• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विचार-ब्लग

    समाजवादी राज्यहरूको उदयमा रूसी क्रान्तिको विश्वव्यापी प्रभाव

    200
    SHARES



    परिचय
    संसारमा एउटा यस्तो कुराको कल्पन गरियो कि जहाँ सम्पत्तिको बाँडफाँड समान रुपमा होस् । यसले धनी र गरिब बीचको खाडल कम गरोस् । यो दृष्टिकोण २० औं शताब्दीमा प्रख्यात भएको समाजवादी आन्दोलनको मुटुमा बसेको थियो । यो दृष्टिकोणले गर्दा क्रान्तिकारी विचारबाट विश्वव्यापी राजनीतिक शक्ति समाजवादको यात्रामा आकर्षीत भए । सन् १९१७ को रूसी क्रान्तिदेखि आजसम्म तिनीहरूको विश्वव्यापी प्रभाव समाजवादी क्रान्तिले गर्दा विकासमा हलचल फैलाएको छ ।

    समाजवादी राज्यहरूको उदय, विकास, उपलब्धि र चुनौतीहरुले भरिएको छ । रूसी क्रान्तिदेखि पूर्वी युरोप, एसिया र ल्याटिन अमेरिकामा समाजवादी राज्यहरूको प्रभाव विश्वव्यापी राजनीति र समाजिक रुपमा पारेको छ । धेरै जसो समाजवादी राज्यहरूले पतन र आलोचनाको पनि सामना गरेका छन् । केही देशले तत्कालीन चुनौतीहरूको सामना गर्दै विकासका लक्ष्यहरु प्राप्तिमा उल्लेख्य भूमिका निर्वाह गरेका छन् ।

    शासन प्रणालीको रूपमा समाजवादको उदय सन् १९१७ मा रूसी क्रान्तिबाट सुरु भयो । यो क्रान्ति भ्लादिमिर लेनिनको नेतृत्वमा बोल्सेभिक पार्टीले गरेको थियो । बोल्सेभिकहरूले तत्कालिन जारवादी निरंकुश तानाशाही सरकारलाई प्रतिस्थापन गर्ने अस्थायी सर्वहारा वर्गको सरकार स्थापना गर्ने लक्ष्य राखेका थिए । उक्त शासन व्यवस्थामा श्रमिक वर्गले राजनीतिक शक्ति आफ्‌नो पकडमा राखेका थिए । सर्वाहारा वर्गको अधिकार स्थापित गर्ने क्रान्ति सन् १९१७ मा सफल भयो । पछि गएर यसलाई विश्वले अक्टोवर क्रान्तिको नामबाट चिन्न थाल्यो ।

    सोभियत रूस भनेर चिनिने पहिलो समाजवादी राज्यको जन्म यहि परिघटनाले गराएको थियो । फलस्वरुप सोभियत संघको जन्म भयो । लेनिन र उनका अनुयायीहरूले मार्क्सवादी–लेनिनवादी सिद्धान्तहरूबाट प्रेरित नीति तथा कार्यक्रम लागू गरे । उद्योगको राष्ट्रियकरण, भूमिको पुनर्वितरण र योजनाबद्ध अर्थतन्त्रको स्थापनामा केन्द्रित कार्यक्रम संचालन गरे । यसको सफलताले विश्वभरि धेरै उपनिवेश विरोधी र मुक्ति आन्दोलनहरूलाई गराउन प्रेरित गरायो ।
    समाजवाद र समाजवादी राज्यहरुको उदय

    दोस्रो विश्वयुद्ध पछि पूर्वी युरोपका धेरै देशहरूले समाजवाद अपनाए । ति देशहरुले समाजवाद अपनाउनुमा सोभियत संघबाट प्रभावित भएका थिए । त्यसैको सिको गरेर पोल्याण्ड, हंगेरी, पूर्वी जर्मनी, चेकोस्लोभाकिया र रोमानिया जस्ता देशहरूले समाजवादी राज्य स्थापना गरे । यी राष्ट्रहरूले केन्द्रीकृत योजना र उत्पादनका साधनहरूको सामूहिक स्वामित्वमा रहने सोभियत संघको मोडेललाई व्यवहारमा लागु गरे ।

    पूर्वी युरोपमा समाजवादको प्रसार आंशिक रूपमा पूर्वी ब्लक भनेर चिनिने क्षेत्रमाथि सोभियत संघको प्रभाव र नियन्त्रणको कारणले भएको थियो । यी देशहरूले आर्थिक अक्षमता, राजनीतिक दमन र व्यक्तिगत स्वतन्त्रताको अभाव जस्ता विभिन्न चुनौतीहरूको सामना गरे । यिनै कारणबाट उत्पन्न परिणामले गर्दा २० औं शताब्दीको अन्त्यसम्ममा आईपुग्दा यस क्षेत्रमा समाजवाद यात्राको पतन सुरुभयो ।

    चीन :
    माओत्सेतुङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीले सन् १९४९ मा चिनियाँ गृहयुद्ध जित्यो । गृहयुद्धको जितपछि चीन एक प्रमुख समाजवादी राज्यको रूपमा देखा पर्‍यो । यसैलाई मनन् गर्दै जनवादी गणतन्त्र चीन स्थापना भयो र नयाँ सरकारले व्यापक रुपमा भूमि सुधार, कृषिको सामूहिकीकरण र उद्योगहरूको राष्ट्रियकरण गर्ने नीति लागू गर्‍यो । जनवादी गणतन्त्र चीनमा माओका नीतिहरू जस्तै ग्रेट लिप फर्वार्ड र सांस्कृतिक क्रान्तिले द्रुत गतिमा समाजवादी समाजको रूपान्तरण गर्ने लक्ष्य राखेको थियो । यद्यपि यी नीतिहरूले प्रायः आर्थिक कठिनाइ र सामाजिक उथलपुथल निम्त्यायो । सन् १९७६ मा माओको मृत्यु पछि चीनले देङ सियाओपिङको नेतृत्वमा बजार उन्मुख अर्थतन्त्र सुधारका नीतिहरू अपनाउन थाले । यसले समाजवादी राज्यको राजनीतिक संरचना कायम राख्दै महत्वपूर्ण आर्थिक वृद्धिको सफलता हात लाग्यो ।

    उत्तर कोरिया :
    उत्तर कोरिया र भियतनामले पनि २० औं शताब्दीको मध्यमा समाजवादी राज्यको स्थापना गरे । किम इल–सुङको नेतृत्वमा उत्तर कोरियाले आत्मनिर्भरता सहितको बलियो केन्द्रीकृत नियन्त्रणलाई जोड दिँदै जुचे भनेर चिनिने समाजवादको एक अद्वितीय रूप अपनाए । यो देश र विश्वको सबैभन्दा पृथक तथा अधिनायकवादी शासन मध्ये एक वलियो शासन बन्न पुग्यो ।

    भियतनामः
    भियतनाममा कम्युनिस्ट नेतृत्वको भियत मिन्हले फ्रान्सेली औपनिवेशिक शक्तिहरूलाई पराजित गर्न सफल भए । यसैको कारण सन् १९५४ मा भियतनाम लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । सन् १९७५ मा भियतनाम युद्ध समाप्त भएपछि कम्युनिस्ट शासन सुरु भयो । भियतनामले त्यसबेलादेखि नै आर्थिक सुधारका नीति लागू गरेको थियो । भियतनाममा चीनको बजार–उन्मुख दृष्टिकोण जस्तै आर्थिक नीति अपनाउँदै एक–दलीय समाजवादी राज्य कायम राख्न सफल भयोे ।

    ल्याटिन अमेरिका र क्युबाली क्रान्तिः
    पश्चिमी गोलार्धको सबैभन्दा प्रतिष्ठित समाजवादी राज्यहरू मध्ये एक क्युबा पनि हो । फिडेल क्यास्ट्रो र चे ग्वेभाराको नेतृत्वमा भएको क्युबाली क्रान्तिले सन् १९५९ मा बतिस्ता शासनलाई उखाल्यो । क्यास्ट्रोका सरकारले समाजवादी नीतिहरू लागू गरे । क्युवामा उद्योगहरूको राष्ट्रियकरण र केन्द्रीकृत योजनाबद्ध अर्थतन्त्रको स्थापना भयो । क्युबाको समाजवाद पनि सोभियत संघबाट धेरै प्रभावित थियो । फलस्वरुप त्यो देश शीतयुद्धको राजनीतिमा एक महत्वपूर्ण खेलाडी बन्यो । आर्थिक कठिनाइहरूको सामना गर्नुपर्दा सोभियत संघको विघटन पछि क्युबा स्वास्थ्य सेवा, शिक्षा र सामाजिक कल्याणमा केन्द्रित समाजवादी राज्य बनेको थियो ।

    नेपाली जनआन्दोलनः
    वि.स. २०६२ र २०६३ को जनआन्दोलनले नेपाली राजनीतिमा आमूल राजनीतिक परिवर्तन गरायो । यस आन्दोलनले जरा गाडेर बसेको राजतन्त्रलाई विधिवत रुपमा अवसान गरायो । यसै आन्दोलनको जगमा टेकेर नेपालमा गणतन्त्र स्थापना भयो । संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भयो । आम नेपालीको माग र आवस्यकतालाई परिपूर्ति गर्ने हेतुले संविधानमा नै समाजवाद उन्मुख अर्थतन्त्रको व्यवस्था गरियो । संविधानमा लेखिएका कुराहरु व्यवहारमा राज्य सरकारले उतार्न नकेन । फलस्वरुप नेपालले व्यवहारमा समाजवाद लागु गर्ने प्रयासमा सफलता पाउन सकेको देखिदैन ।

    समाजवादी राज्यहरुको चुनौती र आलोचना
    समाजवादी राज्यहरूले अझ बढी समतामूलक समाज सिर्जना गर्ने लक्ष्य राखेका थिए । समयसँगै उनीहरूले सोचे जति सफलता हात पारेनन् र धेरै चुनौतीको सामना गर्नुपर्‍यो । तिनीहरुले चुनौतिको सामना मात्र गरेनन् थप आलोचना समेत खेप्नु परेको थियो ।

    ति अलोचन यस प्रकार रहेका थिए :
    आर्थिक अक्षमताः केन्द्रीकृत योजनाले प्रायः स्रोतको गलत वितरण, नवीनताको अभाव र कमजोर आर्थिक प्रदर्शन निम्त्यायो । यसले आर्थिक क्षमता पहिचान गर्न सकेन । जनसहभागिता काम गराउन सकेन । आर्थिक पक्ष बलियो बनाउने आधारहरु दर्शाउन नसक्दा आर्थिक संकटमा फस्न बाध्य बनायो ।

    राजनीतिक दमनः धेरै समाजवादी राज्यहरू राजनीतिक असहमतिलाई दबाउने र व्यक्तिगत स्वतन्त्रताहरूलाई सीमित गर्ने कार्यमा कृयासिल रहे । उनीहरुले साँघुरीदै गएको विश्वलाई नजिकबाट बुझ्‌न सकेनन् । फलस्वरुप अधिनायकवादी शासनद्वारा कार्यहरु गरिरहँदा दिगो हुन सकेन ।

    मानव अधिकार उल्लङ्घनः राजनीतिक शुद्धीकरण, जबरजस्ती श्रम शिविर र अभिव्यक्ति स्वतन्त्रताको अभाव जस्ता विषय समाजवादी राज्यमा सामान्य मानिन्थ्यो । यस्ता विषयलाई विश्व मानव अधिकारका सवालमा जघन्य अपराधका रुपमा लिने गरियो र अन्यत्रबाट व्यापक विरोधहरु आए । ति विरोधमा त्यस देशका नागरिकहरुले आवाज उठाए । निरन्तरको दवावपछि त्यहाँको शासन व्यवस्था परिवर्तन भयो ।

    समाजवादको पतनः सन् १९९१ मा सोभियत संघको विघटनले विश्वव्यापी रुपमा समाजवादलाई गिरावट हुने काम भयो । यसले गर्दा पूर्व समाजवादी राज्यहरूमा बजार अर्थतन्त्र र लोकतान्त्रिक शासनमा संक्रमण पैदा भयो । यि संक्रमणकालीन परिघटनाले विश्वव्यापी रुपमा समाजवादको विकल्प खोजिन थालियो र समाजवाद पतन हुँदै गयो ।

    अतः विश्वका धेरै भागहरूमा समाजवाद पतनको घडीमा गएको वेला केही समाजवादी राज्यहरू अस्तित्वमा रहेका छन् । ति देशले समकालीन समाजको चुनौतीसँग अनुकूलनता कायम गरेका छन् । उदाहरणका लागि चीन, भियतनाम र क्युवालाई लिन सकिन्छ । चीन एकदलीय समाजवादी राज्य कायम भएको देश हो । उसले बजार उन्मुख अर्थतन्त्रलाई सुधार गर्दै आर्थिक वृद्धि र विकासमा विश्वव्यापी प्रभाव पारेको छ ।

    चीन जस्तै भियतनामले पनि आर्थिक सुधार लागू गरेको छ । उसले समाजवादी राजनीतिक संरचनाबाट देशको अर्थतन्त्रलाई रूपान्तरण गरेको छ । क्युबाले आर्थिक कठिनाइहरूको बावजुद सामाजिक कल्याण र स्वास्थ्य सेवामा ध्यान केन्द्रित गर्दै समाजवादी सिद्धान्तलाई निरन्तरता दिएको छ । यी देशले आजको खुला विश्वमा समकालीन चुनौतीहरूलाई सामना गर्दै व्यावहारिक आर्थिक नीतिसँग समाजवादी आदर्शलाई सन्तुलनमा राखेर काम गरिरहेको छ । नेपालले समाजवादी अर्थव्यवस्था राम्ररी अंगाल्न सकेको छैन । उसले भैरहेको काम र आगामी मार्गचित्रको स्वरुप दर्शाउन नसक्दा अर्थव्यवस्था कता कुन दिशामा जाने भनेर दोबाटोमा पर्खिरहेको अवस्था छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ