• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय मुख्य समाचार

    खोज पत्रकारितामा सक्रिय पत्रकार भिक्टोरियाको बलात्कारपछि हत्या

    21.2K
    SHARES

    एजेन्सी । 

    बुल्गेरियामा एक महिला पत्रकारको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ । ३० वर्षिया भिक्टोरिया मारिनोभाको शव सीमावर्ती सहर रुजको दानुबी नदीको किनारमा रहेको पार्कमा भेटिएको अधिकारीहरुले आइतबार जनाएका छन् ।

    उनले युरोपेली संघको फन्डमा अनियमितता भएको बारेमा अनुसन्धान गर्दै आएकी थिइन् । बुल्गेरियाका अभियोजकले मारिनोभाको शव पार्कमा भेटिएको बताएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

    आन्तरिक मामिलासम्बन्धी मन्त्री म्लादेन मारिनोभले हत्या मारिनोभाको कामसँग सम्बन्धित रहेको भन्ने कुराको पुष्टि नभएको जनाएका छन् । ‘‘यो बलात्कार र हत्याको घटना हो । उनलाई कसैले धम्क्याएको भन्ने बारेमा जानकारी भएको छैन,’’ उनले भने ।

    बुल्गेरियाका प्रधानमन्त्री ब्वाइको बोरिस्सोभले भनेका छन्, ‘‘अपराधका बारेमा छानबिन गर्न रुजमा सबैभन्दा राम्रा क्रिमिनोलोजिस्ट पठाइएको छ । उनीहरुलाई दबाब नदिऔं । ठूलो संख्यामा डीएनए संकलन गरिएको छ ।’’

    रुजका क्षेत्रीय अभियोजक जर्जी जर्गीभले भनेका छन्, ‘‘उनको मृत्यु टाउकोमा प्रहार गरेर भएको देखिन्छ । उनको मोबाइल फोन, कारको चाबी, चश्मा र उनका केही कपडा हराएको पाइएको छ ।’’ प्रहरीले सोमबारसम्ममा थप जानकारी प्राप्त गर्ने अपेक्षा गरिएको अधिकारीहरुले बताएका छन् ।

    मारिनोभा उत्तरपूर्वी बुल्गेरियाको चर्चित टेलिभिजन स्टेसन टिभीएनको बोर्ड सदस्य पनि हुन् । उनी एक वर्षमा इयूमा मारिएकी तेस्रो पत्रकार हुन् । उनले टिभीमा समसामयिक विषयको टक शो ‘डिटेक्टर’ चलाउने गरेकी थिइन् । हालै रिलञ्च गरिएको उनको शोको ३० सेप्टेम्बरको पहिलो कार्यक्रममा इयूको फन्डमा भएको दुरुपयोगको बारेमा चर्चा गरेकी थिइन् ।

    २०७५ असोज २२ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ