• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कला साहित्य

    मानिस हुन नसकेका मान्छेहरू

    1.2K
    SHARES



    मानिसको वर्गमा पर्न नसके पनि
    पहिचान खोज्दैछु आफ्नो परिचयको
    भुइँ मान्छेहरूको भिडमा
    गरिब सुकुमबासीका झुप्राहरूमा
    सफाइ कर्मचारीका बस्तीहरूमा
    खोसिएका नाङ्ला, ठेला र साइकलहरूमा
    पशुसरह बाँच्न बाध्य मानव आकृतिहरूमा
    दलका कार्यालय र नेताका महलहरूमा
    हल्लाको पछि दगुर्ने लक्ष्यविहीन जमातहरूमा ।

    कहिले आफन्तलाई सोध्छु
    कहिले बटुवाहरूका बिचमा खोज्छु
    कहिले बास माग्दै आएका पाहुनालाई सोध्छु
    कहिले सिंहदरबारको खरानीभित्र हेर्छु
    राजपत्रमा वार्षिक बजेटको बुँदा केलाउँछु
    प्रतीक्षामा रहेको उन्नति र परिवर्तनलाई सोध्छु ।

    कहाँ भेटिएला मेरो पहिचान, मेरो परिचय
    दिल्ली दरबारमा भेटिएला कि !
    बेइजिङको भिडमा
    ह्वाइटहाउसको सुरक्षा घेरामा भेटिएला कि !
    लन्डनको सङ्ग्रहालयमा
    खाडीको तातो बालुवामा हराएको छ कि !
    भारतका गल्लीगल्लीमा
    ग्रेटर नेपालको विशाल नक्सामा अल्मलियो कि !
    लिपुलेक–लिम्पियाधुरा समेटिएको चुच्चे नक्सामा
    सोध्दैछु, खोज्दैछु गरिबका बस्तीहरूमा
    सुकुमबासीका झोपडीहरूमा
    शिशुको रोदनमा, वृद्धवृद्धाहरूको क्रन्दनमा
    आफ्नो परिचय खोज्दैछु
    ऐनाअगाडि उभिएर आफ्नै अनुहारमा ।

    मौन छ नागरिकताको प्रमाणपत्र
    मौन छन् साथीसँगी र आफन्तहरू
    मौन छन् गाउँ, टोल र छरछिमेकीहरू
    बर्सेनि नयाँनयाँ आवरणमा फेरिए पनि
    मौन छ भित्तामा झुन्डिएको भित्तेपात्रो
    मौन छन् हरेक महिना पल्टाइएका पानाहरू
    तर पनि सोधिरहन्छु
    मौन छन् त्यसमा अङ्कित
    तिथि, मिति, चाडपर्व, बिदाका सङ्केतहरू
    मौन छन् विज्ञापन र महावाणीहरू ।

    समय–समयका परिवर्तनलाई पनि सोधेँ
    मौन नै रहे राणा शासन फालेको भ्रम छर्नेहरू
    मौन नै छन् पञ्चायती निरङ्कुशता लाद्नेहरू
    निरुत्तर नै रहे प्रजातन्त्र र गणतन्त्रमा बगेका
    रगतका टाटाहरू, चोटका खाटाहरू
    चुपचाप छन् जेन्जी विद्रोहका आवरणमा
    मुलुक जलाउने ‘परिवर्तनकारी’ हरू
    अश्लील र दुर्वाच्यको झटारो हान्ने
    आज्ञाकारी योद्धा साइबर स्यालहरू ।

    चिच्याई चिच्याई केही भनिरहेका छन्‌
    समय–समयका मुक्तिकामी सङ्घर्षहरू
    झापा विद्रोह र जनयुद्धका समरगाथाहरू
    सङ्घर्षमा होमिएका विप्लवी सहिदहरू
    बलिवेदीमा चढाइएका नरमुण्ड नैवेदहरू
    अन्योलमै मोहरा बनेका कलिला विद्यार्थी
    षड्यन्त्रको जालोमा बेरिएका घाइते वीर योद्धाहरू
    मौनतामै अनिष्टको सङ्केत गरिरहेका छन्‌
    कोही सुन्दैनन्, कोही सुन्न चाहँदैनन्‌
    तर पनि दौडिरहेका छन् हल्लाका पछिपछि
    कोलाहल र मौनताका बिच पिसिएका
    यथास्थितिवादीहरू, आशाका पुजारीहरू
    परिचयपत्रमा नाम लेखाएर
    आफ्नो परिचय गुमाएकाहरू ।

    म भने एक्लो भएको छु
    सकिनँ हल्लाको पछिपछि दगुर्न
    प्रतिगमनकारीका तर्क–वितर्कलाई
    सकिनँ अग्रगामी छलाङ मान्न
    सकिनँ दानवहरूको झुन्डलाई देउता भन्न
    हराएर हो कि मानवताको अंश
    वा निरास भएको हुँ
    छुट्ट्याउन कठिन भएको छ
    मलाई मेरो कित्ता, मेरो परिचय ।

    अब्बलहरूका बिचमा
    कमसल साबित भइसकेको छु
    मान्छे हुन चाहिने न्यूनतम् योग्यताको
    अभावमा रुमल्लिएको छु
    किनकि ! म गरिब छु
    मसँग जग्गा छैन, घर छैन
    बैङ्क ब्यालेन्स छैन, स्थायी ठेगाना छैन
    हल्लाको पछि दौडिने जोश–जाँगर छैन
    आलिसान महलमा बसेर
    फुटपाथ लुट्ने लालसा जागेन
    दिने आशा देखाएर खोस्न जानिनँ
    भुइँ मान्छेको आँसु पुछ्ने ल्याकत छैन
    त्यसैले उनीहरूसँगै बसेर रुन बाध्य छु
    किनकि ! म मान्छे नै बन्न सकेको छैन ।

    हो, तिमी अब्बल नै हौ
    अरूभन्दा अगाडि नै छौ
    अरूले गर्न नसकेको गर्दैछौ
    आदेश पूरा गरेका हौ कि ! निहित स्वार्थ
    भकारो सोहोर्न गएका गोठालाहरू
    लागिरहे गुइँठा लुकाउन र चारो डकार्न
    तिमीले त गोठै जलायौ प्रतिस्पर्धा गर्न
    तिमी त साँच्चै मानिसभन्दा माथि
    देउता बनिसकेछौ
    विधिको लौरो देखाएर विधि मास्न जानिसकेछौ
    भेट्न, बोल्न छेउ पर्न पनि घिनाउछौ, लजाउँछौ
    सायद डराउँछौ होला गरिब, मजदुर, किसानसँग
    मानिस नबनेका मान्छेहरूसँग ।

    अँध्यारो कोठामा बसेर आदेश दिन्छौ
    जाई लाग्न पुग्छन् मानवरूपी दानवहरू
    नन्दीभृङ्गी, चौसट्ठी योगिनीहरू
    दुईजिब्रे आसेपासे, हुक्के–चिलिमेहरू
    तिमीले खटाएका साइबर स्यालहरू
    रक्षकको आवरण लपेटेका भक्षकहरू
    तहसनहस बनाउँछन्‌
    मान्छे नबनेका गरिबका बस्तीहरू
    तिनका झोपडी र सरसामानहरू
    दुधे बालकका कोक्रा र थाङ्नाहरू
    सुत्केरी आमाले ओछ्याएका
    सुकुल र गुन्द्रीहरू ।

    भन्छौ मानिस नबनेका मान्छेहरू
    सुन्दरतामा लागेका दाग हुन्‌
    गाँस खोसिदिएपछि पनि
    बासको रटान लगाउने काग हुन्‌
    प्रतिस्पर्धा गर्न खोज्छन्‌
    हदबन्दी र सुनको थुप्रोसँग
    सुकुमवासी र ऐलानीका झुप्राहरू
    फोहोर माटो र हिलोसँग खेल्ने किसानहरू
    झुत्रो टोपीले पसिना पुछ्ने मजदुरहरू
    मान्छे नबनेका भुइँमान्छेहरू ।

    काटिन बाध्य हुनुपर्छ व्वाँसाहरूको राजमा
    स्यालहरूको रजाइँबाट जोगिएका पाठाहरू
    दुलेचोरबाट जोगाउन सिपाही बनेर भित्रिएका
    अब्बलहरूका बिचमा डाँकाहरूको कानुनमा
    परिचय गुमाएका शोषितपीडितहरू
    पशुसरह बाँच्न बाध्य मानव आकृतिहरू
    मानिस हुन नसकेका भुइँमान्छेहरू ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ