• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    पत्रकार जितेन्द्र महर्जनको रिहाईको माग गर्दै पत्रकारहरु सडकमा

    6.6K
    SHARES



    काठमाडौँ । सर्वोच्च अदालतको आदेश अवज्ञा गरी हिरासतमा राखिएका पत्रकार जितेन्द्र महर्जनलाई रिहाईको माग गर्दै नेवाः पत्रकार राष्ट्रिय दबूले विहीबार राजधानीको माईतीघर मण्डलामा धर्ना दिएको छ । आस्थाका आधारमा उचित र पर्याप्त प्रमाण बिना हिरासतमा राखिएको भन्दै दबूले माईती मण्डलामा डेढ घण्टा धर्ना दिएको छ ।

    कीर्तिपुरबाट प्रकाशित हुने नेपाल भाषाको ज्वजलपा साप्ताहिकका प्रधानसम्पादक समेत रहेका पत्रकार महर्जन दबूका काठमाडौं शाखाका सदस्य हुन् । पत्रकार महर्जनलाई समाचार संकलनको क्रममा रहेको बेला चैत्र २६ गते प्रहरीले गिरफ्तार गरेको थियो ।

    धर्नामा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय पदाधिकारी, सदस्य, काठमाडौं उपत्यका सदस्यहरुले ‘विचार तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गर, प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर, गैरन्यायिक हिरासतमा राखिएका पत्रकार रिहाई गर’ भन्ने लेखिएको पर्चा देखाएर धर्नामा सहभागी भएका थिए ।

    पर्चाहरु रञ्जना लिपि, प्रचलित नेपाल लिपि, देवनागरी र रोमन लिपिमा लेखिएको थियो । धर्नाप्रति एक्यबद्धता जनाउँदै नेपाल पत्रकार महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन, प्रेस सेन्टरका पदाधिकारीहरु धर्नामा सहभागी भएका थिए ।

    महानगरीय प्रहरी वृत्त कमलपोखरीले राज्यविरुद्धको कसुरको अनुसन्धानको सिलसिलामा भन्दै पत्रकार महर्जन पटकपटक म्याद थप गरी हिरासतमा राखिएको छ ।वृतका प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलका अनुसार पत्रकार महर्जनलाई थप पाँच दिन हिरासतमा रँख्न जिल्ला अदालत काठमाडौंले विहीबार आदेश दिएको छ ।

    नेपाल पत्रकार महासंघको तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले महर्जनको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । रिटमाथि सुनुवाइ गर्दै बैशाख ८ गते सर्वोच्चले रिहाइ गर्न आदेश दिएको थियो । तर प्रहरीले अदालतको गेटबाटै प्रहरीले पुनः गिरफ्तार गरेको थियो ।

    सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र डम्बरबहादुर शाहीको संयुक्त इजलाशले दिएको आदेशले पत्रकार महर्जनलाई रिहा गर्न भनिएको थियो । तर, प्रहरीले सर्वोच्चको गेटबाटै पुनः गिरफ्तार गरेको थियो ।

    ‘वस्तुनिष्ठ आधार र कारण बिना पक्राउ गर्ने र अनुसन्धानको क्रममा भनि थुनामा राख्ने कार्य मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ को दफा ९ विपरीत छ, निश्चित राजनीतिक आस्था भएको कारणले मात्र प्रवृत भावनाबाट कानूनको उचित कार्यविधिको पालना नगरी पटक पटक म्याद थप गरी हिरासतमा राखिरहेको कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण देखिएन’ अदालतको आदेशमा भनिएको छ ।

    निवेदकलाई थुनामा नै राखी अनुसन्धान गर्नुपर्ने उचित एवं पर्याप्त आधार र कारण उल्लेख नगरी भएको म्याद थप सम्बन्धी कार्यहरु कानूननः अपरिपक्व देखिएको पनि अदालतको आदेशमा भनिएको छ । थुनामुक्त आदेश दिएलगतै कार्यालय समय नाघेपछि सरकारले ‘प्रतिबन्धित कार्यमा’ संलग्न भएको भन्दै प्रहरीले पक्राउ पुर्जी नै नदेखाई पत्रकार महर्जनलाई हिरासतमा राखिएको थियो ।

    यसैबीच पत्रकार महर्जको रिहाई र विचार तथा अभिव्यक्ति स्वतन्त्राको प्रत्याभुत गर्न माग गर्दै नेपाल पत्रकार महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ र नेवाः पत्रकार राष्ट्रिय दबूले अलगअलग र सहकार्य पनि गरी विभिन्न संघर्षका कार्यक्रमहरु घोषणा गर्ने बताएको छ ।

    ‘सरकारको कार्यशैली प्रेस स्वतन्त्रता विरोधी’

    धर्नालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले सरकार एकपछि अर्को प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्दै आएको बताउँदै पत्रकार महर्जनको रिहाइ गर्न माग गरेका थिए । उनले महर्जनलगायत देशभर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रमाथि सरकारले हस्तक्षेप गरेको भन्दै जैसीले त्यसविरुद्ध महासंघले आन्दोलनमा गएको जानकारी गराएका थिए ।

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष दण्ड गुरुङ्गले वैचारिक आस्थाका आधारमा पत्रकारलाई पक्राउ गरेर सरकारले प्रेस स्वतन्त्रताको घा“टी निमोठेको धारणा राखे ।

    त्यसैगरी क्रान्तिकारी पत्रकार महासंघका प्रदेश नं ३ का संयोजक रमेश महतारा, क्रान्तिकारी पत्रकार संगठनकाका महासचिव बाबुराम भुसाल, पत्रकार दबूका केन्द्रीय महासचिव सुनील महर्जन र सचिव के. के मानन्धरले सरकारले पत्रकार गिरफ्तार गरेर लोकतन्त्रको आवरणमा निरंकुशता र राज्य आतंक मच्चाएको आरोप लगाएका थिए । उनिहरुले पत्रकार महर्जनलाई रिहाइ नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका थिए ।

    धर्नाको समापन गर्दै नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले अदालतको आदेश विपरीत हिरासतमा राखेर सरकारले कानून शासनको बर्खिलाप कार्य गरेको बताए ।

    यसैबीच पत्रकार जैसीले आदालतको आदेशको अवज्ञा गरेर पत्रकार महर्जनलाई गिरफ्तार गरिएको भन्दै रिहाइको माग गरेर बिहीबार सर्वोच्चमा पुनः रिट दायर गरेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ