• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कला साहित्य

    लेख्न बाँकी नै छ

    117
    SHARES



    अल्झिएर लडिरहेका छन्
    देश बनाउने सपनाहरू
    झन् झन् ओरालो झरेका छन्‌
    समृद्धिका योजनाहरू
    अलपत्र परेका छन्
    मुक्ति र समावेशीताका नाराहरू
    लेख्न बाँकी नै छ
    सिंहदरबार खरानी बनाएर
    मुलुक बर्बाद पार्नेहरूको भविष्य
    र, तीनका कालाकर्तुतहरु ।

    हजारौँ सन्ताप र चिन्ताहरू
    अरुलाई सुनाउन दुःसाध्य छन्
    छर्लङ्गै देखिएका छन्
    लुकाउन खाेजेका गाईजात्रे रमिताहरु
    हिजो छापेर बेचिने पत्रपत्रिका
    आज लिलाम चढेर छापिरहेका छन्
    शक्तिकेन्द्रका प्यादा बनेर
    सूचनाका व्यापारीहरू
    विष पिएर जीउन अभीशप्त छन्
    पछुताे दाेहर्याइ रहने कूपमण्डुकहरू
    अझै लेख्न बाँकी नै छ नयाँ नारामा
    वासी झुटपत्रका तमासाहरू ।

    धुँवाको मुस्लोलाई
    शीतलहर भनेर छोप्दैछन्
    निर्लज्ज विचारका मलामीहरू
    नुनको गुन वमन गरिरहेका छन्‌
    लेण्डुपे रिले दौडको मैदानमा
    विद्वान बुद्धिजीवीझैँ लाग्ने जुलुङ्गाहरू
    नेत्रपट्टि धारण गरेका घोडाजस्तै
    एकोहोरो दौडिरहेका छन्
    एल्गोरिदमको सिकञ्जामा कैद युवाहरू
    एउटै तुलाेमा तौलिरहेका
    फुटपाथ र सपिङ् महलकाे अन्तर
    मर्सिडिजकाे वेग र ठेलागाडाकाे गति
    अझै लेख्न बाँकी नै छ
    च्यातेको नागरिकतामा राष्ट्रियता खाेज्दै
    किनारमा उभिएर तालि ठाेक्नेहरुका विवरण ।

    आगो झोसेर खरानीमा
    भुङ्ग्रो खोज्दैछन् हात सेक्नलाई
    कर्पोरेट टावरमा बसेर
    सडक पेटीका पसल लुट्नेहरू
    उपहास बनाइएका
    भूइँमान्छेहरूको काँधमा टेकेर
    मञ्चन भइरहेको छ
    मधुशालाको प्राङ्गणमा
    सरकार र अपराधको स्वयम्वर
    सदाझैँ मुख मिठ्याउँदै नाच्दैछौ
    हामी जन्ती र घराती बनेर
    भ्रममा छौ हामी
    शासक बनाउन चुनेका हौँ भनेर
    ढुक्क छन् उनीहरू
    साक्षी किनारमा उभ्याउन
    हामीलाई चुनेर
    अझै लेख्न बाँकी नै छ
    ओरालो झरेका समृद्धिका गोरेटाहरू
    अल्झिएर लडिरहेका देशका सपनाहरू !
    … … …
    २०८२ फागुन १२, सानोठिमी

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ