वाशिङ्टन । अमेरिकी कंग्रेसको माथिल्लो सदन (सिनेट) को नियन्त्रण कसको हातमा पुग्नेछ भन्ने छिनोफानो गर्न आज देशभर मतदान भइरहेको छ।
सन् २०२६ को यस मध्यावधि निर्वाचनमा ५ करोड ६० लाखभन्दा बढी मतदाताले यसअघि नै अग्रिम मतदान (अर्ली भोटिङ) गरिसकेको भए पनि आज भने विभिन्न राज्यका मतदान केन्द्रहरूमा मतदान हुन लागेको हो ।
नयाँ सर्वेक्षणहरूले डेमोक्र्याटहरू सिनेटमा बहुमतको नजिक पुगेको देखाइरहेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षीले कंग्रेस जितेमा आफूले उनीहरूका हरेक विधेयकमा ‘भिटो’ प्रयोग गर्ने चेतावनी दिएका छन्।
आजको निर्वाचनमा सबैभन्दा बढी चासोको केन्द्र बनेको मिशिगन राज्यमा रिपब्लिकन उम्मेदवार माइक रोजर्स र डेमोक्र्याट उम्मेदवार अब्दुल एल-सईदबीच निकै पेचिलो प्रतिस्पर्धा भइरहेको छ।
मतदानको अन्तिम घडीमा डेमोक्र्याटिक सांसद हेली स्टिभेन्सले आफ्नै पार्टीका उम्मेदवारलाई छाडेर रिपब्लिकनका रोजर्सलाई समर्थन गरेपछि त्यहाँको राजनीति एकाएक तरंगित बनेको छ।
स्टिभेन्सको यो अनपेक्षित कदमले आज मतदान केन्द्र पुगेका मतदाताहरूलाई कति प्रभाव पार्छ भन्ने विषयलाई विश्लेषकहरूले निकै चासोका साथ हेरिरहेका छन्।
यसैबीच, मतदान सुरु हुनुभन्दा केही घण्टाअघि मात्र राष्ट्रपति ट्रम्प प्रशासनले सर्वोच्च अदालतबाट कानुनी झट्का बेहोरेको छ। गैरनागरिकहरूले मत हालेको हुन सक्ने दाबी गर्दै क्यालिफोर्नियाका हजारौँ मतपत्रहरू गणनाबाट अलग राख्न न्याय मन्त्रालयले दिएको आपत्कालीन निवेदनलाई सर्वोच्च अदालतले रातारात खारेज गरिदिएको छ। अदालतको यस संक्षिप्त आदेशसँगै ती सबै मतपत्रहरू नियमित रूपमा गणना हुने बाटो खुलेको छ।
सिनेटको भविष्य निर्धारण गर्न मिशिगन बाहेक साउथ क्यारोलिना, क्यान्सस, इन्डियाना र अलास्का जस्ता राज्यहरूमा आजको मतदानलाई पनि निर्णायक मानिएको छ। साउथ क्यारोलिनामा बालरोग विशेषज्ञ डा. एनी एन्ड्रयुजले रिपब्लिकन सिनेटर डार्लिन ग्राहमविरुद्ध बलियो चुनौती प्रस्तुत गरेकी छन् भने क्यान्ससमा एडम ह्यामिल्टन र इन्डियानामा बो बायेले महँगी र आर्थिक मुद्दालाई अघि सार्दै रिपब्लिकनको गढ भत्काउने दाबी गरेका छन्।
उता अलास्कामा पनि सिनेटर ड्यान सुलिभान र मेरी पेल्टोलाबीचको तीव्र प्रतिस्पर्धाले राष्ट्रिय ध्यान तानेको छ। महँगी, अर्थतन्त्र र तीव्र दलगत ध्रुवीकरणका बीच आज मतपेटिकामा खस्ने मतले आगामी दुई वर्षसम्म अमेरिकाको नीति निर्माण र राष्ट्रपति ट्रम्पको बाँकी कार्यकालको शक्ति सन्तुलन तय गर्ने समाचारहरुमा जनाइएको छ ।
प्रतिक्रिया