ, ‘२०७४ सालको चुनावमा केपी—प्रचण्डले दिएको ‘सुखी नेपाली, समृद्ध नेपाल’, ‘गाउँगाउँ सिंहदरबार’को नारा आज ‘दुःखी नेपाली, कङ्गाल नेपाल’, ‘गाउँगाउँमा भ्रष्टाचार, बलात्कार’मा परिणत हुन पुगेको छ । भोट हाल्दा नेपाली जनताले गरेको सुख र समृद्धिको अपेक्षा जनताकै थाप्लोमा असङ्ख्य करको भारी, भ्रष्टाचार, महँगी, तस्करी, राष्ट्रघात, निर्मला बलात्कार तथा हत्याकाण्ड, ठूलो जहाजकाण्ड, चिनीकाण्ड, बूढीगण्डकीकाण्ड, चन्द्रागिरिकाण्ड, एनसेलकाण्ड, क्रिस्चियन धर्म प्रचारकाण्डजस्ता काण्डैकाण्डको आतङ्कमा परेर समाप्त भएको छ । जनतामा सरकारप्रति असन्तुष्टि र आक्रोशभन्दा अरू छैन ।’

    वर्तमान सरकारले जति नै समाजवादको कुरा गरे पनि ऊ फासिवादतिर उन्मुख भएको भन्दै ‘देशमा जति नै विकासको नारा दिए पनि उद्योगधन्दाको अवस्था कमजोर भएर गएको छ । व्यापारघाटा बढेको बढ्यै छ । महँगीले जनताको ढाड भाँचेको छ । अर्थतन्त्र दलाल र सुदखोरहरूको हातमा पुगेको छ । राष्ट्र बैङ्कबाट सस्तो दरमा ऋण लिएर चर्को दरमा लगानी गर्ने बैङ्क माफियाहरूले जनतालाई लुटेका छन् । उब्जाउ जमिन भूमाफियाको खण्डीकरणमा परेर बर्बाद भएका छन् ।

    युवा पलायन बढ्दै गएकोप्रति नेकपाले चिन्ता व्यक्त गरेको छ । ‘एमाले–माकेहरूले खुलेआम वेश्यालय खोली यौन व्यवसायबाट पैसा कमाउने कुरा गरेर पुँजीवादीहरूको छाडापनलाई पनि उछिनेका छन् । नदीनाला बेचेर खाने क्रम जारी छ । महिलाहरूमाथि मध्ययुगीन हिंसा थोपरिँदैछ, शिक्षा, स्वास्थ्य क्षेत्र व्यापारीकरणमा परेर तहसनहस बन्दै गएको छ ।’ अपिलमा भनिएको छ- ‘न्यायको आवाज उठाउने नेपाल कम्युनिस्ट पार्टीमाथि झुट्टामुद्दा लगाउने, गिरफ्तार गर्ने, यातना दिने, जेल हाल्ने कार्य गरिँदैछ । यी सबैबाट देश सङ्कटमा परेको प्रष्ट छ ।’

    अहिलेको सरकार सबैतिर असफल भएको भन्दै अपिलमा उल्लेख छ, ‘सामाजिक दलाल सरकारको असफलता र देशको सङ्कटलाई एमाले–माकेका केही नेताले केपी ओलीको असफलता भनेर सरकारमा आफू पुग्ने खेल खेलेका छन् । काङ्ग्रेस— राप्रपाले ‘कम्युनिस्ट सरकार’को असफलता भनेर आफू सरकारमा पुग्ने वा चुनावी नारा बनाउन खोजेका छन् । केही पार्टीले काङ्ग्रेस, कम्युनिस्टको असफलता भन्दै आफूहरू सरकारमा आउनुपर्ने नारा दिएका छन् तर हाम्रो पार्टीको सुरुदेखिको धारणा छ– यो असफलता र सङ्कट केवल सरकार र मन्त्रीहरूको मात्र होइन दलाल पुँजीवादी सत्ता, संसदीय व्यवस्था र सामाजिक दलाल पुँजीवादको असफलता र सङ्कट हो । यसको समाधान भनेको केपी सरकारको परिवर्तन, एमाले–माके सरकारको परिवर्तन होइन र हुन सक्दैन । दलाल पुँजीवादी सत्तालाई नै जरैबाट उखेलेर फाल्नु र वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नु हो । आजसम्म जनताले ठूलो बलिदान गर्दा पनि प्राप्त हुन नसकेको जनताको सत्ताको निर्माण हो ।’

    अपिलको अन्त्यमा भनिएको छ, ‘जनताले राणालाई हेरे, राजालाई हेरे, काङ्ग्रेसलाई हेरे । एमाले–माके संशोधनवादी कम्युनिस्टलाई हेरे । कसैले पनि जनता र देशको हितमा काम गर्न सकेनन् । त्यसको एउटै विकल्प वैज्ञानिक समाजवाद हो भन्ने बुझ्न अब कुनै अस्पष्टता छैन । हाम्रो पूरा प्रतिबद्धता छ– जनता, देश, वैज्ञानिक समाजवादभन्दा अर्को कुनै हाम्रो स्वार्थ छैन । त्यसका लागि जुन कुनै मूल्य चुकाउन तयार छौँ । तसर्थ २१औँ सदीमा जनताको राज्य वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि सबै क्रान्तिकारी, देशभक्त, लोकतन्त्रवादी, वामपन्थी शक्तिहरू एकताबद्ध बनेर हातेमालो गरौँ । जनताको विजय अवश्यम्भावी छ ।’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ