• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    एमसीसी सम्झौताको व्याख्यात्मक घोषणा स्वीकार ?

    2.2K
    SHARES



    काठमाडौँ । माओवादी केन्द्रको केन्द्रीय समितिले एमसीसी सम्झौता पारित गर्ने क्रममा प्रतिनिधिसभाबाट पारित गरिएको व्याख्यात्मक घोषणा अनुमोदन गरेको छ ।

    पार्टीभित्र एमसीसी सम्झौता पारित गरेको विषयलाई लिएर जारी विवादको असर कार्यकर्तामा नपरोस् भनेर माओवादीले अपिल पनि सार्वजनिक गर्ने निर्णय गरेको छ ।

    काठमाडौंमा सोमबार सकिएको केन्द्रीय समितिको बैठकले एमसीसीबारे बाहिर समान धारणा राख्ने र पार्टी कमिटीमा फरक धारणा लिएर छलफल गर्ने निर्णय गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

    ‘एमसीसीबारे पार्टी केन्द्रले अपील निकाल्ने निर्णय गरेको छ । एमसीसीबारे २०७९ जेठ २० गते बोलाइएको केन्द्रीय समिति बैठकमा छलफल गर्ने निर्णय पनि भएको छ,’ ती केन्द्रीय सदस्यले भने ।

    पार्टीभित्रका मतभेदमा आन्तरिक रूपमा नै छलफल गर्ने र समाधानको बाटोमा जाने निर्णय लिँदै पार्टीलाई एकताबद्ध बनाएर लैजाने निर्णय भएको माओवादीका केन्द्रीय सदस्यले जानकारी दिए । त्यस्तै, माओवादीले केन्द्रीय समितिबाट स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम पनि तय गरेको छ ।

    हलमै सिनियरको विवाद हुँदा प्रचण्ड ‘ब्याक’
    नेकपा माओवादी केन्द्रलाई आन्तरिक कलह व्यवस्थापनमा सकस भएको छ । पार्टीभित्र देखिएको शक्ति संघर्ष र फरक मत सम्बोधन गर्दै केन्द्रीय कमिटी विस्तार, पदाधिकारी चयन लगायतमा सकस बढेको हो ।

    परिणामस्वरुप सोमबार केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्न सकेन । यद्यपि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक सफल भएको दाबी गरे।

    उनले स्थानीय तहको निर्वाचन घोषणा भइसकेको सन्दर्भमा अब चुनाव केन्द्रित हुनुपर्ने भन्दै यस्तो अवस्थामा चुनावपछि बस्ने केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन, एमसीसीबारेको विवाद लगायतका विषयमा छलफल गर्नेगरी ‘वस्तुगत’ निर्णय गर्न सफल भएको दाबी गरे ।

    ​प्रचण्डले यस्तो दाबी गरे पनि कार्यकर्ताहरु भने बैठकले एमसीसीबारे उत्पन्न विवाद कसरी समाधान हुन्छ र पदाधिकारीमा को–को चयन हुन्छन् भन्नेमा चासो राखिरहेका थिए । ती विषयलाई तत्कालका लागि थाँती राखिएको छ ।

    विषयको गम्भीरतालाई ध्यानमा राख्दै अध्यक्ष प्रचण्डले विवादित विषयका सन्दर्भमा स्थानीय तहको चुनावपछि छलफल गर्ने गरी थाँती राखेका हुन् । उनले केन्द्रीय कमिटीमा प्रस्ताव गरेका सबै नामसमेत अनुमोदन गराउन सकेनन् ।

    बैठक हलमै ‘सिनियर’बारे विवाद भएपछि प्रचण्डले प्रस्ताव गरेका ९७ मध्ये ५० जनाको नाममात्र अनुमोदन भयो । केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले बैठकमै ‘एनआरएनले एक पटकको नेपाल सधैँ नेपाली भनेझैं माओवादीमा एक पटक वरिष्ठ भइसकेको नेता सधैँ वरिष्ठ हुने हो ?’ भन्दै प्रश्न गरेका थिए ।

    विवाद बढेपछि अध्यक्ष प्रचण्ड ‘ब्याक’ हुँदै वैकल्पिकसहितका केन्द्रीय सदस्यको नाम पछि टुंग्याउने निर्णयमा पुगेका थिए । माओवादी केन्द्रको केन्द्रीय कमिटीको अर्को बैठक आगामी जेठ २० गते बस्ने भएको छ । सो बैठकले नै पदाधिकारी, पोलिटब्यूरो तथा स्थायी कमिटी गठन गर्ने जनाइएको छ ।

    माओवादी बैठकले के-के गर्‍यो निर्णय ?
    ​माओवादी केन्द्रले केन्द्रीय कमिटी विस्तारसमेत गरेको छ । ३४४ सदस्यीय केन्द्रीय कमिटीमा २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने छन् भने तीमध्ये अझै केही सदस्य मनोनयन गर्न बाँकी छ । महाधिवेशनबाट २४७ सदस्य चुनिएकोमा सोमबार अध्यक्षले ९७ सदस्य थप पर्ने प्रस्ताव गरेका थिए । तर, बैठकले तीमध्ये ५० जनाको नाममात्र अनुमोदन गरेको छ । जसअनुसार माओवादी केन्द्रको केन्द्रीय कमिटी हाल २९७ सदस्यीय भएको छ ।

    ​तीन नेताको ‘नोट अफ डिसेन्ट’
    माओवादी केन्द्रका तीन नेताले संयुक्त रुपमा ‘नोट अफ डिसेन्ट’ (फरक मत) राखेका छन् । एमसीसीबारे पार्टीले गरेको निर्णयको सन्दर्भमा लीलामणि पोखरेल, देव गुरुङ र कृष्णबहादुर महराले केन्द्रीय कमिटी बैठकमा छलफल गरियोस् भनेर फरक मत दर्ज गरेका हुन् ।

    तर, उक्त ‘नोट अफ डिसेन्ट’ माथि स्थानीय तहको निर्वाचनपछि मात्र छलफल हुने भएको छ । अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनपछि बस्ने केन्द्रीय कमिटी बैठकमा फोरम चलाएर यसबारे बहस गर्ने प्रस्ताव गरेका हुन् ।

    ​एमसीसीबारे साझा अपिल बनाइने
    माओवादी केन्द्रले एमसीसी सम्झौताका बारेमा पार्टीको निर्णयलाई लिएर असन्तुष्टि बढिरहेको समयमा एकातिर स्थानीय तहको निर्वाचनपछि बस्ने केन्द्रीय कमिटीको बैठकमा मात्र त्यसबारे छलफल गर्ने निर्णय गरेको छ भने अर्कोतिर त्यसअघि नै साझा अपिल बनाएर जनतामा जाने निर्णय गरेको छ ।

    यसको अर्थ, एमसीसीबारे पार्टीभित्र देखिएको फरक मतलाई थाँती राख्दै स्थानीय तहको चुनाव अघि नै पार्टीले एमसीसीका सम्बन्धमा साझा अपिल बनाउने र सोही आधारमा नेताहरुले जनतालाई ‘कन्भिन्स’ गर्नुपर्ने भएको छ ।

    माओवादी केन्द्रले आन्तरिक विवादलाई थाँती राख्दै चुनाव केन्द्रित हुने बाटो अपनाएको छ । जस अनुसार प्रदेशगत रुपमा इन्चार्ज तोकेर प्रदेशभित्रका केन्द्रीय सदस्य सम्मिलित समिति बनाउँदै जिल्ला–जिल्लामा समूह विभाजन गरी कमाण्ड बनाउने भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ