विश्व कम्युनिस्ट आन्दोलनको एक क्रान्तिकारी टुकडी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को आजैदेखि ९ औँ महाधिवेशन प्रारम्भ भएको छ । सो महाधिवेशनमा देशभरबाट चुनिएका अगुवा प्रतिनिधि सहभागी हुँदै छन् । नेपालको कम्युनिस्ट आन्दोलनको विशिष्ट घुम्तीमा हुँदै गरेको नेकपा (बहुमत) को नवौँ महाधिवेशनले पार्टी जीवनमा नीति, नेतृत्व र विचार निर्माणको प्रश्नमा गुणात्मक उचाइ हासिल गर्नेछ । उक्त पार्टीको यस किसिमको महŒवपूर्ण सन्दर्भमा जनमेल साप्ताहिकले सो पार्टीका महासचिव कमरेड कञ्चनसँग महŒवपूर्ण अन्तर्वार्ता गरेको छ । प्रस्तुत छ, सो अन्तर्वार्ताको सार सङ्क्षेप ।
सर्वप्रथम जनमेल साप्ताहिकमा यहाँलाई हार्दिक स्वागत छ, नवौँ महाधिवेशनको तयारी कस्तो हुँदै छ ?
हाम्रो पार्टीको महाधिवेशन अत्यन्तै महŒवपूर्ण समयमा हुन गइरहेको छ । यसका विभिन्न आयाम छन् । प्रथम– नेपालको कम्युनिस्ट आन्दोलनमा हावी हुँदै आएको अर्थवाद, त्यसले निम्त्याउने संशोधनवाद, त्यसको जगमा खडा हुने सुधारवाद र त्यसले पैदा गर्न प्रतिक्रियावादका विरुद्ध निर्मम वैचारिक सङ्घर्ष गरेर नै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पुनर्गठित भएको थियो, जसको कारण पनि यो पार्टीको महाधिवेशन ऐतिहासिक महŒवको छ ।
दोस्रो– नेपाली कम्युनिस्ट आन्दोलनमा हावी हुँदै आएको अर्थवादको परिणाम स्वरूप ‘आन्दोलन सबै चीज हो र उपलब्धि केही पनि होइन या आन्दोलन जे पनि हुन सक्छ र उपलब्धि पनि जे पनि हुन सक्छ, यो अनिश्चयको सिद्धान्तमा भर पर्छ’ भन्ने विसर्जनवादको अन्त्य गर्दै जनताका लागि क्रान्तिकारी सत्ताबाहेक सबै चीज भ्रम हुन र सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्ने आन्दोलनको नेतृत्व गर्दा तत्काल आन्दोलनको साधनको रूपमा स्वाधीन संयुक्त सरकारको माग उठाएको छ ।
तेस्रो– विचारधारात्मक, राजनीतिक, सङ्गठनात्मक, वर्गसङ्घर्ष, संस्कृति, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन तथा त्यसको मूल्याङ्कनलगायत विभिन्न सन्दर्भमा मार्क्सवाद–लेनिनवाद–माओवादलाई दह्रो गरी पकड्ने, द्वन्द्वात्मक भौतिकवादका नियमलाई अझ गहिराइमा बुझ्न प्रयत्न गर्ने र त्यसका सही तथ्यहरूलाई पुँजीकृत गरिएको छ । यो अवस्थामा हाम्रो पार्टीको महाधिवेशन केवल नेपाली कम्युनिस्ट आन्दोलनमा मात्र होइन, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा समेत दुरगामी क्रान्तिकारी प्रभाव दिनेछ ।
२०७९ मा तपाईंहरूले नेकपा (बहुमत) गठन गर्नुभयो, यसको आवश्यकता कसरी सिर्जना भयो ?
२०७९ सालमा हामीले नेपाल कम्युनिस्ट पार्टी (बहुमत) गठन गरेका थियौँ । नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व क्रान्तिकारी आन्दोलनबाट भागेर सुधारवाद, संसदवाद र अन्ततः पुँजीवादको शरणमा पुगेपछि बहुमतको रूपमा पुनर्गठन गर्नुपर्यो । विचारधारात्मक सङ्घर्षमा तत्कालीन नेतृत्व अल्पमतमा परेको थियो, हामी बहुमतमा थियो । अहिले बहुमतको अर्थ त्यो सङ्ख्याभन्दा बढी विचारसँग जोडिएको छ । बहुमत सर्वहारा विचारको केन्द्र हो, कम्युनिस्ट विचारको बहुमत हो ।
तपाईंहरू नवौं महाधिवेशनमा हुनुहुन्छ तर नेकपा (बहुमत) को स्थापना २०७९ मा भएको हो, अनि कसरी नवौँ हुन पुग्यो ?
पार्टीको नवौँ महाधिवेशन २००६ सालमा पार्टी स्थापना भएको मितिदेखिको गन्ती गर्दा हुने योग हो । २०१० साल प्रथम महाधिवेशन सम्पन्न भयो । २०१४ सालमा दोस्रो महाधिवेशन भयो । २०१९ साल तेस्रो महाधिवेशन सम्पन्न भयो । २०३१ सालमा चौथो महाधिवेशन सम्पन्न भयो । २०४१ सालमा पाँचौँ महाधिवेशन सम्पन्न भयो । २०४८ सालमा छैटौँ तथा एकता महाधिवेशन भयो । २०७० सालमा सातौँ महाधिवेशन सम्पन्न भयो । २०७३ सालमा आठौँ महाधिवेशन सम्पन्न भयो । अहिले २०८१ सालमा नवौँ महाधिवेशन हुँदै छ । यद्यपि अन्य सुधारवादी तथा संसदवादी कम्युनिस्टहरूले पनि महाधिवेशन गरेका छन् तर यो नै क्रान्तिकारी धरोहर हो ।
चुनावी कार्यनीतिका कारण तपाईंहरू नेकपाबाट अलग हुनुभयो तर नेकपा (बहुमत) बनेलगत्तै तपाईंहरूले चुनावमा भाग लिइसकेको किरण नेतृत्वको पार्टीसँग एकता गर्नुभयो, के थियो त्यस्तो बाध्यता ?
नेकपाको सुधारवादी संशोधनवादी विचारको उजागर चुनावलाई हेर्ने दृष्टिकोणबाट भएको थियो । त्यसका विरुद्ध सङ्घर्ष गर्ने क्रममा नै पार्टीले संशोधनवादका विरुद्ध सम्बन्ध विच्छेद र क्रान्तिकारी पार्टीको पुनर्गठनको माग गरेको थियो । विसर्जनवादी कार्यदिशा भएका किरणसँग एकता गर्नुुका केही वस्तुगत कारण थिए ।
पहिलो– नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पुनर्गठन भएपछि नेपालमा हुने वैज्ञानिक समाजवादी क्रान्तिको रणनीति, कार्यनीति, कार्यक्रमलगायतका समग्र कार्यदिशा स्पष्ट गरिएको थियो । वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशा, स्वाधीन संयुक्त सरकार कार्यनीति र राजनीतिक स्थिरता, सामाजिक रूपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता तत्काल आन्दोलनका कार्यक्रम थिए ।
यी समग्र कार्यदिशाको मियोमा अडिएर लचकतार्पूवक क्रान्तिकारी भावना राख्नेसँग एकता गर्नु राम्रो हुन्थ्यो । दोस्रो– कमरेड किरणको पार्टी त्यति बेला विसर्जनको सँघारमा पुगेको थियो । किरणले नेतृत्व गरेको पार्टीको विसर्जनले क्रान्तिकारी आन्दोलनमा नकारात्मक असर पनि पार्न सक्थ्यो ।
नेपाली समाजमा किरणको परिचय क्रान्तिकारी, त्यागी, दार्शनिक, कम्युनिस्ट चरित्र भएका नेता, सौन्दर्यशास्त्री बनेको थियो । यो अवस्थामा किरणको पार्टी विसर्जन हुनु भनेको स्वयम् किरणको विसर्जन हुनु हुन्थ्यो । यसबाट किरण जत्तिका नेताले त क्रान्ति गर्न सकेनन् भने अरूले के गर्न सक्लान् भन्ने नकारात्मक असर पर्ने थियो । यी जटिलताका बिचबाट क्रान्तिकारी आन्दोलन बचाउनका लागि किरणसँगको एकता आवश्यक बनेको थियो । त्यसमा उनलाई क्रान्तिकारी आन्दोलन, क्रान्तिकारी कार्यदिशा र क्रान्तिकारी व्यवहारमा ल्याउनु थियो । किरणले पहिले सर्त पूरा गर्न नसक्ने अवस्थामा उहाँको राजनीतिमा अन्तर्निहित सुधारवाद, अवसरवाद, सङ्कीर्णतावाद, असहिष्णुतावाद उजागर गर्नुपर्थ्यो ।
क्रान्तिकारी शक्ति र जनतालाई पनि किरणका नक्कली विभूषण स्पष्ट गर्नुपर्थ्यो । यसर्थ, किरणलाई क्रान्तिकारी आन्दोलनबाट विसर्जित हुन नदिनका तथा उहाँको राजनीतिक योगदानको सम्मानका लागि पनि एकताको आवश्यकता थियो । किरणले क्रान्तिकारी कार्यदिशा पकड्न र क्रान्तिको बाटो खुला गर्न नसक्ने अवस्थामा उहाँमा रहेको अवसरवाद तथा विसर्जनवादलाई उजागर गर्नुपर्थ्यो । कम्युनिस्ट आन्दोलनमा हुने गरेको टुटफुट र विभाजनबाट जुन प्रकारको नकारात्मक असर क्रान्तिकारी आन्दोलनमा परेको छ । निरपेक्ष एकताको नाराको वैज्ञानिक निष्कर्ष पनि दिनु थियो । द्वन्द्वात्मक विधिद्वारा क्रान्तिकारी एकतातर्फ जनभावनालाई समेट्न पनि हामीले किरणसँग एकताको गरेका थियौँ ।
तपाईं नेतृत्वको नेकपा (बहुमत) र किरण नेतृत्वको (क्रान्तिकारी माओवादी) बिच एकता गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल त बनाउनुभयो तर तपाईंहरूबिचको एकता १५ महिना पनि टिक्न सकेन, एकता असफलताका कारण के के होलान् ?
कमरेड किरणले एकता प्रक्रियामा उहाँको नीति र लाइनअनुसार नै षड्यन्त्रकारी व्यवहार गर्नुभयो । उहाँले आफूले गरेका प्रतिबद्धता तोड्नुभयो । कुनै पनि हालतमा अग्रगामी कदम लिन मान्नुभएन । मार्क्सवादलाई जडको रूपमा लिनुभयो । उहाँका कैयौँ दृष्टिकोणलाई संसदवादी डङ्गुरले छोपेको थियो, जसलाई पन्छाउन उहाँँ किञ्चित तयार हुनुभएन । किरणमा दार्शनिक तथा विचारधारात्मक दृष्टिले जडसूत्रवादी, अनुभववादी, त्यसको जगमा पैदा हुने सारसङ्ग्रहवादी र त्यसले विकास गर्ने शून्यतावादी, व्यवहारका दृष्टिले विसर्जनवादी, राजनीतिका दृष्टिले छद्म संसद्वादी, क्रियाशीलताका दृष्टिले निस्क्रियातावादी, निरासवादी तथा पलायनवादी प्रवृत्ति देखा परेको थियो ।
किरणले नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सँग एकता गर्नेभन्दा हामीलाई फुटाउने, कार्यकर्तालाई तितर–बितर पार्ने, नेपालमा क्रान्ति असम्भव छ भन्ने नकारात्मक सन्देश प्रवाह गर्ने र जुझारु प्रकारका नेता र कार्यकर्तालाई जिम्मेवारीविहीन बनाउने जस्ता काम गर्नुभयो ।
यसलाई सच्याउन धेरै प्रयत्न गरियो तर, उहाँको रुझान क्रान्तिकारी बाटो पकड्नेभन्दा पनि पार्टीलाई प्रतिगमनतिर लैजाने हर्कत देखाउनुभयो । उहाँले पार्टीभित्र स्वस्थ प्रकारको बहसलाई पन्छाउने र अस्वस्थ झगडाको बीउ रोप्दै जाने, महाधिवेशनको समय आउँदै गर्दा क्रान्तिकारी बहसलाई निषेध गर्ने प्रपञ्च गर्नुभयो । यस्ता यावत् कारणले गर्दा किरणसँगको एकता प्रक्रिया असफल भएको थियो ।
किरण नेतृत्वको पार्टीलगायत अन्य केही पार्टीहरूले नेपालमा नयाँ जनवादी क्रान्ति नै गर्नुपर्छ भनिरहेका छन् तर तपाईंहरू भने वैज्ञानिक समाजवादी क्रान्तिको कुरा गरिरहनुभएको छ, के छ ताŒिवक अन्तर ?
किरण, मोहनविक्रम, सीपी मैनालीलगायतका कम्युनिस्ट नेताहरू अहिले पनि नयाँ जनवादी क्रान्ति हुनुपर्छ भन्ने गर्नुहुन्छ । उहाँहरूको वैचारिक धरातल आधारभूत रूपमा एउटै छ । यसमा कोही माओवाद र कोही माओ विचारधारा भन्ने पनि गर्नुहुन्छ । सारतः उहाँँहरूको कार्यदिशा एउटै हो– नयाँ जनवादी क्रान्ति । तर, यी नेताले नेतृत्व गरेको पार्टीले के कुरालाई बुझेको देखिँदैन भने अहिलेको नेपाली समाजमा धेरै परिवर्तन भएको छ ।
नेपालको वस्तुगत अवस्थामा परिवर्तन भएको छ । नेपाली समाजको अर्थ–सामाजिक अवस्थामा पनि परिवर्तन भएको छ । यी पार्टीहरूले पशुपतिमा शिवको मूर्तिले त्रिशूल समाते जस्तै नयाँ जनवादको नारा समातेका छन् । हामीले मार्क्सवादलाई जडसूत्रको रूपमा होइन, गाइड टु एक्सनका रूपमा बुझेका छौँ । समाज र समाजको विकासअनुसार मार्क्सवाद–लेनिनवाद–माओवादको प्रयोग गर्नुपर्छ भन्ने हामीले बुझेका छौँ । त्यहीअनुसार हामीले वैज्ञानिक समाजवादको लागि सङ्घर्ष गर्ने कार्यदिशा बनाएका हौँ ।
वर्तमान अवस्थामा सत्ता र प्रतिपक्षमा रहेका संसदवादी कम्युनिस्टहरू विशेष त प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र केपी ओली नेतृत्वकोे एमालेप्रति तपाईंंहरूको दृष्टिकोण के हो, यिनीहरूसँग एकता, कार्यगत एकता वा उनीहरूसँग कुनै मोर्चा बन्ने सम्भावना कति छ ?
केपी ओलीको पार्टीले प्रतिगामी र प्रक्रियावादी बाटो समाउँदै आएको छ । ओलीले नेपालमा राजतन्त्रको अन्त्य हुनु त्यत्तिकै असम्भव कुरा हो, जति बयलगाडा चढेर अमेरिका पुग्न असम्भव हुन्छ भनेका थिए । केपी ओली र उनको पार्टी एमालेले दश वर्षको जनयुद्ध र १९ दिनको जनआन्दोलनको बलमा गणतन्त्र स्थापना नहुँदासम्म राजतन्त्रबिना नेपाल रहन सक्दैन भन्ने धारणा राख्थे ।
केपी र उनको पार्टी एमालेले परिवर्तन चाहने नेपाली जनतालाई सेनाको बलमा कुल्चिनुपर्छ भन्ने दृष्टिकोण राख्थे । तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि पनि ओली र उनको पार्टी एमालेले सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) को तलवार माओवादीको टाउकोमा झुन्ड्याएर परिवर्तन चाहनेलाई तर्स्याउने कुचेष्टा गरिरहेका छन् । संविधानमा समाजवाद–उन्मुख भनिए पनि केपी र उनको पार्टीले कहिल्यै पनि समाजवादको कुरा गर्दैन, बरु यसले नवउदारवादी पुँजीवादको वकालत गर्छ । उसले साम्राज्यवादको नाङ्गो दलाली गर्छ ।
यसले सिङ्गो पार्टीलाई साम्राज्यवादको एजेन्टको रूपमा काम गर्ने आईएनजीओ र एनजीओको पार्टी बनाएको छ । यसका प्रायः सबै शीर्षनेताहरू या त वित्तीय माफिया बनेका छन्, या त वित्तीय माफियाका सहयात्री बनेका छन् । यी तथ्यबाट स्पष्ट हुन्छ कि केपी ओली नेतृत्वको एमाले प्रतिक्रियावादी, जनविरोधी र राष्ट्रघाती पार्टी हो ।
साथै, प्रचण्डले जुन प्रकारको राजनीतिक बाटो अपनाएका छन्, त्यसले उनलाई पनि केपी ओलीकै बाटोमा लैजानेछ । प्रचण्डको राजनीतिक बाटो पनि प्रतिक्रान्तिकारी नै छ । हुन त प्रचण्डले आज जे हालत भोग्नुपरेको छ, त्यसलाई सैद्धान्तिकीकरण गर्दै वर्गसङ्घर्षमा आएको उतार–चढाव भन्न सक्छन् । तर, क्रान्तिकारी आन्दोलनमा यस प्रकारका उतार–चढाव आउनु अनिवार्य नियम हो, जुन विश्वका सबै क्रान्तिकारी नेतृत्वका अगाडि आएका थिए । जसले यस प्रकारका समस्याको समाधान गर्न सके; त्यहाँ सर्वहारा, श्रमजीवी र प्रगतिशील शक्तिको हातमा सत्ता आएको छ; त्यो काम गर्न नसक्नेहरूले विचारधारात्मक, राजनीतिक, सङ्गठन, सङ्घर्ष र संस्कृतिमा आत्मसमर्पण गर्दै आएका छन् ।
जनयुद्धको स्थगनपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा घटेका घटनाले यति विचलित बनायो कि उनले विचारधारात्मक, राजनीतिक, सङ्गठन, सङ्घर्ष र संस्कृतिमा थप अध्ययन, अनुसन्धान र विकास गर्नुको बदला पुँजीवाद तथा सम्राज्यवादको अगाडि घुँडा टेक्न पुगे । परिणामतः नेपालभित्र दलाल पुँजीवादको अगाडि आत्मसर्पण र नेपाल बाहिर साम्राज्यवादका अगाडि लम्पसार पर्न पुगे ।
प्रचण्डले भारतको फासिवादी बिजेपी र त्यसका नेता प्रधानमन्त्रीसँग आफ्नो (प्रचण्डको) केमिस्ट्री मिलेको भनेका थिए । भारतका मठमन्दिरमा भारतीय जोगीसँगै खाली खुट्टा र गेरुवस्त्रमा लाम लागेर कम्युनिस्ट नेता हुँदाको भौतिकवादी मान्यताबाट भारतका जोगीहरूका अगाडि क्रान्तिकारी संस्कृतिबाट सामन्तवादी संस्कृतिमा आत्मसमर्पण गर्दै काल्पनिक ईश्वरप्रति कोटि प्रणाम गरेका थिए । त्यहाँको जल लोहोटामा लिएर पशुपतिमा चढाएका थिए । त्योभन्दा पहिले नेपालमा अब क्रान्ति सकियो, आर्थिक विकास गर्न एकाधिकार पुँजीपतिलाई खुला छ भनेका थिए । यसले प्रचण्डका वैचारिक, राजनीतिक, सांस्कृतिक विचलन र पतनलाई नै प्रमाणित गर्छ । नेपालका संसदवादी पार्टीहरू प्रचण्डलाई क्षमा दिने पक्षमा छैनन् ।
थोरै रिस उठ्नेबित्तिकै हेगमा पुर्याउने कुरा गर्छन् । क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा गर्छन् । प्रचण्डका मन्त्रीहरूले गरेका सुन तस्करीका कुरा गर्छन् । उनका पदाधिकारीले गरेका भ्रष्टाचारका कुरा गर्छन् । यसले प्रचण्डलाई विक्षिप्त बनाउँदै ‘मरता तो क्या नही करता’ को अवस्थामा पुर्याउँछ । उनी दशकौँदेखि अभ्यस्त भएका क्रान्तिकारी शब्द निकाल्छन्– आवश्यक परे क्रान्तिको बाटोमा हिँड्छु !
प्रचण्डका यी कुराले धेरै मानिसलाई झुक्याउँछ । उनको पार्टीमा रहेका हिजोका माओवादीलाई अहिले पनि यी प्रपञ्चले आशातीत तुल्याउँछ । ती मृगमरीचिकाबाहेक अरू केही होइनन् । बुद्धिजीवीहरू, विभिन्न पार्टीका नेताहरू र जनताको परिभाषामा प्रचण्डको अस्थिर स्वभाव तथा प्रचण्डको आफ्नो परिभाषामा गतिशीलताको ध्वाँस दिने प्रचण्डको प्रयत्नले उनको पार्टीका पूर्व–माओवादीमा पटक–पटक शङ्काको लाभ पैदा हुँदै आएको छ । तर, मानिसहरूले के कुरा बुझ्दैनन् भने प्रचण्डका घुर्की देशमा आमूल परिवर्तनका लागि नभएर यही संसदीय दलाल पुँजीवादी व्यवस्थालाई संस्थागत गर्नका लागि हुन् ।
जनयुद्धको विसर्जन र संसदवादमा प्रवेश, मोदीसँग केमिस्ट्री मिलान, अमेरिकी साम्राज्यवादले थोपरेको एमसीसीसँग फिजिक्स मिलान, युरोपियनसँगको बायोलोजीमा मिलान तथा संसदीय दलाल पुँजीवादी व्यवस्थालाई नै संस्थागत गर्ने प्रचण्डको राजनीतिले उनलाई पुराना प्रतिक्रियावादी राजनीति अपनाएका एमाले, काँग्रेसको पछि लामबद्ध भएको नवप्रतिक्रियावादी पंक्तिमा उभ्याएको छ ।
जहाँसम्म उनीहरूसँग पार्टी एकता, कार्यगत एकता, संयुक्त मोर्चा हुन सक्ने कि नसक्ने भन्ने प्रश्न छ; त्यो उनीहरूको राजनीतिक चरित्रले निर्धारण गर्ने कुरा हो । कतिपय विषयमा कार्यगत एकता हुन सक्छ । लिम्पियाधुरा, लिपुलेकसहितको नक्सा पारित गर्दा माकेसँग मात्र होइन; एमाले–काँग्रेससँग पनि हाम्रो ऐक्यवद्धता थियो । यदि उनीहरूले राष्ट्रिय हितमा काम गर्छन् भने त्यो हदसम्म हाम्रो ऐक्यवद्धता, कार्यगत एकता हुन सक्दछ । जहाँसम्म पार्टी एकताको कुरा हो, एमाले त समाजवाद विरोधी, एकाधिकार दलाल पुँजीवादी, परिवर्तन विरोधी, प्रतिक्रियावादी र वित्तीय माफियाहरूको पार्टी भएको कारण ती साम्राज्यवादपरस्त, पुँजीवादपरस्त नीति कायम राखुञ्जेलसम्म हाम्रो एकताको कुनै सम्भावना छैन ।
जहाँसम्म प्रचण्डको कुरा छ– जनयुद्धको नेतृत्व गरेको, नेपालमा गणतन्त्र स्थापना गरेको र बोलीमा वैज्ञानिक समाजवादको वकालत गरिरहेको नेता हुनुको कारण सिद्धान्ततः मानिस क्रियाशील हुँदासम्म माथि देखिएका समस्याबाट आफूलाई सच्याउने सम्भावना रहन्छ । हिजोका क्रान्तिकारी विरासतलाई मनन गरेर क्रान्तिकारी वैज्ञानिक समाजवादको बाटोमा फर्किने हो भने प्रचण्डसित हाम्रो पार्टीको एकता सम्भव छ ।
तपाईंहरूले अगाडि सारेको स्वाधीन संयुक्त सरकारको कार्यनितिले तपाईंहरूको गन्तव्य पनि संसदीय व्यवस्था नै हो भन्ने आरोप छ नि ?
स्वाधीन संयुक्त सरकारको कार्यनीति वैज्ञानिक समाजवादमा पुग्नका लागि क्रान्तिकारी कार्यनीति हो । हामीले भनेका छौँ, यदि स्वाधीन संयुक्त सरकामा भएका राजनीतिक, आर्थिक, सामाजिक अन्तरवस्तुलाई अहिलेको पुँजीवादी व्यवस्थाले अपनाउने हो भने यसका ९०% समस्या समाधान हुन्छन् । हामीले आन्दोलनका लागि आन्दोलन होइन, देशको राजनीतिक समाधानका लागि आन्दोलन सोचेका हौँ । हाम्रो आन्दोलन पुँजीवादको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि हो । अहिलेको पुँजीवादी सत्ताभित्रको मुख्य समस्या राजनीतिक अस्थिरता हो, जसको कारण यहाँ संस्थागत भ्रष्टाचार हुने गरेको छ ।
शासकहरूमा नैतिक स्खलनको सीमा छैन । वित्तीय एकाधिकारवादी माफियाले औपचारिक रूपमै जनप्रतिनिधिलाई विस्थापित गरेका छन् । उनका प्रतिनिधि र स्वयम् वित्तीय माफिया नै सरकारमा छन् । जनप्रतिनिधि सत्तामा हिस्सेदारी गर्ने अवस्था छैन । भ्रष्टाचारमा सहभागी हुन नचाहने मजदुर, किसान, सर्वहारालगायत जनता संसदवादी प्रतिनिधिहरूको आवाजको कुनै औचित्य छैन । यो अवस्थामा हामीले राजनीतिक स्थिरता, सामाजिक रूपान्तरण शान्ति, समृद्धि, स्वाधीनताको जुन बाटो देखाएका छौँ, यसको कार्यान्वयन गर्ने हो भने देशलाई वैज्ञानिक समाजवादको बाटोमा लैजान सकिन्छ । हामीले भनेको स्वाधीन संयुक्त सरकार कतिपय मानिसमा भ्रम परे जस्तो संसदवादी कार्यनीति होइन; यो क्रान्तिकारी कार्यनीति हो, जसले नेपालमा वैज्ञानिक समाजवादी क्रान्तिको ढोका खोल्नेछ ।
संसदीय पार्टीहरू पनि समाजवाद भनिरहेका छन्, उनीहरूले भन्ने गरेको समाजवाद र तपाईंहरूले भन्ने गरेको वैज्ञानिक समाजवादमा के फरक छ ?
काँग्रेस, माओवादी केन्द्र, नेमकिपालगायतका संसदवादी पार्टीहरूले समाजवाद भन्ने गरेका छन् । उनीहरूले भन्ने गरेको समाजवाद भारतको जवाहरलाल नेहरु, डा. अम्बेडकर, इटालीका फिलिप्पो तुराती, अल्बानियाका एन्वर होग्जा, रुमानियाका चाउचेस्कुले भन्ने गरे जस्तै हो । त्यो समाजवाद दलाल पुँजीवादी वर्गका लागि समाजवाद र समस्त जनताका लागि फासिवाद हो । तर, हामीले भनेको समाजवाद पूर्ण लोकतन्त्र हो, जुन जनताका लागि हो । लेनिनले भन्नुभएको थियो– समाजवाद भनेको बुर्जुवा लोकतन्त्रभन्दा दशौँ लाख गुणा राम्रो लोकतन्त्र हो । नेपालमा अहिले राजावादी समाजवाद, पुँजीवादी समाजवाद, वित्तीय पुँजीवादी समाजवाद जस्ता अनेक प्रकारका समाजवादका तर्क चल्दै आएका छन् । तर, हामीले प्राप्त गर्न सङ्घर्ष गरेको समाजवाद भनेको वैज्ञानिक समाजवाद हो ।
सत्ताबाहिर रहेका विप्लव र आहुति नेतृत्वको पार्टीहरूले पनि वैज्ञानिक समाजवादी क्रान्ति नै भनिरहेका छन्, भविष्यमा उनीहरूसँग तपाईंको पार्टीको एकता वा कार्यगत एकता हुने सम्भावना छ ?
यो कुरा यी पार्टीहरूले भविष्यमा खेल्ने भूमिकाका आधारमा यो निर्क्यौल हुने कुरा हो । जहाँसम्म विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी हो, त्यो अहिले घाँटीसम्म संसदवादमा डुबिसकेको छ, अब टुप्पीसम्म डुब्न धेरै समय लाग्नेछैन, एउटा चुनावभन्दा धेरै पर्खिनुपर्ने छैन । आहुतिले नेतृत्व गरेको पार्टीसँग धेरै विषयमा छलफलको आवश्यकता छ । वैज्ञानिक समाजवादी पार्टी नेपालले संसदवाद नमान्ने र वैज्ञानिक समाजवादको बाटोबाट अगाडि बढ्ने भनेको छ, त्यसमा कसरी भन्ने प्रश्न आउँछ, त्यहाँ प्रशस्त्र सुधारवाद, स्वस्फुर्ततावाद, कल्पनावाद देखा पर्छ । यो अवस्थामा आहुति नेतृत्वको पार्टीसँग विभिन्न विषयमा कार्यगत एकता सहज रूपमा हुन सक्दछ ।
तपाईंंहरू अहिले नवाँै महाधिवेशनमा हुनुहुन्छ, यो महाधिवेशनले तय गर्ने नीति, कार्यक्रमले अहिलेको सङ्कटग्रस्त दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्प दिन सक्ने आधार के हुन् ?
नेपालमा वैकल्पिक व्यवस्थाका प्रशस्त आधार छन् । पहिलो, अहिलेको दलाल पुँजीवादी संसदीय व्यवस्थाले नेपाली जनताका वास्तविक समस्या समाधान दिन सक्दैन । दोस्रो, नेपालको दलाल पुँजीवादी सत्ता सम्पूर्ण रूपमा एकाधिकारवादी वित्तीय पुँजीपतिको हातमा केन्द्रित भएको छ, सङ्ख्यात्मक रूपमा जो करिब दुई दर्जन घरानियाँको हातमा केन्द्रित छ । तेस्रो, संसदवादी पार्टीहरू स्वयम् अहिलेको संविधानबाट नचल्ने भएपछि संविधान संशोधनमा लागेका छन् ।
त्यस प्रकारको संशोधन जनताको पक्षमा नभएर वित्तीय एकाधिकारवादी दलाल पुँजीपति वर्गको तानाशाही अधिनायकत्व लाद्नका लागि कोसिस हुँदै छ । चौथो, नेपाली सर्वहारा, श्रमजीवी र उत्पीडित जनता पुरानो राज्य व्यवस्थामा रहन नसक्ने अवस्थामा पुगिसकेका छन् । पाँचौँ, हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले अहिलेको राजनीतिक समस्याको समाधान र त्यसको स्थानमा वैज्ञानिक समाजवादी सत्ताको स्थापनाको स्पष्ट विकल्प पेस गरेको छ । यिनै पाँच कुरा संसदीय व्यवस्थाको विकल्प दिने आधार हुन् ।
महाधिवेशनमा प्रस्तावित कार्यदिशाबारे सङ्क्षेपमा बताइदिनुहुन्छ कि ?
हाम्रो पार्टीको केन्द्रीय समितिको टिमले सामूहिक छलफल, बहसको प्रक्रियाबाट हाम्रा बुझाइलाई गहिराइमा पुर्याउने, तमाम तथ्यलाई सतहमा ल्याउने काम गरेको छ । निम्न दश बुँदामा हाम्रो दस्तावेजलाई सङ्क्षेपीकरण गर्न सकिन्छ : एक– मार्क्सवाद–लेनिनवाद–माओवादलाई पकड्ने र लागू गर्ने प्रश्नमा सैद्धान्तिक, राजनीतिक, सङ्गठनात्मक र वर्गसङ्घर्षको पुनर्गठन तथा सांस्कृतिक रूपान्तरणको आवश्यकता, दोस्रो– अहिलेको ठोस परिस्थितिमा नेपालको न्यूनतम राजनीतिक कार्यक्रम वैज्ञानिक समाजवाद र त्यसको प्राप्तिका लागि जनसङ्घर्ष, जनप्रतिरोध र जनविद्रोहको सामरिक रणनीति, तेस्रो– वैज्ञानिक समाजवादी कार्यक्रमका लागि कार्यनीति स्वाधीन संयुक्त सरकार, चौथो– नेपालमा लामो समयदेखि अछुत बनाइएका जातहरूको वास्तविक मुक्तिको निम्ति जात व्यवस्थाको उन्मूलन र सामाजिक सम्मानसहित राजनीतिक, आर्थिक, सांस्कृतिक रूपान्तरण, पाँचौँ– आन्तरिक राष्ट्रियताको पूर्णमुक्ति र अधिकारका लागि आत्मनिर्णयको अधिकार र सङ्घीयतासहितको स्वायत्त क्षेत्र, छैटौँ– राजनीतिक, आर्थिक र सांस्कृतिक दमनमा परेका महिलाको पूर्णमुक्तिका लागि सम्पत्ति र सन्तानमाथि सम्पूर्ण अधिकार, सातौँ– अन्तर्राष्ट्रिय अन्तरविरोधमा साम्राज्यवाद र विश्वका सर्वहारा, श्रमिक वर्ग र उत्पीडित जनताको बिच प्रधान अन्तरविरोध, आठौँ– समाजवादी सत्तामा सर्वहारा वर्गको नेतृत्वमा सर्वहारा वर्ग र श्रमिकहरूको अधिनायकत्व, नवौँ– आजको युग भूमण्डलीकृत साम्राज्यवाद र साम्यवादतर्फको यात्राको युग र, दशौँ– मार्क्सवाद–लेनिनवाद–माओवाद तथा द्वन्द्वात्मक भौतिकवादको बुझाइमा प्रस्टताका लागि नयाँ दार्शनिक बहस यो महाधिवेशनका प्रमुख विषय हुन् । २००६ सालमा पार्टी स्थापनादेखि यहाँसम्म आउँदा जति क्रान्तिकारी दस्तावेज लेखिएका छन्, त्यसको हामी अपनत्व लिन्छौँ । त्यसमा भएका विश्लेषणलाई हामी ग्रहण गर्छौं र लागू गर्छौं ।
अन्तर्राष्ट्रिय परिस्थिति र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दालनलाई कसरी विश्लेषण गर्नुभएको छ, महाधिवेशनको अवसरमा केही बताई दिनुहुन्छ कि ?
विश्वमा लेनिनको समयदेखि तीन प्रकारका अन्तरविरोध, स्तालिन र माओको समयमा ४ प्रकारका अन्तरविरोध, चीनमा प्रतिक्रान्ति र पुँजीवादको स्थापनापछि तीन प्रकारका अन्तरविरोधको व्याख्या हुँदै आएको थियो । लेनिनको समयमा भएका अन्तरविरोधमा साम्राज्यवादी मुलुकहरूबिचको आपसी अन्तरविरोध, पुँजीवादी साम्राज्यवादी देशहरूमा सवहारा वर्ग र पुँजीपतिबिचको अन्तरविरोध र साम्राज्यवाद र उत्पीडित राष्ट्र र जनताबिचको अन्तरविरोध रहेको थियो । रुसमा समाजवाद स्थापना भएपछि माथि भनिएका अन्तरविरोधसहित साम्राज्यवाद र समाजवादबिचको अन्तरविरोध थपियो र ४ प्रकारका आधारभूत अन्तरविरोध भनियो ।
यो अवस्था स्तालिन र माओको समयसम्म रह्यो । चीनमा समाजवादका विरुद्ध प्रतिक्रान्ति भएपछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पुनः पहिलेका ३ प्रकारका अन्तरविरोधको अवस्था बन्यो, जसमा साम्राज्यवाद र उत्पीडित जनताका बिचको अन्तरविरोध प्रधान थियो ।
हामीले अन्तर्राष्ट्रिय परिस्थितिलाई गहिराइमा बुझ्ने प्रयास गरेका छौँ । अहिलेको वास्तविक अन्तर्राष्ट्रिय परिस्थितिलाई सही प्रकारले प्रस्तुत गर्ने कोसिस गरेका छौँ । हाम्रो विश्लेषणमा लेनिनले जुन कारणले साम्राज्यवाद र उत्पीडित राष्ट्र र जनताबिचको अन्तरविरोध भन्नुभएको थियो, दोस्रो विश्वयुद्धको समाप्ति, विश्वका प्रायः सबै औपनिवेशिक देशबाट साम्राज्यवादको फिर्ती, विश्वका अधिकांश देशमा राष्ट्रिय मुक्ति आन्दोलनको समाप्ति र विश्वमा साम्राज्यवादी प्रत्यक्ष उपनिवेशको अन्त्यसँगै नवऔनिवेशिक युगको सुरुआतको पृष्ठभूमिमा साम्राज्यवाद र उत्पीडित राष्ट्रका बिचको अन्तरविरोध रहेन ।
लेनिनको समयमा उत्पीडित राष्ट्रको तात्पर्य उपनिवेश बनाइएको देश थियो । जनताको तात्पर्य त्यस देशभित्र रहेका जाति, जनजाति, जनसमुदाय, सम्प्रदाय आदि थिए । तर, साम्राज्यवादी उपनिवेशको अन्त्यसँगै राष्ट्रिय मुक्ति आन्दोलन पनि समाप्त भयो । उत्पीडित देशहरूमा जनवादी क्रान्तिको युग पनि समाप्त भयो ।
अब त्यो अन्तरविरोध नवउपनिवेशमार्फत सामन्ती होस् या पुँजीवादी; जे चरित्रको भए पनि साम्राज्यवादले आफ्नो प्रतिनिधि बनायो । त्यहाँका जनतामाथि शोषण–उत्पीडन गर्न थाल्यो । यस प्रकारको शोषण साम्राज्यवाद र त्यो देशको शासक वर्ग भएर ती जनतामाथि हुने भयो; जसको परिणाम उत्पीडित देशहरूको साम्राज्यवादी देशहरूसँग आधारभूत अन्तरविरोध रहे पनि प्रमुख अन्तरविरोध त्यहाँका जनतासँग नै रहने भयो । अहिलेको विश्वमा यो अन्तरविरोध विकास भएको छ । यस कारण अहिलेको विश्वमा साम्राज्यवादी देशहरूबिचको आपसी अन्तरविरोध, साम्राज्यवाद र उत्पीडित देशहरूबिचको अन्तरविरोध, साम्राज्यवादी देशहरूमा पुँजीपति वर्ग र सर्वहाराबिचको अन्तरविरोध र साम्राज्यवाद र विश्वमा सर्वहारा र उपीडित जनताको बिचको अन्तरविरोध आधारभूत अन्तरविरोध रहने अवस्था बन्यो । यो अहिलेको विश्वको नयाँ चरित्र हो ।
अहिले विज्ञान र प्रविधिमाथिको नियन्त्रणमार्फत साम्राज्यवादले वित्तीय पुँजीको केन्द्रीकरण व्यक्तिमा हुने बनाएको छ । अठारौँ शताब्दीमा, जति बेला जमिन धनको मूल स्रोत थियो, सम्पत्ति प्रायः सामुदायिक हुने गर्थ्यो । उन्नाइसौँ शताब्दीमा जति बेला धनको स्रोत मूलरूपमा उद्योग हुने गरेको थियो, पुँजीवादले त्यसलाई कार्टेल र सिन्डीकेटमार्फत केही व्यक्तिको समूहमा केन्द्रित गर्यो ।
बीसौँ शताब्दीमा जति बेला वित्तीय धन–सम्पत्तिको मूल स्रोत हुने गरेको थियो । त्यो मुठ्ठीभर एकाधिकारवादी मानिसहरूको कर्पोरेटको नियन्त्रणमा रहने भयो । अहिले एक्काईसौँ शताब्दीमा जति बेला धनको मुख्य स्रोत एआई हुने गरेको छ, त्यसले सम्पत्तिलाई निश्चित व्यक्तिमा केन्द्रित गर्दै लगेको छ । यही कारण अहिले विश्वका करिब १०० जना धनाढ्य मानिसहरूको सम्पत्ति विश्वका आधा जनसङ्ख्याको कुल गार्हस्थ उत्पादनको दुईगुणा बढी रहेको तथ्याङ्क आइरहेका छन्, जुन विश्वको आर्थिक प्रणाली विष्फोटक अवस्था हो ।
अहिले विज्ञान र प्रविधिको विकास, मानिसहरूको वैश्विक अन्तरघुलन, प्रचुर उत्पादन गर्न सक्ने क्षमताको विकास, विश्वलाई सेकेन्डभित्र जोड्ने सञ्चार विधि, विश्वलाई केही घन्टाभित्र जोड्न सक्ने यातायातको व्यवस्था आदि कारणले मानव जातिका लागि साम्यवादको आधार तयार भएको छ । विश्वको कुनै पनि देशमा समाजवादी सत्ता स्थापना हुने हो भने, त्यसको दावानल विश्वभर फैलिने सम्भावना प्रवल छ । यो अहिलेको विश्वको चरित्र हो । जहाँसम्म अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको कुरा छ, यति बेला नयाँ प्रकारको क्रान्तिकारी लहरको आवश्यकता छ ।
त्यसका लागि विश्वका कम्युनिस्टहरूले आ–आफ्नो देशमा क्रान्तिको तयारी गर्ने र विश्वलाई साम्यवादी समाजका लागि तयार रहन अपिल गर्दै साम्राज्यवादका विरुद्ध सङ्घर्ष गर्न आवश्यक छ, कम्युनिस्ट अन्तर्राष्ट्रिय/साम्यवादी अन्तर्राष्ट्रियको गठन गर्ने दिशातिर अगाडि बढ्नुपर्नेछ ।
पछिल्लो समयमा विश्व राजनीतिमा थुप्रै घटना घटेका छन्, विश्व राजनितिलाई कसरी नियालिरहनुभएको छ ?
पुँजीवाद भनेको निरन्तर सङ्कट हो । पुँजीवादी पुँजीभित्रको अन्तर्निहित चरित्र परजीवी, एकाधिकारवादी र पतनोन्मुख हुन्छ । त्यसले समाजमा सधैँभरि सङ्कट ल्याउने गर्छ । अन्ततः पुँजीवाद भनेको साम्राज्यवाद हो र साम्राज्यवाद भनेको युद्ध हो । आजको दिनमा पुँजीवादले आफ्नो आयु लम्ब्याउन उदारवाद, नवउदारवाद, संरचनागत समायोजनलगायत अनेक उपाय अपनाउँदै आयो । तर, त्यो एकपछि अर्को गरी निरन्तर सङ्कटमा पर्दै गएको छ ।
अमेरिका र रुस अप्रत्यक्ष युद्ध (छद्म युद्ध) मा छन् । रुस युक्रेन, इजरेल प्यालेस्टाइन, इजरेल यमन प्रत्यक्ष युद्धमा छन् । त्यस्तै, टर्की सिरिया अप्रत्यक्ष युद्धमा छन् तर टर्कीले निर्माण गरेका हेज्बुल्ला र सिरिया सरकारको बिचको युद्धले बसर अल असदको सरकार पतन भइसकेको छ । बङ्गलादेश र सिरियाका सरकार प्रमुख अपदस्त भएका छन् । यो पुँजीवादी सङ्कट हो । यसको केन्द्रमा अमेरिकी साम्राज्यवाद रहेको छ ।
त्यसको परिधिमा दलाल पुँजीवादी शासक रहेका छन् । अमेरिकी साम्राज्यवादको एकाधिकारवादी पुँजी परजीवी छ । दलाल पुँजीवादी शासकहरूको पुँजी परमुखापेक्षी बन्न विवश छ । वित्तीय पुँजीको अति–केन्द्रीकरण र वैश्विक लुटका लागि परिचालन, आधुनिक विज्ञान र प्रविधिले बनेका उत्पादनका साधनमा साम्राज्यवादी नियन्त्रण, अत्याधुनिक प्रकारका हतियार र वित्तीय कुलीनहरूको रक्षाका लागि बनेका आधुनिक सैन्य शक्तिको आडमा विश्वका जनतामाथि उत्पीडन गरेर अकुत सम्पत्ति कमाउने साम्राज्यवादी अमेरिकाको कारण नै विश्वमा अस्थिरता पैदा भएको छ । चीन, भारत, इरानलगायतका देश युद्ध रोक्न या पछि धकेल्न प्रयत्नरत देखिए पनि अमेरीकी साम्राज्यवादले सबै देशलाई विनासक युद्धमा धकेल्न खोजिरहेको छ ।
अहिलेको युद्धमा एकातिर अमेरिकालगायत ३२ नाटो देशहरू रुसका विरुद्ध लडिरहेका छन् भने अर्कोतिर इरान, जनवादी कोरिया, चीनलगायतका १० भन्दा बढी देशहरू रुसको पक्षमा उभिएका छन् । अर्कोतिर अमेरिकी योजना र निर्देशनमा इजरेलले मध्यपूर्वमा राज्य आतङ्क मच्चाइरहेको छ । एक–एक गरी मध्यपूर्वका दलाल पुँजीवादको आवरणमा रहेका सामन्ती राजाहरूलाई निल्दै गइरहेको छ ।
अहिले नाभिकीय आणविक हतियार प्रयोग नभएको विश्वयुद्ध चलिरहेको छ । अमेरिकी साम्राज्यवाद नाभिकीय आणविक युद्ध होस् र त्यो युद्ध मूलतः चीनका विरुद्ध लक्षित गर्न सकियोस् भन्नेमा छ । अमेरिकी रंगभेद नीतिले भित्री रूपमा काम गरिरहेको छ, जसको मुख्य मक्सद युरोपेली रंगको रुसलाई नाटोमा मिलाउने र चीन, फिलिपिन्स, भारतलगायत एसिया, अफ्रिकामाथि औपनिवेशिक ताण्डव मच्चाउनु रहेको छ । तर, रुसविरुद्ध युद्ध गर्नुपर्ने अवस्था आयो र यो युद्ध अमेरिका र रुसका बिचमा आणविक युद्धमा बदलिने खतरा पैदा भइरहेको छ । ट्रम्पले भनिसकेका छन्– अब क्यानडा, आईसल्यान्ड र पानामा अमेरिकी राज्य हुनेछन् । ती सबै सार्वभौम देशहरूमा अमेरिकी गभर्नर नियुक्त गरिनेछन् ।
ती देशका प्रधानमन्त्रीलाई अमेरिकी सरकारको गभर्नरमा परिणत गरिनेछ । त्यहाँको सरकार र जनताले त्यसो गर्न नमानेको अवस्थामा सैनिक कारबाही गरी अमेरिकी उपनिवेश बनाइनेछ, किनकि अमेरिकालाई रुसभन्दा ठूलो बन्नु छ, रुसलाई नाटोमा गाभ्नु छ, चीन र भारतमाथि आक्रमण गर्नु छ ।
पुँजीवादी साम्राज्यवादको यो विनासक योजनाविरुद्ध विश्वका जनता प्रतिरोधमा खडा हुँदै आएका छन् । पुँजीवादी एकाधिकारवाद, पुँजीवादी परजीवीवाद, पुँजीवादी पतनवादविरुद्ध विकसित देशमै मानिसहरू प्रतिरोधमा उत्रिरहेका छन् । युरोप र अमेरिकामा त्यहाँका जनता साम्राज्यवादी युद्धका विरुद्ध उठ्दै छन् । विश्वभरका मानिसले नयाँ विश्व व्यवस्थाको माग गरिरहेका छन् । त्यो नयाँ विश्व व्यवस्था भनेको वैज्ञानिक समाजवाद हो, साम्यवादी व्यवस्था हो ।
तेस्रो अन्तर्राष्ट्रियको विघटनपश्चात् अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन रक्षात्मक चरणमा पुगेको छ, कारण के होलान् ?
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई एकपछि अर्को गर्दै रक्षात्मक चरणमा गएको भन्ने गरिएको छ, यो संश्लेषण यथार्थसँग मेल खाँदैन । रक्षात्मक अवस्थामा त पुँजीवादी साम्राज्यवाद गइरहेको छ । संसारभर अमेरिकी साम्राज्यवादका विरुद्ध विरोध भइरहेको छ । उसका विरुद्ध दक्षिण अमेरिका, युरोप, एसिया, अफ्रिकाभरि तीब्र विरोध भइरहेको छ । वस्तुगत हिसाबले अहिले साम्राज्यवाद पतनको सँघारमा छ, मरणासन्न अवस्थामा छ र विश्वमा नयाँ युगको सुरुआत हुने अवस्थामा छ । त्यो नयाँ युग भनेको वैज्ञानिक समाजवाद, साम्यवादको युग हो ।
कम्युनिस्ट आन्दोलन विकास नहुनुमा कैयौँ कारण छन् । उन्नाईसौँ शताब्दीमा युरोपमा पुँजीवादी आर्थिक आधार र सामन्तवादी उपरिसंरचनाका बिचको अन्तरविरोधले त्यहाँ पुँजीवादी क्रान्ति भए । त्यहाँका क्रान्तिकारी आन्दोलनले विश्वभर औपनिवेशिक देशहरूमा आन्दोलन भए । त्यसले मार्क्सवादको जन्म दियो । पेरिस कम्युनले सर्वहारा वर्गको सत्तालाई जन्मायो । प्रथम विश्वयुद्धले रुसमा समाजवाद स्थापना भयो ।
दोस्रो विश्वयुद्धमा रुसको विजयले विश्वका प्रायः सबै देशबाट उपनिवेशको अन्त्य भयो । यसमा स्तालिनको अतुलनीय योगदान रह्यो । दोस्रो विश्वयुद्धले चीनमा समाजवाद स्थापना भयो । माओले भन्नुभएको थियो– आगामी ५० देखि १०० वर्षहरू समाजवादी सत्ता स्थापनाको लहरका वर्ष हुनेछन् । माओले चिनियाँ भाषामा भन्नुभएको थियो– पीनईङ तोङफेङ याताओ चिफेङ अर्थात् पूर्वीय तुफान अब पश्चिमी तुफानमाथि हावी हुनेछ ।
आउने ५० देखि १०० वर्षमा अथवा १९५० को दशकबाट २००० देखि २०५० सम्म पश्चिमबाट पूर्व सरेको समाजवादको तुफान पुनः पूर्वबाट पश्चिमी पुँजीवादमाथि हावी हुनेछ । त्यो समाजवादमा बदलिनेछ । माओको यो विश्लेषण यति जीवन्त छ कि अहिलेको विश्व साँच्चिकै त्यो दिशामा गइरहेको छैन त ? चीनमा तेङ सियाओ पिङको नेतृत्वमा प्रतिक्रान्ति हुँदैनथ्यो भने भारतलगायत दक्षिण एसिया, मध्य–पूर्व, पूर्वी–एसिया र अफ्रिकी देशहरूमा अहिलेसम्म समाजवाद स्थापना भइसकेको हुन्थ्यो ।
पहिले रुसमा खु्रश्चेभको नेतृत्वमा र पछि चीनमा ह्वाकोफेङ, तेङसियाओ पीङको नेतृत्वमा भएको प्रतिक्रान्तिले समाजवादी आन्दोलनका विरुद्ध निर्मम प्रहार गरेको थियो, जसलाई लिएर समाजवाद रक्षात्मक भएको हौवा पिटियो । तर, अहिले स्थिति बदलिएको छ । जसरी उन्निसौँ शताब्दीमा युरोपेली विकसित देशहरूमा सामन्ती उपरिसंरचना र पुँजीवादी आर्थिक आधारका बिचमा अन्तरविरोध चलेको थियो; त्यो अन्तरविरोधले विश्वमा उपनिवेशको अन्त्य र समाजवादको तुफान चलेको थियो ।
अहिले पुँजीवादी साम्राज्यवादी उपरिसंरचना र वैज्ञानिक समाजवादी आर्थिक आधारका बिचको अन्तरविरोध विष्फोटक अवस्थामा छ । संसारभर जति पनि पुँजीको उत्पादन भएको छ, अत्याधुनिक उत्पादनका साधन उत्पादन गरिएका छन्; ती सबै सामूहिक उत्पादनको प्रक्रियामा भएका छन् । तर, त्यसको नियन्त्रण मुठ्ठीभर एकाधिकारवादी व्यक्तिहरूको हातमा केन्द्रित छ ।
अब, विश्वका सर्वहारा वर्गले अहिलेको पुँजीवादी उत्पादन सम्बन्ध अन्त्य गरी नयाँ उत्पादन सम्बन्ध स्थापना गर्ने हो भने त्यो वैज्ञानिक समाजवाद हुनेछ । यति बेला संसारभरका क्रान्तिकारीहरूले मार्क्स, एङ्गेल्स र लेनिनले जसरी पहिलो, दोस्रो र तेस्रो अन्तर्राष्ट्रिय निर्माण गरी क्रान्तिकारी आन्दोलनमा विश्वका जनतालाई एकताबद्ध गर्ने काम गर्नुभएको थियो; त्यसै गरी विश्वभर चलेको क्रान्तिकारी आन्दोलनलाई सर्वहारा वर्गको अधिनायकत्वमा बदल्न नयाँ समाजवादी अन्तर्राष्ट्रियको निर्माण गर्न आवश्यक रहेको छ ।
यसर्थ, अहिले विश्वमा समाजवादी आन्दोलन रक्षात्मक चरणमा होइन, आक्रामक अवस्थामा छ । क्रान्तिकारी तुफान अहिले पूर्व र पश्चिममा होइन, संसारभर मडारिएको छ । विश्वको कुनै एक ठाउँमा समाजवादी विष्फोट हुने हो भने त्यो क्यालिफोर्नियाको डँडेलोझैँ फैलिनेछ ।
प्रतिक्रिया