काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका प्रतिनिधिहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेकी छिन्। प्रधानमन्त्री कार्यालयका अनुसार, आगामी सोमबारसम्म चार जना नयाँ मन्त्रीले शपथ ग्रहण गर्ने तयारी भइरहेको छ।
शुक्रबार साँझ प्राप्त जानकारीअनुसार मन्त्रीहरूको नाम टुंगो लागिसकेको छ। गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोम नयाँ मन्त्रीका रूपमा सिफारिस गरिएका छन्।
प्रधानमन्त्री कार्यालयका एक वरिष्ठ स्रोतका अनुसार, श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय, रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो। तर, प्रधानमन्त्री कार्कीले टासी ल्हाजोमको नाममा थप छलफल गरिरहेकी छिन्।
गणपतिलाल श्रेष्ठ — सम्पदाका अभियान्ता
गणपतिलाल श्रेष्ठ देशका ऐतिहासिक सम्पदाहरू जोगाउन निरन्तर अभियान चलाउँदै आएका व्यक्ति हुन्। भूकम्पपछिको पुनर्निर्माणका क्रममा रानीपोखरी, पशुपति क्षेत्र र बालगोपालेश्वर मन्दिरमा कंक्रीट प्रयोगको विरोध, साथै खुलामञ्चको व्यापारीकरणविरुद्धको आन्दोलनमा उनी सक्रिय रूपमा संलग्न थिए। श्रेष्ठले संस्कृतिलाई राष्ट्रिय पहिचानको मेरुदण्डका रूपमा बचाउनुपर्ने तर्क गर्दै आएका छन्।
बब्लु गुप्ता — युवा अभियन्तादेखि मन्त्रीसम्म
युवा अभियन्ता बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ। गुप्ताले कोभिड महामारीका बेला निःशुल्क खाना अभियान सञ्चालन गरे, साथै ‘कपडा बैंक’ स्थापना गरेर सडकमा बस्ने र विपन्न वर्गका मानिसहरूलाई सहयोग पुर्याए। उनले अहिले **‘हन्ड्रेड ग्रुप’**मार्फत ११० जना विद्यार्थीलाई निःशुल्क शिक्षा दिलाउँदै आएका छन्। युवाहरूबीच लोकप्रिय गुप्ता जेनजी आन्दोलनका अग्रणी युवाहरूमध्ये एक हुन्।
डा. रामजी राम — चमार समुदायबाट पहिलो डाक्टर
रौतहटका डा. रामजी रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। उनी आफ्नो समुदायका पहिलो डाक्टर हुन्। एमबीबीएस अध्ययनका क्रममा कलेजले अतिरिक्त शुल्क माग्दा उनले ठूलो संघर्षका बीच पढाइ पूरा गरेका थिए। डाक्टर बनेपछि उनले ग्रामीण क्षेत्रमा स्वास्थ्य अधिकार र समान पहुँचका लागि अभियान चलाएका थिए।
टासी ल्हाजोम — हिमाली जलवायु आवाज
हुम्लाको लिमि भ्याली, नाम्खा गाउँपालिकाकी टासी ल्हाजोमलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ। जलवायु परिवर्तन र महिला सशक्तीकरणका मुद्दामा सक्रिय टासीले दिल्ली विश्वविद्यालयको हिन्दु कलेजबाट स्नातक तहसम्म अध्ययन गरेकी हुन्। उनी गैर–सरकारी संस्थासँग काम गर्दै हिमाली क्षेत्रका समुदायमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावबारे जनचेतना फैलाउँदै आएकी छिन्।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा सक्रिय अन्य युवाहरूलाई पनि प्रधानमन्त्री सचिवालयमा विशेष सल्लाहकारका रूपमा समेट्ने तयारी गरेकी छिन्। गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको नेतृत्व कार्कीले २७ भदौमा सम्हालेकी थिइन्।
त्यसयता उनले दुईपटक मन्त्रिपरिषद् विस्तार गरिसकेकी छन्। हाल उनको मन्त्रिपरिषद् ८ सदस्यीय छ, र नयाँ चार मन्त्री थपिएपछि सरकार १२ सदस्यीय बन्नेछ।
प्रतिक्रिया