• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तर्वार्ता

    परिवर्तनका उपलब्धिहरू जोगाएर स्थायित्व र विकासतर्फ केन्द्रित हुन जरुरी छ: कृष्णगोपाल श्रेष्ठ

    92
    SHARES



    प्रतिनिधिसभा सदस्य एवं एमाले नेता कृष्णगोपाल श्रेष्ठसँगले संविधान संशोधनमा सबै राजनीतिक दलको सहमति हुनुपर्ने आवश्यकता औँल्याएका छन् । सबै जनताका सुझाव र आवश्यकताका आधारमा मात्र संविधानमा संशोधन गर्नुपर्ने उनको भनाइ छ । अहिलेको आवश्यकता संवाद र सहमतिबाट संविधान संशोधन गर्नु भएको उनको भनाई छ । अन्तर्वार्ताको सम्पादिन अंशः

    हालका दिनमा के काममा केन्द्रित हुनुहुन्छ ?
    पार्टीका जिम्मेवारीहरूसँगै म प्रतिनिधिसभा सदस्यको हैसियतले कानुन निर्माणको काममा सक्रिय छु। साथै, काठमाडौं–९ का जनताको समस्या संसद्मार्फत सरकारसम्म पुर्‍याउने र समाधान खोज्ने प्रयासमा छु। जनताको विश्वासको मत पाएकोले उनीहरूको जीवनस्तर सुधार गर्ने कार्यमै केन्द्रित छु।

    हालको संसदीय अभ्यासलाई कस्तो देख्नुभएको छ ?
    संसद् संवैधानिक निकाय हो र सभामुखको नेतृत्वमा प्रक्रिया अनुसार सञ्चालन भइरहेको छ। तर, हाम्रो प्रणालीले पूर्ण स्थायित्व दिन सकिरहेको छैन। कुनै पार्टीको स्पष्ट बहुमत नहुँदा सरकार गठबन्धनमा भर पर्नुपरेको अवस्था छ।

    अहिलेको राजनीतिक स्थायित्व र अस्थिरताको कारण के हो त ?
    २०४७ सालपछिका अधिकांश सरकारहरू गठबन्धनकै आधारमा बनेका छन्। पूर्ण बहुमत नआउनु अस्थिरताको मूल जरा हो। स्थायित्वका लागि अब जनताले एउटै पार्टीलाई बहुमत दिनुपर्ने आवश्यकता छ। र, सबै दलले जनताप्रति इमान्दार भएर काम गर्नुपर्छ।

    संविधान संशोधनबारे तपाईंको धारणा के छ ?
    संविधान समयसापेक्ष भएर संशोधन गर्न सकिन्छ, तर त्यो सहमतिमा आधारित हुनुपर्छ। कांग्रेस–एमाले मिलेर पनि संशोधन सम्भव छ, तर समावेशी राष्ट्रका लागि सबै दलको सहमति अनिवार्य हुन्छ। संवाद, सहमति र दीर्घकालीन दृष्टिकोणले मात्र संविधानको सफल संशोधन सम्भव छ।

    संविधानको संशोधन किन आवश्यक देखिन्छ ?
    संविधान कार्यान्वयनका क्रममा केही संरचनात्मक तथा प्रक्रियागत कमजोरीहरू देखिएका छन्। प्रदेशको अधिकार, संघीय समन्वय, न्याय प्रणाली लगायतका विषयमा स्पष्टता आवश्यक छ। तिनै पक्ष सुधार गर्न संविधानमा आवश्यकतानुसार संशोधन गर्नुपर्छ।

    शिक्षा प्रणालीबारे तपाईंको मूल्याङ्कन के छ ?
    अस्थिर राजनीति शिक्षा क्षेत्रमा पनि असर परेको छ। मैले शिक्षामन्त्री हुँदा सुधार प्रयास गरेको थिएँ, तर राजनीतिक कारणले निरन्तरता दिन सकिएन। गुणस्तरीय र रोजगारीमुखी शिक्षा दिन सके मात्र युवा विदेश जान बाध्य हुने अवस्था अन्त्य हुन्छ।

    युवाशक्तिको व्यवस्थापन कसरी गर्न सकिन्छ ?
    युवालाई देशमै अवसर दिनुपर्छ। शिक्षा र सीपअनुसार रोजगारी सुनिश्चित गर्न सकियो भने उनीहरूलाई विदेश पलायन हुन जरुरत पर्दैन। भाषणले होइन, व्यवहारिक कार्यक्रममार्फत परिवर्तन ल्याउनु जरुरी छ।

    संघीयताको सफल कार्यान्वयनका लागि के गर्नुपर्छ ?
    संघीयता आफैंमा खराब होइन, यसको सञ्चालन गर्ने व्यक्तिको भूमिका निर्णायक हुन्छ। अधिकारको स्पष्ट बाँडफाँट, स्थानीय तहलाई स्वतन्त्रता, र तीनै तहबीच समन्वय आवश्यक छ। पञ्चायत, बहुदल वा गणतन्त्र जुनसुकै प्रणाली होस्, व्यवस्थाको सफलताको मापदण्ड इमान्दार कार्यान्वयन हो।

    अहिलेको गठबन्धन सरकारलाई तपाईं कसरी हेर्नुहुन्छ ?
    अहिलेको सरकार दुई प्रमुख दलहरूको सहकार्यमा बनेको हो, जुन राष्ट्रका लागि अवसर पनि हो। तर, यस्ता सरकारहरू दीर्घकालीन नहुन सक्छन्। त्यसैले संस्थागत स्थायित्वका लागि प्रणालीगत सुधार आवश्यक छ।

    अन्त्यमा, जनताप्रति तपाईंको सन्देश के छ ?
    परिवर्तनका उपलब्धिहरूलाई जोगाएर अब स्थायित्व र विकासतर्फ केन्द्रित हुन जरुरी छ। जनताले विश्वास गरेका नेताहरूले परिणाममुखी काम गर्नुपर्छ। देशभित्रै अवसर सिर्जना गरी जनताको अपेक्षालाई सम्बोधन गर्न सबै राजनीतिक शक्तिहरू प्रतिबद्ध हुनु आवश्यक छ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ