• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    अपर त्रिशूली–१ मा दर्जनौँ बेपत्ता, उद्धारका लागि सरकारले नै हेलिकप्टर उडाउन दिएन

    453
    SHARES



    काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनास्थलबाट सम्पर्कविहीन भएका कामदारहरूको खोजी अझै प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन। आयोजनामा कार्यरत ९ जना कोरियन नागरिकसहित कैयौँ नेपाली कामदार पाँच दिनदेखि बेपत्ता रहेको बताइएको छ।

    बाढीका कारण आयोजनास्थल र आसपासको क्षेत्रमा ठूलो क्षति पुगेपछि बेपत्ता कामदारको अवस्थाबारे परिवार तथा आयोजनासँग सम्बन्धित पक्ष चिन्तित छन्। तत्काल हवाई खोजी तथा उद्धार आवश्यक रहेको भन्दै निजी हेलिकप्टर परिचालनको तयारी गरिए पनि सरकारी स्वीकृतिको अभावमा अभियान अघि बढाउन नसकिएको उनीहरूको भनाइ छ।

    आयोजनामा कोरियाली लगानीसमेत रहेकाले आफ्ना नागरिकको खोजी र उद्धारका लागि नेपालस्थित कोरियाली दूतावासले नेपाल सरकारसँग समन्वय गरिरहेको छ। कोरियाली सरकारले उद्धारमा सहयोग पुर्‍याउन विशेष टोलीसमेत नेपाल पठाएको बताइएको छ।

    उद्धारका लागि आवश्यक हेलिकप्टरको व्यवस्था गर्न सकिने भए पनि उडान अनुमति नपाउँदा समस्या भएको आयोजनाको प्रवर्द्धक पक्षको दाबी छ। कम्पनीका प्रतिनिधि तथा बेपत्ता कामदारका आफन्तले सम्बन्धित सरकारी निकायसँग पटक–पटक आग्रह गर्दा पनि अपेक्षाअनुसार उद्धार अघि बढ्न नसकेको बताएका छन्।

    एक बेपत्ता कामदारका आफन्तका अनुसार घटनाको पाँच दिन बितिसक्दा पनि आफ्ना परिवारका सदस्यको अवस्था थाहा हुन सकेको छैन। निजी स्रोतबाट हेलिकप्टर तयार राखिएको भए पनि सरकारी स्वीकृति नहुँदा त्यसलाई खोज तथा उद्धारमा प्रयोग गर्न नसकिएको उनको गुनासो छ।

    उद्धारका लागि परराष्ट्र मन्त्रालयले समेत पहल गरेको जनाइएको छ। मन्त्रालयले भदौ १२ गते रक्षा मन्त्रालयलाई पत्र पठाउँदै फिस्टेल एयर र प्रभु हेलिकप्टरका ६ वटा उडानलाई आयोजनास्थलमा अवतरण तथा उद्धारका लागि अनुमति दिन आग्रह गरेको थियो।

    कोरियाली दूतावासले पनि आफ्ना नागरिकको खोजीका लागि कूटनीतिक माध्यमबाट अनुमति मागेको बताइएको छ। तर, सम्बन्धित पक्षका अनुसार सुरक्षा तथा प्राविधिक कारण देखाउँदै आवश्यकताअनुसार हेलिकप्टर परिचालन गर्न अनुमति प्राप्त हुन सकेको छैन। केही उडानका लागि अनुमति पाए पनि व्यापक खोज तथा उद्धार सञ्चालनका लागि त्यो पर्याप्त नभएको उनीहरूको भनाइ छ।

    आयोजनास्थलको भौगोलिक अवस्था पनि उद्धारका लागि चुनौतीपूर्ण रहेको बताइएको छ। कतिपय क्षेत्रमा अत्यन्तै भिरालो भूभाग र घना जंगल रहेकाले स्थलमार्गबाट खोजी गर्न कठिनाइ भएको छ। बेपत्ता व्यक्तिहरूमध्ये केही घाइते अवस्थामा रहेको सूचना आएको भन्दै आफन्त र कम्पनीले तत्काल हवाई उद्धारलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन्।

    यता, घटनामा बेपत्ता भएका कामदारको यकिन विवरणसमेत सार्वजनिक हुन नसकेको भन्दै परिवारहरूले थप चिन्ता व्यक्त गरेका छन्। उनीहरूले बेपत्ताको आधिकारिक सूची सार्वजनिक गर्न, खोजीलाई तीव्र बनाउन र उद्धारका लागि उपलब्ध सबै स्रोतसाधन तत्काल परिचालन गर्न माग गरेका छन्।

    २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजना भोटेकोशी क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेको छ। पछिल्लो बाढीले आयोजनास्थल प्रभावित बनेपछि त्यहाँ कार्यरत श्रमिकहरूको अवस्थाबारे गम्भीर चासो बढेको हो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ