• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    प्रहरीको गोली लागेर नेकपा सर्लाही जिल्ला इन्चार्जको मृत्यु, हत्या गरेको नेकपाको दावी

    65.7K
    SHARES



    काठमाडौं । प्रहरीको गोली लागेर नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्जको मृत्यु भएको छ । नेकपा सर्लाहीले भने आफ्ना जिल्ला इन्चार्ज कुमार पौडेलको लालबन्दीमा प्रहरीले गोली हानेर हत्या गरेको दावी गरेको छ ।

    विहीबार दिउँसो लालबन्दी नगरपालिका-१ लखनदेही नदी नजिकै करिब २ बजेको समयमा नेकपाका कार्यकर्तामाथि प्रहरीले फायर गरेको थियो । आफ्ना नेता कार्यकर्तालाई पछ्याउदै गएको प्रहरीले एकाएक गोली चलाएको नेकपाले बताएको छ ।

    दोहोरो भीडन्तको हवाला दिएर प्रहरीले आफ्ना जिल्ला इन्चार्ज पौडेलको हत्या गरेको नेकपाले संचारकेन्द्रलाई बतायो । नेकपाका एक नेताले दोहोरो भिडन्त नभएको र आफ्ना नेता-कार्यकर्तालाई प्रहरीले एकोहोरो गोली हानेर हत्या गरेको बताएका छन् ।

    तर यता प्रहरीले भने दोहोरो भिडन्त हुँदा एक जनाको मृत्यु भएको बताएको छ । गस्तीमा गएको प्रहरीमाथि नेकपाका कार्यकर्ताले गोली चलाएपछि जवाफी कारवाही गरिएको प्रहरीले बताएको छ । पौडेलसँग भएका अन्य व्यक्ति भने फरार भएको प्रहरी दावी छ ।

    केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार लालबन्दी नगरपालिका-१ लखनदेवी खोलाछेउमा प्रहरी र विप्लव माओवादीबीच दोहोरो गोली हानाहान भएकै हो।

    दुई वटा मोटरसाइकलमा रहेका चार जना विप्लव कार्यकर्ताले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही भएको पोखरेलले दावी गरेका छन्। गोली लागेर मृत्यु भएका पौडेलको साथबाट एक थान सिक्सर रिभल्वर, थ्रीनट थ्री राइफलका गोली र कटुवा पेस्तोल बरामद भएको समेत प्रवक्ता पोखरेलले दावी गरेका छन्।

    नेकपा नेता कार्यकर्तालाई पछ्याउदै दुई नम्बर प्रदेश प्रहरी, विशेष ब्यूरो र ईलाका प्रहरी कार्यालय लालबन्दीको टोली गएको थियो। घटनाको कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको छ। घटनामा संलग्न अन्य तीन जना फरार रहेको प्रहरीले बताएको छ।

    यसैबीच प्रहरीको गोलीबाट मारिएका कुमार पौडेलको तस्वीर संचारकेन्द्रले प्राप्त गरेको छ । उक्त तस्वीर हेर्दा  पौडेलको यातनापछि हत्या भएको जस्तो देखिएको छ । तस्वीर हेर्दा पौडेलको हात २ ठाउँमा भाचिएको देखिन्छ । प्रहरीले दोहोरो भीडन्त भएको दावी गरिरहँदा संचारकेन्द्रलाई प्राप्त उक्त तस्वीरले घटना रहस्यमय बनाएको छ ।

    हेर्नुहोस् संचारकेन्द्रलाई प्राप्त यो तस्वीर

     

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ