• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    नेपाल बन्दका क्रममा देशभर कहाँ भयो बम विस्फोट, केकति क्षति भयो ? यस्तो छ ताजा अपडेट

    14.7K
    SHARES



    काठमाडौँ । नुवाकोटको दुई नगरपालिका क्षेत्रमा बम बिस्फोट भएको छ । गल्छी–त्रिशुली सडकखण्डको बेलकोटगढी नगरपालिकाको वडा नम्बर ६ कोल्पु खोला नजिकै पेट्रोल बम बिस्फोट भएको छ ।

    सडकको भित्तामा राखेको बम सेना र प्रहरीको टोलीले हेर्दाहेर्दै पड्किएको हो । प्रत्यक्षदर्शी केशव जम्कट्टेलका अनुसार सेनाको टोलीले उक्त बिस्फोट भएको बस्तु पेट्रोल बम भएको जनाएको छ । बिस्फोट लगत्तै आगो बलेपछि भाग्न खोज्दा दुईवटा मोटरसाइल बम भएको नजिकै पल्टिएका थिए ।

    यस्तै विदुर नगरपालिका वडा नम्बर ५ काे वडा कार्यालय मुनी सडकमा पनि बिस्फोट भएको छ । विदुर नगरपालिकाका नेकपाका युवा नेता युद्धव पनेरूका अनुसार बिस्फोटबाट कुनै क्षति भने भएको छैन । बिस्फोट लगत्तै स्थानीय र प्रहरी घटनास्थलमा पुगेका थिए ।

    त्यस्तै टुटेपानी भन्ने ठाउँमा बम भेटिएको छ। बिहान विप्लव नेतृत्वको नेकपाले उक्त स्थानमा बम राखेको प्रहरी जनाएको छ।  त्यस्तै ललितपुरकै भैंसपाटी र खुमलटारमा पनि बम भेटिएको छ।

    फेला परेका सबै बम नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ। ‘सबै बम डिस्पोज भइसक्यो,’ महानगरिय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरियाले भने, ‘अहिले अवस्था सामान्य छ।

    यस्तै उता सर्लाहीको हरिपुर– २ मा रहेको नगरपालिकाको कार्यालयमा शक्तिशाली बम बिस्फोट भएको छ । अज्ञात समुहले गएराति नगरपालिका कार्यालयमा बम स्फिोट गराउँदा कार्यालयमा क्षति पुगेको छ ।

    अज्ञात समूहले त्रास फैलाउनका लागि बम फिस्फोट गराएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी प्रतीतसिंह राठोरको अनुमान छ ।

    यसैबिच मोरङको सुन्दरहरैंचा ७ ढडियास्थित पूर्व–पश्चिम राजमार्गनजिक तारले बेरिएको प्रेसर कुकर भेटिएको छ । राजमार्ग छेउ बिजुलीकाे खम्बा नजिकै उक्त शंकास्पद वस्तु फेला परेको हो ।

    शंकास्पद वस्तु भेटिएको स्थानलाई सुरक्षाकर्मीले घेरा हालेका छन्। सेनाको डिस्पाेजल टोली अध्ययनका लागि त्यसतर्फ परिचालन भएको मोरङ प्रशासनले जनाएको छ।रातो तारले कुकरलाई बेरेर राखएिको अवस्थामा फेला परेकाले भित्र विष्फाेटक पदार्थ राखिएको हुन सक्ने अनुमान गरिएको छ।

    यसैगरी प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका प्रवेश गर्ने ढाट चोकमा पनि शंकास्पद वस्तु भेटएिको छ। सुरक्षाकर्मीले उक्त स्थानलाई पनि घेरा हालेका छन्।

    त्यस्तै तनहुँका दुई ठाउँमा पनि शंकास्पद वस्तु फेला परेको छ । दमाैली–तनहुँमा दुई ठाउँमा शंकास्पद बस्तु सोमबार बिहान फेला परेको हो । पृथ्वीराजमार्गमा पर्ने बन्दीपुर १ नाहला र व्याँस नगरपालिकको मुसीखोलामा शंकास्पद वस्तु फेला परेको जनाइएको छ । नाहला राखिएको शंकास्पद वस्तु भने सेनाको टोलीले डिस्पोजल पारिएको प्रहरी उपरीक्षक विनोद सिलवालले बताए।

    सेनाको टोलीले मुसीखोलामा राखिएको शंकास्पद वस्तु डिस्पोजलका गर्ने तयारी गरेको उनले बताए। उता बैतडी–दोगडाकेदार गाउँपालिकामा सोमबार बिहानै शंकास्पद वस्तु फेला परेको छ।दाेगडाकेदार– ३ को श्रीकोटस्थित सनातन धर्म मावि नजिकै महाकाली राजमार्गमा शंकास्पद वस्तु भेटिएको हो।

    प्लाष्टिकको दुई पोका तार जोडिएको र इनामेलका २ वडा डिब्वा रातो कपडाले बेरिएको अवस्थामा उक्त वस्तुहरु रहेकाे बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए।

    खोचलेक प्रहरी चौकीको टोली घटनास्थल पुगिसकेको छ। शंकास्पद वस्तु बम हुनसक्ने प्रहरीले जनाएको छ। डिस्पोजलका लागि बैतडीस्थित हनुमानध्वज गुल्मबाट सेनाको टोली घटनास्थलतर्फ जान लागेको प्रहरी प्रवक्ता चन्दले बताए। नेत्रवित्रम चन्द समूहले साेमबार बन्दआव्हान गरेकाले उक्त समूहले नैशंकास्पद वस्तु राखेको हुनसक्ने प्रहरीको अनुमान छ।

    त्यस्तै  पोखराको श्रृजनाचोकमा रहेको एनसेल कार्यालय नजिकै भेटिएको कुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ।
    आइतबार राति भेटिएको उक्त बम प्रहरीले रातभरि सुरक्षा दिएर बसेको थियो। बमलाई सोमबार बिहान सेनाले डिस्पोज गरेको हो। यसैगरी पोखराको नयाँबजार र न्यूरोडको बीचमा रहेको इनोभेटिभ डेपलपमेन्ट एजुकेशन एकेडेमी रहेको भवनको गेटमा पनि शंकास्पद वस्तु भेटिएको छ।

    ऊक्त वस्तुलाई निष्त्रिय पार्न सेना अहिले उक्त स्थानमा पुगेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकाको नौडाँडामा पोखरा बागलुङ राजमार्ग खण्डमा पनि शंकास्पद वस्तु भेटिएको कास्की प्रहरीका प्रवक्ता रविन्द्रमान गुरुङले बताए। त्यसलाई पनि निष्क्रिय पार्न सुरक्षाकर्मी परिचालन भइसकेका छन्।

    सरकारले प्रतिबन्ध लगाएको नेक्रवित्रम चन्द नेतृत्वको नेकपाले सोमबार आव्हान गरेको बन्दका क्रममा बम र शंकास्पद वस्तु राखिएको अनुमान प्रहरीको छ। बन्दका कारण पोखरामा सवारी साधन चलेका छैनन्।

    यस्तै विप्लव नेकपाले  आहृवान गरेको बन्दका क्रममा सिन्धुलीको दुधौली नगरपालिका ८ को खोर भन्ज्याङमा सोमबार बिहान शंकास्पद वस्तु फेला परेको छ। निर्माणाधीन मदनभण्डारी राजमार्गबाट करिब एकसय मिटर तल दुधौली जाने सडकमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

    ‘नेपाल बन्द छ खतरा’ लेखेर सकेट बम जस्तो वस्तु सडकमा फेला परेको हो। शंकास्पद वस्तुबारे सुरक्षा निकायमा छलफल भइ सेनालाई जानकारी गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। शंकास्पद वस्तु फेला परेपछि स्थानीयमा त्रास छाएकाेछ। उक्त सडकमा हिड्न दिइएको छैन।

    बन्दका कारण बिपी राजमार्गमा सवारी साधन चल्न सकेका छैनन्। केही सवारी साधनलाई भने प्रहरीले स्कटिङ गरेर लगेको छ। निजी शिक्षण संस्थाहरु सबै बन्द छन्। सदरमुकाममा छिटफुट पसल खुले पनि बाहिर बन्द छन्।

    उता पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरमा एक ट्रक र एक जिपमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बम प्रहारबाट ट्रक चालक घाइतेसमेत भएका छन् ।

    सोमबार बिहान २ बजेतिर मध्यबिन्दु नगरपालिका–११ दाउन्नेमा लु २ ख १०८ नम्बरको सिमेन्ट लोड गरेको ट्रकमा नेकपाका कार्यकर्ताले पेट्रोल बम हानेको डन्डा प्रहरीले जनाएको छ ।

    पेट्रोल बम प्रहारबाट ट्रक अनियन्त्रित भइ सडकबाट अन्दाजी ५ मिटर तल खसेर आगो लागेको थियो । घटनामा ट्रक चालक तनहुँको ब्यास नगरपालिका ४ बस्ने ३३ वर्षीय अमर विक घाइते भएका छन् । उनको ढाड र अनुहार जलेको छ । उनको स्थानीय मनकामना पोलिक्लिनिकमा उपचार भइरहेको छ । सहचालकको अवस्था भने सामान्य छ ।

    घटनाबारे जानकारी पाएलगत्तै प्रहरी नायव निरीक्षक जनक बुढा नेतृत्वको टोलीले बिहान करिब ३ बजेतिर ट्रकमा लागेको आगो निभाएको थियो । घटनास्थल डण्डा प्रहरी चौकीबाट करिब १ किलोमिटर पूर्व पर्दछ ।

    यसैगरी कावासोती नगरपालिका–१६ पत्थरखोला पुल नजिकै गुडिरहेको बा ३ च ९३ नम्बरको जिपमा पनि पेट्रोल बम प्रहार भएको छ । सोमबार बिहान करिब साढे ३ बजेतिर खाली जिपमा नेकपा कार्यकर्ताले पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ । पेट्रोल बम प्रहारबाट जिपमा राखिएको त्रिपाल पूर्णरुपमा जलेको छ ।

    यसैगरी नवलपुरकै बुलिङटार गाउँपालिका अध्यक्षको घर नजिक सिलिण्डर विष्फोट गराउने प्रयास असफल भएको छ । गाउँपालिका अध्यक्ष शशीकिरण बास्ताकोटीको घरभन्दा करिब ३०० मिटर पूर्व श्रीधर गिरीको खेतमा सिलिण्डर विष्फोट गराउने प्रयास गरिएको थियो ।

    खेतमा मोटरसाइकलको टायर र दाउरा बालेर सिलिण्डर बिष्फोट गराउन खोजिएको तर सिलिण्डरको क्यापबाट ग्यास लिक भएर नपड्किएको प्रहरीले जनाएको छ । सिलिण्डर पड्काउने प्रयास कसले गरेको भन्ने खुलेको छैन । तर, यसमा पनि नेकपाकै संलग्नता रहेको प्रहरीको अनुमान छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ