• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    आर्थिक अनियमितताको नमुना- अध्यक्ष र प्रअ मिलेर श्रीकृष्ण माविको ३२ लाख झ्वाम्

    26.3K
    SHARES



    पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ मा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिलेर लाखौं रुपैयाँ हिनामिना गरेका छन् । नयाँ व्यवस्थापन समिति निर्माण र प्रधानाध्यापक नियुक्तिसँगै पूर्वप्रधानाध्यापक केदारनाथ अधिकारी र व्यवस्थापन समितिका पूर्वअध्यक्ष तेजनारायण अधिकारीले लाखौं रुपैयाँको हिनामिना गरेको रहस्य खुलेको हो ।

    पुस्तकालय व्यवस्थापन र पुस्तक खरिदका लागि जिल्ला शिक्षा समन्वय ईकाई र महानगर शिक्षा महाशाखाबाट प्राप्त ९ लाख ४५ हजार रुपैयाँ प्राप्त भएपनि न त विद्यालयमा पुस्तकालय छ, न त पुस्तक नै छन् । पूर्वप्रधानाध्यापक केदारनाथ र पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजनारायणले भागवण्डामा रकम पचाएको रहस्य खुलेको छ ।

    विद्यालयका नवनियुक्त प्रधानाध्यापक टिकाराम लाछिाने भन्छन्–‘एकातर्फ विद्यालयले विभिन्न शिर्षकमा ३२ लाख तिर्नुपर्ने देखिन्छ । अर्कोतर्फ पुस्तकालय खोल्न भनेर प्राप्त रकमको न हिसाबकिताब छ, न त पुस्तक नै छन् ।’ चरम आर्थिक अनियमितता देखिएको यस विद्यालयमा नयाँ प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई अहिलेसम्म कुनै पनि हिसाबकिताब बुझाउन पूर्वप्रधानाध्यापक केदारनाथ र अध्यक्ष तेजनारायणले सकिरहेका छैनन् ।

    त्यसैगरी विद्यालयमा भवन बनाउने नाममा पनि लाखौं रुपैयाँ हिनामिना भएको आशंका स्थानीयहरुले गरेपछि पोखरा महानगरपालिकाले प्राविधिकहरुको छानबिन टोली समेत पठाएको छ । उनीहरुले विद्यालयमा तला थप्ने क्रममा कमसल निर्माण सामाग्रीको प्रयोग गरेको र लेनदेन मिलाउन समिति बाहिरबाट आफ्नो अनुकुलका व्यक्ति परमेश्वर आचार्यलाई निर्माण समितिको संयोजक बनाएका थिए ।

    पूर्वप्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष मिलेर सामुदायिक विद्यालयमाथि चरम भ्रष्टाचार गरेको तथ्य बाहिरिए पछि पोखरा महानगरपालिकाले छानबिनका लागि टोली समेत खटाएको छ । तर आफ्नो पार्टी सरकारमा रहेको र माथिसम्म आफ्नो पहुँच भएका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोग र छानबिन समितिले समेत केही गर्न नसक्ने भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारीले विद्यालयमा गुनासो पोख्न आउने अभिभावकहरुलाई धम्क्याउँदै आईरहेका छन् ।

    खरिदारको जागिरबाट पेन्सनमा बसेका तेजनारायण अधिकारीले यसरी नै विभिन्न सामाजिक संघसंस्थाहरुमा पटक–पटक यस्तै आर्थिक अनियमितता गर्दै आईरहेका उनी कतैं माफी मागेर, कतै असुलेको रकम फिर्ता गरेर र कतै राजनीतिक शक्तिको आँडमा जोगिदैं आईरहेका थिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय नेताहरुका नाममा पोखरामा विभिन्न व्यवसायीहरुसँग चन्दा असुल्ने अधिकारीको आर्थिक हैसियतबाट पनि उनका काला कर्तुतहरुको बारेमा राम्रैसँग बुझ्न सकिने स्थानीयवासीहरु बताउँछन् ।

    तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका अधिकारीले आफ्नो कर्तुत लुकाउन यस अघि पनि स्थानीयहरुको विरोधका बाबजुद आफ्नै दलका मात्र प्रतिनिधिहरु राखेर विद्यालय व्यवस्थापन समिति निर्माण गरेका थिए भने अहिले बनेको समितिमा पनि आफ्नै दलका प्रतिनिधिहरु मात्र राखेका छन् । आफ्नो आर्थिक अनियमिमता पर्दाफास नहोस् भन्नाका खातिर आफ्नै भतिज माधवप्रसाद अधिकारीलाई लेखामा नियुक्त गर्न भ्याएका विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तेजनारायणको कर्तुत नयाँ व्यवस्थापन समितिलाई आर्थिक हिसाब बुझाउन नसकेपछि खोजबिन गर्दा बाहिरिएको हो ।

    आर्थिक अनियमितता गरेर उल्टै राजनीतिक पहुँचको आधारमा दादागिरी देखाउँदै आएका पूर्वअध्यक्ष तेजनारायण अधिकारी र पूर्वप्रधानाध्यापक केदारनाथ अधिकारीका कारण नयाँ प्रधानाध्यापक टिकाराम लामिछानेले अहिलेसम्म वर वुझारथ लिएका छैनन् । त्यसो त नवगठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम रेग्मीले पनि आर्थिक अनियमितताको टुंगो नलागेसम्म आफूहरुले विद्यालयमा कुनै पनि गतिविधिहरु गर्न नसक्ने बताएका छन् ।

    यस विषयमा जिज्ञासा राख्दा वडा शिक्षा समिति ७ का संयोजक तथा वडाध्यक्ष रामचन्द्र बरालले भने–‘वडामा रहेको एकमात्र सामुदायिक विद्यालयमा भएको अनियमितताको छानबिन हामी गर्दैछौं । यसका लागि भवन निर्माणमा देखिएको लापरवाहीका विषयमा प्राविधिक टोली समेत खटाई सकेका छौं ।’

    यता, छोरेपाटन स्रोत केन्द्रका स्रोत व्यक्ति टोलप्रसाद अर्यालले विद्यालयमा देखिएको चरम आर्थिक अनियमितताको जिम्मेवारी तत्कालिन प्रधानाध्यापक केदारनाथ अधिकारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारीले लिनुपर्ने बताए । स्रोत व्यक्ति अर्यालले भने–‘व्यवस्थापन समितिको नीतिगत निर्णय बेगर प्रधानाध्यापकले कुनै पनि काम गर्न सक्दैनन् । यस घोटालामा दुवै व्यक्ति दोषी देखिन्छन् । छानबिन हुन्छ, पुष्टि भए दुवैलाई हामी कार्वाही गछौं ।’

    आर्थिक अनियमितताको विषयमा प्रश्न गर्दा तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारीले सकभर समाचार नछापिदिन अनुरोध गर्दै भने–‘यस विषयमा नलेखिदिनु होला । म मिलाउँदै छु ।’ तत्कालिन अध्यक्ष तेजनारायणले पत्रकारहरुलाई समाचार नलेखिदिनु हुन अनुरोध गर्दै गर्दा आत्तिएका पूर्वप्रधानाध्यापक केदारनाथ अधिकारी तेजनारायणको घरमा पुगेको स्रोतले बतायो ।

    अब के गर्ने र कसरी बच्ने भन्ने विषयमा छलफल गर्न पुगेका प्रधानाध्यापक केदारनाथले आफू फसे अरुलाई पनि नछाड्ने भन्दै जतिसक्दो छिटो यो घटना मिलाउन दवाव दिएका थिए । उता, तत्कालिन प्रधानाध्यापक केदारनाथ अधिकारीले यस विषयमा प्रश्न गर्दा आफूले आर्थिक अनियमितता नगरेको तर हिसाबकिताब भने मिलाउन नसकेको स्वीकार गरे । प्रधानाध्यापक अधिकारीले भने–‘यदि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्बन्धित निकायले छानबिन गर्दा दोषी ठहरिएमा संलग्न सबैमाथि कारवाही होस् । मलाई मात्र नफसाईयोस् ।’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ