• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तर्वार्ता

    चुनावपछि सरकारको नेतृत्व आलोपालो हुनसक्छ- प्रचण्ड (ताजा अन्तर्वार्ता)

    11.1K
    SHARES

    काठमाडौँ । मंसिर ४ मा हुने चुनावको समग्र नतिजा अनि त्यसपछि सत्ता निर्माणका निम्ति समेत महत्त्वपूर्ण हुने कतिपय चुनाव क्षेत्रको सम्भावित परिणामबारे निकै चासो बढेको पाइन्छ। त्यसमध्ये एक हो गोरखाको २ नम्बर क्षेत्र। जहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मैदानमा उत्रिएका छन्। शुक्रवार बिहान प्रचारप्रसारमा निस्कनु अघि सिरानचोक गाउँपालिका वडा नम्बर ८ को जौबारीमा उनीसँग बीबीसी न्यूज नेपालीले गरेको कुराकानी।

    हरेक चुनावमा निर्वाचन क्षेत्र फेर्नुहुन्छ, अब अर्को चोटि कहाँबाट उठ्नुहुन्छ?

    त्यो त पाँच वर्षपछि थाहा हुने कुरा हो। अहिले नै यहाँ जान्छु भन्ने कुरा होइन। सुरुमा गोरखा आउँछु भन्ने पनि थिएन। परिस्थिति, घटनाक्रम, भावना, चाहना हेर्दा अनि फेरि मेरो गोरखासँगको सम्बन्ध पनि थियो।

    म २२ वर्षको उमेरमा यहाँ आएर तीन वर्ष अध्यापन गरेँ। जनयुद्धको तयारी अनि पञ्चायतविरुद्धको आन्दोलन गोरखाबाटै गरेको हो। हेडक्वार्टर नै यहीँ थियो। यो सबै कुराले गर्दा गोरखाप्रति मेरो जिम्मेवारी पनि थियो।

    गोरखाली जनता र पार्टी अनि गठबन्धनका नेताहरूको चाहना मिल्न आयो र म गोरखा पुगेँ। अब अर्को पटक कहाँ जान्छु भन्ने कुरा भन्न सकिने कुरा पनि होइन भन्ने कुरा पनि होइन। तर म जहाँ गए पनि चुनाव जित्नकै लागि मात्र नभई एउटा अर्थ सहित गएको छु।

    चितवनबाट झस्किएर गोरखा गएको हो कि भन्छन् नि?

    बिलकुल गलत। पहिलो चुनावमा म काठमाण्डू र रोल्पाबाट उठ्नुको अर्थ थियो। रोल्पा युद्ध र काठमाण्डू आन्दोलनको प्रतीक थियो। ती दुइटालाई जोड्नु थियो र देशलाई शान्तितर्फ लैजानु थियो।

    पछि म सिराहा जानुको पनि तात्पर्य थियो। तराईमा एक किसिमको विखण्डनवाद आउने हो कि भन्ने खतरा पैदा भएको बेलामा राष्ट्रिय एकतालाई सुदृढ गर्नुपर्छ भनेर गएको हो। चितवन त मेरो गृह जिल्ला भएकाले एक पटक जानै पर्थ्यो।

    अहिले फेरि प्रतिगमनविरुद्धको आन्दोलन अघि बढाउन र मुख्यतः यो राजनीतिक परिवर्तन अनुकूलको आर्थिक विकास र समृद्धिको यात्रा गोरखाबाट सुरु गर्दा नै देशभरिले तथा विश्वले नै त्यसलाई गम्भीर रूपले लिन्छ भन्ने उद्देश्यका साथ म यहाँ आएको हुँ।

    लोकतन्त्र खतरामा परेको अनि संविधान जोगाउन भनेर तपाईँहरूले चुनावी एजेन्डा बनाइरहनुभएको छ। लोकतन्त्रमा खतरा कसबाट छ?

    यो त प्रस्टै छैन र? यो मंसिर ४ को चुनावमा दुई वटा गठबन्धन आमनेसामने भएका छन्। एउटा राजतन्त्र पुनर्स्थापना गर्नुपर्छ र संविधान उल्ट्याउनुपर्छ भन्नेहरूको छ। हिजो एमालेका नेता केपी ओलीले नै होइन र पटक पटक संविधान मिचेर प्रतिनिधिसभा विघटन गरेको?

    तर नियन्त्रण र सन्तुलनका निम्ति अदालत थियो। संविधानै उल्टिने अवस्था त थिएन होला नि?

    होइन, यदि उहाँले विघटन गरेको कुरालाई जनताले विरोध नगरेको भए र अदालतले त्यो फैसला नगरेको भए देश त निरङ्कुशताको अँध्यारो सुरुङमा गई नै सकेको थियो। संविधान मिचिसकेपछि र एक चोटि प्रक्रिया बिथोलिइसकेपछि सम्हाल्न त धेरै कठिन हुन्थ्यो।

    त्यस कारण त्यसलाई हामीले प्रतिगमन भन्यौँ। लाखौँ जनता सडकमा उत्रिएर यो प्रतिगमन सहँदैनौँ भनेको होइन? आजको अवस्थामा बिदा भइसकेको राजतन्त्रलाई फेरि फर्काउँछु भनेको प्रतिगमन होइन?

    अनि तिनैसँग अँगालो हालेर हिँड्ने प्रतिगमन होइन? त्यसैले अहिले हामीले संविधानको रक्षा, राजनीतिक स्थायित्व र आर्थिक विकासको कुरा गरेको हो। हाम्रो सत्ता गठबन्धनले खाली प्रतिगमन विरोधी आन्दोलनको कुरा मात्र भनेका छैनौँ।

    राजतन्त्र फेरि फर्केला भन्ने शङ्का अझै तपाईँलाई छ?

    मलाई त बिलकुलै छैन। जनतालाई पनि छैन। तर केही मान्छे चाहिँ त्यो भनेर हिँडिरहेकै छन्।

    तपाईँहरूले विकासका एजेन्डा भन्दा पनि उही राजतन्त्रको भूत देखाइरहेको वा केपी ओलीको त्रास देखाइरहेको भनेर आलोचना गरिन्छ नि?

    लोकतन्त्रमा बोल्ने स्वतन्त्रता त भइनै हाल्छ। तर यथार्थमा अब राजतन्त्र आउनै सक्दैन। ओलीजीको ध्यान यो संविधान मिच्नेतर्फ छ। हामीलाई त लाग्यो संविधानसभाबाट आएको यो संविधान उहाँले स्विकार्नुभयो र हामीले गठबन्धन र पार्टी एकता पनि गर्‍यौँ।

    तर उहाँ त मौकाको ताकमा पो हुनुहुँदो रहेछ भन्ने देखियो। म शक्तिमा आएँ भने यो संविधान पनि च्यात्दिन्छु, गणतन्त्र पनि उल्ट्याइदिन्छु अनि काम न काजको समावेशी भन्ने पनि उल्ट्याइदिन्छु भन्ने पो रहेछ उहाँमा।

    एमालेका अध्यक्षले तपाईँ र कांग्रेस सभापति देउवाबीच नक्कली मित लागेको भनेका छन्। तपाईँहरू चुनावै जिते पनि कसको घोषणापत्र लागु हुन्छ भनेर प्रश्न उठाएका छन् नि?

    यी प्रश्नको जबाफ सहज छ। हामीले १२ बुँदे अनि विस्तृत शान्ति सम्झौता गरेर यहाँसम्म ल्याइएको होइन? गिरिजाप्रसाद कोइराला र प्रचण्डले हस्ताक्षर गरेर नयाँ युग ल्याउन सही थियो कि थिएन? त्यो सही र पवित्र थियो भने यही संविधानको रक्षाको निम्ति गरिएको गठबन्धन पनि सही छ। जहाँसम्म केपीजीको कुरा छ उहाँलाई प्रधानमन्त्री बन्न दुई चोटि प्रस्ताव गरेको त मैले हो।

    तपाईँ प्रधानमन्त्री हुनुहोला यो संविधानमा हस्ताक्षर त गरौँ भनेर मैले नभनेको भए के हुन्थ्यो भन्ने प्रश्न त छ नि? दोस्रो चोटि पनि अब स्थायित्व र विकासको निम्ति वामपन्थी मिल्नु उचित हुन्छ भनेर प्रस्ताव लिएर गएको त म नै हो नि।

    अनि बराबरी अवधि प्रधानमन्त्री चलाउने सहमति पनि भएकै थियो। यो सबै भत्काएको त उहाँले हो नि। त्यस कारण मैले आजभोलि भन्ने गर्छु ल अब तेस्रो पटक प्रधानमन्त्री बनेर देखाउनुस्!

    मैले यो चुनौती संसद्‌बाट पनि र जनताको बीचमा दिएको छु। प्रचण्ड नभएपछि कसरी प्रधानमन्त्री बन्दा रहेछन् केपी ओली भनेकै छु।

    यो गठबन्धन कति वर्षसम्म रहन्छ?

    परिवर्तन, संविधान र यो सङ्घीय समावेशी लोकतन्त्रमाथि कतै न कतैबाट खतरा रहिरहेसम्म यो गठबन्धनको आवश्यकता र औचित्य रहिराख्छ। यो एउटा निर्वाचन मात्र होइन दुई-तीन वटा निर्वाचनसम्म गइरहनुपर्छ।

    अघिल्लो चुनावमा वामपन्थी एकताले स्थायित्व दिने कुरा गर्नु भयो। अहिले गठबन्धनले स्थायित्व दिने कुरा गरिरहनु भएको छ। केन्द्रदेखि प्रदेशसम्म आलोपालो हुने भए त उही अस्थिरताको चक्र दोहोरिने होला?

    त्यस्तो हुँदैन। हामीले गठबन्धनभित्र जनताको निम्ति एउटा साझा अपिल गरेका छौँ। हाम्रो आ-आफ्नो विचार सिद्धान्त पनि जनताको बीचमा लगेकै छौँ। नेतृत्वको विषयलाई हामीले मुख्य बनाएका छैनौँ। बाहिरबाट त मान्छेले प्रधानमन्त्री को हुन्छ? मिल्छ कि मिल्दैन? भन्छन् तर गठबन्धनभित्र हामीले त्यस्तो कुनै समस्या महसुस गर्दैनौँ।

    उसो भए प्रधानमन्त्री हुने चाहिँ को हो त?

    निर्वाचनपछि गठबन्धनभित्रको एउटा सानो बैठकले यो सजिलै टुङ्गिने वाला छ। नेपाली कांग्रेस र माओवादी केन्द्रबीच कसले नेतृत्व कति समय लिन्छ वा लिँदैन भन्ने नै प्रश्न हो। मैले गम्भीर ढङ्गले शेरबहादुरजीलाई अबको स्थितिमा यसरी जाऊँ भनेँ भने उहाँ मान्नुहुन्छ भन्नेमा म विश्वस्त छु।

    तपाईँ पहिले प्रधानमन्त्री बन्ने हो?

    फेरि उहाँले गम्भीर ढङ्गले भन्नुभयो भने म पनि मान्छु। यो गठबन्धन कमजोर हुने गरिकन हामी प्रधानमन्त्रीलाई मुख्य बनाउँदैनौँ। देशको शान्ति, स्थिरता र विकास मुख्य कुरा हो। प्रतिगमनको खतरा रोक्नु मुख्य कुरा हो। प्रधानमन्त्री को हुन्छ भन्ने कुराले यो गठबन्धन यताउता हुँदैन।

    आलोपालो हुनसक्छ?

    त्यस्तो हुनसक्छ। त्यो भोलि देखिने कुरा हो।

    तपाईँले तेस्रो शक्ति बन्ने कुरा गर्नुभएको छ। तेस्रो शक्ति पनि भन्ने अनि सरकारको नेतृत्व ताक्न नैतिकताले दिन्छ?

    नैतिकताको कुरा भन्नुहुन्छ भने अघिल्लो चुनावको परिणामपछि पाँचै वर्ष प्रधानमन्त्री खानुस् भन्दा पनि मैले, चुनावको बेला जनताको अगाडि यो भनेर गएको सन्दर्भमा प्रधानमन्त्री पदको निम्ति समीकरण बदल्न सक्दिनँ भनेको थिएँ।

    नैतिकताको कुरा गर्दा नेपाली जनताले, नेपालको इतिहासले यसको मूल्याङ्कन गर्छ भन्नेमा विश्वस्त छु। चुनावमा तेस्रो हुने मात्र होइन सबैतिर चुनाव हारेका व्यक्ति समेत प्रधानमन्त्री बनेको र बनाइएको इतिहास छ भने तेस्रो र निर्णायक भएर प्रधानमन्त्री बन्न नपाउने त कहीँ हुँदैन। यो नैतिक नहुने पनि होइन। गठबन्धनभित्र जे सहमति हुन्छ त्यही हुन्छ।

    माओवादीलाई पहिलो शक्ति बनाउने आश चाहिँ मार्नुभएको हो?

    मैले आश मारेको छैन। अब यात्रा सुरु भएको देख्छु म। शान्ति प्रक्रिया टुङ्ग्याउने र आर्थिक विकासलाई गति दिने बित्तिकै अर्को पटक माओवादी पहिलो पार्टी बन्छ भन्ने विश्वासको साथ म दौडिरहेको छु।

    यो संसदीय चुनाव भइरहेको छ। तपाईँ पनि संसद्मा आधाभन्दा कम उपस्थित हुने सांसदमा पर्नुहुन्छ। संसदीय भूमिकामा चुकिरहेको तपाईँलाई फेरि किन जिताउने?

    उपस्थित कति हुने र नहुने कुराले कसले कति भूमिका निर्वाह गर्‍यो वा गरेन भन्ने निर्धारण गर्ने होइन। राजनीतिक नेतृत्वको भूमिका हाजिरीले भन्ने कुरा होइन। मलाई लाग्छ संसद्‌भित्र नेतृत्वदायी, कतिपय बेला निर्णायक भूमिका मैले खेलेको छु।

    माओवादीको सशस्त्र विद्रोहका बेला र पछि पनि तपाईँका कार्यकर्ताले पृथ्वीनारायण शाहको सालिक तोडे। तर अहिले तपाईँ पृथ्वीनारायणकै शरणमा आउनु परेको हो?

    यो प्रश्न त्यसरी सोध्नु ठीक होइन। पृथ्वीनारायणको सालिक तोड्ने पार्टीमा कतै निर्णय भएको होइन। कसैले गरे भने त्यो गलत गरे भनेर मैले त्यति बेला विरोध पनि गरेको हो।

    पृथ्वीनारायण शाह एउटा सामन्ती राजा त थिए तर देशको बृहत्तर राज्य निर्माणमा उनको भूमिका ऐतिहासिक र महत्त्वपूर्ण हो। मैले यो कुरा गोरखामा आएको हुनाले मात्र भनेको होइन।

    जनयुद्धको तयारी गर्दागर्दै दस्ताबेजमा पृथ्वीनारायण शाहको भूमिकालाई हामीले त्यति बेलाका भुरे-टाकुरे राज्यहरूका कारण जनतालाई दुःख भएको जिल्लैपिच्छे कर तिर्नु परेको अवस्थाले जनताको आर्थिक स्थिति जर्जर थियो, त्यसबाट मुक्तिको निम्ति जो केन्द्रीय राज्य बन्नुपर्थ्यो त्यसमा पृथ्वीनारायण शाहको भूमिकालाई हामीले ऐतिहासिक र भौतिकवादी ढङ्गले हेर्नुपर्छ र उच्च मूल्याङ्कन गर्नुपर्छ भनेर हामीले लेखेका छौँ।

    त्यो दस्ताबेज हेर्‍यो भने प्रचण्ड त उति बेलै पृथ्वीनारायण शाहको भूमिकाप्रति सकारात्मक रहेछ भनेर थाहा हुन्छ। पृथ्वीनारायण शाहले केन्द्रीकृत राज्य बनाउन खेलेको भूमिका र अङ्ग्रेजविरुद्धको युद्धका विषयले पनि गोरखा जिल्ला चिनिन्छ।

    अहिले म गणतन्त्रको एउटा नेतृत्वको हिसाबले यहाँ आउँदा र आर्थिक क्रान्ति यहाँबाट सुरु गर्न पाउँदा गौरव महसुस गर्छु। बाँकी कुरा भ्रम हो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ