• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विचार-ब्लग

    राष्ट्रपति ज्यू, तपाईलाई निर्मला र भागरथीहरुको आत्माले सराप्नेछ

    98.3K
    SHARES



    काठमाडाैं ।  बुधबार अबेर राति सामाजिक सञ्जाल फेसबुकमार्फत बैतडीमा एक जना किशोरीको शब फेला परेको खबर सुनेर मन फेरी अमिलो भयो । झट्ट निर्मलाको त्यो अर्धनग्न शव सम्झिए । कतै फेरी……! यस्तो घटनाको समाचार सम्प्रेषण गर्न नपरोस भन्ने कामना गरे ।

    तर घटनाबारे बुझ्दै जाँदा जे नहोस भन्ने कामना गरेकी थिए त्यहि भइसकेछ । सुदुरपश्चिममा बलत्कारपछि अर्को विभत्स हत्या ! नेपालमा पछिल्लो समय बलात्कार एउटा विकराल र भयानक संकट बन्दै गएको छ । बिहान स्कूल, कलेज गएका छोरी चेलीहरु साँझ सकुशल घर फर्किन्छन कि फर्किदैनन् ? भन्ने कुराको टुंगो हुदैन ।

    कुनै काम बिशेषले मार्केट तिर निस्केका महिला दिदीबहिनीहरु घर नपुगेसम्म परिवारका मान्छेहरुको धड्कन बढिरहन्छ, चिन्ता भइरहन्छ । बलात्कारका घटनाहरु यसअघि पनि नघटेका भने होइनन् तर कतिपय घटनाहरु यो कथित समाजको डरले गुपचुप राखियो र पिडितहरुलाई झन् पिडा दिने काम भयो ।

    कतिपय अवस्थामा त यस्ता घटनाहरु परिवारभित्रैबाट समेत घटेका कारण बाहिर ल्याउन दिइएन भने कतिपय घटनाहरु बाहिर आएर पनि अपराधिमाथि कारवाही हुन नसक्द पिडित झन् प्रताडित बन्नुपर्ने अवस्था बन्यो । जसकारण बलात्कारका घटनाहरु ह्वात्तै बढ्न थाले ।

    जब देशमा दण्डहिनता बढ्दै गयो तब पछिल्लो समय अपराधिहरुले बलात्कारपछि बालिका, किशोरी, युवती भनु या महिला (जसमाथि बलात्कार हुन्छ उनीहरु)को बिभत्स हत्या हुन थाल्यो । जसको एउटा कहालीलाग्दो उदाहरण हो – निर्मला पन्त बलात्कार र हत्याकाण्ड !

    निर्मला पन्त बलात्कार र हत्याकाण्ड नेपालमा भएका दर्दनाक हत्याकाण्ड मध्येको एक हो । ०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी १३ वर्षिया किशोरी निर्मल पन्तको बिभत्स शव भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो । पन्तको बलात्कार पछि हत्या भएको थियो ।

    स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी छानबीनको माग गरेका थिए । प्रहरीको विरूद्ध बृहत प्रदर्शन भयो, जुन आन्दोलनमा प्रहरीको गोली लागि एक स्थानीय युवकको समेत मृत्यु भएको थियो ।

    सम्भवत: बलात्कारविरुद्ध यसरी संगठित सामाजिक आक्रोश व्यक्त भएको निर्मला पन्त प्रकरणपछि नै हो । त्यसपछि भदौ ७ गते सरकारले उक्त घटनाको लागि एक विशेष छानबीन समिति गठन गरेको थियो । छानबीन आयोगले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको प्रतिवेदन दियो। तर घटनाको मुख्य अभियुक्त कोहो भन्ने सुइँको समेत पाउन सकेन ।

    निर्मलाका बा-आमा र आफन्तहरु न्याय माग्दै अहिलेसम्म पनि भौतारीरहेका छन् तर साढे २ बर्ष बितिसक्दा पनि निर्मलाका बलात्कारी र हत्यारा पत्ता लगाउन सरकार असफल भयो । बरु उल्टै सत्ता र शक्तिको पावरको दुरुपयोग गरी अपराधीलाई उन्मुक्ति दिने काम भयो र यो घटना अहिले पनि कयौ नेपालीहरुको मनमा नमिठो दाग बनेर बसेको छ ।

    कञ्चपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना टुङ्गोमा नपुग्दै उनीजस्तै अन्य अबोध बालिकाले ज्यान गुमाउनु परेको छ । सुदुरपश्चिमकै पहाडी जिल्ला बझाङमा अर्को बिभत्स हत्याकाण्डको शिकार बनिन १२ वर्षीया सम्झना विक ।

    गत असोज ७ गते बुधबार साँझ गाईबस्तुलाई घाँस हाल्न गएकी सम्झना विक पनि बिभत्स अवस्थामा नै मृत फेला परिन् । उनको शव निर्वस्त्र अवस्थामा स्थानीय सिमदेवता मन्दिरमा भेटिएको थियो । उनको बलात्कारपछि हत्या गरेकाेअभियोगमा साेही जिल्लाका २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गर्याे । प्रहरी अनुसन्धानले ति अभियुक्तको बारेमना खोलेको अर्को खतरनाक रहस्यले धेरै महिलालाई आक्रोशित र आतंकित बनायो ।

    राजेन्द्रले साउन २९ गते सोही स्थानकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुल्याे । राजेन्द्रले १३ वर्षीया बालिकालाई घट्टामा पिठो लिन गएको अबस्थामा गत साउन २९ गते साँझ जबरजस्ती करणी गरेको र परिवारको मिलेमतोमा उनलाई उन्मुक्ति दिइएको पाइयो ।

    उक्त घटना पनि सेलाउन नपाउदै फेरी सुदुरपश्चिमकै पहाडी जिल्ला बैतडीमा बुधबार बलाकारपछि एक जना किशोरीको विभत्स हत्या भएको छ । स्कूलबाट फर्कदै गरेकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि बिभत्स हत्या भएको घटनाको अहिले चौतर्फी बिरोध भइरहेको छ । घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारवाहीको माग गरिएको छ ।

    यी त केहि प्रतिनिधिमूलक घटनाहरु मात्रै भए । तर निर्मला पन्तदेखि माघ ०७७ मा बैतडीकी भागरथीसम्म आइपुग्दा देशमा तीन हजार तीन सय ४७ बालिका बलात्कृत भएका छन् । अपराध लुकाउन १७ जना पीडितको हत्या भएको छ ।

    यो अढाई वर्षमा बलात्कारबाट पीडित तीन हजार तीन सय त बालिका मात्र हुन् । योबीचमा ६ हजार आठ सय ४४ जनाको बलात्कार भएको छ । यसरी कुल बलात्कारमध्ये आधा त बालिका नै छन् । पछिल्लो साढे दुई वर्षमा बलात्कारपछि १७ जनाको हत्या भएको प्रहरीको तथ्यांक छ ।

    बिगत ३ बर्षदेखि नेपालमा राष्ट्रप्रमुख महिला छिन, विद्या भण्डारी  ! निर्मलाको हत्या हुँदा पनि सर्वोच्च अदालतमा प्रधानन्यायाधिश सुशिला कार्की महिला नै थिइन । तर कुनै देशको राष्ट्रप्रमुख महिला हुँदैमा त्यस देशका महिलाहरुको सामाजिक, राजनीतिक, आर्थिक वा अरु कुनै अवस्थामा परिवर्तन आउँन सक्छ भनेर कल्पना गर्नु व्यर्थ सावित भएको छ ।

    राष्ट्रपति विद्या भण्डारीले नेपालमा भइरहेका बलात्कारका घटना र तिनको रोकथामका लागि आजसम्म कुनै पनि प्रकारको छलफल, कार्यक्रम वा कुनै पहलकदमी चालेको देखिदैन । उनी आफै पनि महिला भएको कारणले नेपालमा बारम्बार भइरहेका बलात्कारका निकै कारुणिक घटनाबारे बोल्ने, नीति निर्माण गरेर रोकथामको पहल गर्ने वा यस्ता घटनाबाट पिडित बालिका, किशोरी या महिला तथा तिनका परिवारहरुलाई सहानुभूति दिने काम हुन नसक्नु अत्यन्त लज्जास्पद र दुर्भाग्यपूर्ण हो ।

    देशमा एकपछि अर्को बलात्कार र हत्याका घटना घट्दै भागरथी हत्याकाण्डसम्म आइपुग्दासम्म पनि राष्ट्रपति विद्या भण्डारी मानव मूर्ति बनेर सितलनिवासमा आसिन भएकी छिन र केवल प्रधानमन्त्री केपी ओलीकी निजी कारिन्दा बनेकी छिन । याे अवस्थामा राष्ट्रपति भण्डारीलाई सोध्न मन लागेको छ- राष्ट्रपति ज्यू, निर्मला या भागरथीको ठाउँमा तपाईका छोरीहरुमाथि यस्तो घटना घटेको भए तपाई के गर्नुहुन्थ्यो ? के तपाई पनि आमा होइन र ? के तपाई पनि महिला होइन र ?

    तपाई सबैभन्दा पहिले एउटा महिला हो, त्यसपछि आमा हो अनि मात्रै राष्ट्रपति, त्यो राष्ट्रपति पद त आवधिक पो हो, एउटा तर महिला र एउटा आमा त तपाई सधै रहिरहनुहुनेछ, र पनि निर्मलाकी आमा र भागरथीकी आमाको रोदनले तपाईलाई छुदैन किन ? यो प्रश्नको उत्तर हामीले कहिले पाउने ?

    नेपाली महिलाहरुका लागि केहि गर्नसक्ने ठाउँमा भएको बेला पनि तपाईले सबै कुरालाई वेवास्ता गर्दै राजकीय जीवन बिताइरहनु भएको छ ! तपाई अभिभावकको जिम्मेवारीमा भएको देशभित्र हरेक दिन महिलाहरु बलात्कारको सिकार बनेर मारिएका छन् तर तपाई अमनचयनको स्वास फेरिरहनुभएको छ ।

    राष्ट्रपति ज्यू, तपाईलाई निर्मला र भागरथीहरुको आत्माले सराप्नेछ… !

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ