काठमाडौँ । अघिल्लो दिन ६२ अंकले बढेको सेयर बजार बुधबार ५ अंकले घटेको छ । सो अंकको कमीपछि नेप्से परिसूचक २५६६ अंकमा स्थिर भएको छ ।
कारोबारका क्रममा नेप्से सूचक दिउँसो ११:४६ र १२:२१ बजे २६ सय अंक नाघे पनि टिक्न नसकेको थियो । सूचक घटे पनि बजारमा कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज कारोबार रकम बढेर ५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।
आज ८५ कम्पनीको मूल्य बढ्दा १५९ कम्पनीको घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो । समूहगत सूचक हेर्दा होटल तथा पर्यटन समूह २.१५ प्रतिशत, व्यापार समूह २ प्रतिशत, र हाइड्रोपावर समूह ०.०१ प्रतिशतले वृद्धि देखाए ।
त्यस्तै अन्य समूह १.२० प्रतिशत, बैंकिङ ०.३४ प्रतिशत, विकास बैंक ०.९१ प्रतिशत, फाइनान्स ०.७७ प्रतिशत, लगानी ०.१७ प्रतिशत, जीवन बीमा ०.६४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२८ प्रतिशत र निर्जीवन बीमा ०.१९ प्रतिशतले गिरावट देखाए ।
कम्पनीगत रूपमा उपकार लघुवित्त र खानीखोला हाइड्रोपावर का सेयर मूल्य १० प्रतिशतले बढे । त्यसैगरी मानुषी लघुवित्त (९.९१ प्रतिशत), हिमालयन पावर पार्टनर (८.७४ प्रतिशत) र आशा लघुवित्त (७.६८ प्रतिशत) का मूल्यमा पनि उल्लेखनीय वृद्धि भयो ।
त्यसैबीच, पञ्चकन्या माइ हाइड्रोपावर र सिनर्जी पावर का मूल्य क्रमशः ३.६९ प्रतिशत र ३.२१ प्रतिशतले घटे । आज सबैभन्दा धेरै कारोबार भएका पाँच कम्पनीमा युनियन हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर कम्पनी, राधि विद्युत कम्पनी र हिमालयन रिइन्स्योरेन्स परेका छन् ।
प्रतिक्रिया