काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भए पनि स्पष्ट आधार र वैचारिक समानता बिना पार्टी एकता सम्भव नहुने बताएका छन्। बुधबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले पार्टी एकताका लागि पाँच स्पष्ट सर्त अघि सारेका हुन्।
‘कम्युनिस्ट एकता आजको आवश्यकता हो,’ अध्यक्ष नेपालले प्रतिवेदनमा भनेका छन्, ‘समाजवादी क्रान्ति सम्पन्न गर्न बलियो क्रान्तिकारी शक्तिको निर्माण अपरिहार्य छ, र त्यो यहाँका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूको एकताबाटै सम्भव छ।’ तर उनले जोड दिए, “एकता भावनात्मक वा अवसरवादी रूपमा होइन, वैचारिक, राजनीतिक र संगठनात्मक आधारमा हुनुपर्छ।”
नेपालका अनुसार पार्टी एकताको मुख्य सर्तहरू यसप्रकार छन् —
पार्टीको नाममा समान धारणा,
मार्गदर्शक सिद्धान्तमा स्पष्ट सहमति,
रणनीतिक लक्ष्यमा एकरूपता,
क्रान्तिकारी कार्यक्रम र कार्यदिशामा सहमति,
कार्यनीति र राजनीतिक संस्कृतिमा साम्य।
अध्यक्ष नेपालको भनाइमा, “यी महत्त्वपूर्ण सवालमा समानता नभई कसैसँग पनि पार्टी एकता हुन सक्दैन। समानता भएमा भने एकता गर्न नहुने कारण रहँदैन, ढिला गर्नु पनि गल्ती हुन्छ।” पार्टीले उक्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले छलफल गरेपछि अन्तिम निष्कर्ष निकाल्ने तयारी गरेको छ।
प्रतिक्रिया