• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कभर स्टोरी विचार-ब्लग

संविधानको रक्षामा राष्ट्रपति नउभिएको भए सायद आजको यो स्थिति हुँदैनथ्यो

189
SHARES



पुष्पकमल दाहाल ‘प्रचण्ड’ । ११औँ संविधान दिवसको अवसरमा महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन र भर्खरै सम्पन्न जेनजी आन्दोलनका सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, जनयुद्धका बेपत्ता, घाइते, अपाङ्ग योद्धा तथा सम्पूर्ण आन्दोलनका बेपत्ता र घाइतेहरूप्रति पार्टी तथा मेरो व्यक्तिगततर्फबाट हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु ।

आजको यस ऐतिहासिक दिनमा विशेष गरी जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका र घाइते भएका साथीहरूलाई म स्मरण गर्न चाहन्छु । शहीदहरूप्रति हामीले हिजो पनि श्रद्धाञ्जली व्यक्त गरेका थियौँ र आज पनि गरिरहेका छौँ । ती सम्पूर्ण घाइते योद्धा, विद्रोहीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

साथै, उहाँहरूका परिवारजनप्रति पनि विशेष सम्मान व्यक्त गर्न चाहन्छु ।

कमरेडहरू र मित्रहरू, २०७२ सालमा संविधान निर्माण गरेदेखि १० वर्ष पूरा भई ११ वर्षमा प्रवेश गर्दा प्रत्येक वर्षको राजनीतिक र देशको परिस्थितिमा केही न केही उतारचढाव रहँदै आएको छ । तर, आज हामी जुन ११औँ संविधान दिवस मनाउँदै छौँ, त्यो विशेष रूपमा फरक परिस्थितिमा मनाइरहेका छौँ । खासगरी, जेनजी आन्दोलनका कारण उत्पन्न नयाँ राजनीतिक परिस्थितिको बिचमा हामीले यो संविधान दिवस मनाउँदै छौँ र यही नै यसको मौलिकता र भिन्न विशेषता हो भन्ने मलाई लाग्छ ।

जसरी हिजो देशमा संविधानसभाबाट संविधान बनाउने ठाउँसम्म आइपुग्न झन्डै ७० वर्षभन्दा लामो यात्रा तय गर्नुपरेको थियो, त्यसबिचमा थुप्रै सशस्त्र र शान्तिपूर्ण आन्दोलनहरू तथा मुख्यतः महान् जनयुद्ध भयो । यसका हजारौँ शहीद, बेपत्ता योद्धा, घाइते, अपाङ्ग तथा जेल, नेल, यातना भोगेका तमाम नागरिकसहित हामीले देशलाई संविधानसभासम्म ल्याउन सफल भएका थियौँ ।

आज म जनयुद्धका ती ऐतिहासिक दिनहरूलाई विशेष रूपमा स्मरण गर्न चाहन्छु । हामीले जुन महान् उद्देश्य र सङ्कल्पसहित मुक्ति या मृत्युको शपथ खाएर जनयुद्धमा होमिएका थियौँ । ती सङ्कल्पहरू र ऐतिहासिक निर्णयहरू जसले देशलाई युगान्तकारी परिवर्तनको बाटोमा ल्याउन गोरेटो कोर्‍यो, जसको पछाडि हजारौँ शहीदहरूको रगत र लाखौँ जनताको त्याग, तपस्या अन्तर्निहित छ । म ती दिनहरूलाई आज विशेष स्मरण गर्न चाहन्छु । यदि त्यसो नभएको भए हामीले मृत्यु या मुक्तिको शपथ खाएर निरङ्कुश तन्त्र, सामन्ती निरङ्कुश तन्त्र तथा वैदेशिक दबाब र हस्तक्षेपका विरुद्ध विद्रोहको उद्घोष गर्दैनथियौँ भने अहिले देशमा संविधानमार्फत हाम्रा वर्ग, उत्पीडित समुदायले जति अधिकार प्राप्त गरेका छन्, त्यो सम्भव हुने थिएन ।

केही मानिसहरूले यसको ऐतिहासिकता, युगान्तकारी चरित्रलाई कुनै न कुनै रूपले न्यूनीकरण गर्न खोज्छन् । कतिपयले त यसलाई अपमान नै गर्छन् । हजारौँ शहीदहरूको रगत, हाँसेर बलिदानको वेदीमा चढ्ने ती महान् योद्धाका बलिदानलाई अपमान गर्छन् । अर्काथरी मान्छे, मानौँ, जनयुद्ध एउटा सामान्य आतङ्क मात्रै थियो भनेर त्यसलाई अवमूल्यन गर्ने र यो परिवर्तनमा यसको भूमिकालाई त्यति उल्लेख गर्न चाहँदैनन् । बरु, त्यसलाई नकारात्मक ढङ्गले प्रस्तुत गर्ने जमर्को गर्छन् ।

तर, ऐतिहासिक तथ्य यही हो कि जनयुद्धको पहल नभएको भए र त्यसमा यस देशका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायका मानिसहरूको सहभागिता र सबै समुदायको बलिदान सम्मिलित नभएको भए देश संविधानसभा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश सम्भव हुने थिएन । त्यसकारण, आज संविधान दिवस मनाउँदै गर्दा यसको ऐतिहासिकता र त्यसैको जगमा सात राजनीतिक दलसँग भएको १२ बुँदे समझदारी र पछि सम्पन्न भएको शान्ति सम्झौता, संविधानसभा र सङ्घीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको हो ।

एकथरी राजनीतिक शक्तिहरू परम्पराभन्दा बाहिर गएर संविधान निर्माण गर्ने कुरामा उनीहरूको मत फरक थियो । उनीहरू संविधानसभाबाट संविधान बन्ने र त्यसमा दलित, महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, लगायतका सबै उत्पीडित क्षेत्र कर्णाली, सेती, महाकाली, मधेसको पहिचान र अधिकारसहितको संविधान बनाउने कुरामा रुचि राख्दैनथे ।
म सबै कमरेडहरू, मित्रहरू र आम जनसमुदायलाई पनि यो ऐतिहासिक तथ्य र यसको उचाइ, यसको गम्भीरतालाई गहिरो गरी स्मरण गर्न, चिन्तन मनन गर्न र आजको राजनीतिक परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारेमा यसका शिक्षालाई आत्मसात् गर्न विशेष अपिल गर्न चाहन्छु ।

आज म ती दिनहरू सम्झिरहेको छु जब हामीले पहिलो संविधानसभाबाट संविधान निर्माण गर्न सकेनौँ । दोस्रोपटक संविधानसभाको निर्वाचन गर्नुपर्ने परिस्थिति विश्वमा विरलै देखिन्छ, त्यस्तै परिस्थिति नेपालमा बन्यो । म अहिले लामो व्याख्या गर्न चाहन्नँ, तर म यति भन्नैपर्छ कि संविधान बनाउने कुरा निकै जटिल र चुनौतीपूर्ण थियो ।

एकथरी राजनीतिक शक्तिहरू परम्पराभन्दा बाहिर गएर संविधान निर्माण गर्ने कुरामा उनीहरूको मत फरक थियो । उनीहरू संविधानसभाबाट संविधान बन्ने र त्यसमा दलित, महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, लगायतका सबै उत्पीडित क्षेत्र कर्णाली, सेती, महाकाली, मधेसको पहिचान र अधिकारसहितको संविधान बनाउने कुरामा रुचि राख्दैनथे ।

निकै ठुलो बहस, सङ्घर्ष र जनयुद्धको तागत, त्यसले पैदा गरेको तागत यदि नहुँदो हो त अहिले जुन स्तरको संविधान बनेको छ, त्यो पनि सम्भव हुँदैनथ्यो । म त्यतिबेलाको पनि एउटा प्रमुख नेतृत्व हुनुको नाताले र शान्ति सम्झौताको हस्ताक्षरकर्ता हुनुको नाताले पनि जनयुद्धका हजारौँ शहीदहरूको सपना र भावनाप्रति इमानदार र निष्ठावान् भएर अगाडि बढ्ने सङ्कल्पसहित निकै धेरै उतारचढावको बिचबाट संविधान घोषणा गरिएको थियो । म त्यो कुरा स्मरण गर्न र गराउन चाहन्छु ।

मैले धेरैचोटि भनेको छु, म आज एकचोटि फेरि भन्न चाहन्छु कि अहिले जसले आफूलाई ठुला दल भन्छन् र त्यो अहङ्कारले आज देश यस्तो भयानक परिस्थितिमा आइपुग्यो, उनीहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जस्तो बन्यो, त्यो बनाउने पक्षमा थिएनन् । फेरि पनि संविधानसभा असफल भए पनि कुनै चिन्ता थिएन । म त्यो सम्झिन्छु । मैले भयानक र विनाशकारी भूकम्पबाट धनजनको भयानक क्षति भएको परिस्थितिमा प्रतिपक्ष दलको नेताको भूमिकाभन्दा पनि त्यो भयानक भूकम्पबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण, पुनर्स्थापना लगायतका काममा सरकारलाई सहयोग गर्दै र सरकारसँग त्यतिबेला वार्ता गर्दै संविधान निर्माणको कामलाई त्यो क्षति, पीडा, आँसु देशभरि जनताको भावनालाई उच्च सम्मान गर्दै निष्ठाका साथ मैले अरु सबै कुराका अतिरिक्त, अन्य बहसहरू त छँदै थिए, ती कुराको अतिरिक्त प्रधानमन्त्री अफर गर्नुपर्ने बाध्यतामा परेको कुरा म आज फेरि एकचोटि स्मरण गर्न चाहन्छु । यदि मैले उनीहरूलाई प्रधानमन्त्री अफर गरेर संविधान घोषणा गर्ने ठाउँमा ल्याइ नपुऱ्याएको भए के हुन्थ्यो होला ? अहिले पनि मेरो दिमागमा ती सबै घटनाक्रमहरू घुमिरहेको छ । अनेक प्रयत्न गरेर यो संविधान यो स्तरमा घोषणा गरियो ।

हामी चाहन्थ्यौँ यो संविधान योभन्दा अझ प्रगतिशील बनोस्, अझ जनपक्षीय बनोस् । यहाँहरू सबैलाई पक्कै पनि स्मरण छ । हामी देशमा राजनीतिक स्थायित्वको निम्ति र विकासलाई अग्रगति दिनको निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जाने भइसकेपछि त्यो परिवर्तनसँगै हामीले स्थायित्वको लागि निकै धेरै बहस ग¥यौँ, तर त्यसमा सहमति हुन सकेन ।

आज फर्केर हेर्दा मलाई लाग्छ, यदि त्यतिबेला त्यसमा सहमति भएको भए देशको राजनीतिक परिस्थिति अर्कै हुन्थ्यो र अहिले जेनजी युवाहरूले विद्रोह गर्नुपर्ने र दर्जनौँले ज्यान गुमाउनुपर्ने, सयौँ घाइते हुनुपर्ने स्थिति सायद बन्दैनथ्यो । म सबै कमरेडहरूलाई यो कुराप्रति गहिरो गरी विचार गर्न अपिल गर्न चाहन्छु र आम जनतालाई पनि ।

म लामो व्याख्या नगरी त्यसको ऐतिहासिकता आज जेनजी विद्रोहले फेरि एकचोटि पुष्टि गरेको ठान्छु । हाम्रा ती रिजर्भेसनहरू, मतहरू सही थिए र १० वर्षपछि फेरि एकचोटि तिनको पुनर्लेखन गरेर या संशोधन गरेर, मुख्यतः संविधान संशोधन गरेर त्यो ठाउँमा पुग्न सकिन्छ भन्ने आधार बनेको देख्छु ।

फेरि पनि हामीले ती मुद्दाहरूलाई जो देशको स्थायित्वको निम्ति, देशलाई समाजवादतिर डोऱ्याउनको निम्ति र देशमा विकासको गति अगाडि बढाउन हाम्रा भनाइहरू, हाम्रा मतहरू ऐतिहासिक छन् भन्ने हाम्रो गहिरो विश्वास थियो । त्यही विश्वासको जगमा उभिएर भोलि कुनै दिन हामीले इतिहासको कठघरामा उभिएर भन्नुपर्नेछ, हामी के चाहन्थ्यौँ त्यतिबेला भन्ने ठानेर नै । र एउटा दिन आउनेछ जुन बेला फेरि यो संविधानलाई संशोधन र परिमार्जन गरेर यो ठाउँमा पुऱ्याउन सम्भव हुनेछ । नेपाली जनता कुनै न कुनै दिन यसको ऐतिहासिक महत्वलाई, हामीले राखेका कुराहरूको चाहे त्यो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरा होस् या पूर्ण समानुपातिक निर्वाचन प्रणालीको कुरा होस् या उत्पीडित वर्ग, जाति, समुदायको पहिचान र अधिकार जति प्राप्त हुनुपर्थ्यो, चाहे त्यो प्रदेशको सङ्ख्याको सन्दर्भमा होस् या उनीहरूको पहिचान र अधिकारको सन्दर्भमा होस्, सबै वर्ग समुदायका निम्ति हामीले भिन्न मत राखेका थियौँ ।

म लामो व्याख्या नगरी त्यसको ऐतिहासिकता आज जेनजी विद्रोहले फेरि एकचोटि पुष्टि गरेको ठान्छु । हाम्रा ती रिजर्भेसनहरू, मतहरू सही थिए र १० वर्षपछि फेरि एकचोटि तिनको पुनर्लेखन गरेर या संशोधन गरेर, मुख्यतः संविधान संशोधन गरेर त्यो ठाउँमा पुग्न सकिन्छ भन्ने आधार बनेको देख्छु । हामीलाई गर्व छ । म सबै क्रान्तिकारी कमरेडहरूलाई यी भनाइहरू स्मरण गर्न र त्यसलाई कार्यान्वयन गर्नको निम्ति फेरि एकचोटि जुरमुराएर अगाडि

बढ्न अपिल पनि गर्न चाहन्छु । हामी हीनताबोधमा बाँच्नुपर्ने कुनै आवश्यकता छैन । हामीले गर्वका साथ भन्न सक्छौँ, हामी सही थियौँ ।

हामीले महान् ऐतिहासिक विद्रोह गरेर यस देशका सबै उत्पीडित वर्ग, समुदायलाई अधिकार दिलाउने महान् काम गरेका थियौँ । हामीले संविधानसभाबाट संविधान निर्माण गर्ने बेलामा योभन्दा राम्रो संविधान बन्न सम्भव छ भनेर हामीले आफ्ना भनाइहरू इतिहासको पानामा दर्ज गरेका थियौँ । आज त्यो इतिहासको पन्नामा दर्ज गरेका मुद्दाहरू फेरि जीवित रूपमा अगाडि आएका छन् । हामी सबैले यसमा गर्व गरौँ र अगाडि बढौँ ।

केही मानिसहरूले धेरै बल गरेका छन् । त्यतिबेला पनि गरेका थिए, यो संविधान बन्नै नदिने । म त्यो पनि स्मरण गर्न चाहन्छु । त्यतिबेला देशभित्रका सामन्ती, प्रतिक्रियावादी तत्त्वहरू र बाहिरका पनि वैदेशिक प्रतिक्रियावादी शक्तिहरू पनि संविधान बन्न नदिनको निम्ति, रोक्नको निम्ति निकै ठुलो दबाब सृष्टि गरिएको कुरा पनि म आज एकचोटि फेरि स्मरण गर्न चाहन्छु । म नै हुँ त्यतिबेलाको पनि नेता । सबभन्दा बढी धम्की, दबाब कसैलाई दिइएको थियो भने त्यो प्रचण्डलाई नै दिइएको थियो । म यो कुरा पनि आज फेरि स्मरण गर्न चाहन्छु । तर, कुनै दबाब, धम्कीको अगाडि नझुकीकन संविधानसभाबाट संविधान बनाउनैपर्छ, घोषित मितिमा नै संविधान घोषणा गर्नैपर्छ भनेर अडान लिएर संविधान घोषणाको ठाउँमा पुऱ्याएको ती बडो जटिल र चुनौतीपूर्ण घुम्तीहरू म आज फेरि स्मरण गर्न चाहन्छु ।

अहिले फेरि जेनजी विद्रोहसँगै, हुन त जतिबेला हामीले विद्रोह गरेका थियौँ, मलाई लाग्छ त्यो विद्रोहमा सहभागी झन्डै ९० प्रतिशत, आज मैले अलिकति हिसाब गरेँ, ९० प्रतिशत सबै जेनजी नै थिए हाम्रा साथीहरू, हाम्रा कमरेडहरू । त्यसकारण सबभन्दा ठुलो विद्रोह जेनजी विद्रोह त जनयुद्ध नै हो । हामी कसैले यसलाई हो कि होइन भनेर दुविधामा नपरौँ । नेपालको इतिहासमा युगान्तकारी परिवर्तन ल्याउने र हजारौँको बलिदानको निम्ति तम्तयार हुने जेनजी पुस्ताले नै जनयुद्ध गरेको हो । यो कुरा तपाईं हामी सबैले स्मरण गर्न जरुरी छ ।

आज फेरि एकचोटि सामन्ती, प्रतिक्रियावादीहरू या वैदेशिक प्रतिक्रियावादीहरू पनि यी सबै चीजलाई अपमानित गर्ने र जनयुद्धको नेतृत्व, संविधानसभाको नेतृत्व, सुशासनको नेतृत्व, भ्रष्टाचारविरुद्ध अभियानको नेतृत्वलाई भ्रष्टाचारी नै हो यो पनि भनेर जो तुलना गर्न खोजिएको छ, यो इतिहासप्रति, जनताप्रति गहिरो र ठुलो विश्वासघात हो भन्ने म ठान्छु ।

हामीलाई जबर्जस्ती सङ्ख्याको बलमा सरकारबाट हटाइयो । हामीले चुनौतीका साथ भन्यौँ, जुन सङ्ख्याको बलमा हामीलाई राम्रो काम गर्न खोज्दा खोज्दै हटाइएको छ, यसको मूल्य तिमीहरूले भोलि तिर्नुपर्नेछ ।

एउटा नितान्त भिन्न युगिन आन्दोलन र पृष्ठभूमिमा र वर्तमानमा पनि हामीले सरकारमा रहँदा पछिल्लो चरणमा भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा, आर्थिक पछौटेपनका विरुद्ध, आर्थिक समृद्धिका पक्षमा जे जति काम गर्‍यौँ, हामीलाई गर्व छ । म सम्पूर्ण कमरेडलाई गर्वका साथ त्यसलाई आत्मसात् गर्न अपिल गर्न चाहन्छु । हामीलाई गर्व छ ।

हामीलाई जबर्जस्ती सङ्ख्याको बलमा सरकारबाट हटाइयो । हामीले चुनौतीका साथ भन्यौँ, जुन सङ्ख्याको बलमा हामीलाई राम्रो काम गर्न खोज्दा खोज्दै हटाइएको छ, यसको मूल्य तिमीहरूले भोलि तिर्नुपर्नेछ । म सबै कमरेडहरूलाई मैले विश्वासको मत अन्तिमपटक लिँदै गर्दाको सम्बोधन स्मरण गर्न पनि म यस अवसरमा अनुरोध गर्न चाहन्छु । र हामीले त्यहाँबाट निस्किसकेपछि पनि सडकबाट खबरदारी र हामीले विभिन्न अभियानबाट नेपालका सबै गरिब, मजदुर, किसानदेखि बुद्धिजीवी, नागरिक समाज, व्यापारी, शिक्षक, कर्मचारी, सबै उत्पीडित वर्ग समुदायसँग फेरि सम्बन्ध सुदृढ गर्ने प्रयास गर्‍यौँ ।

सायद हाम्रो पार्टी मात्रै त्यस्तो पार्टी हो जसले यो बिचमा भएका उतारचढावमा गल्ती कमजोरी भयो भनेर पहिलोचोटि केन्द्रीय समितिको पूर्ण बैठकमा आत्मालोचना र आत्मसमीक्षा गरेर यथास्थितिमा पार्टी पुनर्निर्माण गर्न सकिँदैन, हामी नयाँ ठाउँमा जानैपर्छ भन्ने सङ्कल्प गर्ने पहिलो पार्टी पनि नेकपा (माओवादी केन्द्र) नै हो । गम्भीर आत्मसमीक्षा, आत्मालोचना जनताको अगाडि गएर हामीले अलिकति यो बिचमा कहीँ न कहीँ हामीले हाम्रो विचार, हाम्रो वर्ग, हाम्रा मुद्दाहरूलाई जति दरोसँग समात्नुपर्थ्यो, जनतासँग जति गहिरो सम्बन्ध बनाउनुपर्थ्यो, ती तमाम महान् शहीदका परिवार, बेपत्ता योद्धा परिवार, घाइते अपाङ्ग, जेल, नेल, यातना भोगेका परिवार र साथीहरूसँग जुन स्तरको सम्बन्ध बनाउनुपर्थ्यो, त्यो हामीले कहीँ न कहीँ कमी भयो भन्ने आत्मसमीक्षा गरेर नै हामी हुलाकी मार्ग केन्द्रित अभियान र मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान, उपत्यका अभियान लगायत विभिन्न उत्पीडित जाति, क्षेत्र, मोर्चाका सङ्गठनहरूलाई पुनर्जीवित गर्ने, विभिन्न जातीय मोर्चालाई फेरि समाजवादको निम्ति तम्तयार पार्ने उद्देश्यका साथ हामीले सबैका भेला, सम्मेलनहरू अगाडि बढाउँदै फेरि एउटा नयाँ आन्दोलनको निम्ति तयारी गर्ने सङ्कल्प पनि हामीले नै गरेको हो ।

यो कुरा पनि हामी सबैलाई थाहा छ । हामीले जसरी भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा र सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा आवाज उठाइराख्यौँ, सङ्ख्याको बलमा हाम्रा ती आवाजहरूलाई अन्सुना गरियो, बेवास्ता गरियो । यति धेरै अहङ्कार प्रदर्शन ठुला भन्ने पार्टीहरूले गरे । यो अहङ्कारले कहीँ न कहीँ यी पार्टीहरूलाई भोलि जनताले बढार्छन् भनेर पनि मैले त पटक पटक भनेको थिएँ । तपाईँहरूको यो अहङ्कारको मूल्य धेरै चर्को पर्नेछ । जनतामा आक्रोश दिनप्रतिदिन बढिरहेको छ । र यो आक्रोश कहीँ न कहीँ विस्फोट हुन सक्छ । मैले श्रीलङ्काको घटना, बङ्गलादेशको घटनाको पटक पटक स्मरण गराएको थिएँ ।

भूराजनीतिको ट्रेन्डहरू, अन्तर्राष्ट्रिय ट्रेन्डहरूलाई हेर्न पनि जरुरी छ भनिएको थियो र त्यसैको अभिव्यक्तिको रूपमा जेनजी विद्रोह भयो । कमरेडहरू र मित्रहरू, जेनजी आन्दोलनलाई सायद सबभन्दा पहिला मागहरू सही छन्, आन्दोलन गर्ने निर्णय सही छ, आन्दोलन सही छ भन्ने पार्टी पनि माओवादी केन्द्र नै पहिलो पार्टी बन्न पुग्यो ।

भन्दा भन्दै पनि जुन भयानक विध्वंस भयो, यो जेनजी, हाम्रो युवा पुस्ता, हाम्रा भाइबहिनीहरूको उद्देश्य थिएन । तर, विध्वंस भयो ।
म मध्यपहाडी र हाम्रो टिम नै मध्यपहाडी अभियानमा भएकै बेलामा त्यहाँबाट हामीले त्यसलाई समर्थन गरेर पठायौँ । पछि आन्दोलनको क्रममा सरकारको तर्फबाट जुन असाधारण नरसंहार, भयानक नरसंहार भयो, ती खबरहरू आइसकेपछि आन्दोलन अभियान रोकेर हामी काठमाडौँ आएर तत्काल पदाधिकारीको बैठक बसेर हुनसक्ने जति यो आन्दोलनलाई सकारात्मक निकास दिनको लागि हाम्रो तर्फबाट पहल भयो । हामीले तत्काल प्रधानमन्त्रीले राजीनामा दिइहाल्नुपर्छ भनेका थियौँ, २३ गते नै ।

तर हाम्रो कुराको फेरि पनि सुनुवाइ भएन । २३ गते भएको नरसंहारको कारणले स्वाभाविक रूपले युवाहरू र आम जनताहरूमा पनि एउटा आवेग, एउटा आक्रोश पैदा भयो । सबैलाई थाहा छ, मैले हिजो पनि संविधान दिवसको उपलक्ष्यमा एउटा भिडियो सन्देशमार्फत यी सबै कुरा भनि पनि सकेको छु । २४ गते जे भयो, त्यो जेनजीको आदर्श, घोषित नीति र मागभन्दा बाहिर त्यहाँ कहीँ न कहीँ भयानक घुसपैठ भनौँ या भयानक डिजाइनमा विध्वंसहरू मच्चाइयो । सच्चा जेनजी प्रतिनिधिहरूले भन्दा भन्दै यसो नगरौँ, आगजनी र तोडफोड नगरौँ भनेको मैले सुनेको छु ।

भन्दा भन्दै पनि जुन भयानक विध्वंस भयो, यो जेनजी, हाम्रो युवा पुस्ता, हाम्रा भाइबहिनीहरूको उद्देश्य थिएन । तर, विध्वंस भयो । त्यसको व्याख्या नगरीकन म सिधै के भन्न चाहन्छु भने इतिहासले, घटनाक्रमले र संयोगले मलाई फेरि यो प्रक्रियामा पनि कुनै न कुनै रूपले सहजीकरण गर्ने अवसर दियो ।

मैले संसद् विघटन मात्रै होइन, संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन के कस्ता कसरतहरू भए भन्ने कुरा मैले नजिकबाट हेर्ने, नजिकबाट बुझ्ने मौका पाएँ ।

मैले अन्तिममा यसको हुनसक्ने जति सहजीकरण के हुन सक्छ भनेर रातभर बसेर, रातभर सम्माननीय राष्ट्रपतिज्यूसँग, प्रधानसेनापतिसँग र अन्य दलका नेताहरूसँग पनि संवाद गरेर अन्तरिम सरकारको अहिले जे रूप देखिएको छ । राष्ट्रपतिज्यूलाई म आज फेरि एकचोटि बधाई भन्न चाहन्छु ।

उहाँ निकै अप्ठ्यारो स्थितिबाट संविधानको रक्षामा चाहिँ दरो उभिनुभएकै हो । उहाँ नउभिएको भए आज जे स्थिति छ, सायद यो स्थिति हुँदैनथ्यो ।

मैले प्रत्यक्ष देखेको र भोगेको कारणले म नेपाली सेनाको प्रधानसेनापतिको भूमिकालाई पनि विशेष रूपले आज टिप्पणी गर्न चाहन्छु । उहाँले यदि राजनीतिक रूपले निकास निस्किँदैन भने देश योभन्दा भयानक दुर्घटनामा र अप्ठ्यारोमा जान सक्छ भनेर कोसिस गरेको मैले देखेँ । यस अर्थमा मेरो दृष्टिमा उहाँ पनि धन्यवादकै पात्र हुनुहुन्छ ।

तर, मैले माओवादी केन्द्रको अध्यक्षको हैसियतले, जनयुद्धको हिजोको कमान्डरको हैसियतले, शान्ति सम्झौताको हस्ताक्षरकर्ताको हैसियतले मैले यो कुरा भन्दै गर्दा सबैलाई एउटै डालोमा हालेर पुर्ने कोसिस एकथरी प्रतिक्रियावादीहरूले, एकथरी षडयन्त्रकारीहरूले गर्न चाहेका छन् ।
कमरेडहरू र मित्रहरू, भागको दृष्टिकोणले हामीले पटक पटक भनेका छौँ । जेनजीले उठाएका मागहरू हामीले १० वर्षअगाडि इतिहासमा दर्ज गरेका मागहरू हुन् । अहिले, अहिले जेनजी विद्रोहभन्दा २ वर्षअगाडिदेखि हामीले तिनै मागको निम्ति अभियान आन्दोलन गरिनै राखेका छौँ ।

त्यसकारण मैले पटक पटक भनेको छु, हामीलाई गर्व छ । जेनजी आन्दोलनप्रति, जेनजीका युवाहरूले विकृति, विसङ्गति, भ्रष्टाचार, सबै खालका विकृतिका विरुद्ध जसरी आन्दोलन उठाउनुभयो, मैले भनेँ, यी मुद्दाहरू हामीले सम्झौता गर्न बाध्य हुनुपरेका मुद्दाहरू फेरि एकचोटि सतहमा ल्याउने काम गरेको हुनाले उहाँहरूलाई मैले बधाई भनेको छु, धन्यवाद भनेको छु र हामीले गर्व गरेका छौँ । हाम्रा मुद्दाहरू फेरि व्यक्त भए । त्यो हाम्रो लागि पनि गर्वको कुरा हो ।

तर, मैले माओवादी केन्द्रको अध्यक्षको हैसियतले, जनयुद्धको हिजोको कमान्डरको हैसियतले, शान्ति सम्झौताको हस्ताक्षरकर्ताको हैसियतले मैले यो कुरा भन्दै गर्दा सबैलाई एउटै डालोमा हालेर पुर्ने कोसिस एकथरी प्रतिक्रियावादीहरूले, एकथरी षडयन्त्रकारीहरूले गर्न चाहेका छन् । आज संविधान दिवसको यो उपलक्ष्यमा हामी सबैले गहिरो गरी विचार गर्नुपर्नेछ, यो इतिहास र त्यो इतिहास एउटै होइन । हुन पनि सक्दैन ।

मैले यी सबै कुराका अतिरिक्त अहिले खाली जेनजी आन्दोलन भएका कारणले मात्र होइन, गएको केन्द्रीय समितिको बैठकमा र केही समय पहिले सम्पन्न हाम्रो पार्टी स्थायी समितिको बैठकमा पनि एउटा निश्चित विधि अपनाएर नेतृत्व हस्तान्तरणबारे पनि सोच्नुपर्छ भनेर मैले नै राखेको छु भन्ने कुरा पनि म आज यस ऐतिहासिक दिनमा सबै कमरेडहरूलाई भन्न चाहन्छु । एउटा निश्चित प्रक्रियामार्फत हाम्रो पार्टीको ऐतिहासिक विरासत, गौरव हामीले बनाएको मानकलाई कमजोर नपार्ने गरी हाम्रो पार्टीको एकता, केन्द्रीकरणलाई कमजोर नपार्ने गरी नेतृत्व हस्तान्तरणबारे छलफल हाम्रो पार्टीमा, तपाईँहरूलाई यो सुन्दा अनौठो लाग्न सक्छ, पार्टी अध्यक्षको हैसियतले यो बहस अगाडि बढाउनुपर्छ भनेर मैले स्थायी समितिमा भनिसकेको छु ।

यो विषय अब तमाम कम्युनिस्ट क्रान्तिकारीहरू, हाम्रो पार्टीका नेता कार्यकर्ता सबैले पनि गहिरो गरी त्यो विधि, त्यो प्रक्रिया र त्यो समयबारे सोच्नुपर्नेछ । गलत तरिकाले आफ्नो इतिहास र गौरवलाई, विरासतलाई अपमानित हुने ढङ्गले प्रतिक्रियावादीहरूले फाइदा उठाउने ठाउँ नदिईकन हामीले त्यो काम पूरा गर्नुपर्नेछ । र फेरि पनि एउटा नयाँ इतिहास बनाउन सक्ने तागत, सामर्थ्य भएको पार्टी माओवादी केन्द्र नै हो । ती हजारौँ लाखौँ युवा पुस्ता, जेनजी युवा पुस्ताहरूका भावनाहरू, तिनीहरूको त्याग र बलिदान सम्मान गर्न सक्ने पार्टी पनि माओवादी केन्द्र मात्रै हो भन्ने कुरा हामीले प्रमाणित गर्नुपर्छ कमरेडहरू ।

हामीले मात्रै प्रमाणित गर्न सक्दछौँ, त्यो हामीले गर्नै पर्दछ । नयाँ ढङ्गले सोच्न सक्ने सोच्ने राष्ट्रको पक्षमा हिजो पनि जो नेपाली जनताले बनाएको छ, त्यसले नै फेरि नयाँ ठाउँमा पुऱ्याएर यसलाई पुनर् हाम्रो छ । म अब अन्तिमतिर आएँ । देश निकै ठुलो सङ्कटमा पनि छ । जेनजीमा भिन्न ढङ्गले एकथरी तत्त्वले जेनजीको उच्च भावना, त्याग, चिन्तालाई दुरुपयोग गरेर देश एउटा प्रतिगमनको भनौँ या प्रतिक्रान्तिको भनौँ या देशको राष्ट्रिय स्वाधीनता नेपाली जनता माथि अहिले म फेरि भन्न चाहन्छु जेनजी विद्रोहसँगै यो जनयुद्ध हो । बलिदान हो । जेनजीसँग अगाडि बढ्नुछ । पुर्खालाई नेपाली जनताले अब त्यो राष्ट्रिय विचार राष्ट्रिय भावना राष्ट्रिय आन्दोलन निर्माण गर्न सकेनौँ भने यो देश अझ बढी ठुलो दुर्घटनामा पर्ने खतरा छ ।

सजिलो छैन निर्वाचन । मानिसहरूलाई विश्वास भई पनि राख्या छैन । कहिलेकाहीँ त प्रधानमन्त्री स्वयम् बाहिर बोल्दा पनि के हो भन्या जस्तो आयो । तर हामी भन्छौँ, सबै जेनजी विद्रोहीदेखि आम नेपाली जनता र राजनीतिक शक्तिहरू एकजुट हुने हो भने निर्वाचन सम्भव छ ।
त्यसकारण म आज ११औँ संविधान दिवसको उपलक्ष्यमा ती तमाम देशभक्त नेपालीहरू, सबै बुद्धिजीवी, नागरिक समाज र राजनीतिक शक्तिहरूलाई अपिल गर्न चाहन्छु । यो इतिहासको गौरवशाली जगमा, क्रान्तिको इतिहासको गौरवशाली जगमा उभिएर फेरि राष्ट्रिय विचार, राष्ट्रिय शक्ति, राष्ट्रिय आन्दोलन निर्माण गरेर विदेशी शक्तिहरूले नेपाललाई फेरि एउटा खेल मैदान बनाउने खतराका विरुद्ध हामी उभिनै पर्छ, हामी अगाडि बढ्नै पर्छ, यसको कुनै विकल्प छैन भन्ने म ठान्छु ।

तत्कालको दृष्टिकोणले जसरी हामीले अन्तरिम सरकार बनाएर चाहिँ निर्वाचनतिर जाने यद्यपि हामी चाहन्थ्यौँ यो अन्तरिम सरकार संसद्बाट अनुमोदित होस् । हामी चाहन्थ्यौँ संसद्ले नै निर्वाचनको मिति घोषणा गर्ने वातावरण बनोस् । हामी त्यो चाहन्थ्यौँ, तर हामीले चाहेर त्यो हुने स्थिति देखा परेन । त्यसकारण कम्तीमा पनि राष्ट्रपतिज्यूले त्यहाँ निर पनि विवेक पुऱ्याउन बल गर्नुभएको मैले प्रत्यक्ष महसुस गरेको छु, त्यो हो पुरानो प्रधानमन्त्रीको सिफारिसमा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने, नवनियुक्त प्रधानमन्त्रीको सिफारिसमा संसद् विघटन गर्ने । यो प्रक्रियामा कहीँ न कहीँ संविधान बचाउने संविधानको ऐतिहासिकतालाई आत्मसात् गर्ने भावना अन्तर्निहित रहेको कुरा मैले नजिकबाट देखेको छु ।

त्यसकारण हामीले अब निर्वाचन ६ महिनापछि घोषणा गरिएको छ । त्यो घोषित मितिमा नै निर्वाचन होस् र देशले फेरि एउटा नयाँ निकास प्राप्त गरोस् । र त्यसबाट जेनजी आन्दोलनका विद्रोहीहरूको भावना अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने बाटो फेरि संवैधानिक ढङ्गले नै खुलोस् भन्ने हाम्रो चाहना छ । त्यसकारण हामी अब कुनै दुविधामा, भ्रममा नपरीकन यो निर्वाचन सम्पन्न गर्नको लागि आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने ठाउँमा आइपुगेका छौँ ।

सजिलो छैन निर्वाचन । मानिसहरूलाई विश्वास भई पनि राख्या छैन । कहिलेकाहीँ त प्रधानमन्त्री स्वयम् बाहिर बोल्दा पनि के हो भन्या जस्तो आयो । तर हामी भन्छौँ, सबै जेनजी विद्रोहीदेखि आम नेपाली जनता र राजनीतिक शक्तिहरू एकजुट हुने हो भने निर्वाचन सम्भव छ । र निर्वाचनलाई सम्भव गराउनुपर्छ भनेर म भन्न चाहन्छु ।

त्यसकारण यो ११औँ संविधानसभा दिवस एउटा विशिष्ट राजनीतिक परिस्थितिमा हामी मनाइराखेका छौँ । एउटा नयाँ इतिहासको नयाँ कडी जोड्ने ठाउँमा हामी आइपुगेका छौँ । परिस्थिति जटिल र चुनौतीपूर्ण त छ, तर हामीले भनेका छौँ, जतिसुकै जटिल र चुनौतीपूर्ण भए पनि दृढ इच्छाशक्तिको साथ उच्च मनोबलका साथ देशको पुनर्निर्माण गर्ने हाम्रा ऐतिहासिक धरोहर, सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन लगायत थुप्रै राज्यका संरचनाहरू विध्वंस भएका छन् ।

त्यही सङ्कल्पका साथ, दृढ इच्छाशक्तिका साथ त्यसको पुनर्निर्माणमा लाग्नुपर्ने ऐतिहासिक आवश्यकता र जिम्मेवारी सम्पूर्ण नेपालीहरूको हुन आएको छ र हामीले एकचोटि साबित गर्नुछ, हामी पुनर्निर्माण गर्न सक्छौँ ।

हामीले यो भएका क्षति र घटनाक्रमबाट शिक्षा लिएर आउने दिनमा नेपाललाई अझ राम्रो बनाउने गोरेटो कोर्न सक्छौँ । हामी कोही निराश हुन जरुरी छैन ।

सङ्कल्पका साथ क्षतिग्रस्त संरचनाको पुनर्निर्माण पनि गर्ने, संविधानमार्फत स्थायित्व र विकासका निम्ति नयाँ संशोधनको तयारी पनि गर्ने र निर्वाचनको वातावरण बनाउन मेहनत पनि गर्ने आवश्यकता यतिबेलाको हामी सबैको आवश्यकता हो ।

म फेरि पनि यो ऐतिहासिक दिनमा, यो ऐतिहासिक जिम्मेवारीप्रति सबैसँग अपिल गर्दै र ती महान् शहीद, बेपत्ता योद्धा, घाइते, अपाङ्ग, सबै र अहिले पछिल्लो जेनजी विद्रोहका शहीद र घाइतेहरूप्रति पनि त्यही सम्मान प्रकट गर्दै कम्तीमा पनि इतिहासको, वर्तमानको पनि समीक्षा गरेर हेर्न र माओवादी केन्द्र बिचमा थुप्रै कमीकमजोरी भएका पनि छन् भनेर आत्मसमीक्षा गरेको कुरा मैले गरेँ । यति गर्दा गर्दा पनि म के भन्न चाहन्छु भने माओवादी केन्द्र फरक चीज हो ।

यो फरक चीज हो, यो फरक धातुले बनेका मान्छेहरूको पार्टी हो । अरू जस्तै हो भनेर जो भाष्य साम्राज्यवादी र प्रतिक्रियावादीले बनाउन खोजेका छन्, त्यो होइन । त्यो होइन भन्ने कुरा हामी सबैले उद्घोष गर्न सक्नुपर्दछ । बाँकी के गरी सम्बोधन गर्ने जनता भावनालाई भन्ने कुरा नेतृत्व तपाईँ हामीलाई थाहा छ, निरन्तरतामा क्रमभङ्ग भन्ने गरिन्छ फेरि पनि जस्तो सुकै क्रमभङ्ग गर्न पनि नेतृत्व तयार रहन्छ ।

पार्टी कार्यालयमा संविधान दिवसको अवसरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राखेको धारणा

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ