
नवीन बस्याल
कहिले हुन्छ हाम्रा नारीको जीबन र घर सुरक्षित
मनमा त्रास राखी बाँच्नु नपर्ने रहर सुरक्षित ?
सधैं अँध्यारो कुनामा बस्नुपर्ने कस्तो विडम्बना,
जता हेर्यौँ त्यस्तै,कहिले होला गाउँ,सहर सुरक्षित ?
दिनमै डर, रात परे झन् बढ्छ त्रासको अन्धकार,
कहिले हट्छ पीडाको यो लामो प्रहर सुरक्षित?
न्यायालयले किन पीडकलाई उन्मुक्ति दिन्छ,
कहिले पाउँछ पीडितले आफ्नो स्थान ठहर सुरक्षित ?
मनभरि रहर बोकेर पनि किन थुनिन्छन् पाइलाहरू,
कहिले मेटिन्छ मनभित्र घुलिएको जहर सुरक्षित ?
पीडितले न्याय नपाउने यो कस्तो व्यवस्था भयो,
कहिले देखिन्छ परिवर्तनको सानो असर सुरक्षित ?
निर्मला, भागरथी, इनिशाले न्याय पाउनु पर्छ,
कहिले बन्छ हरेक चेलीको जीवनभर खबर सुरक्षित ?
प्रतिक्रिया