काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ’ अभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्। बुधबार राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले आन्दोलन शान्तिपूर्ण तर सशक्त रूपमा सञ्चालन हुने बताए। उनका अनुसार मेचीदेखि महाकालीसम्मका सबै क्षेत्र समेटिने गरी अभियान सञ्चालन गरिनेछ।
प्रसाईंले मंसिर ७ गतेकै दिन दिल्लीमा नेपाली राजनीतिक दलहरू र माओवादीबीच भएको १२ बुँदे सम्झौताका कारण देश आजको अप्ठ्यारो अवस्थामा आइपुगेको जिकिर गर्दै त्यस दिनलाई आन्दोलनको प्रतीकात्मक सुरुवातका रूपमा लिएको स्पष्ट पारे।
उनले भने, “१२ बुँदे सम्झौताले देशलाई अधीनस्थ र कमजोर बनायो। त्यसकै प्रतिक्रियामा अब हामी राष्ट्रिय स्वाभिमानका लागि उठ्नेछौं।” आन्दोलनका क्रममा कुनै पनि पक्षबाट घुसपैठ वा हिंसात्मक गतिविधि भए त्यसको जिम्मेवारी अभियानले नलिने उनले प्रष्ट पारे।
जेन–जी आन्दोलनबारे पनि टिप्पणी गर्दै प्रसाईंले भने, “जेन–जी आन्दोलन हाइज्याक भएर विदेशी शक्तिको इशारामा सत्ता कब्जा गर्ने साधन बनेको छ। हाम्रो आन्दोलन त्यसको प्रतिवादका रूपमा स्वतन्त्र र राष्ट्रिय स्वाभिमानमा केन्द्रित हुनेछ।”
प्रतिक्रिया