• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विचार-ब्लग

    गीतझै प्रीत किन मिलेन कमरेड ?

    19.7K
    SHARES



    गीत संगीतको प्रभावले मन नछुने मान्छे होला र ? आज समाजको उत्पीडनका आवाजहरू, जनमनका भावनाहरू, न्याय र परिवर्तनका आवाज बुलन्द गर्ने सजिलो माध्यम बनेको छ गीत संगीत । यो यस्तो विधा हो, जसले बहुसङ्ख्यक जनमानसलाई एकैपटक प्रभावित पार्न सक्ने क्षमता राख्दछ । समाज वर्गीय छ । यस्तो समाजमा एक वर्ग र अर्को वर्गबीचमा निक्कै टकराव भइरहेको हुन्छ ।

    त्यही टकरावलाई हरेक वर्गले आ-आफ्नो पक्षमा जनमत सृजना गर्न गीत संगीतको सहारा लिन्छन् । उनीहरू यसकै माध्यमबाट आफ्ना धारणा व्यक्त गर्छन् । मान्छे विचार र भावनाविहिन हुन्न । हरेका मान्छेको भावनाभित्र विचारको आलोक पक्कै पाइन्छ । त्यही आलोकका मान्छेहरू गुनगुनाउने गर्छन् शब्द संगीत र लयको तालमा । समाजमा हरसमय समकालीन भोगाइको एक-एक अनुभूति थियो मान्छेहरूलाई ।

    त्यही प्रतिविम्ब गीत संगीतको माध्यममा प्रस्तुत हुने गरेको पाइन्छ । पछिल्लो समय सामाजिक सञ्जाल र युट्युबहरूमा नेपालका केही वामपन्थी नेताहरूका गीत आएका छन् । ति गीतमा, श्रमजीवि जनताको कथाव्यथा छ । गरिब किसान, मजदुरका मनोभावना गुन्जिरहेका छन् । ती गीतका सर्जक नेताहरू प्रतिबन्धीत नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, वैज्ञानिक समाजवादी पार्टी नेपालका संयोजक आहुती र सरकारी नेकपाका नेता मणी थापा हुन् । उनीहरूका पछिल्ला गीतलाई लिएर यो आलेखमा केही टिप्पणी गर्न खोजिएको छ ।

    राजनीतिमा विचारजस्तै मनका भावनाहरू बोकेर बहकिने नेताहरू धेरै छन् । उनका सृजनाहरूले जनता कार्यकर्तालाई उत्साह, उर्जा र नयाँ आत्मविश्वास पैदा गर्ने गर्दछ । वलिदानका गीत, विरताका गीत, जनताका गीत, युवाहरूको गीत, श्रमिकहरूको गीत, नेताहरूले राजनीतिक आन्दोलनको दौरानमा धेरै लेखेका छन्, गाएका छन् । श्रमिक जनता, किसानहरूका दुःखसुखका गीतमा जनमनका मार्मिक प्रतिविम्बहरू मज्जाले भेट्न सकिन्छ ।

    पछिल्लोसमय वैज्ञानिक समाजवादी पार्टी नेपालको जन्म दिएका नेता हुन् आहुती । विश्वभक्त दुलाल उनको नाम हो । उनैको संयोजकत्वमा कार्ल माक्र्सको दुई सयौँ जन्मजयन्तीको अवसर पारेर ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल’ को नयाँ पार्टी गठन गरिएको थियो । राष्ट्रिय जनमोर्चा र पार्टी एकतापछि नेकपा माओवादी केन्द्रमा रहेका नेता आहुतीले माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकताको प्रक्रिया शुरु गरेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै आएका थिए ।

    उनले लेखेको ‘नयाँ घर’ उपन्यास जनयुद्धको उत्प्रेरणा बनेको थियो । नयाँ बाटो र विद्रोह वलिदानको प्रेरणा बनेको थियो । आज समयक्रममा धेरै राजनीतिक आन्दोलन र परिवर्तन भएको भनिएपनि सामाजिक जात व्यवस्थाले मानव समुदायको एक तप्कालाई मान्छे भएर बाँच्न अझै दिएको छैन् । त्यही विभेदकाविरुद्ध प्रश्न बोकेर उनले गीत गुनगुनाएका छन्; साँच्चै इमान र मन भएको मान्छेले, मान्छेलाई गरेको विभेदविरुद्ध विद्रोहको आवाज गीतमार्फत उठाएका छन् । आहुती उत्पीडित समुदायबाट आएका एक विचारक हुन्, नेता हुन् सामाजिक राजनीतिक अभियन्ता हुन् । हेरौँ उनको गीतको एक अंश

    तिमीले थुनेको नर्कलाई, तोडेर यहाँ आइपुगेँ, हजारौँ वर्ष हिँडेर, तिमीलाई सोध्न आइपुगेँ, ए… मन भएको मान्छे, मनलाई सञ्चै छ कि बिरामी,
    ए… ज्ञान भएको मान्छे, ज्ञानलाई सञ्चै छ कि बिरामी

    २१ औँ शताब्दीको सभ्य भनिएको मानव समाजले बहिष्कार गरेर मिल्काएको उत्पीडित समुदायको आजको आवाज हो यो गीत । युगले सोधेको प्रश्न हो । हज्जारौँ वर्ष लगाएर समाजले बनाएको चेतनाको गोरेटोमा पैतालामुनि पिल्सीएको युगद्रष्टाहरूको उत्पीडनमाथिको प्रश्न हो गीत । त्यही हज्जारौँ वर्षको उत्पीडिनको जगबाट उठेर प्रश्न गर्न उभिएका छन् आहुती । गीतका शब्द संगीतको लयमा यो समाजले दलित भनेर उत्पीडिनमा पारेका मान्छेहरूको विद्रोही आवाजको विगुल बजाउँदै छन् उनले ।

    राजनीतिक आन्दोलनमाजस्तै गीतकारको अलग पहिचान बनाएका विद्रोही नेकपा नेता हुन् विप्लव । उनी लेखक, कुशल सैन्य रणनीतिकार मात्रै होइन, कवि एवं गीतकार पनि हुन् । उनको ‘माझी र पानी’, ‘चे ले भन्नुभएको’, ‘कस्ले बनायो दाजै’लगायत दर्जनौँ लोकप्रिय गीतहरू छन् पछिल्लो समय भूमिगत जीवनमा रहेका उनको ‘सपनाका यात्रीहरू’ गीत युट्युबमार्फत सार्वजनिक भएको छ । गगन चुम्ने अभिलाषामा उठेका मनका उद्देलनाहरू श्रमिकजनको सत्ता स्थापना गर्ने वलिदानको आलोकमा उठेका महान सहिदहरूका सपना पूरा गर्ने उनको दृढ प्रतिज्ञा र सपनाहरूको आशावादिता उनका गीतहरूमा प्रकट भएको छ हेरौँ पछिल्लो चर्चित गीत ‘सपनाका यात्रीहरू’को एक अंश

    सपनाका यात्रीहरू, सपना जोगाउनुपर्छ, सपनामै जीउँछ जीवन, सपनामै रम्छ जीवन, सपना बाँचे जीवन बाँच्छ, सपना मरे जीवन, सपनाहरू मर्न नदेऊ, सपनाहरू झर्न नदेऊ ।

    हुन त हरेक मान्छेका सपनाहरू हुन्छन् । हरेकलाई प्रिय लाग्छन् आफ्ना सपना । अझै जनसमरको यात्राका स्वप्नील यात्रीहरूलाई सपनाबाट भाग्ने छुट कदापि छैन । यो उदास मौसममा सपनाहरूबाट विरक्तिएर बरालिएकालाई क्रान्तिकारी भावना र उद्देलना पैदा गराउने एक शसक्त माध्यम बनेको छ उनको गीत । सपनाका बाटोहरूमा, हज्जारौँ घुम्ती मोडहरूमा घात/प्रतिघातको श्रृङ्खला झेल्दै जनक्रान्तिको बाटोमा उनी निरन्तर छन् ।

    पछिल्लो दैनिकीमा श्रमिकहरूको भावनालाई गीतमा पोख्ने नेता हुन मणी थापा । उनी यतिबेलाको सत्ताको बागडोर सम्हालेका लगभग दुईतिहाई नजिक रहेको सरकारी नेकपाका स्थायी समितिका सदस्य हुन् । राजनीतिक आन्दोलनसँगै नेपाली जनवादी सांस्कृतिक आन्दोलनका एक हस्तीको रुपमा थापाको अलग्गै पहिचान छ । जनयुद्धपूर्व र जनयुद्धकालमा लेखिएका दर्जनौँ लोकप्रीय गीतहरू छन् उनका ।

    उनका गीतले जनमनको कथा, उत्पीडनको व्यथाहरू बोकेका छन् । ‘हाम्रो रोल्पामा’, ‘अरुण तरेर नाना’जस्ता गीतमार्फत जनयुद्धको साहित्यसौन्दर्यको विम्ब बनेको छ । श्रमिक जनताका गीत थापाले निरन्तर लेख्दै आएका छन् । कोरोना आतंक र लकडाउनले बेहाल जनताप्रति उदासिन सरकारको तरिकबाट उकुसमुकुस भएका थापा जनमनको विम्ब बोकेर गीतमा पोखिएका छन् । हेरौँ उनको पछिल्लो गीतको एक अंश

    शहरले गाउँ धपाउँछ, जसले शहरलाई हराभरा बनाउँछ, तर संकट पर्दा शहरले गाउँ धपाउँछ ।

    शहरले गाउँ धपाउँछ गीतमा उनले श्रमिक जनताका कथाहरू बोलेका छन्, श्रमिकहरूको बेदनालाई उजेलेका छन् । र, श्रमिकलाई मुक्तिको सपना देखाउने कम्युनिस्टहरूको कथित सम्भ्रान्त शहरिया सत्ताको चरित्रलाई मज्जाले गिज्याएको छ । अरुण तरेर आउनेहरू रगतको खोला तरेर आएका हुन् उनीहरू नै सत्तासारथी भएर चलेका सत्तामा गरिब श्रमिकहरूको हालत किन होला यस्तो ? विरताको गाथा लेख्नेहरू आखिर आज किन यसरी सपनाहरूबाट बरालिएका होलान् ? मेराजस्तै हज्जारौँ उत्तरविहिन प्रश्नहरू उनका मनमा पनि पक्कै उद्देलीत होलान् ।

    यी तीन दलका तीन नेताका गीतमा जनमनको भावना प्रतिविम्बित छ । गरिबको उज्यालो जिन्दगीको सपनालाई जागृत गरेको छ । जनमनका भावनालाई शब्द र संगीतमा प्रतिविम्बित गर्दै सृजना गरिएका यी गीतहरू तपाइँले आँखा चिम्लिएर सुन्नुभो भने पक्कै पनी एकप्रकारको भावउद्देलीत गर्छ । तपाइँले त्यहाँ सर्जकको राजनीतिक दृष्टिकोणको भेदको बारेमा कुनै पत्तो पाउन सक्नुहुन्न । तर, किन होला कमरेडहरूको गीतमा भाव र लय मिलेकोजस्तो राजनीतिमा लय मिल्न नसकेको ? योचाहिँ गम्भीर प्रश्न हो । उनीहरूमा समाजवादको साझा सपनाहरूको रुझान छ । त्यही सपनाहरू परिवर्तनको बाटोमा सबै हो भने एकै मन र उही भावनामा उसैगरी बहकिने हो भने किन जनताको समस्या हल हुन सकेन किन परिवर्तनका मुनाहरू समाजमा पलाउन सकेनन् । मेरो मनमा पनि उस्तै प्रश्नहरू उब्जीरहेछन् गीतका शब्दमा
    तीन दलका तीन नेता

    गाउँदैछन् गीत तीन तिर, बाँच्न देऊ खान देऊ, जनताको ऋण तिर, खै कहाँ छ शान्ती, खै त सम्बृद्धी ?

    माओवादी जनयुद्धले कोल्टे फेरेको त्यो चुनवाङ बैठक र त्यो बैठक बहिष्कारको कथा लेखेर बसेका मणी दाइ, अरुण तरेर आउनेहरूको विरगाथा उजेलेर बसेका मणी दाइ, यो जबजमा विलयको छट्पटीका कथाव्यथा र मनको बह यस्तै गीतमार्फत फुकाइरहेछन् । त्यही चुनवाङ बैठकमा अभिमन्यु चक्रव्युहमा फसे भन्ने महाभारतकालीन कथा हालेर रविन्द्र श्रेष्ठले प्रचण्डलाई गरेको कटाक्ष सम्झँदै ब्युझिएर कमरेड विप्लवको पछि कुँदिरहेका छन् आजसम्म थवाङका सन्तोष बुढा मगर । तर प्रचण्ड चक्रव्युहमा फसे भनेर त्यो चक्रव्युहबाट उम्किएका रविन्द्र जबजको भुङ्ग्रोमा हाम्फालेपछि मायाको प्रेमिल जालमा फसेर उदास शनिबारमा विन्दास प्रेमको औपन्यासिक कथामा एकपटक देखियो । अब नेकपा बोल्सेभीकको गर्भधारण तुहिन्छ कि जन्म लिन्छ होला त्यो प्रश्न समयलाई छोडिदिऊँ । कवि निभा शाह आफ्नो कवितामा बोल्छिन्

    सपनाको कुनै चिहान हुँदैन, मरे भनेका सपनाहरू, चिहानबाट ब्युँझिने छ ।

    साँच्चै नेताबाटै बेचिएको, लुटिएको, गरिबको, श्रमिकको उज्यालो जिन्दगीको सपनामा गीतमा बोलेजस्तै लय र ताल मिल्छ होला त नेता कामरेडहरूको ? सरकारी नेकपाभित्र ओली प्रचण्डको मिलाप-विलापले यतिबेला कार्यकर्ताहरू माँडिएका छन्, फाँडिएका छन् । त्यस्तै शिकार बने केहीसमय मणी थापा । गुटको उग्रता नदेखाउँदा उनीमाथि भ्रष्ट र भ्रष्टका मतियारहरूले लाञ्छना लाएर केही रोमान्स त लिए तर उनको सपना र आदर्शहरू भने मृत्यु शैयामा छट्पटाइरहेका छन् ।

    अनौठो संयोग छ, त्यस्तै परिदृष्य देखिन्छ, उही भाका, एउटै लय, उस्तै भावनामा आजादीका गीतहरु गाए पनि कमरेडहरूको गाउने थलो अलग अलग छ । क्रान्तिको नदी बगिरहेको छ । क्रान्ति गीत गाउनेहरु किनारा किनारै सुसेली हालिरहेका छन् । कोही वल्लो किनार त कोही पल्लो किनारमा । वारीकाले पारीकाले भनेको सुन्दैन् । पारीकाले वारीकाले भनेको बुझ्दैन् ।

    आजको सरकारी नेकपाको गुट झगडा दिवंगत माओवादी नेता पोष्टबहादुर बोगटीले भनेजस्तै हो, ‘ओली प्रचण्ड मत्त्ता हात्ति हुन् उनीहरू मिले पनि रसलिलाले कार्यकर्ता र जनताको तोरीबारी सखाप, जुधे पनि रणलिलाले जनता/कार्यकर्ताको तोरीबारी सखाप । यस्तै छ, यतिबेला नेकपाका कार्यकर्ताहरूको राजनीति जीवन र कम्युनिस्ट आन्दोलनको विडम्बना । तर यही गीतमाजस्तै उही भाव, उही लय र उही तालमा युवाहरूको आजादी गीत गुनगुनाइरहनु है कमरेडहरू ।

    बौद्धिक रोमान्समा मात्रै नबनोस् तपाइँहरूको आदर्श र सपनाहरू जनताको जीवनमा बदलियोस् हज्जारौँ कार्यकर्ता/सर्मथकहरूको शुभेच्छा छ । सहिदको वलिदानमा पक्कै खोट नलागोस् ‘विश्व सर्वहारा—श्रमिक वर्ग तथा सिङ्गो मानव मुक्तिको विचारधारा नेपालबाट नयाँ युगको वैज्ञानिक समाजवादी नेपालको निर्माण गर्ने सङ्गठित पहल शुरु भएको घोषणा गर्नुहोस् । पक्कै जनसमरका सपनाहरू चम्किरहनेछन् गीतका शब्दहरूमा विप्लवले भनेजस्तै

    मेरो रगत बग्यो भने, यही पवित्र माटोमा मिलोस्, शरीर ढल्यो भने, प्रिय सहिद सपुतहरूसँगै सुतोस्
    नलागोस् खोट आदर्श बाँचिरहोस्, खाएर सारा चोट सपना चम्किरहोस् ।

    प्रतिक्रिया