काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले देशभर आन्दोलनरत नर्सहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।
उनका अनुसार हाल देशभर करिब डेढ लाख नर्सिङ सेवामा कार्यरत कर्मचारीहरू तोकिएको तलबमानभन्दा कम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता, असमान व्यवहार, स्टाफ अभाव, अस्थायी रोजगारी, सामाजिक सुरक्षाको कमी, कार्यस्थलमा असुरक्षा र विदेश पलायनजस्ता समस्याविरुद्ध विभिन्न चरणमा आन्दोलनरत छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य जारी गर्दै, प्रचण्डले लेखेका छन् -“नर्सहरूको सम्मान, सुरक्षाको ग्यारेन्टी र पेसागत अधिकार सुनिश्चितता नभई नेपालको जनस्वास्थ्य सेवा प्रणाली बलियो बन्न सक्दैन । त्यसैले हाम्रो पार्टी नर्सहरूका जायज मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्दछ।”
प्रचण्डले स्वास्थ्य सेवा प्रणालीलाई दिगो र प्रभावकारी बनाउन नर्सहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै, उनीहरूको श्रमको उचित मूल्यांकन र सुरक्षाको प्रत्याभूति गर्न राज्यले जिम्मेवारीपूर्वक कदम चाल्नुपर्ने पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया