• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार

    कसरी घट्यो दोरम्बा हत्याकाण्ड ? यस्तो छ श्रीमती गुमाएर आफु बाँचेका प्रत्यक्षदर्शीको बयान

    15.6K
    SHARES



    काठमाडौं ।

    दोरम्बा हत्याकाण्ड हुँदा म तत्कालीन नेकपा माओवादी रामेछाप जिल्लाको इन्चार्ज थिएँ। त्यस दिनको बैठकको प्रमुख अतिथि म नै थिएँ। मैनकुमार मोक्तान तत्कालीन जिल्ला पार्टीका सचिव, मेरी पत्नी अम्बिका दाहाल इलाका सेक्रेटरी र जनसरकार प्रमुख बाबुराम लामा पनि बैठकमा उपस्थित थिए।

    तत्कालीन विद्रोही नेकपा माओवादी र सरकारी पक्षबीच युद्धविराम गर्ने सहमति भइसकेको थियो। दाङको हापुरेमा सरकारी पक्ष र पार्टीसँग वार्ता चलिरहेको थियो। २०६० साल साउनको ३२ गते। दिउँसो १२ बजेको थियो। चारैतिर कुहिरो र झमझम झरी। त्यही दिन दोरम्बामा पार्टीको इलाका बैठक थियो। हामी ३३ जना सहभागी थियौं। स्थानीय सुराकीको सहयोगमा मन्थलीबाट सेना बैठकस्थल आइपुग्यो।

    सेना बैठकस्थल आएको खबर पाउँदा हामीले कुनै अप्ठ्यारो मानेनौं, कारण युद्धविराम पूर्व हाम्रो पार्टी र सरकारबीच ५ बुँदे सहमति भएको थियो। त्यसमध्ये सेना पनि आफ्नो ब्यारेकबाट ५ किलोमिटर पर जान नपाउने र माओवादी पनि आफू बसेको ठाउँबाट ५ किलोमिटर भन्दा पर जान नपाउने सहमति थियो। रामेछाप सदरमुकाम मन्थलीबाट हिँडेर बैठकस्थल दोरम्बा आइपुग्न २ दिन लाग्छ। दोरम्बाबाट मन्थली २५ कोस टाढा पर्छ। हामीले बैठकस्थल वरिपरी सुरक्षाका लागि हाम्रै साथीहरु पनि राखेका थियौं। तर कुहिरोका कारण केही देखिने अवस्था थिएन। दोरम्बादेखि मन्थलीसम्मको एउटा बाटो जंगल नै जंगल पर्छ। त्यहाँ सल्लाको घना वन छ। सेना आफ्नो ब्यारेक मन्थलीबाट अघिल्लो दिन हिँडेर जंगलको बाटो प्रयोग गरी सुराकीको घरमा आएर बसेछन्। हामी घटना भएको दिन मात्र उक्त कुरा थाहा पायौं।

    सुराकीले फलाना ठाउँमा बैठकस्थल देखाएछन्। सुराकमा लागेका ३ जनालाई उनीहरुले हत्या गरे। २/३ जना अहिले पनि छन्। उनीहरुलाई कस्तो कारबाही गर्ने भन्ने अहिलेसम्म निश्चित भएको छैन। सुरुमा उनीहरुले हाम्रो सुरक्षामा बसेकाको हत्या गरे। त्यसपछि बैठकमा आउँदै गरेका साथी उमेश थापा मगर, र सिन्धुलीका उषा नाम गरेकी साथीको हत्या भयो। बैठक नजिकै सेना आइपुगे के गर्ने भन्ने विषयमा हामी एकछिन छलफलमा बस्यौं। सबै साथीहरुले युद्धविरामको बेला आएका सेनाले केही गर्दैनन् भने। नेतृत्वका हिसाबले मैले भनेँ ‘युद्धविरामको बेला मन्थलीदेखि यहाँसम्म आउने सेनाले राम्रो गर्दैन, हामी सबै भागौं। दुई जना साथीहरु मारिसकेको अवस्थामा हामी भाग्नुपर्छ।’

    भाग्ने सल्लाह हुँदाहुँदै सेना आइपुग्यो। २० जनालाई पक्राउ गर्‍यो। मसहित अन्य ११ जना भाग्न सफल भयौं। उनीहरुले गोली हान्दाहान्दै हामी भाग्यौं र बाँच्यौं। तत्कालीन जनसरकार प्रमुख बाबुराम लामा सहितका २० जना पक्राउ परे। लामासहितका साथीहरुले युद्धविराम भइसकेको अवस्थामा हामीलाई किन पक्राउ गरेको ? कि हामीलाई छाड्दिनुस्, कि मार्नुस् भन्नुभयो। त्यसपछि सेनाले गोली हानेर मारियो। त्यतिबेला हाम्रा २२ जना साथीकाे हत्या भयाे। मेरी पत्नी अम्बिका दाहालको पनि हत्या भयो।

    यसरी बाँच्यौ हामी
    सेनाले चारैतिर घेरा हालेको थियो। मैले लुक्दै सैनिकले ताकेर बसेको बन्दुक समाएर खोस्ने प्रयास गरेँ। उसले बन्दुक बलियो गरी समाएको रहेछ। उसको हातबाट बन्दुक फुत्किएन, बरु उ लड्यो र लडेपछि म भागेँ। भाग्दाभाग्दै उनीहरुले बन्दुक हाने तर हामीलाई भेटेन। सँगै अरु साथीहरु पनि त्यसरी नै भाग्नुभयो। साँझ हामीबीचमा सम्पर्क भयो।

    सेनाको घेराबन्दीबाट फुत्किएर गाउँमा आइपुगेपछि मैले पार्टीका अन्य कार्यकर्तालाई सेनाले पक्राउ गरेको साथीहरुलाई पिछा गर्न लगाएँ। सेनाले उनीहरुलाई पछाडि हात बाँधेर लगेको थियो। पिछा गर्दै जाँदा साथीहरुलाई सेनाले छातीमा बन्दुक हानेर मारेको समेत देखियो। बन्दुक पड्केको आवाजपछि मैले पनि साथीहरुलाई मारेको आशंका गरेँ र पिछा गर्न पठाएको साथीले पनि मारेको भनी पुष्टि गर्‍यो। अनि मैले अग्निबुढा (अग्नि सापकोटा) लाई खबर गरेँ। घटनापछि त्यहाँको नेतृत्वको हैसियतले मैले पार्टीमा सम्पर्क गरेँ। त्यतिबेला हाम्रो इन्चार्ज अग्निप्रसाद सापकोटा हुनुहुन्थ्यो। जताततै फोन लाग्ने अवस्था थिएन। दोरम्बाबाट २ घण्टा हिडेपछि आइपुग्ने गाल्पा भन्ने ठाउँमा आएपछि मात्रै टेलिफोन सम्पर्क हुन्थ्यो र म त्यहाँ आएर अग्नि बुढालाई टेलिफोन सम्पर्क गरेँ। त्यसपछि पार्टीले युद्धविरामबाट फिर्ता भएको घोषणा गर्‍यो र फेरि युद्धमा होमियौँ।

    (दाेरम्बा हत्याकाण्डका प्रत्यक्षदर्शी तथा तत्कालीन रामेछाप जिल्ला इन्चार्ज हरि दाहालसँग पत्रकार बुद्ध लोप्चनले गरेकाे कुराकानीमा अाधारित ।)

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ