• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    नेपाल बन्दको दिन देशभर कहाँ-कहाँ भयो बम बिस्फोट र आगजनी ? यस्तो छ ताजा अपडेट

    48.4K
    SHARES



    काठमाडौं । नेपाल बन्दको कारण देशभरको जनजीवन प्रभावित बनेको छ । काठमाडौंमा पनि बन्दको प्रभाव परेको छ । लामो दुरीका यातायात चलेका छैनन् भने शैक्षिक सस्थाहरु सबै ठप्प छन् । फ्याट्टफुट्टरुपमा केहि गाडी र मोटरसाइकल देखिए पनि राजधानी अरु दिनको तुलनामा ठप्प छ ।

    बन्दको दिन ठाउँमा बिस्फोट भएका छन् भने शंकास्पद बस्तु भेटिने क्रम पनि जारी छ । बन्द अबज्ञा गरेको आरोपमा केहि ठाउँमा सवारीसाधनहरुमाथि तोडफोड र आगजनी समेत भएको खबर प्राप्त भएको छ । बन्दकै दिन काठमाडौं लगायत आसपासका २० ठाउमा शंकास्पद वस्तु फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    ३ ठाउँमा सिलिण्डर बम, २ स्थानमा सकेट, ४ ठाउँमा प्रेसरकुकर बम निष्क्रिय पारिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले बताएका छन् ।यसैगरी अर्घाखाँचीमा सुतली, कैलालीमा टाइम बम र झापामा आरसीआइडी बम निष्क्रिय पारिएको प्रवक्ता पोखरेलले बताए।

    बन्दका क्रममा चार जिल्लामा सामान्य तोडफोड समेत भएकाे प्रहरीले जनाएको छ। उता नुवाकोटको विदुर नगरपालिका मेयर सन्जु पण्डितको घरको कम्पाउण्ड बम भेटिएको छ । विदुर–९ कोलनी विजुलास्थित मेयर पण्डितको घरको कम्पाउण्ड पर्खालमा प्रेसर कुकर बम भेटिएको प्रहरीले सूचना पाएको थियो ।

    ‘सुतिरहेका थियौं । प्रहरीले आएर बम राखेको बताएपछि थाहा पाइयो,’ मेयर पण्डितले भने । सोमबार राति १२ बजे कम्पाउण्ड पर्खालमा पड्काउन बम राखेको र ७० मिटर टाढा बिजुलीको मेन लाइनमा तार जोड्न तयारी भएको अवस्थामा प्रहरीले देखेपछि एक व्यक्ति भागेपछि बम पड्किन नपाएको जिल्ला प्रहरी प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरले बताए ।

    उक्त बम नेपाली सेनाको जबरजंग गणको डिस्पोजल टोलीले मंगलबार बिहान डिस्पोज गरेका थिए । बम राखिएपछि कोलनी, त्रिशूली, सदरमुकाम विदुर क्षेत्र आतंकित भएको छ ।बन्दका कारण जिल्लामा शैक्षिक संस्था, त्रिशूलीबजार, बट्टार लगायत सबै बन्द छन् । लामो दुरी चल्ने बस र निजी गाडी पनि ठप्प छन् ।

    यस्तै पाल्पाको रामपुरस्थित सहिद क्याम्पस हाताभित्र साेमबार राति अज्ञात समूहले सिलिण्डर बम विस्फोट गराएको छ । गएराति भएकाे विस्फोटबाट क्याम्पसको भर्खरै निर्माणगरिएकाे पर्खालमा क्षति पुगेको छ।

    सिलिण्डर विस्फोट कस्ले र किन गरायो भन्ने अझै खुल्न सकेको छैन। अज्ञात समूहले मोटरसाइकल र स्कुटरको टायर बालेर सिलिण्डर विस्फोट गराएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ। घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरी निरीक्षक भुपाल रानाले बताए। रातिको समयमा ठूलो आवाजसहित भएको विस्फोटका कारण स्थानीयहरु त्रसित बनेका छन्।

    विगतमा बन्दका बेला सामान्य प्रभाव रहने रामपुरका बजार क्षेत्र, शैक्षिक संस्था तथा कार्यालय ठप्प बनेका छन्। पाल्पाको तानसेन लगायत अन्य बजार पनि खुलेको छैन। छिटफुट दुई पाँग्रे सवारी चले पनि अन्य साधन चल्न सकेका छैनन्।

    यस्तै उता जाजरकोटको बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाहको कार्याकक्षमाशंकास्पद वस्तु फेला परेको छ। लिम्सास्थित कार्यालयमा मंगलबार बिहान सुतली बम जस्तो देखिने संकास्पद बस्तु फेला परेको हो। खतरा लेखिएको शंकास्पद वस्तुका कारण त्रास फैलिएको छ।

    बिद्रोही नेकपाले आयोजना गरेको नेपाल बन्दलाई लक्षित गरी उनीहरुले नै त्रास फैलाउन उक्त शंकास्पद वस्तु राखिएको हुनसक्ने सुरक्षा निकायको आशंका छ।

    ईलाका प्रहरी कार्यालय रामीडाँडाको प्रहरी टोलीले उक्त शंकास्पद वस्तु बम हो वा होईन भन्ने छुट्याउन नसकेपछि जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलको मनमई स्थित नेपाली सेनाको टोली बारेकोटतर्फ लागेको गरेको प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए ।

    सेनालाई लिम्सा पुग्न करीब ७ घण्टा पदैल हिड्नु पर्छ । बम आतंकका कारण मंगलवार गाउँपालिकाले कुनैपनि कामकाज नगर्ने जनाएको छ । अध्यक्ष शाहले भने–‘हामी सचेत छौ । कुनै अप्रिय घटना नहोस । आज दिनभर गाँउपालिकाको कामकाज ठप्प हुने देखियो ।’

    बन्दले जाजरकोटको जनजीवन प्रभावित भएको छ। सोमबार बसेको जिल्लास्थित सुरक्षा समितिको बैठकले बन्दको क्रममा अप्रिय घटना हुन नदिन सुरक्षा निकायको गस्ती बढाउने, शंकास्पद मानिसको निगरानी र खानतलासी गर्ने लगायतका निर्णय गरेको प्रजिअ बस्नेतले बताए ।

    उता बर्दियामा दुई वटा प्रेसर कुकर बम फेला परेको छ । सदरमुकाम गुलरिया नगरपालिकास्थित हुलाकी मार्ग अन्र्तगत डिभिजन बन कार्यालयनजिक तथा पूर्व–पश्चिम राजमार्ग अन्र्तगत कर्तनिया चोकमा कुकर बम भेटिएका हुन् ।

    नेपाल कम्युनिष्ट पार्टीले बन्दलाई लक्षित गर्दै सडकमा बम राखेको हुनसक्ने प्रहरीको आशंका छ । बम भेटिएका स्थानमा कडा सुरक्षा दिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रमुख डीएसपी मदनजीत महराले बताए । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निक्रिय पार्ने काम गरिरहेको डीएसपी महराले जानकारी दिए ।

    बन्दका कारण बर्दियाको जनजीवन प्रभावित बनेको छ । बिहानैदेखि सवारी साधन चलेका छैनन् । यस्तै महाकाली राजमार्ग अन्तर्गत सतबाँझ गोकुलेश्वर सडकखण्डको धरमघरमा राखिएको बम निष्क्रिय पारिएको छ । सडकको बीचमा राखेको बम नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।

    सडकमा बम राखेको खबर पाएपछि मंगलबार बिहानै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली धरमघर पुगेको थियो । मंगलबार बिहान दुई बजेतिर सडकमा बम राखेको खबर प्रहरीलाई प्राप्त भएको थियो । राति हिडेका यात्रुले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । सडकमा बम भएका कारण रोकिएका सवारी साधनहरुलाई स्कटिङ गरेर गन्तव्यमा पुर्याइने काम भइरहेको प्रहरी निरीक्षक पातलीले बताए ।

    यस्तै झापाको भद्रपुर नगरपालिकामा प्रेसर कुकर बम भेटिएको छ । नगरपालिका कार्यालय परिसरमा एक झोलामा सोमबार बेलुका रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम फेला परेको थियो ।

    सोमबार बेलुका ८ बजे झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई गृह मन्त्रालयका सचिवले फोन गरेर नगरपालिकामा बम राखिएको भनेर जानकारी गराएपछि हल्ला भएको थियो ।

    आफूलाई खबर आएलगत्तै दाहालले जिल्ला प्रहरी कार्यालय झापालाई जानकारी गराएका थिए । जिल्लाले वडा प्रहरी कार्यालय भद्रपुरलाई जानकारी गराएपछि प्रहरीको टोली घटनास्थल पुगेर उक्त झोला देखेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

    शंकास्पद झोला मेयर र उपमेयरको कार्य कक्ष चढ्ने सिढीको तल राखिएको भेटिएपछि प्रहरीले चारआलीस्थित कालीबहादुर गणलाई जानकारी गराइएको थियो । सेनाको टोली पुगी राति करिब ११ दुई पटक बिस्फोट गरेर प्रेसर कुकर बम निस्क्रिय पारेको थियो । बम निस्क्रिय पार्ने सेनाको टोलीकाअनुसार रिमोट कन्ट्रोलसहितको प्रेसर कुकरभित्र ६ वटा डेटोनेटर थिए ।

    उता अछामका दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । सोमबार राति पञ्चदेवल बिनायक नगरपालिकाको वडा नम्बर ३ र ढकारी गाउँपालिका ५ नम्बर वडा कार्यालयमा आगजनी गरिएको हो ।

    प्रहरीकाअनुसार पञ्चदेवल बिनायक–३ को कार्यालयमा डिजेल छर्केर अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट वडा कार्यालयभित्र रहेका महत्वपूर्ण कागजात, एकथान कम्प्युटर, एकथान प्रिन्टरका साथै कुर्सी, टेबुल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी जनक शाहीले जानकारी दिए ।

    यता ढकारी गाउँपालिका वडा नम्बर ५ को कार्यालयमा मंगलबार बिहान करिब ४ बजेतिर अज्ञात समूहले आगजनी गरेको छ । घटनास्थलमा प्रहरी पुग्न नसकेकाले क्षतिको विवरण आउन बाँकी रहेको छ । ‘प्रहरी चौकीबाट उक्त वडा कार्यालय पुग्न करिब ४ घण्टा पैदल हिड्नुपर्छ’डिएसपी जनक शाहीले भने–‘५ नम्बर वडा कार्यालय पुर्णरुपमा जलेको छ भन्ने खबर पाएका छौ, त्यहाँ प्रहरी पठाईसकेका छौ ।’

    नेकपाले नै आगजनी गरेको प्रहरीको आशंका छ । त्यस्तै कैलालीको गौरीगङ्गा नगरपालिकाको कार्यालयमा मंगलबार बिहानै बम बिस्फोट भएको छ । चौमालाबाट स्थानीयले संचारकेन्द्रलाई टेलिफोन दिएको जानकारीअनुसार मंगलबार बिहान करिब ४ बजेको आसपासका ठुलो आवाजसहित बिस्फोट भएको हो ।

    यता इलाका प्रहरी कार्यालय चौमालाले बिस्फोट भएको पुष्टि गर्दै कुनै मानवीय क्षति भने नभएको बताएको छ । इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक बिदुर बहादुर चन्दका अनुसार बिहान ४ समयमा उक्त बिस्फोट भएको हो ।

    ‘बिहान ४ बजेतिर नगरपालिका कार्यालयको बरन्डामा बिस्फोट भएको छ । विस्फोट भएको ठाउँमा एउटा झोला पनि भेटिएको छ ।’ प्रहरी सहायक निरीक्षक चन्दले संचारकेन्द्रसंग भने -‘टाइम बम हुनसक्छ भन्ने शंका लागेको छ । घटनाबारे थप अनुसन्धान हुदैछ ।’

    बम बिस्फोट गराएर एउटा व्यक्ति जंगलतिर भागेको नगरपालिकाका गेटपालेले जानकारी दिएको उनले बताए । विस्फोटबाट सामान्य क्षतिको भएको उनको भनाइ छ । नेपाल बन्द सफल पार्नका लागि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले विस्फोट गराएको हुनसक्ने उनले बताए ।

    कैलालीमा बन्दको पूर्ण प्रभाव छ । बिहानी सेवाको स्कुल कलेजहरु बन्द छन् भने यातायात पनि ठप्प छ । बजार ब्यबसाय पनि खुलेको छैन । यस्तै यता प्युठान नगरपालिका ४ जुम्री बसपार्कमा संकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

    होटल डाइमोन्ड अगाडि गिर्नेड आकर को पत्रीका लगाइ बाहिरी साइट मा घडी राखी तार ले बेरेर राखिएको अवस्थामा भेटिएको हो । साथै खतरा को इन्टु लगाइ राखेको हुनाले सकास्पद बस्तु रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल वुढाथोकीले जानकारी दिए ।

    उनले भने,–‘संकास्पद बस्तुलाई डिस्पोज गर्ने तयारीमा छौँ । ’ बन्दको समयमा जिल्लामा सुरक्षा अवस्था कडा पारिएको उनले बताए । संकास्पद बस्तु कहि कसैले देखेमा प्रहरीलाई खबर गर्न उनले आग्रह गरे । नेकपाले आह्वान गरेको नेपाल बन्दको कारण प्युठान लगाएत ५ नंम्बर प्रदेशका १२ जिल्ला पूर्ण रूपमा प्रभावित भएको छ ।

    बजार, शिक्षण संस्था, कलकारखाना सबै बन्द रहेका छन । असार ५ गते पार्टीको काम सकेर फर्कने क्रममा पौडेललाई प्रहरीले सर्लाहीको लालबन्दी १ लखन्ती स्थित खोलामा नियन्त्रण्मा लिएर रहस्यमय तरिकाले हत्या गरेको आरोप लगाउदै विप्लपले बन्दको आवहन गरेको हो ।

    तयस्तै पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाको गाडीमा अज्ञात समूहले आगजनी गरेकाे छ । लु १ झ ३२१ नम्बरको स्कार्पियोमाथि अज्ञात समूहले गएराति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।

    आजगनीबाट गाडीको पछाडिको भाग पुरै जलेको छ । प्रहरीले घटनास्थलबाट नेकपाको पर्चा भेटेको छ । यही आधारमा प्रहरीले आगजनीमा नेकपकै संलग्न रहेको अनुमान गरेको छ । यद्यपि, यो समाचार तयार पार्दासम्म नेकपाले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

    नेकपा कार्यकर्ताले उपमेयर मर्दनियामाथि सरकारी सम्पत्ति दुरुपयोग गरेकालगायत आरोप लगाउँदै आएका थिए । यही आरोप लगाउँदै उनीहरुले पत्राचारसमेत गरेको बताइएको छ । क्षति भएको गाडी नियन्त्रणमा लिएर यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ