• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नवरात्रको तेस्रो दिन आज माता चन्द्रघण्टाको विधिपूर्वक पूजा-आराधना गरिँदै

    410
    SHARES



    काठमाडौँ । नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टा देवीको भक्तिभावका साथ पूजा तथा आराधना गर्दैछन् । नवरात्रका अवसरमा बिहानैदेखि देशभरका विभिन्न शक्तिपीठ तथा घरघरमा देवी चन्द्रघण्टाको उपासना भइरहेको छ ।

    धर्मशास्त्रमा वर्णन गरिएअनुसार मस्तकमा घण्टीको आकारजस्तै अर्धचन्द्र धारण गरेकी हुनाले यिनको नाम चन्द्रघण्टा रहन गएको हो । स्वर्णजस्तै चम्किलो शारीरिक वर्ण भएकी देवी चन्द्रघण्टा दश बाहु (हात) ले युक्त छिन् । उनले हातमा त्रिशूल, गदा, तरबार, कमण्डलु, धनुष, बाण, कमल पुष्प र अक्षमाला धारण गरेकी छन् भने वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी छन् ।

    सिंह वाहन भएकी देवी चन्द्रघण्टाको घण्टीको तेजिलो ध्वनिले अत्याचारी, दानव, दैत्य तथा नकारात्मक शक्तिहरू डराउने शास्त्रीय मान्यता छ । वैज्ञानिक दृष्टिले यिनलाई सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ भने नित्य पूजाका क्रममा साधकहरूले मणिपुर चक्रमा यिनको ध्यान गर्दछन् ।

    शालिन, परम शान्ति प्रदायक र कल्याणकारी स्वरूपकी देवी चन्द्रघण्टाको श्रद्धापूर्वक पूजा गर्नाले सबै प्रकारका संकट, दुःख, कष्ट नाश हुनुका साथै सम्पूर्ण बाधाहरू हट्ने धार्मिक तथा शास्त्रीय विश्वास छ। यिनको कृपाले साधकलाई अलौकिक शक्ति प्राप्त हुने, आत्मबल बढ्ने, भय र नकारात्मक ऊर्जाको अन्त्य भई पारिवारिक सुख-शान्ति कायम हुने गर्दछ। साथै, साधकमा वीरता, निर्भयता, सौम्यता र विनम्रताको विकास हुन्छ। सुगन्ध मन पराउने माता चन्द्रघण्टालाई पूजामा रातो रङका पुष्प, फलफूल, पक्वान्न, चन्दन, धूप, दीप, बेलपत्र तथा विशेषगरी दूध र दूधजन्य परिकारको नैवेद्य प्रिय मानिन्छ ।

    यस दिन भक्तजनहरूले स्नान गरी सफा कपडा लगाएर हातमा जल, अक्षता र फूल लिई ‘मम समस्त पापक्षयद्वारा श्री दुर्गा प्रीत्यर्थं चन्द्रघण्टा पूजनं करिष्ये’ भन्दै संकल्प गर्दछन् । कलशमा जल, सुपारी, दूबो, अक्षता, सिक्का र नरिवल राखी माता चन्द्रघण्टाको प्रतीकका रूपमा स्थापना गरी ‘ॐ चन्द्रघण्टायै नमः’ मन्त्र उच्चारण गर्दै फलफूल, दुग्ध परिकार, वस्त्र तथा गन्ध अर्पण गरिन्छ ।

    पूजाका क्रममा दुर्गा सप्तशती चण्डीको तेस्रो अध्याय पाठ गरिन्छ भने शक्तिशाली देवी मन्त्र ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे’ १०८ वा १००८ पटक जप गरी भजन-आरती गरिन्छ । साथै, ‘या देवी सर्वभूतेषु माँ चन्द्रघण्टा रूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।’ मन्त्र उच्चारण गर्दै देवीको स्तुति गरिन्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ